आत्मवृतान्त : वीपीको विदेश भ्रमण र परराष्ट्र नीति
प्रा. खगेन्द्रप्रसाद भट्टराई
प्रधानमन्त्रीको हैसियतले वी.पी.ले विभिन्न देशको भ्रमण गरे । उनको पहिलो विदेश भ्रमण भारत भयो । भारतमा पटना, जमसेदपुर, बंगलौर, पूना, दिल्ली आदि ठाउँहरुको भ्रमण गरे । सबै ठाउँमा उनको भव्य स्वागत भयो ।
उनी पटनामा जाँदाको कुरा यसरी गर्दछन्ः पटनामा ओर्लँदा मेरो के धारण छ भने जति मलाई स्वागत भयो त्यति शायद जवाहरलाल नेहरूलाई स्वागत भयो होला, अरु कसैलाई त्यत्रो स्वागत भएन होला । मलाई हवाई अड्डामा त्यत्रो स्वागत होला भन्ने लाग्दैन थियो, भयो । मैले प्लेनबाट हेर्दा जन–समुद्र देखें । मेरो यात्राका लागि एउटा विशेष प्लेन जवाहरलाल नेहरुले पठाइदिएका थिए । (पृष्ठ २३१)
भ्रमणको सिलसिलामा व्यापार र वाणिज्यका सम्बन्धमा कुराकारीहरु भए । वीपीको सोच थियो यदि नेपालले आर्थिक विकास गरी राम्रो उत्पादन गर्न सके भारतमा ठूलो बजार उपलब्ध हुन सक्दथ्यो । नेपालमा भारतमा भन्दा सस्तो श्रम उपलब्ध हुने भएकाले औद्योगिक उत्पादनको लागत पनि कम हुने र सामान सस्तो हुने उनी ठान्दथे ।
उनको तर्क थियो नेपाल सानो देश भएकाले नेपालको उत्पादन भारतमा निर्वाध रुपमा जान पाउनु पर्दछ र भारतको उत्पादनको निर्यात चाहिं नियन्त्रणमा राख्नु पर्दछ । भनाईमा असमानता जस्तो जस्तो देखिए तापनि मुलुकको हितको लागि यो आवश्यक थियो, उनको दृष्टिमा । यही कुरा उनले भारतीय नेताहरुसंग प्रभावकारी रुपमा राखे ।
दिल्लीको लालकिल्लामा नेहरुले वीपीको सम्मानमा एउटा सार्वजनिक सभाको आयोजना गरे जसमा धेरै मानिसहरूको उपस्थिति थियो । उक्त सभामा वीपीले दिएको भाषण अत्यन्त विश्लेषणात्मक र सारगर्मित थियो । उनले नेपाल–भारतको सम्वन्धलाई साझा संस्कृति र परंपराको आधारमा मात्रै नहेरी साझा भविष्यको वारेमा हरिनुपर्दछ भन्ने कुरा सशक्त रुपमा राखे । दुवैको भविष्यको बाटो समान किसिमको हुनुपर्ने कुरामा जोड दिए । वीपी विगत र इतिहासमाभन्दा सुन्दर भविष्य निमार्णको कुरालाई बढी महत्व दिन्थे (पृष्ठ २३४) । उनको भाषणलाई सबैले तारिफ गरे । उनले राम्रो प्रभाव पारे ।
त्यही वेला रूसका राष्ट्रपति भोरोसिलोभ पनि भारतको भ्रमणमा आएका थिए । वीपी भन्दछन्, ‘जवाहार लालजीले भोरोसिलोभ र मलाई उत्तिकै सम्मान दिए’ (पृष्ठ २३६) ।
वी. पी. को भारत भ्रमणको मुख्य उद्देश्य भारतको विकासलाई हेरेर नेपालमा केही गर्नु थियो । त्यसैले उनको दिल्लीमा बिदाई भएपछि भारतको पहाडी क्षेत्रमा स्थापित सानासाना उद्योगहरु अवलोकन गर्न गए । उनी नेपालमा ठूला उद्योगहरुभन्दा पनि साना साना उद्योगहरू खोल्ने पक्षमा थिए ।
