बुद्ध धर्म : एक छाेटाे चर्चा

दीपा थोकर

नेपाललाई संसारमा शान्तिकाे देश, गाैतम बुद्धकाे देेश तथा स्वयं गाैतम बुद्धलाई एशियाकाे प्रकाश (Light of Asia) भनेर चिनिन्छ । यस देशकाे नाम लिने बित्तिकै संसारमा नेपाली जनता शान्तिकामी हुन्छन् भनेर बुझिन्थ्याे ।

विभिन्न राजनीतिक कालखण्डमा खासगरी विक्रम सम्वत् २०४६ सालकाे प्रजातन्त्रकाे पुनर्बहाली (पहिलाेचाेटी साल २००७ मा भएकाे थियाे जसलाई राजा महेन्द्र शाहकाे २०१७ सालकाे राजनीतिक कू, Coup, ले समाप्त पारेर ३० वर्षे कठाेर पञ्चायती शासन शुरूभएकाे थियाे) र साल २०६३ काे लाेकतान्त्रिक-गणतान्त्रिक उपलब्धीपछि र प्रवृधिकाे तीव्र विकासले सुसूचित नेपाली जनताले राजनीतिक चेतनामा विभिन्न अधिकारहरू खाेज्न थाले ।

समाजमा समयक्रमसँगै याे स्वभाविक हाे र संविधानत: सबै नेपाली जनताकाे धार्मिक, लिङ्गिय, क्षेत्रीय, जात-जाति आदिकाे आधारमा समान नागरिक अधिकार हुनुपर्छ पनि । तर यस क्रममा सधैंदेखि नेपाल देश झण्डै ८५ प्रतिशत सनातन हिन्दू र ७.७८ प्रतिशत बाैद्ध धर्मावलम्बी शान्तिप्रिय (अन्य धर्महरू पनि छन्) बसाेवास रहेकाेमा बीचबीचमा सञ्चारमाध्यममा देखिए, सुनिए अनुसार केही धार्मिक कट्टरतावादीहरूले अर्कालाई निषेध गरि आफ्नाे कुरा आक्रामकरूपमा प्रचार-प्रसार गरेर हाम्राे शान्तिपूर्ण, आपसी भ्रातृत्व कायम राखेकाे समाजमा अफवाह अन्य धर्मबारे फैलाउने, सनातन हिन्दू-बाैद्ध धर्महरू नङ्ग र मासुजस्ताे मिलेर रहेकाबीचपनि भ्रम फैलाई द्वेष बढाउने कुचेष्टा भईरहेकाे देखिन्छ ।

याे लेख यसैलाई ध्यानमा राखेर राजनीतिकभन्दा पनि विशुद्ध धार्मिक-अध्यात्मिकरूपमा बुद्ध धर्मकाे छाेटाे परिचय दिई नेपाली समाजलाई पुन: शान्तिकामी र आपसी भाईचाराकाे सन्देश दिने बनाउनु ध्येय हाे ।

गाैतम बुद्ध

नेपालकाे कपिलवस्तुमा राजधानी रहेकाे गणतान्त्रिक शाक्यवंशी राजा शुद्धाेद्धन र मगध (हाल पटना, भारत) माईती भएकी रानी मायादेवीकाे प्रथम सन्तानकाे रूपमा सुपुत्र राजकुमार सिद्धार्थकाे जन्म भएकाे थियाे । चलन अनुसार प्रथम सन्तानकाे जन्म दिन मायादेवी माईती जान लागेकीबेला बीचैमा लुम्बिनी वनमा नै व्यथालागेर शिशुकाे जन्म दिईन् र राजधानी कपिलवस्तु फर्किन् ।

