राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको १ बर्ष पुरा
चियापानमा प्रधानमन्त्री सहित सबैलाई निम्तो
काठमाडौं, ७ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पूरा भएको छ । सो अवसरमा आज पार्टीले चियापानको आयोजना गरेको छ ।
पार्टी स्थापनाको एक वर्षमा यो पार्टीले सबै जिल्लामा पार्टी विस्तार र धेरै जिल्लामा साङ्गठनिक संरचना निर्माण गरिसकेको छ । हाल यो पार्टीका प्रतिनिधि सभामा २१ जना सांसद छन् ।
पार्टी स्थापनाको एक वर्षको अवधिमा जनताबाट पाएको उत्साहजनक समर्थन, साथ र सहयोगका लागी महामन्त्री मुकुल ढकालले कृतज्ञता व्यक्त गरेका छन् । ‘यो अवधिमा जान-अनजानमा भएका भूलचुकलाई माफी चाहन्छौँ । हामी अझ बलियो, सुदृढ, पारदर्शि र जवाफदेहि भएर जनआकांक्षा र राष्ट्रहित बमोजिम संकल्पित हुनेछौँ’ महामन्त्री ढकालले भनेका छन् ।
उनले भनेका छन्ने-‘पाल राष्ट्रको एकता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाभिमानको जगेर्ना गर्दै नेपाली जनताले महसुस गर्ने गरि सकारात्मक परिवर्तन र विकाससँगै विभेद रहित समाजको निर्माण गर्दै शान्ति र समृद्धिको लक्ष्य प्राप्तिका लागी राज्य सञ्चालनको जिम्मेवारी लिने र जिम्मेवारीउपर खडा उत्रने गरि हामी हाम्रो सम्पूर्ण ध्यान केन्द्रीत गर्नेछौँ ।’
भ्रष्ट्राचार र बेथितिविरूद्धको लडाईंलाई सशक्त बनाउने कुरामा समेत उनले जोड दिएका छन् । पार्टी स्थापनाको विशेष अवसरमा शहीदहरूलाई सम्झन चाहन्छु भन्दै महामन्त्री ढकालले भनेका छन्-‘हामीलाई थाहा छ, शहीदका सपना अझै अपूरा छन् , जुन सपना पूरा गर्नका लागी हामी सदा समर्पित रहनेछौँ । साथै पार्टीमा आबद्ध सम्पूर्ण सदस्यहरूलाई पार्टी स्थापना दिवसको शुभकामना व्यक्त गर्दछु ।’
यसैबीच पार्टी स्थापनाको सन्दर्भमा आज पार्टी कार्यालय बालाजुमा दिउँस शुभकामना आदानप्रदान तथा चियापान आयोजना गरिएको सो पार्टीले जनाएको छ। चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, माधवकुमार नेपाल लगायतलाई निम्तो गरिएको छ।
साथै कार्यक्रममा सबै पार्टीका मुल नेतृत्व, संघ/संस्थाका प्रतिनिधि, मिडियाकर्मी र कुटनीतिक नियोगका प्रतिनिधि समेतलाइ निम्त्याएको सो पार्टीले जनाएको छ।

