प्रजातान्त्रिक आन्दोलनको दु:ख झेल्ने झिलामाथी लोकतन्त्रमा झेली !

देवी पोखरेल

नेपालमा ३० वर्षे पञ्‍चायती व्यवस्थाविरुद्धको संघर्ष र पन्चायतको दमन, २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सहभागिता, २०५२ साल फागुनदेखि सुरुभएको जनयुद्ध र २०६२/०६३ को दोस्रो जनआन्दोलनलाई भोग्‍ने कुनैपनि राजनीतिक व्यक्तिले लाभको पद वा सम्मानको अवसर लिन बाँकी सायदै छैनन् होला ।

मलाई पञ्‍चायतले दमन गरेर जेल राखेको, मैले २०४६ सालको आन्दोलनमा सहभागी भएर प्रजातन्त्रको लागि योगदान दिएको, २०५२ सालको जनयुद्धमा लागेर दु:ख पाएको वा जनयुद्धमा नलागेबापत माओवादीले दु:ख दिएको र २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा रगत बगाएको भनेर पार्टीमा रुने, कराउने, बार्गेनिङ गर्ने र भाग खोज्‍ने परिपाटी अझै छ । कतिपय बार्गेनिङ गर्न सक्नेले त्यसैलाई आधार बनाएर पद,पैसा र पावर बटुल्ने र अहिले पार्टीमा हालहुकुम चलाउने पनि भइसके ।

कतिले चाहिँ नातावाद र चाप्लुसी गरेर भएपनि अवसर लिएर पद, पैसा र पावरको बलमा पार्टी कब्जा र काठमाडौंमा भव्य महल ठड्याइसके । तर, त्यही आन्दोलनबाट आएका र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भनेर जीवनभर पार्टीको आदर्श, सिद्धान्त र विचारलाई सर्वोपरी ठानेर हिँड्नेको अवस्था त्यस्तो छैन । उनीहरुले अहिलेसम्म लाभको पद होइन सामान्य सम्मान र परिचयसम्म पाउन सकेका छैनन् ।

उनीहरुले सम्मान पाउन लायक नभएर वा सम्मान पाउनेगरी पार्टीमा योगदान नगरेर पनि होइन । पञ्‍चायतमा गिरफ्तार हुनेदेखि, आन्दोलनमा लाठी खानेसम्म उनीहरु नै थिए । त्यतिमात्र होइन जनयुद्धमा सुराकी भनेर माओवादीले यातना दिनेदेखि माओवादीलाई भात खुवाएको भनेर सेनाले लछारपछार गर्ने सम्मको भोगाइ र पीडा पनि उनीहरुको कहिल्यै नमेटिने गरी मुटुमा गढेको छ ।

यस्तै कहानी भएको एउटा परिवार हो ओखलढुंगा रामपुरका बलभद्र र झिलादेवी दाहालको । बलभद्र पूर्वशिक्षक र काँग्रेसका पुराना नेता हुन् । उनले पञ्‍चायतमा जागिर गुमाएर ज्यान जोगाउन भारत पुग्नुपरेको थियो र त्यहीँबाट पनि काँग्रेस राजनीतिलाई निरन्तरता दिएका थिए । २०५२ मा सुरुभएको माओवादी जनयुद्धमा पनि उनलाई माओवादीले धेरै धम्की र दु:ख दिए ।

– बलभद्र दाहाल र झिला दाहाल

यता झिलादेवी दाहाल बलभद्रको श्रीमती भएकै कारण पनि पटकपटक पञ्‍चायत र माओवादीको निशानामा परिरहिन् । काँग्रेस ओखलढुंगाको पुरानो अनि त्यागी इमानदार कार्यकर्तामा पर्ने झिलादेवीले प्रजातन्त्र र लोकतन्त्रमा नेपाल महिला संघको जिल्ला नेतृत्वमा रहेर काम गर्ने अवसर पाइन् । त्योभन्दा माथि उनले कहिले पनि अवसर पाइनन् । काङ्ग्रेसको सोझो र इमान्दार सिपाही भएकै कारण जहिले पनि जालझेलमा पारेर उनलाइ राजनीतिक रुपमा माथि जाने अवस्था नै भएन ।

उनले चाहना राखेको महाधिवेशन प्रतिनिधिको चुनावमा समेत उनलाई हराइयो । पञ्‍चायतदेखि लोकतन्त्रसम्म परिवर्तनका लागि भएका हरेक राजनीतिक आन्दोलनमा सहभागी बलभद्र र झिलादेवी दाहालको कहानी सुन्दा जो कसैको आँखा रसाउँछ र लाग्छ यति दु:ख, पीडा र यातना सहेको यो परिवारले पक्कै राजनीतिक अवसर र लाभको पद त धेरै पाए होलान् । तर, उनीहरुको त्यो दु:ख र पीडा कसैले सुन्‍ने हिम्मत नै गरेका छैनन् ।

पार्टीमा योगदान नगरेपनि नातावाद र कृपावाद वा त्यो नभए धनवाद(पैसाले किनेर)ले पद पाइएकै छ भने बलभद्र र झिलाको कहानी सुन्‍ने फुर्सद कसलाई पो छ र ? फेरि पद, पैसा र पावर केही नभएकाको कहानी सुनेर पार्टीमा आफ्नो हैसियत किन तल झार्नु भन्‍ने पनि कसैलाई लागेको हुनसक्छ । ‘हामीले त सधैं प्रजातन्त्र जोगाउन र काङ्ग्रेस पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने मात्रै सोच्यौं, त्योभन्दा माथि केन्द्रीय नेता, सांसद, मन्त्री वा लाभको पदको त वास्तै गरिएन’, विगत सम्झँदै झिला दाहाल भन्छिन्- ‘पञ्‍चायत र माओवादी आन्दोलनमा आफ्नो ज्यानभन्दा पञ्‍चायत जोगाउनुपर्छ भन्‍ने मात्रै मनमा आयो, लोकतन्त्र आएपछि पार्टीमा धेरै साथीहरू जोडिए, भोटरबाहेक तिनले हाम्रो आवश्यकता नै देखेनन’ ।

