यी ‘कम्निष्ट धर्म’ मान्नेहरू !

डा. बाबुराम भट्टराई

पछिल्लो चोटि गाउँ जाँदा एउटी बुढी आमैले बडो गम्भीर भएर मसँग प्रश्न गरेकी थिइन्-‘आजकाल एउटा नयाँ धर्म आएको छ रे नि हो बाबू ?’

म अलमल्ल परेको थिएँ । भएका पुराना धर्महरू त हराउँदै गएको बेलामा के को नयाँ धर्म थपिन्थ्यो नै। मैले मनमनै तर्क गरें । तैपनि जिज्ञासा मेटाउन मैले सोधेको थिएँ – ‘कस्तो धर्म ? कस्ले मान्दो रहेछ त्यो धर्म ? बुढी आमैले बडो आत्मविश्वासका साथ भनेकी थिइन्- ‘कुनि के जात्ति कमिनिष्ट धर्म रे ! आजकालका नयाँ केटाहरूको धर्म रे’!

धर्मलाई श्रमजीवी जनताको अफीम मान्ने कम्युनिज्म आज आफै एउटा धर्म बनेको सुन्नु एउटा दुःखद आश्चर्य त छँदै थियो। त्यसमाथि निरपेक्ष विश्वासको आाडमा उभिने धर्म र विचार र विवेकको जगमा मौलाउने कम्युनिज्मको बीचमा के चाहिँ पो समानता हुन सक्थ्यो र ? ती बुढी आमैलाई कम्युनिज्म बारे कसैले ठूलो भ्रम पारिदिएको मैले अनुमान गरेको थिएँ ।

तर अहिले एकान्तमा घोरिन बस्दा र संसारमा आफुलाई ‘कमिनिष्ट’ भन्नेहरू (म आफै लगायत) को अवस्था हेर्दा ती बूढी आमैले ठूलो दिव्यो-पदेश दिएको मलाई अनुभूति भैरहेछ। समाज शास्त्रको आजसम्मको इतिहासमा मार्क्सवाद भन्दा ठूलो अरू विज्ञानको पत्तो लागेको छ जस्तो मलाई लाग्दैन । कतिपय कट्टर कम्युनिज्म विरोधीहरू पनि यो तथ्यलाई स्वीकार्ने गर्छन् वा उनीहरू स्विकार्न वाध्य हुन्छन् । तैपनि आज यो विज्ञानको जति बढी अपब्याख्या र दुरूपयोग अरू कुनै चीजको भएको होइन । त्यस अर्थमा यो सर्वोत्कृष्ट विज्ञान एउटा निरीह ‘धर्म’ मा परिणत भएको तथ्यलाई त्यतिकै नकार्न सकिदैन ।

त्यसो त धर्मको उत्पती तत्कालीन समाजको विचारधारा’ वा ‘दर्शन’ को रूपमा भएको हो। यूगनिरपेक्ष रूपमा त्यसलाई घिसार्दै लगेपछि त्यसभित्रको केही ‘विज्ञान’ पूरै लोप भएर त्यो एउटा निकम्मा जडसूत्रमा परिणत हुन पुगेको हो । आज कुनै धर्म जतिसुकै प्रतिक्रियावादी भए पनि त्यसको स्थापनाकालमा त्यस्ता ‘विज्ञान’ भएको र सिले समाज विकासमा महत्वपूर्ण भूमिका निभाएको तथ्यलाई कुनै पनि भौतिकवादीले नकार्न मिल्दैन ।

त्यसको अर्थ मार्क्सवाद पनि एउटा युगसापेक्ष विज्ञान मात्र हो र यसको स्वाभाविक परिणति पनि अरू धर्महरूको जस्तै हो भन्ने आशय कदापि होइन । राजनीतिक अर्थमा यो सर्वहारा वर्गको दर्शन भए पनि यो पूरै प्राकृतिक विज्ञानको दरो भौतिकवादी जगमा उभिएको हुनाले ‘ऐतिहासिक भौतिकवाद’ को प्रशाखाको रूपमा यसले प्रत्येक युगको व्याख्या गर्ने र त्यसलाई बदल्ने क्षमता राख्दछ ।

खालि अहिलेको चर्चाको प्रसंग के मात्र हो भने मार्क्सवादलाई हामी मार्क्सवादी भन्नेहरूको गैर-मार्क्सवादी या मार्क्सवाद विरोधी चिन्तनले ठूलो नोक्सान पुऱ्याएको चाहिँ पक्कै हो। शायद युगौंदेखिको धार्मिक छाप बोकेका हामीहरूले यसलाई अर्को एउटा नयाँ धर्मको रूपमा भन्दा वढी आत्मसात गर्न सकिरहेका छैनौं। धर्म ‘विश्वास गर्ने’ चीज हो भने मार्क्सवाद ‘बुझ्ने’ चीज हो। धर्म यथास्थिति बचाउनको निम्ति प्रयोग हुन्छ भने मार्क्सवाद यथास्थिति-लाई बदल्नको निम्ति प्रयोग हुन्छ । तर आज हामी मार्क्सबादमा ‘विश्वास’ गर्न थालेका छौं, र यसलाई यथास्थिति ‘बचाउने’ हतियारको रूपमा प्रयोग गर्न थालेका छौं।

अति दक्षिणपन्थी र अति ‘वामपन्थी’ दुबै कोणबाट यो भएको छ। गोर्वाचोभवादीहरु आधुनिक ‘हिन्दू’ बनेका छन् । वाहुनको कुलमा जन्मेपछि स्वतः आजन्म वाहून भएझै लेनिनको देशमा जन्मेपछि र त्यो देशको शासनमा बस्नेहरूलाई पुजिदिएपछि उनीहरू स्वत: ‘कम्युनिष्ट’ हुन्छन् । उनीहरूले मार्क्सवादका कुनै नियमको पालना गर्नु पर्दैन। अर्कोतिर, आफुलाई माओवादी भन्नेहरू नयाँ मुसलमान भएका छन् । दिनको ३ पटक उनीहरूले नमाज नपढी हुँदैन र नमाज पढेपछि उनीहरूलाई अरू केही गर्ने आवश्यकता नै पर्दैन ।

हाम्री ती गाउँले बूढीआमैले यो ‘कमिनिष्ट धर्म’ मान्ने हरूलाई कसरी ठ्याक्क पारेर चिनिछन् । हामी सबै उनीप्रति नतमस्तक हुनैपर्छ !!

हाल नेसपा (नयाँ शक्ति) का अध्यक्ष भट्टराईको यो आलेख २०४७ असार १४ को पृष्ठभूमि साप्ताहिकबाट लिइएको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय