‘अलबिदा ! पुजन भाइ’
नानु दाहाल
माघ १५ गते आइतबार बिहान सधैंजसो म आफ्नो पसलमा व्यस्त थिएँ । एकजना चिनजानको दाजुको फोन आयो । पसलको व्यस्तताले फोन उठाउन सकिन । फेरि चिनजानकै दाजु भएकोले उठाउन नभ्याउदा पनि फेरि आउथ्यो वा म आफैं समय मिलाएर ‘कलब्याक’ गरिहाल्थे ।
तर, फोन दोस्रोपटक पनि आयो मैले पक्कै केही जरुरी हो कि भनेर फोन उठाए । ‘नानु पुजन श्रेष्ठ भाइको बारेमा केही खबर सुनेको हो’ ? उताको प्रश्नमा उत्तर दिन सकिन । किनभने मलाई केही अत्तोपत्तो थिएन ।
पछि दाजु आफैंले भन्नुभयो ‘मैले सुने अनुसार पुजन भाइको आकस्मिक डेथ भयो रे !’ दाजुको कुराले मेरो मस्तिष्क हल्लियो मैले फोन काटें र तत्काल पुजन भाइको आफन्तलाई (जसलाई म राम्रोसँग चिन्दथें) फोन गरे तर रिसिभ भएन । मलाइ झन् मनमा चिसो पस्यो, मैले तत्काल अन्य साथीहरूलाई फोन लगाए । एकैछिनमा खबर सत्यमा बदलियो, मेरो प्यारो भाइ पुजनले हामी सबैलाई छाडेर गएको कुरा अन्तिम सत्यमा बदलियो ।
अनि मेरो मन र मस्तिष्कले कामै गरेन तर, आँखा अगाडि पुजनको तस्वीर अनि उसँगको यादहरु झलझली आइरह्यो । उसले कैयौं सेल्फी फोटोमा मलाई जोडेको छ, कैयौं कार्यक्रममा मलाई खोजेको छ र कैयौं भेटमा उसको क्यामेरा भित्र मेरो तस्वीर खिचेको छ । पुजनसँग मेरो टोलको सम्बन्ध, पार्टीको सम्बन्धसँगै मेरो कान्छो भाइको अति मिल्ने साथी समेत भएकोले एकाघरको दिदिभाइको जस्तै सम्बन्ध थियो ।
म नेपाली काङ्ग्रेसको विभिन्न तह हुँदै बागमती प्रदेश सदस्य निर्वाचित हुँदा सम्म पार्टीकै क्रीयाशिल सदस्य भाइ पुजनले धेरै सपोर्ट गरेको थियो । पछिल्लो समय उसको रुचि अब्बल पत्रकार बन्ने थियो । जुन कुरा उसले मसँग भनिरहेको हुन्थ्यो- ‘दिदी म अहिले पत्रकार होइन, तर म सिक्न चाहन्छु र भविष्यमा अब्बल पत्रकार बन्नेछु ।’
उसले मलाइ पत्रकारिता सिक्नको लागि मेरो एकजना पत्रकार दाजुलाई (रुद्र भट्ट, जो नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय सदस्य पनि हुनुहुन्छ) चिनाइदिन आग्रह पनि गरेको थियो । मैले चिनजान गराउनु अगाडि नै पुजनले रुद्र दाजुलाई भेटेर सम्बन्ध बनाइसकेको थाहा पाएँ ।
मलाई पुजनको यही बानी असाध्य मनपर्थ्यो कि ऊ आफुले गर्न चाहेको काम गरिहाल्ने । उसको अर्को बानी भनेको कसैले हेप्न खोज्यो वा काम लगाउने तर त्यसको पारिश्रमिक र क्रेडिट दिन खोजेन भने उसले त्यो काम नै गर्न नखोज्ने । यो उसको गज्जब बानी थियो । त्यसैले पनि ऊ आफ्नो खुशीले काम गर्दथ्यो, कसैको दबाब र प्रभावमा पर्दैनथ्यो ।

सरल र मिजासिलो भाइ पुजनको आफ्नै कथा र व्यथा थियो होला तर पनि उसले कहिल्यै आफ्नो कथा अनि कमजोरी अरुलाइ भनेर दु:खी बनेको थिएन । होला उसको रहर, बाध्यता, आवश्यकता र कैयौं सपना पक्कै थियो । त्यो पूरा गर्न उसले मेहनत पनि गर्दै थियो ।
तर, आज पुजन भाइ उसको परिवार, आफन्त र हामीसँग पनि साथमा छैन । त्यो अबोध सानी नानी अनि जीवन संगीनीलाई छुट्टै पीडा छ । जति पीडा र वेदना भएपनि जिउनुपर्ने बाध्यता ती नानी र श्रीमतीलाई छ । अब उनीहरुको हेरचाह र जिम्मेवारी सङ्गै ती वृद्ध हुँदै गरेका बुबा अनि आमाले पनि पुजनको अभावमा जिउन सिक्नुपर्ने छ ।
बरु पुजन त जति समय बाँच्यो आफ्नो अनि परिवारको खुशीको लागि बाँच्यो । अर्थात उ आफ्नो मनको राजा आफैं भएर बाच्यो, कसैको निगाहमा बाच्नुपरेन । पुजनले अल्पआयुमै संसार छाडेर गएपछि अब बाँच्नेलाइ झन गाह्रो अवश्य हुनेछ ।
तर, ती बुबा आमा अनि श्रीमतीले पक्कै हिम्मत हार्नुहुन्न र ती अबोध नानिले बाबाको माया पनि बाचेका आफन्तबाट पाउने नै छिन् । भाइ पुजन तिमी जहाँ पुग्यौ तिम्रो आत्माले सुख पाओस् र हाम्रो मानसपटलमा तिमी सधैं अमर बनेर रहनेछौ ।
भाइ आज म निशब्द छु ! यति मात्रै भन्छु- भावपुर्ण श्रद्धाञ्जली !!!

