परेवान्युज
|
मंसिर २९ गते, २०७९ - ०७ः१५ मा प्रकाशित
भर्खरै प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्षतर्फको १६५ स्थानको नतिजा सार्वजनिक भएसँगै निर्वाचन आयोगले बुधबार समानुपातिकतर्फको ११० जनाको नाम पनि सार्वजनिक गरेको छ ।
निर्वाचनमा भाग लिएका ४७ राजनीतिक दलमध्ये ७ वटा दल मात्रै राष्ट्रिय दल बन्न सके । यद्यपि राष्ट्रिय दल बन्न नसके पनि संसदमा १२ राजनीतिक दलको प्रतिनिधित्व रहनेछ ।
यसपटकको निर्वाचनमा युवालाई अवसर भन्ने र नयाँलाई मौका दिनुपर्ने भन्नेमा जनमत विभाजन भएको स्पष्ट देख्न पाइयो । खासगरी पुराना राजनीतिक दलको सट्टामा नयाँ दल र दलभित्र पनि वृद्ध वा पटकपटक अवसर पाइसकेका नेताको ठाउँमा युवालाई अवसर दिनुपर्यो भन्नेमा सबैजसो दलका नेताकार्यकर्ता मात्रै होइन सिङ्गो मतदाताको साेच पनि मिलेको कुरा मतपरिणामले देखायो ।
– नानु दाहाल
राणाशासन विरोधी आन्दोलनदेखि प्रजातन्त्रको लागि लडेको नेपाली काङ्ग्रेस, पञ्चायतविरुद्ध लडेको नेकपा एमाले लगाएत बामपन्थी दल र बहुदलीय व्यवस्था र राजतन्त्रविरुद्ध लडेको माओवादी शक्तिलाई समेत चुनौति दिनेगरी उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले संसदमा स्थान बनाउदा पुराना पार्टी र मधेसवादी दल खुम्चिन पुगे । राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो पुरातन राजावादी पार्टीले समेत मौकामा चौका हाने जस्तो केही सिट जित्न सफल भयो ।
निर्वाचनको समग्र मुल्यांकन र अध्ययन यतिले मात्रै पुग्दैन । निर्वाचनमा जनता र मतदाताले चाहेर पनि बदल्न नसकेको कुरा केही वृद्ध नेताको सम्मानजनक विदाई गर्न नसक्नु पनि हो । यद्यपि उमेर बढी भएर पनि नवीन सोच, ऊर्जावान नेतृत्व र स्पष्ट कार्यदिशा भएका नेतालाई जनताले जिताउनु ठिकै हो । तर, नयाँ विचार, सोच, योजना, तर्क केही पनि नहुने र शारीरिक रुपमा समेत अशक्त भइसकेको व्यक्तिलाई ‘राजनीतिक विश्राम’ गराउन नसक्नु हामीजस्तो युवाको कमजोरी हो ।
उमेर बढी भएका कारण आराम गर्नुस् वा राजनीति नै नगर्नुस् भन्न मिल्दैन । उनीहरुको अनुभव र लगानी युवालाई उत्साह थप्ने माध्यम पनि बन्न सक्छ । तर, कार्यकारी भुमिका नै लिएर बस्नु चाहिँ अब जनमतको अपमान र स्वयंलाई पनि शारीरिक कष्टबाहेक केही होइन । कतिपय देशमा ९७ वर्ष हुँदा पनि कार्यकारी भुमिकामा बसेको उदाहरण छन् तर, तिनले कार्यकारी भुमिकामा आफू हुँदा कुनै अप्रीय घटना भएमा तुरुन्तै राजिनामा दिएर मार्ग प्रशस्त गरिदिन्छन । अर्थात् आफुले गल्ती नै नगर्दा पनि पदको मर्यादा हेरेर राजीनामा दिन्छन् । तर, दुर्भाग्य हाम्रोमा गल्ती नै हो भनिसक्दा पनि राजिनामा होइन उल्टो पद जोगाउन अनेक तिक्डम गरिरहने र कुर्सीमा टाँसिइरहने परम्परा जस्तै भएको छ ।
आफैंले कानुन बनाएर वृद्ध उमेरमा कुनैपनि काम गर्न नसक्ने भएकोले वृद्ध भत्ता लिन पाउने व्यवस्था गरिसकेको हाम्रो नेतृत्व वृद्ध-वृद्धालाई भत्ता दिएर आफू चाहिँ अझै सत्तामा र्याल काढेर बस्नु कति उचित होला ? जनता र आफ्नै कार्यकर्ताले समेत विश्राम लिनुस भनिरहदा बुढ्यौली शरीरलाई दु:ख किन दिनुपरेको होला ? अनि नेताकार्यकर्ता मात्रै होइन आफ्नै पारिवारिक सदस्य समेत चिन्न नसक्ने गरी आँखा कमजोर हुँदा पनि पद चाहिँ किन चाहिएको ?