लेखकद्वय रेशराज अधिकारी र हरिहर घिमिरेका अनुसार राजाका मित्र ऋषि असितले बालक जन्मेकाे खुशखबरीले हेर्नजाँदा नवजात शिशुले आफ्नाे पाउ ऋषिकाे जटामा राख्न लाग्दा ऋषि र राजाले प्रणाम गरेका थिए (पुस्तक : नेपाली समाज र संस्कृति, पृष्ठ ९८, संस्करण वर्ष २०५६, विद्यार्थी पुस्तक भण्डार, काठमाडाैं) । शिशुकाे प्रथम ब्राम्हण काल देवलले देख्दा नै शरीरमा भएका ३२ चिन्ह देख्दा नै बुद्ध राजकाज छाेडेर आध्यात्मिक मार्गमा लाग्ने बताएका थिए र अन्य आठ ब्राम्हणमध्ये सातजनाले पनि यसैलाई सत्य भने तर एकजना काेण्डन्यले “यदि याे बालकलाई चारवटा विशेष चिन्हहरू देखाइयाे भने संसारलाई त्यागेर बाेधि प्राप्त गर्न सन्यासी हुनेछन्” भनेर ठाेकुवा गरिदिए ।

राजा शुद्धाेद्धनले राजकुमार सिद्धार्थमा ज्याेतिषीहरूले भनेका कुरा सन्यासतर्फ लगाव देख्न थालेपछि साेह्र वर्षकै उमेरमा काेलिय वंशकी सुन्दरी राजकुमारी यशाेधरासित विवाह गराइदिए र एउटा छाेराे राहुलकाे जन्मपनि दिए । दरबारमा बस्दाबस्दै दिक्क लागेका सिद्धार्थ केही हेर्नपनि नपाएका एक दिन अनुमतिलिएर बाहिर घुम्नजाँदा चार दृश्य क्रमश: एक राेगी, एक वृद्ध, एक मूर्दा र एक गम्भीर मुद्रामा ध्यानमग्न देखे । राेगी, वृद्ध र मूर्दाले संसारमा दु:ख छन् तर ध्यानमग्न दृश्यले दु:खबाट मुक्तिपाउने उपायपनि छ भन्ने बुझेर उनी २५ वर्षकाे उमेरमा गुप्तरूपमा शान्तिकाे खाेजीगर्न, बुद्ध धर्मकाे भाषामा, “महाभिनिष्क्रमण”काे लागि गृहत्याग गरेर हिंडे ।

सत्यकाे खाेजीकाे प्रथम चरणमा सिद्धार्थले सन्यासी आलार कालाम तथा उद्दक रामपुत्रहरूलाई भेटे र भाेजन क्रमश: कम खाँदै पछि कन्दमूल, फल र पातहरू खाएर “ध्यानकाे आठाैं चरण” प्राप्त गर्न उरूवेला नामक सुन्दर वनमा अहाेरात्र छ वर्षसम्म ध्यानमा बसे । यति दिनमा उपलब्धी त भएन, शरीर कमजाेर भयाे तर त्यहीबेला “मार” नामक भयंकर राक्षसले उनलाई डर, त्रास, लाेभ आदि दिएर परीक्षा लिए, जसलाई कतिपयले मानसिक अन्तर्द्वन्द्वबाट निस्केकाे आक्रामक तत्त्व भनेका हुन् । उनले शरीरलाई कष्ट दिएर ज्ञानप्राप्त गर्न नसकिने निष्कर्ष निकालेर “मध्यम मार्ग” (न अति कष्ट, न धेरै सुख) अपनाउने निधाे गरे ।

मध्य मार्गमा लागेका बेला सिद्धार्थ बाेधगयामा पिपलकाे वृक्षमुनि तपस्यारत्त भएकाे बेला उनमा ब्राम्हणहरूले देखेकाे ३२ लक्षणहरू देखिन थालेका थिए । साेही क्रममा धनाढ्यकी छाेरी सुजाताले पुत्र जन्मेकाे खुशीमा भाकल अनुसार खीर चढाउन दासीलाई पठाउँदा वरवृक्षमा सुनाैला किरण छरेर ध्यानमग्न सिद्धार्थलाई नै भगवान हाे कि मनुष्य छुट्याउन नसकी बटुकाेमा खीर हातमा अर्पण गरिन् । सिद्धार्थले निरजरा नदीमा स्नान गरेर बुद्धत्व प्राप्त गर्ने प्रयत्नमा अन्तिम भाेजन ग्रहण गरे र “मलाई यदि बुद्धत्व प्राप्त हुन्छ भने याे बटुकाे नदीकाे धारकाे उल्टाे दिशामा बगाेस्” भन्दै बगाउँदा त्यसै भयाे । श्राेतीय नामक घाँसीले दिएकी कुश आसनमा साे पिपलकाे वृक्षमुनि रातकाे प्रथम प्रहरमा पूर्वजन्म, दु:ख र त्यसकाे कारण पत्ता लाग्याे; दाेस्राे प्रहरमा प्राणीकाे मृत्यु र पुनर्जीवन; तेस्राेमा दु:खकाे निदान, र चाैथाेमा निदानका उपायहरू बारे थाहा पाए । यसबेला पनि उनकाे ध्यानभंग गर्न उनै मार राक्षसका छाेरीहरू तृष्णा, रति र रागले असफल प्रयत्न गरिन् । साताैं र अन्तिम सप्ताहमा “संवाेधी” प्राप्त गरेपछि अर्थात्, गाैतम बुद्ध बनेपछि बाेधिवृक्षमुनि बसिरहँदा तपस्सु र भल्लुक नामक दुईजना व्यापारीले बुद्धलाई भात र महकाे लड्डू खुवाए र उनीहरूले उनकाे अनुभव सुन्दा ती दुवैजना व्यापारीले प्रथम शिष्यता ग्रहण गरेर अनुयायी भए, गाैतम बुद्ध साे बेला ३५ वर्षका थिए ।

बुद्धत्व प्राप्तिपछि बाेधगयाबाट काशीकाे सारनाथमा आफ्नाे औपचारिक प्रचार गर्न थाले तर उनी पैदल हिँड्दै ठाउँठाउँ पुगेर ज्ञान बाँड्थे । उनले करूणा, दान, आत्मसमर्पण र त्याग जस्ता कुरामा जाेड दिन्थे भने कुप्रथा, धर्म र संस्कारका नाममा गरिने शाेषणबाट मुक्तिकाे लागि संकल्पलिएर घर तथा परिवार त्यागे । उनी भन्थे, “संसारमा शाश्वत धर्म एउटै छ, घृणाले घृणाकाे नाश गर्दैन तर प्रेमले घृणामाथि विजय प्राप्त गर्न सक्छ ।” उनी ई. पू. ४८३ मा ८० वर्षकाे उमेरमा देहत्याग “महापरिनिर्वाण” गरे । बाैद्ध धर्मका अनुयायी भारत, नेपाल, थाइल्याण्ड, जापान, श्रीलंका, बर्मा, काेरियालगायत धेरै देशमा छन् ।

कलकत्ता, भारतमा जन्मेर लण्डनमा सन् १९२२ तिर बसाईं सरेका विद्वान् लेखक निरद चन्द्र चाैधरी (कायस्थ)ले आफ्नाे पुस्तक द कन्टिनेन्ट अफ् सर्सी (The Continent of Circe, जादूकाे महाद्वीप) मा भारतकै विभिन्न विचारकका अनुसार काेही बुद्ध धर्मलाई नयाँ धर्म मान्छन् भने काेही सनातन हिन्दू धर्मकै एक अवतार हाे भने काेही नयाँ धर्मकाे अवतार “बुद्ध धर्म”लाई बताएर सनातन हिन्दू धर्ममा “सूर्यग्रहण” काे कालाे धब्बा लिन्छन् भनेर उल्लेख गरेका छन् ।

त्यस्तै, डा. कृष्ण नारायण पाण्डेय, अर्का भारतीय विद्वान लेखकले आफ्ना पुस्तक नयन दृष्टम् ऐतिहासिक भारतम् (Historical Eyeview of Bharata), प्रज्ञा प्रकाशन, लखनउ, सन् २००३, पृष्ठ ११४ मा “महात्मा बुद्धस्य तिथिक्रम” मा गाैतम बुद्धकाे बायाेडेटा नै बनाएका छन् । यस अनुसार उनकाे जन्म ई. पू. १६१९/२० (लुम्बिनी वने सूर्यवंशज शाक्य पुत्र शुद्धाेधन गृहे सिद्धार्थ जन्म) र १५४० ई. पू. मा बुद्धस्य निर्वाण प्राप्ति : कुशीनगरे भनेर आफ्नै अनुसन्धानले तिथिमितिसहित भएकाे भनेर उल्लेख गरेका छन् । पाण्डेयले ई. पू. १५९५ मा सिद्धार्थकाे विवाह यशाेधरासँग भएकाे र छ-सात वर्षपछि अर्थात्, पुन: ई. पू. १५८९ मा “बिम्वसारस्य काैशल राजकुमारी सह विवाह” भनी उल्लेख गरेका छन् ।

