पार्टी एकता हुन्छ तर कसैसँग विलय हुँदैन- माधव नेपाल

काठमाडौं, २३ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्नेसँग पार्टी एकता गर्न सकिने तर कसैसँग विलय नहुने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कटाक्ष गर्दै पार्टी विलय गराउन खोजेको कुरामा अध्यक्ष नेपालले आफूहरु कम्युनिस्ट शक्तिहरु एकताबद्ध बनाउनुपर्ने पक्षमा नै रहेको तर कसैसँग झुक्ने र विलय हुने पक्षमा नरहेको बताए ।

उनले संविधान, संघीयता, गणतन्त्र र सुशासनको पक्षमा विचार मिल्ने र कम्युनिस्ट शक्ति एक बनाउने विषयमा आफू गम्भीर रहेको र त्यो कुरालाई अस्वीकार समेत नगरेको बताए । ‘कम्युनिस्ट शक्तिहरु एकताबद्ध भै सहि कम्युनिस्टका रुपमा अघि बढुन्, त्यस्ताहरुसँग हामी पार्टीगत एकता गर्न पनि चाहन्छौं’, उनले भने- ‘तर हाम्रो पार्टी कुनै पार्टीमा विलय भएर समाप्त हुनेवाला छैन ।’

कम्युनिस्ट आन्दोलनलाई नयाँ चरणबाट अघि बढाउन आफुले मेहनत गरिरहेकाले त्यसको महत्त्व हिजो केही होइन भन्नेहरुले अहिले बुझ्‍न थालेको समेत दाबी गरे। ‘हिजो केही होइन भन्नेले पनि लेखाजोखा राखेका छन्, यो खुसीको कुरा हो’ उनले भने- ‘विचार र भावनामा एकता हुने भयो भने मिलेर जाने हो । कसैलाई बहिस्कृत गर्ने पक्षमा हामी पनि छैनौँ ।’

अध्यक्ष नेपालले कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरी सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको पनि बताए। ‘कसैकसैले हामीलाई कम्युनिस्ट शक्ति नमानेर व्यङ्ग्य गरेका छन्’,  एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै उनले भने-‘हामीले पनि उनीहरूको खुट्टी देखेका छौँ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय