सत्तासँगै नैतिकता पनि गुमाउँदै कमरेड प्रचण्ड !
परेवान्युज टिप्पणीनेपाली राजनीतिका चतुर अनि ध्रुत खेलाडी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक अरुलाई बेवकुफ बनाउन सफल भएका छन् । अनेक फन्डा र बितण्डा गर्न माहिर मानिएका उनै प्रचण्डले आफूसँगै माधवकुमार नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्द विप्लवलाई लिएर ‘समाजवादी मोर्चा’ नामक अमुर्त ‘झुन्ड’ घोषणा गरेका छन् ।
पूर्वी नेपालमा बाढीको वितण्डा हेर्न नेपाली सेनाको हेलिकप्टर लिएर गएका प्रचण्ड समाजवादी मोर्चा घोषणामा ढिलाइ होला भनेर हेलिकप्टर छाडेर सिम्रीक एयरको जहाजमा काठमाडौं आइपुगेर ‘जहाजमा सिट पाउनु नै मोर्चा सफल हुनु हो’ भन्ने उट्पट्याङ कुरा समेत गरे।
अचम्म त के भने हेलिकप्टर छाडेर जहाजमा फर्केको कुरालाई पनि उनले समाजवादी मोर्चा घोषणाको ‘शुभ संकेत’ हो भन्न भ्याए । ‘समय ढिला होला जस्तो भएर हेलिकप्टर छाडेर छिटो हुने विमानको खोजी गरियो । कस्तो संयोग भने छिटो उड्ने जहाज पनि भेटियो र हामीलाई चाहिने ५ वटा सिट पनि खाली रहेछ २५ मिनेटमा काठमाडौं आइयो । यो सबै कुरा मिल्दै जाँदा समाजवादी मोर्चा घोषणाकै लागि शुभ संकेत भएको मैले ठानें’, सभामै प्रचण्डले धाक लगाए ।
प्रधानमन्त्री समेत रहेका प्रचण्डले छिटो उड्ने जहाज पाउनु वा सिट पाउनुलाई यति धेरै ‘प्रोपोगन्डा’ गरिरहदा आफुलाई परेको बेला आँखा नै जिम्मा लगाउने पुर्व सहकर्मी डा.बाबुराम भट्टराईबारे भने एक शब्द बोलेनन् । जब कि समाजवादी मोर्चा विषय उठान गर्ने उनै बाबुराम हुन् । जसरी संविधान सभा मार्फत शान्ति र संविधानको कुरादेखि राजतन्त्रको अन्त्य, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र अनि विकास र समृद्धिको कुरा बाबुरामकै दिमागबाट आएको अर्गानिक र अन्तिम सत्य थियो ।

त्यसैगरी बाबुरामले २०७८ सालमै समाजवादी केन्द्रबारे बहस चलाएका थिए । त्यसैको जगमा २०७९ असारमा प्रचण्ड र बाबुरामबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल शुरु भयो र त्यसैलाई प्रचण्डले ‘ढाडमा टेकेर टाउकामा हान्ने’ अस्त्र बनाए । तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को सरकारी निवासमा बाबुरामसँग भेटेका प्रचण्डले त्यसपछि बाबुराम निवास टोखा पुगेर बाबुरामका नातीलाई काखमा राखेर बाबुरामकै आँखा फुटाउन सफल भए । आँखा चुनाव चिन्ह रहेको नेपाल समाजवादी पार्टीलाई हँसिया हथौड़ा चुनाव चिन्ह दिएको जस्तो गरेर प्रचण्डले बाबुरामको आँखा खोसे । त्यति मात्रै होइन आँखासँगै बाबुराम चुनाव लड्दै र जित्दै आएको गोरखाबाट आफू उम्मेदवार बनेर बाबुरामको मुटु पनि झिकिदिए ।
प्रचण्डलाई जनयुद्ध अगाडी १० वर्ष, जनयुद्धको समयमा १० वर्ष र शान्ति प्रक्रियामा थप १० वर्ष गरी ३० बर्ष सम्म झेलेका बाबुरामले प्रचण्ड ‘धोकेबाज’ हुन् भन्ने जान्दाजान्दै पनि मुटु, कलेजो, आँखा मात्रै होइन सर्वस्व दिन तयार भए । उनको सर्वस्व भनेको गोरखाको भूगोल र गोर्खाली जनता हुन् । उनले प्रचण्डका लागि त्यो पनि दिएर उद्दार गरिदिए।
