राजनीतिलाई सामाजिक कामसँग जोड्दै छिरिङ

प्रतिक भट्ट

नेपालको राजनीतिमा धेरै नेता यस्ता पनि छन् जसले राजनीतिलाई नै पेशा, राजनीतिलाई नै व्यापार र राजनीतिलाई नै कमाउने ठाउँ बनाएका छन् । केही नेता व्यक्तिगत रुपमा हेर्दा सामान्य र स्वच्छ छविका देखिए परिवारको नाममा सम्पत्ति जोड्ने खालका पनि छन् भने कोहि राजनीतिकै आडमा अकुत धन सम्पत्ति जोडेर जेल पुगेका उदाहरण पनि छन् ।

तर, राजनीतिमै लागेका केही यस्ता व्यक्ति पनि छन् जसले पार्टीको नाम वा आफ्नो राजनीतिक जीवनलाई पैसा र पावरको लागि प्रयोग नै गरेका छैनन् । बरु आफ्नो पुर्खाकै सम्पत्तिबाट राजनीति र समाजसेवा समेत गरेका छन् । बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारीदेखि मदन भण्डारी सम्मले व्यक्तिगत फाइदाको लागि पार्टी र राजनीतिलाई कहिल्यै प्रयोग गरेनन् ।

-छिरिङ दोर्जे लामा

अहिले पनि कतिपय नेताको जीवनशैली साधारण कार्यकर्ता वा सामान्य किसान परिवारकै भन्दा फरक छैन । राजनीतिलाई फाइदाको रुपमा प्रयोग नगर्दा पनि उनीहरुको दैनिकी चलेकै छ । ठुला महलमा बसेर आफूबाहेक जनता र कार्यकर्तालाई नहेर्ने प्रवृत्तिभन्दा साधारण जीवन बिताउने नेतालाई नै जनताले पछि सम्म सम्झने हो । यस्तै राजनीतिलाई कमाउने ठाउँ भन्दा पनि समाजसेवाको रुपमा लिने मध्येका एक हुन् हाल बागमती प्रदेशसभाका सांसद छिरिङ दोर्जे लामा ।

२०५५ सालमा नेपाली काङ्ग्रेसको विद्यार्थी संघ नेपाल विद्यार्थी संघबाट त्रिचन्द्र कलेज स्ववियु सदस्य भएपछि राजनीतिमा अगाडि आएका छिरिङ हाल प्रदेश सांसद तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य समेत हुन । उनी स्ववियु सदस्य हुँदा कलेजको स्ववियु सभापति थिए अहिले नेपाली काङ्ग्रेसका महामन्त्री रहेका गगन थापा ।

छिरिङ २०५९ सालमा स्ववियु ससचिव हुँदै नेविसंघको महाधिवेशनबाट केन्द्रीय सह-महामन्त्री चुनिए । त्यसपछि उनी राजनीतिसँगै सामाजिक सेवाको भावनाले २०६४ मा बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक भएर बौद्ध क्षेत्रको बिकास, संस्कृती र धार्मिक काममा अगाडि बढे । त्यसलगत्तै नेपाली काङ्ग्रेस काठमाडौको दुई कार्यकाल जिल्ला सदस्य भएर काम गरेको अनुभव र २०७४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भै अहिले बागमती प्रदेश सदस्य र नेपाली काङ्ग्रेस पार्टीको संसदीय दलको सचेतक भएर प्रदेश संसदमा मुख्य भुमिका खेलिरहेका छन् ।

भु-गर्भशास्त्रमा स्नातकोत्तर गरेका छिरिङ पेशाले भुगर्भविद् हुन् । उनले पेशासँगै केही समय डेरी व्यवसाय समेत गरे । आफ्नो परिवार धर्ममा आस्था राख्‍ने र यसभन्दा अगाडिको जन्ममा राम्रो काम गरेको कारण सम्पत्ति कमाउन गलत काम गर्नै नपरेको र पुर्खाको कमाइले नै आफुलाइ पुगेको उनी बताउँछन् । ‘मेरो परिवारको आर्थिक अवस्था कमजोर थिएन र छैन पनि’, उनले भने- ‘काठमाडौको बौद्धमा जग्गा र घरबाट आउने आम्दानीले खर्च गर्न पुगेको छ ।’

उनी मात्रै होइनन् उनकी श्रीमती अनु प्रसाईं पनि स्‍नातकोत्तर गरेर राम्रो आम्दानी गर्न सक्ने अवस्थामा भएकोले छिरिङलाई राजनीतिक लाभ लिनुपर्ने अवस्था नै छैन । बौद्ध र हिन्दु परिवारबीचको अन्तरजातीय विवाह गरेर धार्मिक एकतामा पनि उनको परिवारले सकारात्मक सन्देश दिएको छ ।

बागमती प्रदेश सभामा पुगेपछि विशेषगरी प्रदेश मामिला समितिको ‘बागमती प्रदेश विपद् जोखिमयुक्त क्षेत्र पहिचान’ उपसमिति संयोजक भएर काम गरेको र प्रदेशको १३ वटै जिल्लामा पुगेको कारण हरेक ठाउँको विकासको काम र सामाजिक अनि धार्मिक कार्यमा रुचि झन् बढेको छ । उनले जोखिमयुक्त क्षेत्रको रिपोर्ट तयार गरी सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।

आफ्नो क्षेत्रको सामाजिक कार्यमा कहिल्यै कन्जुस्याइँ नगरेको बताउने छिरिङले प्रदेश सरकारको तर्फबाट बनेको कानुन निर्माणमा पनि सक्रिय सहभागीता जनाएका थिए । यो क्षेत्रको भौतिक पुर्वाधारका कामहरु र सामाजिक क्रियाकलापमा नै धेरै रुचि भएकोले पुनः जनताको सेवक भएर काम गर्ने अवसर उनले खोजेका छन् । ‘हो म एकपटक फेरि जनताको मतबाट निर्वाचित भएर संसदमा पुग्‍ने आशा राख्छु’, छिरिङ भन्छन् -‘मेरो यो चाहना व्यक्तिगत स्वार्थको लागि होइन, जनताको काम गर्छु भन्दा पार्टीले पनि सहयोग गर्नेमा आशावादी छु ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय