क्रोनी क्यापिटालिज्मको अन्त्य कसरी ? (पाँचौं संस्करण)

डा. शेखर अर्याल

जीवन र जगतमा परिवर्तन मात्रै स्थायी हुन्छ । ब्रह्माण्डको उत्पत्ति, जीवहरुको उत्पत्ति र मानव समाजको उद्विकासको इतिहासले भन्छ-जीवन र जगत आफैंभित्रको विपरीत तत्वहरु बीचको एकता र सङ्घर्षको परिणाम स्वरुप निरन्तर गतिवान परिवर्तनशील हुन्छन् ।

यसै पृष्ठभूमिमा एक्काइसौं शताब्दी र चौथो औद्यागिक क्रान्ति सँगसँगै विश्वयापी रुपमा विज्ञान प्रविधि, अर्थतन्त्र, राजनीति, सामाजिक संरचना, मानवीय चेतना र पर्यावरणीय क्षेत्रमा समेत आएका अपूर्व परिवर्तन र संकटले सबै क्षेत्रको पुनर्संरचना सहित नयाँ युगको संकेत गरिरहेका छन् । नेपाल वर्तमन भूमण्डलीकृत विश्वको एक अभिन्न अंग हुनाले आफूलाई सोही बमोजिम अनुकूल गर्न र वैकल्पिक राजनीतिको आधार तयार गर्न यो नयाँ युगको नयाँ सम्भावनाबारे सामान्य समीषा गर्न जरुरी भएको छ । (पृष्ठ २, ३, वैचारिक राजनीतिक कार्यदिशा र घोषणापत्र, नेपाल समाज पार्टी (नयाँ शक्ति))

संस्कृतमा भनिएको छ– “परिवर्तने संसारे” शून्यबाट शुरु भएर पुनः शून्यमा गएर फेरि त्यही प्रक्रियालाई परिवर्तनको माध्यमबाट निरन्तरता दिनु नै प्राकृतिक कार्य हुने गर्दछ भन्ने जनमानसमा अटल विश्वास छ । २०७२ को संविधान निर्माणपछि गणतन्त्र भएको नेपालमा आंशिक रुपमा प्रथम औद्योगिक क्रान्ति शुरु भएको छ । जबकि विकसित मुलुकहरुमा अहिले चौथो औद्योगिक क्रान्तिको लहर चलिरहेको छ । चन्द्रमा र मंगलग्रहमा बस्ती बसाउने देखि लिएर Artificial Intelligence (AI) सम्मको कामहरु भइराखेको छ । तर पनि मानव मस्तिष्क र भूमण्डलीकरणका कारण संसारभर उत्पादित वस्तु र सेवाहरु विकसित मुलुकहरुदेखि लिएर विकासोन्मुख, अल्पविकसित र कम विकसित मुलुकहरु बीच सजिलैसँग साटासाट भइरहेको छ ।

नेपालले पनि यसलाई आत्मसात् गरी स्थीर सरकारका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति त्यसैगरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र कानुन तथा विधेयक निर्माणको लागि संघ तथा प्रदेशमा प्रत्यक्ष निर्वाचित पूर्ण समानुपातिक सांसदहरुलाई नेपाली जनताहरुले वस्तुनष्टि समाधान मानीकन आत्मसात् गर्नुको विकल्प छैन । जसले गर्दा अमेरिकाको वा फ्रान्सको जस्तो ५ वर्षसम्म जननिर्वाचत राष्ट्रपति र मुख्यमन्त्रीहरुले निरन्तर काम गर्न सक्ने अवसर प्राप्त गर्दछ । त्यसैगरी जननिर्वाचत सांसादहरुले ५ वर्षसम्म आफूहरुलाई विधेयक र कानुन निर्माणमा मात्र केन्द्रित गर्न सक्दछन् ।

१.१ विचारको पुनर्संश्लेषण
संसार परिवर्तनशील भए जस्तै दर्शन, विचार, सिद्धान्त पनि परिवर्तनशील हुन्छन् । साथै भौतिक जगतले मानिसको चेतनालाई प्रभावित गर्ने र मान्छेको चेतनाले भौतिक जगतलाई बुझ्‌ने र बदल्ने भएकाले दर्शन, विचार, सिद्धान्तलाई निरन्तर पुनर्परिभाषा, पुनर्संश्लेषण, समृद्धीकरण गर्दै जानुपर्छ । समाजका अगुवा चिन्तक, वैज्ञानिक, राजनेताको मूल कर्तव्य नै त्यही हो ।

