जनतामा नैराश्यता किन ?

सुबिन के.सी

‘A single sheet of paper can’t decide my future’ परिक्षा बिग्रेको बेला नत्र पढ्न मन नलागेका बेला विद्यार्थी वर्ग माझ धेरैनै प्रख्यात वाक्य हो ! तर आज म भन्दै छु, ‘A sheet of paper may decide your future’

आउँदो मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुन जाँदै छ । निर्वाचन आयोगका अनुसार देशभर १,७७,३३,७२३ मतदाता रहेका छन् जुन देशको जनसंख्याको ६०.७४ प्रतिशत हुन आउँछ । केही समयअगाडि सम्पन्न स्थानीय चुनावको कुरा गर्दा माथी उल्लेखित मतदाता मध्ये ६४ प्रतिशतले मात्र आफ्नो अमुल्य मत दिए, जुन २०६४ को चुनाव (६१.६९ % जनताले मत दिएका थिए ) पछिको सबैभन्दा कम मत खसेको चुनाव हो ।

आम रुपमा हेर्दा, नेपालमा राजनीतिक चेतनाको स्थर माथि रहेको स्वीकार्य नै छ । हरेक राजनीतिक गतिविधि नियाल्ने अनि त्यसको आफ्नै हिसाबले व्याख्या विश्लेषण हुने गरेको देखिन्छ । प्रजातन्त्रको स्थापना भए पश्चात् मात्र देशले हरेक दशकमा राजनीतिक परिवर्तन पाएकै छ । तर पनि किन मतदाताको मत संख्या घट्दै छ त ? यसले के संकेत गर्दै छ ? साधारण भाष्यमा भन्दा “नैराश्यता”, कति मतदाताले मन हुदा हुँदै पनि देश बाहिर भएका अथवा टाढा भएकाले मतदान गर्न नसकेका पनि हुन सक्छन् , त्यो आफैमा बेग्लै कुरा हो । तर नैराश्यता भने प्रमुख कारण रहेको आम जनभावनाले झल्काउछ, जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको छ । यो नैराश्यता किन र कसरी भन्ने बुझ्न देशको राजनीतिक अनि अर्थिक-सामाजिक पृष्ठभुमि हेर्नू जरुरी छ ।

पहिले राजनीतिक पृष्ठभुमि केलाउन तर्फ लागौं । धेरै पछाडी जानू पनि पर्दैन प्रजातन्त्रको आगमनको कालखण्डबाट सतही रूपमा हेर्ने हो भने पनि बुझ्न गाह्रो नपर्ला । २००७ साल भन्दा पहिले राणा प्रधानमन्त्रीहरुले देशको शासनको बागडोर सम्हालेका थिए, त्यस समयमा भएका सुधार कार्यलाई माथ गर्ने बेथितिहरु धेरै थिए जसको आधारमा नेपाली कांग्रेसले विद्रोह सफलतापुर्वक नेतृत्व गरेर देशमा प्रजातन्त्र आयो र राजा त्रिभुवनको हातमा शासनको बागडोर पुग्यो र अन्तरिम सरकार बनाउन संविधान सभाको लागि चुनाव भयो ।

राजा त्रिभुवन पछि उनका छोरा राजा महेन्द्रको गद्दीमा आगामन भयो र राजनीतिक पार्टीको आन्तरिक द्वन्दको कारण देखाउदै शक्ति आफ्नो हातमा लिने प्रयास गरे । राजा महेन्द्रले २०१७ सालमा बहुमतको बि.पि. कोइरालाको सरकार ढाल्दै बि.पि. र उनको मन्त्रीमण्डललाई गिरफ्तार गरे र निर्दलिय पञ्‍चायत शासन लागु भयो, त्यो व्यवस्थाको राम्रो र नराम्रो पाटो दुवैको चर्को वकालत बेलाबखत भएकै हुन्छ ।

२०२८ सालमा राजा महेन्द्रको देहावसान पछि उनका छोरा विरेन्द्र राजा भए । २०३६ सालमा पञ्‍चायतविरुद्ध विद्यार्थी नेतृत्व आन्दोलन चर्कियो र त्यसैबखत राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे जसमा बहुदलीय व्यवस्था भन्दा पञ्‍चायत व्यवस्थामा धेरै मत गयो । त्यस पछिको समयमा कम्युनिस्ट पार्टीहरु टुट्ने फुट्ने क्रम जारी नै थियो । २०४७ सालमा नेपाल कांग्रेस र कम्युनिस्टहरु मिलेर संयुक्त जन-आन्दोलन सुरु गरे जुन सफल भयो जसको पश्चात् गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो ।