नेपाली काँग्रेसका नेताहरू स्व.बलबहादुर राई, महेश कोर्मोचा, स्व.गोपाल राईलगायत थुप्रै नेतासँग झिलाले सँगै राजनीति गरिन् । पञ्‍चायतले दिएको दु:ख, माओवादीले दिएको यातना, सेना र प्रहरीले दिएको धम्कीसँग कहिल्यै नझुकेर उनले आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउँदै लगिन् । उनको राजनीतिक पृष्ठभुमिले गर्दा छोराछोरीले समेत माओवादीबाट धम्की र कुटाइ समेत खाए ।

उनको माइलो छोरो सन्तोष दाहाललाई माओवादीको वाइसिएलले काठमाडौंमा कुटपिट गरी मर्‍यो भनेर ढलमा फालिदिए । मर्‍यो भनेको छोरो उपचारपछि ठीक भयो । कान्छी छोरीलाई समेत माओवादीले धेरैपटक घरमै आएर युद्धमा लैजान खोजे । यता माओवादी घर आए भनेर सेनाले माओवादी पाल्ने र भात खुवाउने भनेर उल्टै यातना दिए । झिलादेवी भन्छिन्- ‘त्यत्रो पीडा मनमा लिएर पनि पार्टीले अहिले त्यही माओवादीको हँसिया हथौड़ामा भोट हाल् भन्छ’।

पञ्‍चायतदेखि माओवादीसम्मबाट कहिले लखेटिने, कहिले धम्की खाने र कहिले अनावश्यक अल्झनहरु आइपर्ने भएर पनि झिलादेवीले काँग्रेस पार्टी जोगाउन सबैखाले पीडा झेल्दै गइन् । २०२८ सालतिर जेठो छोरो भर्खरै जन्मेको त्यही बेला श्रीमानलाई पञ्‍चायतले दु:ख दिएर भारततिर जानुपरेको उनलाइ ती दिन सम्झँदा अहिले पनि कहालीलाग्दो हुन्छ ।

त्यसपछि २०४६ को आन्दोलनमा पनि उनको कान्छो छोरो भर्खरै जन्मेको बेला थियो । उनी त्यो काखे बच्चा छाडेर पनि आन्दोलनमा लागिन् । जब आन्दोलन सफल भएर देशमा प्रजातन्त्र आयो झिलादेवीको राजनीतिक व्यस्तता झन् बढ्यो । घरमा सानो बच्चा भएर पनि जिल्लामा हुने हरेक कार्यक्रममा पुग्नुपर्ने अनि श्रीमान पनि राजनीतिमा भएकोले कहिलेकाँही दुवैले घर छाड्दा घरमा छोराछोरीको दु:ख छुट्टै थियो । ‘आफू सामान्य बुझ्ने भएदेखि काँग्रेस अनि श्रीमान पनि काँग्रेस’, झिलादेवीको सम्झनामा ती दिन अझै ताजा लाग्छ र भन्छिन्- ‘मेरो मन, मस्तिष्क नै काँग्रेस भएकोले मैले काँग्रेस बलियो बनाउनभन्दा अरु स्वार्थ केही राखिन’ ।

काँग्रेसमा त्यति धेरै सक्रिय हुँदा एकदिन माओवादीले घरमै आएर माओवादी बन्नुपर्यो जिम्मेवारी लिनुपर्यो समेत भन्न भ्याए । गाउँकै कोही चिनेका मान्छेले त्यो प्रस्ताव लिएर काँग्रेस सिध्याउन आएको र त्यो सुनेर झन् आफुलाइ काङ्ग्रेस भएकोमा गर्व लागेको दाहालले सुनाइन् । ‘माओवादीले साह्रै दु:ख दिएकोले मेरो बुढाले उनीहरुलाई पैसा नै दिने गर्नुभएको रहेछ, नदिए मार्ने हुन कि भन्ने डर पनि थियो । यता घरमा भात खुवाउनुपर्ने उता पैसा पनि दिनुपर्ने’, माओवादी युद्धको बेला सम्झँदै उनले भनिन्- ‘अनि माओवादीलाई भात खुवाउने भनेर एकदिन सेनाले छोराछोरीलाई माओवादी बनाउन लागेको भनेर थर्कायो, अनि मैले पनि मेरो छोराछोरी माओवादी भएको प्रमाण ले भनेपछि अर्को पुलिसले यी बुढी त काँग्रेस भएर भाषण गर्ने बुढी पो हुन् भन्यो र बाँचियो’ ।

हाल नेपाली काँग्रेस जिल्ला प्रतिनिधि रहेकी दाहाल प्रजातान्त्रिक आन्दोलनमा ओखलढुंगाको लागि जगकै ढुंगा भएर पनि कहिल्यै कुनै अवसर नपाउनेमध्येकी नेतृ हुन् । पार्टीमा धेरै योग्य र असल साथीहरू होलान् तर उनीहरुले पनि आफ्नो राजनीतिक उचाइ बढाउने वा भविष्यमा आफ्नो पनि सम्मान खोज्‍ने हो भने झिला दाहाल जस्ताको जीवन भोगाइ, पार्टीमा गरेको योगदान र त्यागको बारेमा चर्चा हुनु र सम्मान गर्नु आवश्यक छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय