
पञ्चायत ढलेको चैत २४ को दिन र मेरो परिवार
नानु दाहालकाठमाडौं, २४ चैत । २०४६ साल चैत २४ मा देशमा ऐतिहासिक जनआन्दोलन सफल भयो । नेपाली काङ्ग्रेस र बाममोर्चाको संयुक्त संघर्ष सफल भएर प्रजातन्त्र र बहुदलीय व्यवस्थाको उदय भयो ।


२०१७ साल पुस १ देखि सुरुभएको निर्दलीय पञ्चायती व्यवस्थाको ३० वर्षपछि अन्त्य भएसँगै प्रजातन्त्रको उदय भयो । जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार हटाएर राजा महेन्द्रले शुरु गरेको निरंकुश पन्चायत ढलेर नेपाली जनताको बोल्न पाउने संवैधानिक र कानुनी हक फिर्ता भयो।

तर, यो परिवर्तनका लागि कैयौं नेपालीले निर्दयी पञ्चायत शासकबाट ज्यान गुमाउनुपर्यो । ३० वर्षसम्म पञ्चायतको बर्बर दमन सहेर आन्दोलनको मोर्चामा सहभागी हुँदा हजारौंले ज्यान गुमाउनुपरेको कुरा सबैलाई जानकारी छ जसका कारण सयौं आमा, भाउजु र दिदिबहिनीको सिँउदोको सिन्दुर पुछियो र हजारौं बालबालिका टुहुरा भए।
पन्चायतकालमा टिम्बुरबोटे कान्ड, पिस्कर काण्ड, छिन्ताङ काण्ड अनि कारागार सरुवा गर्ने नाममा कैयौं योद्धाको रगत बग्यो । यस्तै परिवारको सदस्यमध्ये एकजना म पनि हूँ ।
मेरो बुबा-आमा दुवै प्रजातान्त्रिक आन्दोलनमा सरिक हुनुभयो । काका र मामा पनि पञ्चायत विरोधी आन्दोलनमा सरिक हुनुभयो । त्यसैक्रममा मेरो परिवारका थुप्रैले पन्चायतको दमन सहन बाध्य हुनुपर्यो। मेरो बुबाको जागिर गुम्यो,आमाको हासो र खुशी गुम्यो अनि हामी छोराछोरीको सुन्दर भविष्य झन्डै झन्डै अन्धकार हुने अवस्था आयो। तर मेरा बुबा आमाको साहस, धैर्यता र प्रजातान्त्रिक आन्दोलनको रक्षासंगै छोराछोरीको इच्छालाई मर्न नदिने अठोटले हामी भाग्यमानी ठहरियौ।
पन्चायत बिरोधि आन्दोलनको अगुवाइ गर्ने ओखलढुंगा जिल्लाका नेताहरु स्व.बलबहादुर राई, स्व.गोपाल राई, महेश कोर्मोचा, लिला दाहाल, ठगीराज दाहाल,गोकर्ण कार्की, क्या.यज्ञबहादुर थापा लगायत थुप्रै आदरणीय ब्यक्तित्वहरु मेरै जिल्लामा प्रजातान्त्रिक आन्दोलनमा सहभागी रहेको र त्यसमा मेरो बुबा बलभद्र दाहाल अनि आमा झिलादेवी दाहाल पनि सरिक भएको कुरा मलाइ राम्रोसँग थाहा छ।
हुनत मेरो बुबालाई पन्चायतले दु:ख दिएको बखत मेरो जन्म समेत भएको थिएन। २०२० सालमा मेरो बुबा आमाको बिबाह भएको र २०२८ सालमा बुबाले पन्चायत बिरोधि नाटक प्रदर्शन गर्दा पक्राउ परेको कुरा मैले बुबाको मुखबाट पटक-पटक सुनेको छु।
देशमा पन्चायतको हालीमुहाली भइराख्दा जिल्लामा प्रधानपन्चहरुले आफुलाई ‘राजा’ ठान्नु र प्रजातान्त्रिक आन्दोलनमा लागेकालाई आँखाको कसिङ्गर देख्नु स्वभावीक होला । त्यसैको असर मेरो परिवारमा समेत परेको हो।
हामी ४ दिदिबहिनी र ३ भाइको पालनपोषण सहित पार्टीको जिम्मेवारी सहित जिल्लाभर खटीनु मेरो आमाको लागि कति पिडादायी अवस्था थियो भन्ने कुरा सायद भोग्ने आमालाई नै बढी थाहा छ। आमाको पिडाको कथा र ब्यथा मैले लेखेर त्यो फिक्का हुन्छ।
पन्चायतको क्रूर दमन र अत्याचारले ओखलढुंगामा त्यतिबेला नाम चलेका पन्चहरुकै कारण मेरो परिवारबाट लिला दाहाल,पेसल दाहाल,ठगिराज दाहाल सहिद हुनुभयो । जेल सरुवा गर्ने नाममा काठमाडौ नख्खु खेतमा मारिनुभएका लीला दाहाल, ठगिराज दाहाल,गोकर्ण कार्कीको पार्टीमा आजसम्म सहि मूल्याकंन भएको जस्तो लाग्दैन ।
आखिर हरेक परिवर्तनमा कोहि न कोहि सहिद हुनैपर्छ र भएका छन् । तर,सहीदको परिभाषा र मुल्यांकन चाहिँ सही ढंगले भएको देखिदैन । राणा विरोधी आन्दोलनका सहिद वा पन्चायत बिरोधि आन्दोलनका सहिदको मूल्याकंन अहिले कम भएको छ। ०४६ को परिवर्तन भन्दा अगाडी ज्यानै दिएर देश र जनताको लागि आन्दोलनको उठान गर्नु आज माइतीघर मन्डलामा गएर धर्ना दिनु वा बानेश्वर सडकमा बसेर बदाम खानु जस्तो पक्कै थिएन ।
देश र परिवर्तनका लागि कसले कसरी हासी हासी ज्यान दिन सक्यो त्यो वास्तविक सहिद हो। मेरो परिवारले बगाएको रगत र मेरो परिवारले पाएको दु:खको हिसाब कसैले खोजेको पनि छैन। त्यो खोजेर अहिले चुक्ता हुनसक्छ जस्तो पनि लाग्दैन । जो सहिद हुनुभयो उहाँको परिवारले भोगेको थप पीडा र कष्टको हिसाब कसरी निकाल्ने ? कुन त्यस्तो यंत्र बनेको छ ?जसले परिवर्तनको आन्दोलन र क्रान्तिमा बगेको रगतको हिसाब निकाल्न सकोस ।
तर,त्यसको हिसाब राख्ने पार्टीले हो । मुल्यांकन गर्ने पनि पार्टीले हो । सहिदलाई न्याय र उनको परिवारलाई अवसर दिनुपर्ने पनि पार्टीले हो । तर,आज पार्टी कहाँ छ ? अहिलेको परिवर्तन र अवसरमा ती सहिदलाई भुल्न मिल्छ र ? पिस्कर कान्ड,छिन्ताङ कान्ड र टिम्बुरबोटे कान्ड लगाएत जेल सार्ने नाममा भएको क्रूर हत्याको विरुद्धमा उर्लेको जनलहरले ०४६ को परिवर्तन आएको र त्यसैको ब्याज अहिलेका राजनीतिक दल र नेताले लिइरहेको होइन र ? अनि ब्याज आफुले खाइरहँदा हिजो सहिद भएकाको परिवारलाई बेवास्ता गर्न मिल्छ त ?
यसर्थ, आज परिवर्तनको दिन हामिले खुल्ला आकाशमा आफुलाइ स्वतन्त्र ढंगले हिडडुल गर्न पाएको दिन चैत २४ । लामो कालरात्री छिचोल्दै ऐतिहासिक जनआन्दोलन सफल भएको दिन। बहुदलपछिका ३३ वर्षमा पनि हामीले ती महान सहिदलाई उनको मृत्युको उच्च मुल्यांकन र तिनका परिवारलाई न्याय गर्न सकेका छौं कि छैनौं एकपटक विचार गर्ने कि ? सबै सहिदलाई हार्दिक श्रद्धाञ्जली ! जय नेपाल !!!
Comments