पार्टीको आन्तरिक किचलोका कारण संसद भङ्ग गर्दै मद्यावधी चुनावको घोषणा भयो र त्यस चुनावबाट एमालेका मनमोहन अधिकारिले अल्पमतको सरकारको छोटो समय नेतृत्व गरे । यस पछिको समय सरकार परिवर्तनको लहर नै चल्यो, छोटो अवधिमा पनि धेरै प्रधानमन्त्री फेरिरहने माहोल भयो । त्यसै बीच बाबुराम भट्टराईले शेर बहादुर देउवा समक्ष ४० बुँदे माग पेश गर्दै अर्को जनआन्दोलन हुन सक्ने चेतावनी दिए र त्यसको नौ दिन पछि विद्रोह सुरु भयो ।

त्यसपछि पनि कहिले लोकेन्द्र बहादुर चन्द कहिले कृष्णप्रसाद भट्टराई कहिले गिरिजा प्रसाद कोइराला त कहिले फेरि शेरबहादुर देउवा प्रधानमन्त्री भए, त्यसको सँगै माओवादी द्वन्द चर्किदै थियो । यसै क्रममा २०६२ सालमा ७ बुँदे सहमति र २०६२/६३ को १९ दिने दोस्रो जनआन्दोलनको सफलता संगै फेरि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो र त्यस लगत्तै बृहत शान्ति सम्झौता सँगै माओवादी पनि सतही राजनीतिमा उदायो । फलस्वरूप २०६४ को चुनावमा पहिलो पार्टी बन्दै पुष्पकमल दहाल प्रधानमन्त्री बने तर उनी पनी धेरै टिक्न सकेनन् र एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री बने ।

समयमै नयाँ नेपालको संविधान दिन असक्षम संविधानसभा अवधि थप्दै नयाँ नयाँ प्रधानमन्त्री बनाउँदै बित्यो । २०७० सालमा फेरि अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो र सुशील कोइरालाको नेतृत्वमा नेपाली काँग्रेस र एमालेको सरकार बन्यो । २०७२ मा नेपाल महाभुकम्पको कम्पनले कापिरहेको बेला नेपाले नयाँ संविधान पायो र पनि फेरि सरकार परिवर्तनको खेल चलिरहयो । २०७४ को चुनावमा बहुमत पएको नेपाल कम्युनिस्ट पार्टीले पनि आफ्नो आन्तरिक किचलोका कारण ५ वर्ष सरकार टिकाउन सकेन र त्यहीं संसदको कार्यकाल सकिएकाले आगामी मङ्सिर ४ का लागि चुनाव तोकियो ।

अब आउँछ कुरा जनतामा नैराश्यता किन ? ७० वर्षका बीचमा यतिका सरकार परिवर्तन हुँदा, यतिका व्यवस्था परिवर्तन हुँदा पनि परिवर्तन नभएको जनजीवन देख्दा; आश देखाउँदै चैनको सासको प्रत्याभुति दिलाउने संकल्प दिनेहरुमा आएको नकारात्मक परिवर्तन देख्दा नैराश्यता त न्यायसंगत नै देखिन्छ । जनजीवनको बारेमा बुझ्न अलिकति आर्थिक – सामाजिक पृष्ठभुमि केलाउन तर्फ लागौं ।

नेपालको भूगोल अनुसार यहाँ मानिसको जनजीवन छ । मुलत: नेपाल कृषिप्रधान देश हो, सायद जनसंख्याको धेरै हिस्सा कृषिमा आधारित भएर पनि होला । प्रथम विश्व युद्ध पछि सुरु भएको लाहुर जाने परम्परा हिमाली र पहाडी भेगमा कायम छ र परिवारको जनजीवन उकास्‍ने यो मुल पेशा भएको छ । सरकारी जागिर- निजामती, संस्थागत, जङ्गी, प्रहरीमा पनि समग्र देशभरि राम्रो लगाव भएको देखिन्छ ।

माओवादी द्वन्दका बेला र त्यस पछिका समयमा ग्रामीण भेगका युवाहरु विदेश जाने क्रम उल्लेख रुपमा बढेको देखिन्छ । नयाँ भए पनि फस्टाउँदै गरेको निजी (कर्पोरेट/प्राइभेट) सेवामा पनि विस्तारै युवाहरु संलग्न भएको देखिन्छ । विशेषगरी विश्व्यापिकरणले नेपाल जस्तो विकाससिल मुलुकको युवाहरु को आकर्षण विकसित मुलुकमा बढेको छ र उच्च शिक्षाको कामनामा विदेशिने क्रम बढेको देखिन्छ ।

