भोगाइमा यो साउन अनि सम्झनामा त्यो साउन !
नानु दाहाल
आज साउन १ अर्थात हामी गाउँमा जन्मेर गाउँमै हुर्केकाहरुको लागि साउने संक्रान्ति पर्व पनि । बुढापाका अर्थात जेष्ठ सदस्यको कुरा सुन्ने हो भने ‘साउन लागेपछि बाँचियो भन्ने र माघ लागेपछि मरिन्छ कि’ भन्ने हाम्रो परम्परा हो ।
माघपछि साउनसम्म खेतीपातीको समय, मेघ गर्जन सहित गड्याङ गुडुङ गर्ने, हुरिबतास चल्ने, बाढीपहिरो आउने, अनिकाल पनि लाग्नसक्ने हुँदा मरिएला भन्ने पिर हुन्छ रे ! तर साउन पछि चाडपर्व सुरु हुने, लगाएको सबै बालीनाली थन्क्याउने, परिवार भेटघाट हुने र वर्षभरी उब्जाएको अन्नबाली घरभरी हुने भएकोले अब बाँचिन्छ भन्ने हुन्छ रे !
यहि खुसीमा घरमा पालेको खसी काटेर (मासु खानेको लागि मात्रै) मासु खाने अनि दिउँसो गोठालो जाँदा तितेपातीको झिक्रा खोजेर ल्याउने र बेलुकी त्यसैलाई बालेर लुतो फाल्ने हाम्रो परम्परा हो । तर,आजभोलि त्यो परम्परा फेरिएको छ । साउन लाग्न नपाउदै हातमा मेहन्दी लगाउने, हरिया चुरा र पोते किन्न बजार जाने र अनेकथरी रंगको झिलिमिलीमा रमाउने जमात बढेको छ।
भगवान शिवलाई खुशी बनाउने नाममा आफुले रोजेको कपडा र गहना लगाएर मन्दिर जानेहरु पनि छन् । भगवान शिवले साउनमा हरियो मन पराउनुहुन्छ वा पार्वतीले हरियो पहिरन लगाएर शिव भगवानसँग श्लेषपान्तक वन घुम्नुहुन्थ्यो भनेर कसले देख्यो ? वा कहाँ लेखियो ? कसैले भन्न सक्दैन । तर, अहिले हाम्रो समाजमा ‘हरियो फेसन’ चाहिँ चल्यो ।
यतिसम्म कि त्यो बाल्यकालको साउने संक्रान्तीको रौनक र त्यसको अर्गानिक स्वाद अब गाउँमा पनि खोजेर भेटिन्न । जंगलमा बाख्रा चराउन जाँदा खोजेको कुरीलो, तुलेसरो र कुकुरडाइनाको लहरा अब कहाँ भेट्नु । अनि त्यही लहराले बाँधेर गाइको घ्यु दलेको काठको अगुल्टोलाई आगोमा लगाएर कुरिलो पट्काउँदै कुकुर डाइनो र भलायो को पात बाँधेर जतिसक्दो टाढा फ्याकेर नाङ्लो, थाल, जाँतो ढिकि बजाउँदै वारि गाउँले र पारी गाउँलेलाई लुतो लैज्जा है भनेर मनाउने हाम्रो अर्गानिक साउने संक्रान्ती(लुतो फाल्नेदिन)चाड कता गयो होला ? अहिले शहरमा त के-के हो के, ओहो ! वास्तविकता भन्दा बढी देखावटी र ढोङ्गीहरुको जमातले शहरमा मात्रै होइन गाउँसम्म प्रभावित भएको छ ।
स्कुले साथीहरू मिलेर सालघारी तिर दिनभर बाख्रा र गाइबस्तु चराउने अनि बेलुकी घर फर्किँदा कसको घरमा के सामान बढी छ आफ्नोमा अझै के पुगेन ? भनेर लेखाजोखा पनि गरिन्थ्यो। जंगलबाट खोजेर ल्याएको कुकुरडाइनो, लुते झार, भलायो बाहेक घरमा भएका फलफुल (त्यो पनि जोडी भएको) पनि टिपेर मिसाइन्थ्यो । आहा ! ती दिनहरु कति प्यारो थियो।
जंगलमा भलायोको पातले एलर्जी भएपछि त्यसैसँग मीत लगाउने र ‘मितिनी रुख’ भनेर जिस्किदा कस्तो रमाइलो हुन्थ्यो। अनि त्यो रमाइलोमा भुल्दा गाइवस्तुले अरुको बाली खाने र आफुले गाली खाने कुरा पनि भैहाल्थ्यो।
तर, साउने संक्रान्ती पर्व र लुतो फाल्ने खुशीमा त्यो सबै गाली पनि अमृत नै हुन्थ्यो । कहिलेकाँही भलायोको पात टिप्न जाँदा त्यसको चोप शरीरमा परेर शरीरभरी एलर्जी हुने र भोलीपल्ट मलायो रुखमा लगेर आमाले मीत लगाइदिएपछि एलर्जी चैट ! हुन्थ्यो । यो पनि अर्को ‘अर्गानिक’ सत्य हो ।
मीत लगाएर उस्को अगाडि जादा त्यो रुखको नाम नलिएर मितिनी भन्नू भनेर आमा बुबाले सिकाउने गरेको पनि याद छ। अहिले जंगलका मेरा ती मितिनी रुख कस्ता भए होलान् ? तिनलाई कतिले पात टिपेर लगे होलान, कति त दाउरा भैसके होलान् !

