‘भ्यालेन्टाइन डे’ र आजको नेपाल
बन्दना पोख्रेल भण्डारीएक मित्रले सुनाउँदै थिइन् ‘भ्यालेन्टाइन डे आयो त, के छ सोच ?’ म अलपत्र परें किनकी मैले के गर्नु र यो दिनलाई, त्यसैमाथि पहिले एक दिन मनाउने गर्थे अहिले एक हप्ता पुरै मनाउन थालिएछ । के जवानी के बुढेसकाल सबैले मनाउन थालिएछ, अनि लाग्यो यो त नेपालको संस्कृति नभएर विकृति पो बन्न थालेछ । त्यसैले आज यही विषयलाई चिरफार गर्ने कोसिस गरेकी छु ।

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस को सुरुवात इस्वी सम्बत २६९ मा इटालीको रोमवाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डेको इतिहास सम्झनुपर्दा रोमका एक सम्राट्ले महिलासँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे ।
सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेका थिए । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङघन गरेको कारण सम्राट्लाई सह्य भएन र भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।
भ्यालेन्टाइन डेमा रातो रंगको गुलाफ आदानप्रदान हुने गर्छ । यस दिन गुलाफको फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गर्नु हो । यसैमा पनि एउटा विकृति के आयो भने मित्रता मात्र – पहेंलो गुलाफ , भावुकताले भरिएको – सेतो गुलाफ हुँदाहुँदै कालो गुलाफ दिएर प्रेम सकिएको छुटेको भनेर यसलाइ मनाउन थाले ।
अर्को विकृति पहिला एक दिन मनाइने अहिले हप्ताभरी मनाउन थालिएको छ । पहिलो दिन ‘रोज डे’, दोस्रो दिन ‘प्रपोज डे’, तेस्रो दिन ‘चकलेट डे’, चौथो दिन ‘टेडि डे’, पाचौं दिन ‘प्रमिस डे’, छैठौं दिन ‘किस डे’ अनि १४ फेब्रुअरी ‘भ्यालेन्टाइन डे’, उफ ! मेरो समाज ।
सरसरती हेर्दा कुनै व्यापारिक प्रयोजनको लागि यो नेपाल मा फिजाइँदै छ। हाम्रो मौलिक संस्कृतिभन्दा बाहिरको यो पर्वले दिनदिनै विकृति फैलाएको प्रष्ट देख्न र बुझ्न सकिन्छ । अझ अहिले त सामाजिक संजालहरुले पनि भ्यालेन्टाइन डेको विकृतिलाइ अझ बढावा दिईरहेका छन् भन्दा फरक नपर्ला । हरेक दिन विहान बेलुका सँगै रहेका श्रीमान श्रीमतीहरुका पनि विभिन्न खाले मायाप्रेमका पोस्टहरु यो दिन सामाजिक संजालमा देखिने गर्छन ।

भ्यालेन्टाइन डे प्रेमी प्रेमिकाले मात्र मनाउन पाउने तर विवाहितहरुले मनाउन नपाउने भन्ने पटक्कै होइन तर सच्चा प्रेम सामाजिक सञ्जालको भित्तामा होइन व्यवहारमा उतार्न सचेत हुनु पर्ने देखिन्छ। अरुलाई देखाउनै पर्छ अर्काको देखासिकी गर्ने पर्छ भन्ने मान्यता पढेलेखेका जोडीहरुमा पनि प्रशस्त भेटिनु पनि अझ यो विकृति को बढावा हुनु हो ।
हिजो आज भ्यालेन्टाइन डेको समय पारेर यौन हिंसा र अन्य विकृति बढ्न थालेको कुरा नौलो छैन किनकि युवा पुस्ताले पश्चिमी संस्कृतिको सिको गर्दै शारीरिक सम्पर्कलाई प्रेममा परिभाषित गर्न थालेका छन तर घरपरिवार र पुरानो पुस्ता यसका खिलाफ छन्, त्यसैले दुई पुस्ताबीचको असमझदारीका कारण युवा पुस्ता असुरक्षित यौन सम्पर्क गर्छन् र जसको परिणाम अवैध गर्भ धारण, यौन रोग साथै मानसिक रोगको शिकार लगायतका कारण युवा पुस्ता लागु पर्दाथ जस्ता दुर्व्यसनीदेखि आत्महत्यासम्मको बाटोमा पुग्छन् । यो भयंकर विकृति भन्न मलाई अहिले कुनै संकोच छैन ।
प्रेम प्रस्ताव राख्न आफ्नो भावना पोख्न न त भ्यालेन्टाइन डे कुर्नु पर्छ न त सामाजिक संजाल को पोस्ट नै भर्नु पर्छ । हरेक सम्बन्ध एकअर्काप्रतिको विश्वास र भावनाको कदरमा निहित हुन्छ तर हाम्रो समाजमा श्रीमान र श्रीमती हुन् या प्रेमी-प्रेमिका एक अर्का को मोबाइल, सामाजिक संजालका खातामा समेत बन्देज लगाउने, चियो गर्ने र त्यही कुरामा विवाद गरेर सम्बन्ध बिगार्नेतिर लालायित भएको धेरै देख्न सकिन्छ।
त्यसैले ‘भ्यालेन्टाइन डे’ वाला रोग कुर्दै हप्ता दिन किनेको उपहार र एक दिन देखाएको प्रेमले जीवन सुखमय पक्कै हुँदैन । बेलैमा सचेत बनौ ।

