सुनको थाल माग्दा श्री ५ त्रिभुवनले भने- ‘छैन, सबै बेचेर खाइयो’

वि.सं. २००५ साल वैशाख १८ गतेका दिन श्री ३ मोहन शमशेर नेपाल अधिराज्यको प्रधानमन्त्री बनेका थिए।
वैधानिक कानुन- २००४ को घोषणा गरे पनि त्यसलाई पूर्ण रूपमा लागू गर्न नसकेपछि र आन्तरिक दवाब बढेपछि उपचारको बहानामा भारतको राँची गएर उतैबाट श्री ३ पद्म शमशेरले वि.सं. २००५ वैशाखमा राजीनामा दिएपछि ६४ वर्षको उमेरमा श्री ३ मोहन शमशेर प्रधानमन्त्री बनेका थिए । श्री ३ चन्द्र शमशेरका जेठा छोरा उनी राणा शासनको १०४ वर्ष लामो इतिहासका अन्तिम प्रधानमन्त्री हुन् ।
राँचीबाट श्री ३ पद्मशम्शेरले राजीनामा पठाउन ढिलाएकोमा मोहनशम्शेर अलि चिन्तित भई डम्बरशम्शेर थापा (पद्मशम्शेर र आफ्ना बालसङ्गाती) लाई राजीनामाको ताकिता लगाउन श्री ३ पद्मकहाँ राँची पठाए तापनि, २००५ सालको लाग्दो वैशाखमा मात्र सरदार नरेन्द्रमणि आचार्य दीक्षितको हात श्री ३ पद्मशम्शेरले आफ्नो राजीनामा नेपाल पठाए ।
अनि २००५ साल वैशाख १८ गते चौसट्ठी वर्षको उमेरमा मोहनशम्शेर नेपालका प्रधानमन्त्री भई तीन चाँद लगाए ।
सुरुमा नै श्री ५ त्रिभुवनसँग अति सानो कुरामा खटपट पर्यो । प्रधानमन्त्रीले श्री ५ बाट पाउने पञ्जापत्र मुलुकीखानाले तयार गरेको सामानले कागजमा लगाउने चलन थियो । दही, अबीर र सिन्दूर मुच्छिएको चाँदीको थालमा श्री ५ को बाहुली निसाना लगाउने पञ्जापत्रको सरदाम परम्परादेखि कौशीबाटै तयार भएर नारायणहिटी दरबारमा ल्याइन्थ्यो । त्यसैमा मौसुफले आफ्ना पञ्जाको छाप लगाइबक्सन्थ्यो ।
तर सुरुमा मोहनशम्शेरका हजुरिया जर्नेल भएका शङ्कर शम्शेरले श्री ५ का त्यस बेलाका हजुरिया कर्णेज योगविक्रम राणालाई श्री ५ बाट श्री ३ मोहनशम्शेरलाई प्रदान हुने पञ्जापत्र सुनको थालीमा मुछिएको अबीर र सिन्दूरमा लाग्न पर्दछ भने । कौसीमा सुनको थाल नहुँदा एक छिनलाई काम चलाउन दरबारमा सुनको थाल माग्न पठाइयो । तर,त्यहाँ पुगेर सुनको थाल माग्दा ‘छैन, अघि भएको सबै बेचेर खाइयो’ भन्ने ओठेखालको ठाडो जवाफ श्री ५ त्रिभुवनबाट आएको कुरा योगविक्रमले सुनाए।
नारायणहिटी दरबारभित्र सुनको थाल छैन भन्ने जस्तो पत्याई नसक्नु कुरा उठ्दा निक्कै ठूलो धर्म सङ्कटमा परेका कर्णेल योगविक्रमले आखिर ठूलो सुनको रिकापीमा मुछिएको टीका सरदामले त्यो समस्या हल गरे ।
(सरदार भीमबहादुर पाँडेको पुस्तक ‘त्यस बखतको नेपाल’ को अंश )