बुद्धका ज्ञान/उपदेश

सिद्धार्थ गाैतमले चार आर्य सत्यकाे उपदेश दिए । ती हुन् : संसारमा दु:ख छ वा संसार नै दु:ख हाे; दु:खका कारणहरू छन्; दु:खकाे विराेध हुन्छ वा दु:खलाई राेक्न सकिन्छ, र दु:ख निराेधका उपायहरू छन् ।

उनी बुझ्छन् कि “ईच्छा”ले जन्म पछि राेगी, वृद्ध र मर्ने हुन्छ अत: ईच्छा नै दु:खकाे भण्डार हाे । त्यस्तै, “धम्म पद”मा उल्लेखित छ कि “तृष्णा”बाट दु:ख र डर उत्पन्न हुन्छ । जब तृष्णाकाे नाश हुन्छ तब दु:खबाट छुटकारा पाईन्छ । यसपछि चाैथाेमा अब दु:खका निदानका उपायलाई “अष्टांगिक मार्ग” भनिन्छ जुन क्षणिक सुख, अपवित्र र उत्ता शरीरलाई दिईने कठाेर कष्ट दुवैभन्दा पनि मध्यमार्गीलाई अपनाउनाले शान्ति, बाेधि र निर्वाणप्राप्त हुन्छ भनेका छन् ।

ती अष्टांग मार्ग (The Eight-Fold Path) हुन् : सम्यक् दृष्टि (Right Vision); सम्यक् वाचा (Right Speech); सम्यक् कर्म (Right Action); सम्यक् जीवन (Right Livelihood); सम्यक् व्यायाम (Right Effort); सम्यक् संकल्प (Right Determination); सम्यक् एकाग्रता (Right Mindfulness), र सम्यक् तप/समाधि (Right Meditation) ।

बाैद्ध धर्मका प्रमुख सम्प्रदायहरू

लेखकद्वय अधिकारी र घिमिरेका अनुसार समयक्रममा बुद्धत्वबारे मानिसमा फरक-फरक बुझाई आउंदा ई. पू. २४० तिर सम्राट अशाेकले मतभेदहरू हटाउन सम्मेलन गराएका थिए तर मतैक्य भएन (पृष्ठ १०७) । केही सम्प्रदाय तल छन् –

* हीनयान सम्प्रदाय : बुद्धधर्मकाे सिद्धान्तलाई हु-बहु अर्थात्, “साँघुराेबाटाे” फेरबदल नगरी गाैतम बुद्धकाे भाषामा नै संरक्षण गरिराख्ने यिनिहरूलाई “पुरातनवादी” पनि भनिन्छ महायानका साम्प्रदायीले तिरस्काकार “हीन” गर्दा यसकाे नामाकरण भएकाे हाे । यिनिहरूले गाैतम बुद्ध भगवान थिएन अपितु एक मानिस नै थिए, दु:खलाई बुझेर विराेधका लागि प्रयत्नरत्तरहेर निर्वाण प्राप्त गरे बुझ्छन् । तर सबै मानिसले गाैतम बुद्धले जस्ताे असामान्य साेच भएकाले मात्र निर्वाण प्राप्त (अहंर्त हुन सक्छन्) गर्नसक्छन्, सबैले हाेईन बुझ्छन् ।

* महायान सम्प्रदाय : अर्थात्, फराकिलाे वा ठूलाे, हीनयानकाे विपरीत । यिनिहरूले गाैतम बुद्धलाई मनुष्य नमानेर ईश्वरकाे रूपमा लिन्छन्, उनकाे शरीरलाई कल्पना गर्दै मूर्तीकाे पूजा गर्छन् र बुझ्छन् कि माेक्ष वा निर्वाण चाह्नेले शैयावरण ज्ञानलाई ढाकेर राख्ने बाहिरी तत्त्वलाई हटाउनुपर्छ । हीनयानीले आफूमात्र माेक्ष/निर्वाण प्राप्त गर्न प्रयत्नशील रहन्छन् भने महायानीले पुण्यकाे फल अरूलाई पनि दिई “बाेद्धित्वकाे करूणा” देखाउँछन् । महायानीले बाेद्धिसत्व प्राप्त गर्न ६ वटा “पारमिता”लाई पूरा गर्नुपर्छ भन्छन्, ती हुन् – दान, शान्ति, शील, वीयी, ध्यान र पूजा ।