अहिलेको दिनमा कृषि कर्म भन्दा सेवा र वैदेशिक क्षेत्रमा लगाव बढेको देखिन्छ । संसारमा हुने पल-पलको गतिविधि क्षण भरमानै थाहा पाउने प्राविधि सबैको हात हातमा हुन थालेको छ । यहाँ संसारको प्रगति सबै सामु उजागर छ। आफ्नो देश हेर्ने हो भने, आफ्नो उत्पादनको नाममा केही छैन, भएको पनि प्रवर्द्धनको अभावमा अलपत्र परिरहेका छन् । उत्पादन बढाउन ठोस कुनै कदम देखिँदैन, बोलीमा उत्पादन बढाउने कुरा धेरै हुन्छ । सरकार जसको हुदा पनि मल कुनबेलामा चाहिन्छ थाहा हुन्छ तर मल सर्वसुलभ उपलब्ध हुन सक्दैन ।

प्रतिपक्षी हुदा स्वर ठूलो गर्नेहरु सरकारमा पुगेपछिको हविगत फेरि त्यही त हो ! किसानको मर्म कसैले नबुझे अब किसान निराश हुनु जायज हो । निजी व्यापार गर्छु भनेर लाग्नेलाई आफ्नो फर्म दर्ता गर्दा देखि सुरु हुने झन्झटले निराश बनाउनु जायज हो । उच्च शिक्षा देशको विश्वविद्यालयबाट गर्ने विद्यार्थीको नतिजा १ वर्षसम्म पनि नआउदा निराश हुनु त जायज नै हो । ग्रामीण भेगको त क कुरा त्यहाँ त सडक, खानेपानी, स्वास्थ र शिक्षाको पनि राम्रो व्यवस्था छैन त्यहीँ आश गरेर शहर आउँदा पनि पुर्वधारको राम्रो व्यवस्था नदेख्दा जनमानस निराश हुनु जायज नै हो ।

कुनै सरकारी काम लिएर कार्यालय पुग्दा त्यहाँको अस्तव्यस्ताले जनमानसमा निराशा पैदा गर्नु साधारण हो। विदेशको विकासको झल्को पाएकामा देशको मायाले नैराश्यता हुने नै भयो । त्यसैमा नुन थप्न आउँछ पूरा हुन नसक्ने घोषणाका संग्रह र त्यो घोषणा प्रस्तुत गर्ने जनताले नाडी छामिसकेका अनुत्तीर्ण हस्तीहरु अनि निराशा त हुने नै भयो । नैराश्यताको सानो एक झलक त जनताले स्वतन्त्र उम्मेदवारलाई देशका विभिन्न पालिकामा जिताएर देखाएका छन् । तर फेरि पनि घोषणापत्र हेर्दा यो कुरा को चेतना भएको जस्तो देखिदैन । यो त भयो नैराश्यताको नालीबेली! अब पनि के यो नैराश्यता र यसको सिकायत मात्र गर्दै बस्ने त ? यसको निकाश के त ?

निकाशको कुरा गर्दा सर्वप्रथम हामी मतदाताले (जनता ) विवेकसंगत आफ्नो मतको प्रयोग गर्नु पर्छ । जो आएपनि यस्तै हो भनेर राम्रो भन्दा हाम्रोलाई मत दिने परम्परा तोड्नु पर्छ । ‘नयाँ या राम्रोलाइ भोट दिएर के गर्ने जित्ने त्यही पुरानोले त हो ! किन भोट खेर फाल्ने’ भन्ने सोचाइ दिमागबाट निकालौं । हामी सबैले भोट खेर जाने-नजाने भन्दा पनि राम्रोमा मात्र भोट हाल्ने कोशिस गरौं । अरुमा परिवर्तन आश गर्नु भन्दा आफू परिवर्तन हुनु विवेकशील कर्म हो ।

यहाँ नयाँ भन्नाले युवा अथवा स्वतन्त्रलाई मात्र भन्न खोजेको होईन, नयाँ भन्नाले तपाईंको भोटको लायकका लागि हो । योजनाको आश बाँड्ने मात्र होइन, योजना कसरी पुरा गर्ने, स्रोत के हुन्छ, कति समयमा पुर गर्ने सबैमा दखल भएकालाइ भोट दिदा परिवर्तन देख्‍ने सम्भावना बढ्छ । झुठ बोल्नेलाई भोट नहालेर हेरौँ । नसोचेको तर सकारात्मक परिवर्तन हुनेछ । राजनीतिक चेतले सम्पन्न नेपालीमा सामाजिक न्यायको चेत भए यो नैराश्यताले निकाश पाउछ ।

यो लेखको सुरुमा लेखेको वाक्य फेरि दोहोराउन मन लाग्यो, ‘A sheet of paper may decide your future’, त्यसैले आफ्नो मत अधिकारको प्रगोग गर्नुहोस्, विवेकशील चेतनाका साथ भोट गर्नुहोस्, आफुमा परिवर्तन ल्याउँदा नसोचेको तर सकारात्मक परिवर्तन हुन सक्ने प्रवल सम्भावना हुन्छ ।

-सुबिन त्रि.विको केन्द्रीय अर्थशास्त्र विभागमा अध्ययनरत विद्यार्थी हुन्  

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय