गोपाल राईको हेलिकप्टर दुर्घटना र झिलादेवी
देवी पोखरेलआज असोज ७ गते । धेरैलाई यो एउटा गते मात्रै हुनसक्छ । किनभने सबै तिथी, गते र बार सम्झेर बस्नुपर्ने पनि हुँदैन । तर, कुनै गते वा दिन यस्तो आइलाग्छ जुन जीवनमा कहिले पनि दोहोरिएर नआएपनि हुन्थ्यो जस्तो लाग्छ । जब कुनै महिनाको त्यो दिन वा गते एक वर्षपछि फेरि आउँछ, अनि त्यसले मुटुमा कम्पन पैदा गर्छ र दिमागमा झड्का दिन्छ ।
ओखलढुंगा रामपुरकी झिलादेवी दाहालको जिवनमा पनि त्यस्तै झड्का दिने दिन हो असोज-७ । झिलादेवी दाहाल ओखलढुंगा सदरमुकामस्थित जिल्ला अस्पतालको बेडमा थिइन् । भर्खरै अप्रेसन गरेको कारण उठेर हिँड्न गाह्रो थियो । तर, बिरामी भएर हस्पिटल बस्दा को भेट्न आयो र को गयो भन्ने चाहिँ उनको दिमागले हेक्का राख्थ्यो ।
त्यस्तैमा बिरामी झिलादेवीलाई भेट्न २०६३ असोज ७ गते अस्पताल आइपुगे तत्कालीन वन तथा भु-संरक्षण राज्यमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपाल राई । झिलादेवीको स्वास्थ्य अवस्था बुझेर राज्यमन्त्री राई हेलिकप्टर मार्फत ताप्लेजुङको घुन्सा गए । त्यहाँ कन्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुहलाई हस्तान्तरण गरी फर्कने क्रममा उनी चढेको श्री एयरलाइन्सको हेलिकप्टर घुन्साको फलेभिरमै दुर्घटना भयो ।
दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्य मन्त्री राईसहित उनकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भयो ।
झिलादेवीलाइ त्यो घटना आज पनि ताजै छ । त्यतिबेलै अप्रेसन गरेको घाउले भन्दा बढी गोपाल राई र उनकी पत्नीको मृत्युको खबरले झिलादेवीलाई भत्भती पोल्यो र चहर्यायो । उनी बोल्न सकिनन् । झिलादेवीलाई यति धेरै पीडा हुनुको अर्को कारण थियो गोपाल राई पत्नीको पनि मृत्यु । ‘जहिले एक्लै हिँड्ने दाजुलाई मैले नै भाउजूलाई पनि लिएर जानुस् न भनेर अनुरोध गरेकी थिएँ’, उनी त्यो घट्ना सम्झिन्छिन्- ‘मलाइ ओखलढुंगा अस्पतालमा भेटेपछि दाजु गाउँ पुगेर भाउजुलाइ लिएर जान्छु भन्दै बिदा हुनुभएको थियो ।’
मन्त्री राई गाउँ पुगेर श्रीमतीलाई हिँड भन्दै गर्दा पहिले भाउजूले पत्याइनन् । किनभने त्यसभन्दा अगाडि कहिले पनि उनले श्रीमतीलाई यसरी जाउँ भनेकै थिएनन् । मन्त्री राइसँगै गएका अरुले खाना उनकै गाउँमा खाए तर मन्त्री राइले खाएनन् । ‘जब अरुले खाना खाँदै गर्दा दाजुले भाउजुलाई लिएर जाने इच्छा गरे, त्यसपछि हतारिएर भाउजुले एकसरो कपडा फेरेर निस्कन खोज्नुभएको रहेछ’, दाहालले भनिन्- ‘खोइ किन हो भाउजुले जाने बेला दुई पटक केही बिर्सेजस्तो गरि घरमा पसेर निस्कनुभएछ । त्यसपछि दाजु र भाउजू आकाशमा उडेर गए तर कहिल्यै आएनन्’ ।
त्यतिबेला अप्रेसन गरेको झिलादेवीको घाउ त निको भयो तर मन र मस्तिष्कमा लागेको त्यो दुर्घटनाको चोट अझै सन्चो भएको छैन । हरेक वर्ष घुमेर फेरि असोज ७ आउँछ अनि झिलादेवीको आँखामा झलझली त्यही घटना ताजा बनेर आइदिन्छ ।