*बज्रयान सम्प्रदाय : परलाैकिक विश्वास र मन्त्र मुद्रा आदि अभ्यास गरिने जुन महायान सम्प्रदायकाे विकासकाे क्रममा नै मुद्रा, मन्त्र, धारणि, जादू, टुना, सिद्धि आदि जाेडिए नै बज्रयान हाे । बज्र भन्नाले यिनिहरूले अलाैकिक, भावना साध्य, हिरा जस्तै कठाेर, अन्तरीक्ष जस्तै पारदर्शी र कहिल्यै नाश नहुने बुझ्छन् । यसले मन्त्र, जाप, तप, ध्यानबाट दु:ख, क्लेश र जञ्जालबाट मुक्ति हुन्छलाई अनुशरण गर्छ ।

*तन्त्रयान सम्प्रदाय : याे बाैद्ध धर्मकाे पछिल्लाे हाे, बज्रयानबाट नै पुन: फुटेर नयाँ निस्क्याे । यसले मान्छ कि मन्त्र र ध्यानकाे संयाेगबाट सिद्धि प्राप्त हुन्छ, सिद्धिबाट ज्ञान प्राप्त हुन्छ र ज्ञानबाट निर्वाण प्राप्त हुन्छ । महावैराेचन सूत्रका अनुसार मन्त्र र ध्यानले मानिसकाे अन्तरज्ञानमा प्रभाव पार्दछ, मन्त्रका अक्षरहरूले हामीलाई नियन्त्रण गर्दछ । यिनिहरूले बुद्धलाई ब्रम्हाण्ड र चेतनाकाे प्रतीककाे रूपमा लिएकाे छ ।

उपसंहार

जसले जुन रूपमा विचार राखेपनि विश्वले मानेका कुरा के हुन् भने सिद्धार्थ गाैतम नामक महान् पवित्र आत्माले बुद्ध धर्मकाे मार्फत् अहिंसाकाे मार्गलाई पछ्याउँदै विश्वमा शान्तिकाे स्थापना गर्न, मनुष्यकाे निर्वाण/माेक्षकाे लागि मध्यमार्गीरूपले ध्यानमार्फत् ज्ञानप्राप्त गरेका थिए । उनकाे सहिष्णुता, शान्ति, ज्ञान, करूणाकाे भावले बाैद्धमार्गी र नेपाल-भारतकाे पनि छुट्टै विशिष्ट पहिचान बनेकाे छ । उनी नेपाल र भारतका समाजकाे जाेड्ने एक महत्त्वपूर्ण निधि (अमूल्य सम्पत्ति) हुन् ।

बाैद्धमार्गी र सनातन हिन्दूबीच नङ्ग र मासुकाे अन्याेन्श्रित सम्बन्ध नै छ, यिनीहरू कसैले पनि एकले अर्कालाई दु:ख दिन वा झगडा गर्न सक्दैनन्, खासगरी नेपालमा किनकी काठमाडाैंस्थित स्वयम्भू मन्दिरमा बाैद्ध र सनातनधर्मी दुवैले संगम भई यत्तिकै श्रद्धाले आ-आफ्ना ईश्वरलाई पूजा गर्न जान्छन् ।

अत: २०६३ सालपछिकाे धर्मनिरपेक्ष नेपालमा अब आएर कसैले बुद्धकाे मूर्ति ताेडेर हिन्दूकाे पर्चा त्यहाँ फाल्छन् वा यसकाे विपरीत भने याे असामाजिक कार्य काेही नेपालमा नव धर्म प्रचारक, धर्मनिरपेक्षतालाई बदनाम गराउने कुतत्त्वकाे हाे बुझ्नुपर्छ र सावधान रहनुपर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय