जनजाति आन्दोलनका अगुवा पासाङ

प्रतिक भट्ट

लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौमसत्ता सम्पन्‍न जनता हौं भन्नका लागि हामीले धेरै ठूलो त्याग, बलिदान र आन्दोलन गर्नुपर्यो । झन्डै ३० वर्षको निर्दलीय पन्चायती व्यवस्था र त्यसलाई मलजल दिने राजतन्त्रका विरुद्ध भएका २०४६ सालको ऐतिहासिक जन आन्दोलन, २०५२ फागुन १ देखि सुरुभएको माओवादी विद्रोह, ०६२/०६३ को दोस्रो जनआन्दोलन, जनजाति आन्दोलन, मधेस र थरुहट आन्दोलनमध्ये कुनै न कुनै आन्दोलनसँग भावनात्मक हिसाबले नजोडिएको हामीमध्ये कोही पनि छैनौं ।

हरेक समयमा भएका आन्दोलनले कुनै न कुनै परिवर्तन, ऊर्जा र समुन्नत नेपाल निर्माणमा योगदान पुगेकै छ । तर, यीमध्येको आदिवासी-जनजाती आन्दोलनले नेपालमा बसोबास गर्ने आदिवासी जनजातीको मुद्दालाई राज्यको कानुन निर्माणदेखि नीति निर्देशन तहसम्म स्थापित गरेको कुरा सबैलाई जानकारी छ । आजको दिनमा प्रतिनिधिसभा र प्रदेशसभाको संसद भवनमा जनजातिको प्रतिनिधित्व सुनिश्चित हुनेदेखि विभिन्न आयोग, विश्वविद्यालय वा नीति निर्माणको तहमा आदिवासी जनजातीको सहभागिता रहने कुरामा विभिन्न समयमा भएका आदिवासी- जनजाती आन्दोलनको मुख्य भुमिका रहेको छ ।

-पासाङ शेर्पा

यही भुमिका स्थापित गर्न राजनीतिक रुपमा सचेत भएदेखि अनवरत रुपमा लागिरहेका एक अथक राजनीतिक व्यक्तित्व हुन् पासाङ शेर्पा । हाल नेकपा एमालेका केन्द्रीय सदस्य तथा ताप्लेजुङ सह-इन्चार्ज रहेका पासाङ पार्टीभित्र इमानदार र शालीन व्यक्तित्वको रुपमा चिनिन्छन् । २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका पासाङले आजको दिनसम्म आइपुग्दा अनेक उतारचढाव र हैरानी खेपेका छन ।

विशेषगरी जनजाती आन्दोलनलाई आजको स्वरुप र उपलब्धिमा ल्याइपुर्‍याउन पासाङले धेरै कठोर मेहनत र राजनीतिक लगानी गरेका छन् । उनले जनजातीका मुद्दा नसमेटिँदा पार्टी नै छाड्ने अवस्थादेखि जनजातिको पक्षमा पार्टीलाई नै डोहोर्‍याउने अवस्था समेत झेल्नुपरेको थियो । ‘जनजातिको पक्षमा पार्टीले काम गर्न सकेन कि भनेर मैले संविधानसभा सदस्य बाटै राजिनामा पनि दिँए’, उनले भने- ‘त्यो एक किसिमको मेरो विद्रोह र पार्टीको लागि सच्चिने अवसर थियो । पार्टीले पछि मेरो कुरालाई व्यवहारिक रुपमा पनि स्वीकार गरेको पाएपछि मलाई खुसी लाग्यो’ ।

२०६४ सालको संविधानसभामा पासाङ नेकपा एमालेबाट संविधानसभा सदस्य (सांसद) थिए । उनले त्यो बेला संविधानमा जनजातिका कुरा नसमेटिने हो कि भनेर धेरै ठाउँमा खबरदारी पनि गरे । तर, पछि संविधानसभा सदस्यबाटै राजिनामा दिए । उनको राजिनामापछि उनको पार्टी एमालेले अर्को सदस्य ल्याउदा जनजाति नै ल्याउनु र अन्य अवसर पाएको ठाउँमा पनि जनजातिकै बाहुल्य हुनेगरी निर्णय गर्नु उनका लागि सुखद भैदियो । यद्यपि उनी राजिनामापछि त्यो पार्टीबाट नै अलग भएर बसे ।

एमालेबाट अलग भएर बसेका पासाङ फेरी २०७२ मा संविधान जारी भएपछि माओवादी पार्टी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेका पूर्वप्रधानमन्त्री तथा माओवादी नेता डा.बाबुराम भट्टराईसँग राजनीतिक रुपमा जोडिए । त्यतिबेला डा.भट्टराईले गठन गरेको नयाँ शक्तिको ३५ सदस्यीय कमिटीमा पासाङ मुख्य भुमिकामा थिए । ‘डा.भट्टराई असल र भिजन भएका व्यक्ति हुन् तर राजनीतिक नेतृत्व गर्न र पार्टी सञ्चालनमा उहाँ कमजोर देखें’, डा.भट्टराईबारे पासाङको बुझाइ यस्तो छ- ‘राजनीतिमा असल र विचारक सँगै नेतृत्व गर्ने क्षमता र कुशल संगठक हुन जरुरी हुने रहेछ’ ।

२०७४ सालमा नयाँ शक्तिबाट अलग भएका पासाङ माओवादी केन्द्र हुँदै नेकपा निर्माणमा सक्रिय भए । नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता भई नेकपा बनेपछि सो पार्टीको केन्द्रिय भुमिकामा रहेका पासाङ हाल नेकपा एमालेको केन्द्रीय सदस्य तथा ताप्लेजुङ सह-इन्चार्ज र लोकतान्त्रिक आदिवासी जनजाती महासंघको मुख्य भुमिकामा छन् ।

उनले यसपटक ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभामा प्रत्येक्ष तर्फ उम्मेदवारी दिने आकांक्षा राखेका छन् । उनको दाबी र पार्टीको कमिटीबाट सिफारिस समेत भएका कारण उनले अवसर पाउने देखिन्छ । ‘म पार्टी र जनजाती आन्दोलनको इमानदार सिपाही हुँ त्यसैले पार्टी नेतृत्वले न्याय गरेर अवसर दिनेमा ढुक्क छु’, परेवान्युजसँगको कुराकानीमा पासाङले भने- ‘पार्टीभित्र सबै कमरेडहरु सक्षम हुनुहुन्छ तथापि यसपटक मलाई अवसर दिने कुरामा सबैको समर्थन मलाई नै हुन्छ भन्नेमा आशावादी छु’ ।

पार्टी राजनीतिसँगै पासाङ विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छन् । जनजाति महासंघमार्फत आदिवासी जनजाति आन्दोलनको अगुवाई गरेका पासाङले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजक समितिको कार्यकारी निर्देशक भएर समेत काम गरेका छन् ।

पासाङको बुझाइ राजनीतिमा नेताहरू अपडेटेड हुनुपर्छ भन्ने पनि छ । सधैं पुरानै प्रवृत्ति देखाएर नेताहरू अगाडी बढ्न खोज्दा ‘स्वतन्त्र’ भन्ने हावा चल्ने गरेको उनको बुझाइ छ । यद्यपि स्वतन्त्रको हावाले राजनीतिक दलहरूलाई गलत ट्र्याकमा हिँड्न नदिन सचेत गराएको तर आफैंमा स्वतन्त्र भन्नेहरूको छुट्टै अस्तित्व भने नरहने उनको बुझाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय