‘अग्निपथ’ योजनाको विरोधमा भारत बन्द, ठाउँ ठाउँमा झडप
एजेन्सी । सेनामा भर्ना सम्वन्धि अग्निपथ नामक योजनाको विरोधमा सोमबार कैयौं संगठनले भारत बन्दको आयोजना गरेका छन् । बन्दका क्रममा विभिन्न स्थानमा झडप भएका छन् ।
रेल सेवा पनि ठप्प छ । सडकमा अर्धसैनिक बल खटाईएको छ । भारतीय संचारमाध्यमका अनुसार विरोध प्रदर्शनका कारण देशभर करिब ५ सय रेल प्रभावित भएका छन् । विहार, पश्चिम बंगाल, पंजाव र उत्तर प्रदेशमा हाई अलर्ट घोषणा गरिएको छ । सत्ता चलाइरहेको भारतीय जनता पार्टीका कार्यालयमा सुरक्षा बढाईएको छ ।
सुरक्षा संवेदनशिल भएका क्षेत्रमा इन्टरनेट काटिएको छ । राजधानी नयाँदिल्लीमा रेलवे स्टेशनको सुरक्षाका लागि कमाण्डो परिचालन गरिएको छ ।
सरकारले चार वर्ष कार्यावधि मात्रै भएको सैन्य सेवामा भर्ती खोलेपछि लामो समयदेखि तयारीमा रहेका युवा सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीले अहिलेसम्म आधा दर्जन रेलमा आगो लगाइसकेका छन् । विरोध चर्केपनि सरकारले आफु योजनाबाट पछि नहट्ने प्रष्ट्याइसकेको छ ।