अझै भनौं बुढ्यौली लागिसक्दा पनि पार्टीमा पहुँच छ भन्दै आफ्नै उम्मेदवार हराउन बागी उम्मेदवार उठाउने देखि खुलेरै असहयोग गर्ने बानी किन सुधार्न नसकेको होला ? जसले जे गरेपनि पार्टीमा मेरै हालीमुहाली चल्ने त हो भनेर खुलेआम कार्यकर्तालाई दास सम्झने केही नेतालाई पार्टीले समानुपातिकको भर्याङ चढाएर संसदमा पुर्याउनुको अर्थ के होला ?कमसेकम समानुपातिक सुचीबाट छानिएर निर्वाचित भएकाहरु त पार्टीको हितमा लाग्ने र युवाबाट छानिएको भए चित्त बुझाउन सकिन्थ्यो । त्यो पनि आफ्नै पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने र पटकपटक अवसर लिइसकेकालाई ल्याउदा कार्यकर्ता र मतदाताको अपमान भएन र ?
एक्काइसौं शताब्दीका सचेत युवाले यसबारे बोल्न नसक्ने वा नखोज्ने किन हो ? पार्टीमा दास प्रवृत्ति भित्र्याउन कतै युवाहरु नै दासी बन्न पुगेका त होइनन् ? यदि हो भने पार्टी सुदृढीकरण कहिले र कसरी हुन्छ, यो अर्को आश्चर्य होइन र ? यी सबै प्रश्नको जवाफ युवा स्वयंले आफैंसंग खोज्नुपर्ने बाध्यता छ । किनभने वृद्ध नेताले यसको जवाफ पक्कै दिने छैनन् । तर, जनताले अब जवाफ माग्न थालेका छन् भन्ने कुरा बुझ्न ढिला किन गर्नु । स्थानीय निर्वाचनमा हर्क, बालेनहरुको उदय र प्रतिनिधि सभामा प्रदिप पौडेल, योगेश शेरचन, डा.तोसिमा कार्की, सोबिता गौतम, ज्ञानेन्द्र शाही, डा.सिके राउत, विराजभक्तहरुको जितले यसैको संकेत गर्दैन र ?
अहिले हरेक पार्टीमा मुख्य नेतृत्व उमेरले पाको र शारीरिक रुपमा समेत अस्वस्थ देखिन्छ । लोसपा अध्यक्ष महन्थ ठाकुर (८२ वर्ष), राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी (८२ वर्ष), नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा (७७ वर्ष), वरिष्ठ नेता रामचन्द्र पौडेल (७८ वर्ष), नेसपा अध्यक्ष महेन्द्र राय यादव (८३ वर्ष), काङ्ग्रेस नेता डा. शेखर कोइराला (७४ वर्ष), एमाले अध्यक्ष केपी शर्मा ओली (७२ वर्ष), काङ्ग्रेस नेता डा.शशांक कोईराला (७३ वर्ष) र राप्रपा नेता पशुपतिशमशेर राणा (८३ वर्ष) आदिले के संकेत गर्दछ ? हामी संसद भवनलाई जेष्ठ नागरिक मंच वा जेष्ठ नागरिक भवन त बनाउदै छैनौं ?
युवालाई नेतृत्व देऊ भनेर संसद भवनको बाहिर उफ्रिनु वा विश्वविद्यालयमा भाषण गर्नु र साँच्चिकै नेतृत्व बदल्नु फरक कुरा हो भन्ने हामीले बुझ्न ढिला नगरौं । राजनीतिक योगदानको सम्मान गर्दै वृद्ध नेतालाई पार्टीको संरक्षक राखौं र उनीहरुको अनुभव र युवाको जोश लिएर पार्टी पुनर्निर्माण र सुदृढीकरणको अभियानमा जुटौं ।
जय नेपाल !!
(लेखक नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य हुन् ।)