०७९ मंसिर ४ को निर्वाचनमा आफैं अघि लागेर प्रचण्डलाई गोरखाबाट चुनाव जिताउने बाबुरामले बदलामा प्रचण्डबाट धोका, गद्दारी, बेइमानी, जालझेल र षड्यन्त्र बाहेक केही फिर्ता पाएनन् । प्रचण्डले यस अगाडी पनि यस्ता मोर्चा गठन नगरेका होइनन् । उनले आफुलाई फाइदा हुने हो भने जुनसुकै विचार, वाद वा सिद्धान्तलाई धज्जी उडाइदिन्छन् । नेकपा एमालेसँगको पार्टी एकता होस् वा तराई मधेसका जनतालाई दिएको आश्वासन र धोका होस प्रचण्डका यस्ता फण्डा धेरै छन् । कहिले गिरिजाप्रसाद कोइरालादेखि माधवकुमार नेपाल नेतृत्वको सरकार विरोधी त कहिले केपी ओली र शेरबहादुर देउवा विरोधी मोर्चा गठनमा पनि प्रचण्डले कहिले-कहिले के गरे भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ।
आजको दिनमा प्रचण्डलाई युद्धका सारथी डा.बाबुराम भट्टराइदेखि मोहन वैद्य ‘किरण’, रामबहादुर थापा ‘बादल’, सिपी गजुरेल ‘गौरव’, नेत्र विक्रम चन्द ‘विप्लव’ भन्दा केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल र उपेन्द्र यादव प्रिय लाग्न थाल्यो । त्यसैगरी व्यवहार र चरित्रमा कम्युनिस्ट बाँकी छैन तर नाममा कम्युनिस्ट झुण्ड्याउनै पर्ने बाध्यता पनि कमरेड प्रचण्डमा देखियो । कम्युनिस्ट भन्न नछाड्ने र गेरुवस्त्र देखि रुद्राक्ष अनि भैँसी पूजा र पशुपति दर्शन पनि गर्नैपर्ने बाध्यता प्रचण्डलाई आइलाग्दै गयो।
त्यसैको परिणाम उनले सत्ता टिकाउन जस्तोसुकै बदनामी सहन र आलोचित हुन तयार भए । त्यसैको पछिल्लो परिणाम संविधानसभा र गणतन्त्रका मुख्य सुत्रधार तथा विकास र समृद्धि सहितको अग्रगामी सोच भएका डा. भट्टराईलाई पाखा लगाउदै संकिण सोचका उपेन्द्र यादव र माधवकुमार नेपाललाई बोक्न राजी भए । पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाउने र नयाँ मोर्चा बनाउने भन्ने बाबुरामको विचारमा प्रचण्ड सहमत नहुनुको पछाडि अरु पनि थुप्रै कारण होलान् तर, मुलभुत रुपमा डा.भट्टराईको सोच र बौद्धिकतादेखि प्रचण्डलाई डर छ। उनले युद्धकै समयमा पनि डा.भट्टराईलाई बोल्न, लेख्न समेत प्रतिबन्ध लगाउँथे र कुनैबेला जनमुक्ति सेना लगाएर गिरफ्तार र हिरासत अर्थात श्रम शिविर समेत पुर्याए । त्यसैले प्रचण्डले बाबुरामलाई जति सकिन्छ उपयोग गर्ने तर, उनलाई कुनैपनि स्थानमा अगाडी आउन नदिने योजना सधैं बनाइरहेको देखिन्छ। त्यसैको पछिल्लो शिकार हो समाजवादी मोर्चामा बाबुरामलाई ‘आउट’ र उपेन्द्रलाई ‘इन’ गराउनु ।
यो घटनाक्रमलाई अलिकति पछाडी फर्केर हेर्ने हो भने जब रवि लामिछानेले ७ असार २०७९ मा पार्टी गठन गरे अनि प्रचण्डले बाबुरामको साथ खोज्न थाले । मंसिर ४ को प्रतिनिधिसभाको चुनावअघि पटकपटक समाजवादी मोर्चा बनाउने नाममा बाबुराम सहित प्रचण्डले अन्य दलसँग छलफल चलाए । त्यसमा प्रचण्डले आफ्नो निजि स्वार्थ बाहेक अरुको हित सोचेका थिएनन् ।