वी.पी. को भारत भ्रमण अत्यन्त सफल भयो । उनी जहाँ–जहाँ गए, भन्य स्वागत भयो । नेहरू र इन्दिरा गान्धीले उनलाई बडो राम्रो संमान दिए । उनीहरुसंग वी.पी.को व्यक्तिगत संबध पनि स्थापित भयो भन्छन् उनी ।
त्यसरी वी.पी.ले नेपालको इज्जत बढाए । सरकारलाई भन्नुपर्ने कुरा पनि भने, जनतालाई भन्ने कुरा पनि भने । सरकार तथा जनस्तरको संबन्धलाई अझ अगाडि बढाउने काम गरे । नेपालको विकासको अवधारणालाई स्पष्ट पारे ।
भारतपछि वी. पी.ले चीनको भ्रमण गरे । पेकिङ्ग पुग्दा चू एन लाईले उनलाई विमानस्थलमै हार्दिकतापूर्वक स्वागत गरे । चू एन लाई संग वी. पी. को राम्रो संवध स्थापित भयो । उनले वी.पी.लाई धेरै समय दिए, अरु काम छोडेर पनि । वी.पी. भन्छन् : “चू एन लाई – जो मेरो साथमा थियो – मलाई कस्तो पर्यो भने, म जति दिन त्यहाँ बसें उसको अरु केही काम थिएन, केवल मसँग मात्रै, मेरो हेरचाह गरिरहेको मात्रै जस्तो थियो । (पृष्ठ २४१)
फेरि वी. पी. भन्दछन्ः “त्यहाँ मैले चू एन लाईसंग एक दिन झण्डै दिनभरि कुरा गरेको छु । उसले मलाई ब्रेकफास्टको लागि बोलाएको थियो, लन्च र वेलुकाको चिया समेत खाएर म आएको थिएँ । म र ऊ मात्रै थियौं ।” (पृष्ठ २४२)
चुू एन लाईले वी. पी. लाई असाध्यै सम्मान र आदर गरे । दुबै जनाको वीचमा राम्रो समझदारी र संवध भयो । वी.पी. ले चू अत्यन्त सभ्य र सुसंस्कृत पाए ।
बी.पी.ले चू एन लाईलाई नेपालको विकासको लागि आर्थिक सहयोगको आवश्यकता भएकोले चीनले पनि भारतकै बराबरीमा आर्थिक सहयोग गर्नका लागि अनुरोध गरे । चूले चीनले जति भने पनि सहयोग गर्न सक्तछ तर हामी भारतको भन्दा अलि कम सहयोग गरौंला भनेछन् । वी.पी.ले भारतकै बराबरीमा किन गर्दैनौं भन्दा चू ले भने :
‘‘ … त्यो तिम्रो लागि पनि राम्रो नहोला, हाम्रो लागि पनि राम्रो नहोला । तिमीलाई राम्रो किन हुँदैन भने हामीले धेरै सहायता दियौ भने भारत तिमीहरुसँंग सतर्क हुन्छ । र हामीहरुलाई किन उपयुक्त हुँदैन भने भारतसंग प्रतिस्पर्धा गर्दैछौं भन्ने अन्तरराष्ट्रिय स्तरमा पर्न जान्छ । हामीहरु तिमीहरुसंग मित्रता गर्न खोजिरहेका छौ । यसमा नराम्रो नमान्नू ।” (पृष्ठ २४५)
चू को यो सल्लाह नेपालको संदर्भमा अत्यन्त महत्वपूर्ण थियो । यो मित्रको इमान्दार सल्लाह थियो । वी.पी.ले यसलाई सकरात्मक रूपमा लिए ।
माओ त्से तुङ्ग वी.पी. लाई भेट्न उनी बसेको होटलमै आए । उनले वी.पी. लाई बडो हार्दिकतापूर्ण किसिमले भेटे; अत्यन्त सभ्य र शिष्ट व्यवहार देखाए (पृष्ठ २४५) । माओले भने चीनले सुरुमा रुसको साम्यवाद संबन्धमा लामो अनुभव भनेर उसका कुराहरु सुन्थ्यो, निर्देशित हुन्थ्यो । तर माओले पछि त्यो कुरा वेठीक रहको ठाने । उनले भने, “अर्काको लहैलहैमा काम गर्दा अर्कालाई फाइदा हुने काम बढी हुँदो रहेछ, आफूलाई फाइदा हुने काम हुँदोरहेनछ । हाम्रो त्यो अनुभव हो । तिमीहरुले पनि आफूलाई राम्रो हुने काम गर्नुपर्छ, अर्काको निर्देशनमा जानु हँुदैन” (पृष्ठ २४६) ।