संश्लेषित रुपमा भन्नुपर्दा, संसार सहस्यमय र बुझ्‌नै नसकिने (अज्ञेय) छैन । यो भौतिक र बुझ्‌न सकिने (ज्ञेय) छ । साथै आफैँभित्रको विपरीत तत्वहरुको एकत्वको नियमले स्वचालित छ । संसार र समाज एकल र सरल रेखामा होइन बहुल र बक्री रेखामा अघि बढ्छ । विपरीत प्रवर्गहरुको निरन्तरको संघर्षमा एकले अर्कोलाई पूर्ण निषेध होइन दुवैलाई नयाँ अस्तित्वमा रुपान्तिरित गर्छ । यी आधारभूत नियमहरु नै अबको नयाँ युगको दिशाबोध गर्ने वैकल्पिक राजनीतिको दार्शनिक आधार हुन सक्छन् । (पृष्ठ ४, ६, वैचारिक राजनीतिक कार्यदिशा र घोषणापत्र, नेपाल समाज पार्टी (नयाँ शक्ति))

विचारलाई पनि वस्तुकै रुपमा मानिन्छ । त्यसैले विचार पनि परिवर्तनशील छ । जसरी वस्तुको परिवर्तन अपरिहार्य छ, त्यसैगरी विचारको परिवर्तन पनि अपहिार्य प्राकृतिक सिद्धान्त हो । विचारको परिवर्तनले गर्दा नै संसारमा वस्तुहरुको प्रशोधन, उत्पादन तथा वितरण र स्रोतहरुको परिचालनहरुमा परिवर्तन आउन सम्भव भएको हो । तर हाम्रो जस्तो विकासोन्मुख मुलुकमा क्रोनी क्यापिटालिज्मका कारण वस्तुहरुको प्रशोधन, उत्पादन र वितरण तथा स्रोतहरुको उचित परिचालनमा विभेद, असमानता र अन्याय रहेको सम्पूर्ण जनमानसले भोगेको यथार्थ छ ।

राजनीतिक रुपमा हाम्रो नेपाल अब मूलतः दुई सिद्धान्तको माकुरी जालोभित्र जाने निश्चित प्रायः छ । एउटा समाजवाद जुन हाम्रो पार्टी ने.स.पा. (नयाँशक्ति)ले नेतृत्व गर्नेछ भने अर्को पूँजीवाद जसको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ । नयाँ पार्टी रास्वपा तथा अन्य पुराना दलहरु क्रोनी क्यापिटालिज्मको अन्त्यसँगै यसै दुई ध्रुवमा बाँडिनेछन् भन्ने हाम्रो पार्टीको बुझाइ रहेको छ ।

१.२ पूँजीवादी भूमण्डलीकरण
तर वितरणको क्षेत्रमा भयानक असमानता छ । उदाहरणको निम्ति, विश्वमा कुल सम्पत्तिको वितरण हेर्दा गरिब ५० प्रतिशतको साथमा २ प्रतिशत, मध्यम ४० प्रतिशतको साथमा २२ प्रतिशत र धनी १० प्रतिशतका साथमा ७६ प्रतिशत सम्पत्ति (विश्व असमानता प्रतिवेदन, २०२१) छ । त्यस्तै अन्य अत्यावश्यक वस्तु र सेवाको वितरण एकदम असमान छ । यस्तो असमानता न्यायपूर्ण त हुँदैन नै, सँगसँगै यस्तो संरचनात्मक असमानता कायम गर्ने प्रणाली दिगो पनि हुन सक्दैन ।

विगतका राज्य–नियन्त्रिता समाजवादी वा साम्यवादी प्रणालीका असफलताबाट समेत पाठ सिकेर र पूँजीवादी र साम्यवादी प्रणालीभित्रका संरचनात्मक र अवधारणागत कमजोरीहरुको चिरफार गरेर नयाँ युगको अर्थ–राजनीतिक प्रणालीको विकास गर्नु अहिलेको मुख्य चुनौती र दायित्व हो । (पृष्ठ ८, ९, वैचारिक राजनीतिक कार्यदिशा र घोषणापत्र, नेपाल समाज पार्टी (नयाँ शक्ति))

पूँजीबादी त्यसैमा क्रोनी शब्द थपिएपछि हुने चर्चित शब्द नै क्रोनी क्यापिटालिज्म अर्थात् आसेपासे पूँजीवाद हो । कार्लमाक्सले भनेको कुरा– “वर्गविहिन वर्ग अर्थात् मजदूरहरुलाई संघर्ष गर्दा गुमाउनुपर्ने केही छैन तर संसार जित्ने सुविधा छ ।” वस्तुहरु तथा स्रोतहरुको जानकारी पछि त्यसको प्रशोधन, उत्पादन र वितरण, त्यसैगरी सेवाहरुको जानकारी पछि त्यसको उपयोग र वितरण यी सबै काम गर्दा महत्वपूर्ण कुराहरु भनेको त्यसको विभेदरहित समान र न्यायोचित वितरण नै मुख्य हो । यसको अभावले गर्दा नै संसारमा वैचारिक द्वन्द्वहरु र भौतिक द्वन्द्वहरु उत्पन्न भएको हो । यसो हुनुमा पनि क्रोनी क्यापिटालिज्मको मुख्य भूमिका रहेको छ ।