रविको पार्टी साँच्चिकै आयो र रवि चितवनबाट चुनाव लडे भने हारिन्छ भन्ने प्रचण्डलाई लागिसकेको थियो । त्यसैले उनले आफ्नो सुरक्षित स्थानको खोजी शुरु गरे। त्यसमा भुगोल मात्रै सुरक्षित भएर पनि चुनाव जितिन्न भन्ने प्रचण्डले बुझेका थिए । त्यसैले जनयुद्धको आधार इलाका रुकुम, रोल्पा पनि उनको लागि सुरक्षित भएन । भुगोल सुरक्षित भएपनि साथ दिने भरपर्दो व्यक्ति उनीसँग भएनन् । रुकुम गए जनार्दन शर्माले हराइदिन सक्ने र रोल्पा गए वर्षमान पुन, कृष्ण बहादुर महरा र नेकपा महासचिव विप्लव सम्मको ‘डर’ प्रचण्डलाई थियो । त्यसैले उनले भुगोल रोज्दा गोरखा र व्यक्ति रोज्दा बाबुराम रोज्नुपर्ने अवस्था आयो ।

यदि त्यसो थिएन भने उनले गोरखा कै पनि निर्वाचन क्षेत्र नम्बर १ रोज्न सक्थे । जहाँ उनका विश्वासपात्र हरि अधिकारी ‘कुमार’ त्यस क्षेत्रमा प्रचण्डलाई लैजान चाहन्थे । तर, प्रचण्डलाई गोरखा-२ नै चाहियो र त्यसमा पनि बाबुरामले नै प्रस्ताव गर्नुपर्ने र जनतालाई प्रचण्ड ‘असल’ हुन भनिदिनुपर्ने भयो । त्यसका लागि प्रचण्ड बाबुराम निवास पुगेर उनको नातिलाई काखमा लिएर खेलाए । नातिको मुस्कानमा प्रचण्डले बाबुरामको निस्वार्थ समर्थन देखे अनि ढुक्क भएर फर्किए।
बाबुरामकै आड भरोसा र विश्वास लिएर गाउँ पसेका प्रचण्डले चुनाव जितेपछि बाबुरामलाई पाखा लगाउँदै गए, पूर्व सहमति सबै बिर्सिए । बाबुरामलाई एक वचन पनि नसोधी केपी ओलीको बार्दलीमा पुगेर प्रधानमन्त्रीको लागि ‘ग्यारेन्टी कार्ड’ बोकेर फर्किएपछि प्रचण्ड बाबुरामसँग आउजाउ नै बन्द गरेर बालुवाटार पसे। त्यसपछि काँग्रेससँगको चुनावी गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रचण्डले २ महिनामै पुनः ओली छाडेर कांग्रेस सभापति देउवातिर मायाप्रेम सुरु गरे ।
कुर्सीका लागि जस्तोसुकै धोका, बेइमानी र जालझेल गर्न खप्पिस प्रचण्डले जब गठबन्धनमा विश्वास गुमाउँदै गए अनि फेरि बाबुराम बोलाएर समाजवादी मोर्चाको वकालत गर्न थाले । पुर्व माओवादी धारको बिचमा एकता वा सहकार्य गर्ने प्रचण्ड प्रस्तावलाई मोहन वैद्य, सिपी गजुरेल, गोपाल किराँती लगायत धेरै जसो माओवादी नेताले नपत्याएपछि प्रचण्ड बाबुराम मार्फत समाजवादी मोर्चा निर्माण गरेर जाने भन्न थाले । तर,उनको यो छलकपट र जालसाजीलाई बुझ्न नसकेका बाबुराम पुनः प्रचण्डलाई साथ दिन तयार भए । उनले समाजवादी मोर्चा गठनका धेरैजसो सैद्धान्तिक कुराहरू प्रचण्डलाई भन्दै गए तर, त्यही कुरालाई माधव, उपेन्द्र र विप्लवसंग आफ्नो ढंगले ब्याख्या गर्दै प्रचण्डले अन्ततः बाबुरामलाई पाखा लगाउँदै सुटुक्क समाजवादी मोर्चा घोषणा गरे।
यो कुराले प्रचण्डमा अब राजनीतिक इमानदारीता र नैतिकता बाँकी रहेन । प्रचण्डले जालसाजी गरेर मोर्चा गठन गरेपनि यसले न एमालेलाई कुनै दबाब दिन सक्यो न कांग्रेसले डराउनुपर्ने भयो । मोर्चा आफैंमा अपुर्ण र कमजोर हतियार भइदियो । जसलाई लिएर प्रचण्डले कसैसँग सैद्धान्तिक लडाइँ लड्न वा सत्ता रक्षा गर्न सक्ने सम्म अवस्था छैन । सम्भवत प्रचण्डको सत्ता राजनीतिमा टिकिरहन यो अन्तिम अस्त्र थियो । अब प्रचण्डसँग बलियो पार्टी, कुनै मजबुत भुगोल र जनआधार, बलियो मोर्चा र सत्ता हुने छैन । यो भन्दा पनि ठूलो कुरा उनीसँग अब कुनै नैतिकता नै बाँकी रहने छैन ।