नेपाल र चीनको सीमानामा खासै समस्या थिएन । माओले सगरमाथा साझा चुचुरो रहोस् र यसलाई ‘मितेरी चुचुरो’ मानौं भन्ने प्रस्ताव राखे । तर वी.पी.ले सगरमाथा नेपालभित्र पर्ने कुराको दावी गर्दै साझा चुचुरो मान्न तयार भएनन् र चुचुरो नेपालकै हुने सहमति भयो ।
विकासको संदर्भमा कुरा गर्दा माओले पूंजी कम भएकोमा प्रविधि पनि आफ्नै किसिमको हुनुपर्ने कुरा बताए । सिमेन्ट छैन भने माटोबाट पनि पूर्वाधारको निर्माण गर्न सकिने कुरा सुझाए । चीनले गरेका विकासका केही नमूनाहरू हेर्नका लागि पनि उनको सल्लाह थियो । वी. पी.ले चीनका केही उद्योग तथा गाउँहरुको अवलोकन गरी त्यस देशको विकास प्रकृयाको बारेमा केही जानकारी लिइसकेका थिए ।
त्यसै भ्रमणमा वी.पी.ले नेपाल र चीनको बीचमा “मैत्री संधि” गरे र दुई देशको संबधलाई अझ उचाईमा पुर्याए । यस भ्रमणको वारेमा वी.पी.भन्दछन्, “मेरो भ्रमण निकै सफल भएको थियो । म पनि प्रभावित भएर आएको थिएँ । मलाई लाग्यो हामीहरुको बारेमा उनीहरुको धारणा हुँदो हो हामी पूरा भारततर्फ ढल्केका छौं, त्यो पनि बद्लियो होला जस्तो लाग्दछ ।” (पृष्ठ २४८)
उनले दिल्ली र पेकिङमा दिएका भाषणहरु अत्यन्त महत्वपूर्ण थिए । ती भाषणहरुमा छिमेकी देशसँग सम्बन्ध राख्ने उनका आधारभूत दृष्टिकोणका अभिव्यक्ति थिए । प्रधानमंत्री भएको वेला वी.पी. ले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिए । त्यहाँ उनलाई धेरै सरकार प्रमुखसँग भेट गर्ने अवसर मिल्यो ।
सोभियत संघका राष्ट्रपति ख्रुश्चेवले असमान्य तरीकाबाट उनीहरुसँग राम्रो व्यवहार गरेको कुरा गर्दछन् उनी । वी.पी. र ख्रुश्चेवको वीचमा संयुक्त राष्ट्र संघको संरचनाको बारेमा छलफल भयो । वी. पी. ले अमेरिकी राष्ट्रपति आइसनहावर र उद्योगपति तथा गर्भनर रकफेलरसँग भेट गरे र उनीबाट राजा उनीसँग संतुष्ट नभएको कुरा थाहा पाए । राजा महेन्द्रले केही समय अगाडिको अमेरिका भ्रमणमा उनीहरुसंग सो कुरा भनेका रहेछन् (पृष्ठ २५४) । उनीहरु दुवैले राजा र वी.पी.लाई मिलेर काम गर्नका लागि सल्लाह दिएका थिए ।
प्रधानमन्त्रीको हैसियतले ‘साइन्स एण्ड डिभेलपिङ सोसाइटी’ शीर्षकमा आयोजना गरिएको अन्तरराष्ट्रिय संमेलनमा भाग लिन बी.पी. इजरायल गए । उक्त संमेलन एउटा विश्वविद्यालयले आयोजना गरेको थियो । त्यहाँ उनले निकै राम्रो भाषण दिएका कुरा गर्छन् उनी । उनी भन्दछन्, “त्यहाँ मलाई लाग्दछ मैले असाध्यै राम्रो बोलें । मेरो भाषण कितावमा पनि छापिएको छ । त्यस बखत मैले बोलेका ती कुरा अहिलेसम्म सामयिक छन् भन्ने मलाई लाग्दछ” (पृष्ठ २५५) ।
फेरि उनलाई लेबर पार्टीले प्रमुख अतिथिको रुपमा एउटा सभालाई संवोधन गर्नको लागि आमन्त्रण गर्यो । त्यहाँ धेरै देशका समाजवादी नेताहरूको राम्रो उपस्थिति थियो । वी.पी.ले समाजवादको बारेमा आफ्नो मौलिक चिन्तन र व्याख्या प्रस्तुत गरे, जसको अत्यन्तै सकारात्मक प्रभाव पर्यो ।
वी.पी.को विश्लेषण थियो : “पश्चिमी सामाजिक आन्दोलन अन्तिम चरणमा पुगिसकेको छ । किनभने, जुन कुरा तिनीहरुको आदर्श थियो, जसले यसलाई सजगता प्रदान गरेको थियो, जसले यसलाई गतिशीलता प्रदान गरेको थियो, ती सबै कुरा हासिल भइसकेका छन् । त्यसले गर्दा, अब त्यो उच्च आदर्श छैन त्यहाँ र युवालाई त्यसले त्यति आकर्षित गरिरहेको छैन । त्यो तपाईले पुनः कब्जा गर्नुपर्यो तृतीय विश्वका समस्याहरुलाई आफ्नो समस्या भन्ने उच्च आदर्शवादिताद्वारा । किनभने, हाम्रो तृतीय विश्वमा त अहिले त्यही आदर्श छ । त्यस कारण तपाईंहरुले आफ्नो आन्दोलनलाई त्यससँग गाभिदिनुभयो भने फेरि एउटा आदर्शवादको लहर तपाईंकहाँ आउँछ । (पृष्ठ २५५)
यो विचार त्यहाँ उपस्थित धेरैलाई मन परेको कुरा वी. पी. बताउँछन् । धेरैले उनलाई समाजवादी आन्दोलनको नेतृत्व गर्न आग्रह गरेको कुरा पनि पुस्तकमा उल्लेख छ ।
वी.पी.ले इजरायलसँग दौत्य संबन्ध राख्ने साहसिक निर्णय गरेका थिए । त्यस्तै नेहरूसंग संपर्क गरी समझदारीका साथ पाकिस्तानसंग पनि दौत्य संबन्ध स्थापित गरे ।
वी.पी. को छोटो कार्यकालमा नेपालको परराष्ट्र सम्बन्धले एउटा उचाई पाएको थियो । उनले छिमेकी मुलुक भारत र चीन दुवैसंग संतुलित संवध कायम गरेका थिए । दुवै मुलुकसँग राम्रो संबन्ध स्थापना गर्न सफल भएका थिए । चीनसँग मैत्री संधि गरी सगरमाथाको चुचुरोलाई नेपालको मात्र बनाउनु उनको ठूलो सफलता थियो ।
वी.पी.ले अन्तरराष्ट्रिय मञ्चहरुमा दिएका भाषणहरु मौलिक तथा तार्किक हुन्थे । उनका विचारहरुलाई नेताहरुले महत्वका साथ सुन्दथे । उनको व्यक्तित्वको कारणले मुलुकको छवि माथि उठेको थियो । वी.पी. मा प्रगाढ आत्मविश्वास थियो । उनी जहाँ र जोसँग पनि आफ्ना कुरालाई निर्धक्क भएर सशक्त रुपमा राख्तथे । शायद त्यसैले एक चोटि दरवारमा भएको जमघटमा राजा महेन्द्रले वी.पी.लाई अन्तरराष्ट्रिय क्षेत्रमा गर्वका साथ चिनाउन सकिने व्यक्तित्व भनेका थिए ।
सन्दर्भ सामग्री : कोइराला, वी.पी. (२०५५) आत्मवृत्तान्त । जगदम्बा प्रकाशन, पाटनढोका, ललितपुर