समग्रमा भन्नपर्दा नेपालमा विगत २४० वर्षीय शाह तथा भारदारी शासनको पूर्ण अन्त्य हुनुमा राज्यद्वारा उत्पादित वस्तुहरु, उत्पादनहरु र सेवाहरुमा विभेदकारी, असमान र अन्यायपूर्ण वितरणहरु नै प्रमुख कारण थियो । यसरी विभेदकारी, असमान र अन्यायपूर्ण वितरण हुनुमा पनि मुख्य भूमिका क्रोनी क्यापिटालिज्मको नै थियो भन्ने वैज्ञानिक पुष्टि भइसकेको छ ।

१.३ प्रविधिको प्रभुत्व
इतिहासको अनुभवले के भन्छ भने जब प्रविधि र उत्पादक शक्तिको विकास आगाडि हुन्छ र तिनलाई नियमन, प्रयोग र विकास गर्ने अर्थराजनीतिक प्रणाली पछाडि पर्छ, त्यतिबेला पुरानो अर्थ–राजनीतिक प्रणाली अर्थात् राज्यव्यवस्था, विधिविधान र राजनीतिक अग्रगामी पुनर्संरचना गर्नुपर्छ । (पृष्ठ ११, वैचारिक राजनीतिक कार्यदिशा र घोषणापत्र, नेपाल समाज पार्टी (नयाँ शक्ति))
सोभियत युनियनको पतन हुनुको प्रमुख कारणहरुमध्ये एक कारण प्रविधि र उत्पादक शक्तिको नयाँ अर्थ राजनीतिद्वारा व्यवस्थापन गर्न नसक्नु थियो । यही कुरालाई अनुशरण गरी तत्कालीन अमेरिका, हालको भारत र चीन साथसाथै हाम्रो नेपाल पनि सोभियत युनियनको जस्तो नियति भोग्नु नपरास् भन्नका लागि प्रविधि र उत्पादक शक्तिको मापन ठीक ढङ्गले गरेर अर्थ राजनीतिक व्यवस्थापन उचित तवरले समयमा नै गर्न सक्नु पर्दछ । प्रविधि र उत्पादक शक्तिलाई निरन्तर आक्रमण गर्न तयार भएर बसेको क्रोनी क्यापिटालिज्मको नियन्त्रण र अन्त्य त्यसैले अत्यावश्यक छ ।

१.४ पर्यावरणीय संकट
यही गतिमा पर्यावरणीय संकट बढ्दै गए बढ्दो तापक्रम, फैलिँदो मरुभूमिकरण, पग्लिँदो हिउँ, बढ्दो प्राकृतिक विपत्तिको कारण पृथ्वीबाट मानिस लगायत जीवहरुको अस्तित्व नै समाप्त हुने अवस्था र्सिजना नहोला भन्न सकिन्न । यसको मूल कारण औद्योगिक क्रान्तिको सुरुवात यता अपनाइएको पूँजीवादी अर्थ–राजनीतिक प्रणाली र त्यसमा अन्तरनिहित पूँजीको विस्तारित पुनरुत्पादनका लागि बेरोकटोक प्रकृतिको विनाश गर्ने प्रवृत्ति नै हो । अतः आफ्‌नै अस्तित्वनिम्ति मानवजातिको विद्यमान अर्थ–राजनीति प्रणालीको छिटो नयाँ अग्रगामी विकल्प खोज्नु जरुरी भएको छ । (पृष्ठ १३, वैचारिक राजनीतिक कार्यदिशा र घोषणापत्र, नेपाल समाज पार्टी (नयाँ शक्ति))

विश्वविश्यात वैज्ञानिक चार्ल्स डार्विनद्वारा कथित युक्ति– “अस्तित्वका लागि सङ्घर्ष” अहिले विश्वसामु चुनौतिको रुपमा स्थापित हुँदै गएको छ । पर्यावरणीय संकटलाई नियन्त्रणको साटो पैसा कमाउने साधनको भर्‍याङ बनाउने आजको विश्वमा विद्यमान अर्थराजनीति र त्यसद्वारा अन्यायपूर्ण रुपमा उत्पादनहरु र वितरणहरुको संरक्षण गर्नु नै आजको प्रमुख पर्यावरणीय संकटको कारण हो । अविकसित, अल्पविकसित र विकासोन्मुख देशहरुमा क्रोनी क्यापिटालिज्मको प्रयोगलाई सरकारद्वारा नै संरक्षण दिएको हुन्छ ।

जसको प्रयोग पर्यावरणीय संकटलाई बढवा दिनको लागि गरिएको हुन्छ । त्यसैगरी विकसित राष्ट्रहरुमा भने आफ्‌नो देशको प्रभुत्व बाँकी देशहरुमा देखाउनका लागि अनावश्यक रुपमा गरिएको बेरोकटोक औद्योगिकीकरण नै पर्यावरणीय संकटको प्रमुख कारण रहेको पुष्टि भएको छ ।

डा.अर्याल नेसपा(नयाँ शक्ति) काठमाडौं क्षेत्र नं. ३ का संयोजक हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय