कसलाई चाहियो राजा ?
सम्पादकीययतिबेला देशमा सनसनी फैलिएको विषय हो ‘राजा’। तर, कुन राजा ? कस्तो राजा ? कसका लागी राजा ? यसको कुनै अत्तोपत्तो छैन। यद्यपी राजा आउँदैछन् र राजा आउँन दिदैनौ भन्नेहरू चाहिं हो मा हो मिलाइरहेका छन् ।
नेपालमा २०५८ साल जेठ १९ गते राती ९ बजेसम्म राजा थिए ।तत्कालीन राजा विरेन्द्र (स्व.विरेन्द्र विरविक्रम शाह) थिए।जेठ १९ को राती उनको हत्या भयो। त्यसपछि २ दिन ‘राजाको छोरा राजा हुन्छ’ भनेर (स्व.दिपेन्द्र शाह)मृत शरीरलाई राजा मानियो। हो, नेपालमा राजा र राजसंस्था भनेको त्यै बेला सम्म हो।
त्यसपछि तत्कालीन अवस्थामा राजनीतिक दल मुख्यगरी नेपाली कांग्रेस र नेकपा एमालेको नाजुक अवस्थाले गर्दा जनतालाई ‘म राजा हुँ’ भनेर ज्ञानेन्द्र शाह (जो तत्कालीन अवस्थामा राजपरिवारका एक जना सदस्य तर, व्यापारी हुन्) राजगद्दीमा बसे। तर, जनताले उनलाई मनैदेखी राजा मानेकै थिएनन् । उनी रहस्यमयी पात्र समेत हुन् । उनिमाथी धेरै आरोप पनि लागेकै हो।
एकातिर सशस्त्र युद्धमा रहेको नेकपा माओवादी र अर्कोतिर संसदवादी दलहरूको बिचमा सहमति नबन्दा सम्म ज्ञानेन्द्र शाहले आफुलाई राजा भन्दै हिँडे। विरेन्द्रको वंशनास भएपछि नेपाली जनताले राजा वा राजसंस्थाको बारेमा खासै रुचि नदेखाइरहेको भएपनि ज्ञानेन्द्रलाई केही पुर्व पन्चहरुको स्वार्थ समूहले मनलाग्दी सल्लाह दिएर गलत बाटो हिँडाए।
त्यसले गणतन्त्रमा जानका लागि थप बल पुग्यो । माओवादीले चलाइरहेको जनयुद्धको जगमा उभिएर २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनमा तत्कालीन ७ दल सहभागी भएपछि देशमा युद्धको अन्त्य, संसद पुनःस्थापन, शान्ति सम्झौता र संविधान सभा निर्वाचन हुने अवस्था आयो। त्यसपछि जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएपछि ज्ञानेन्द्र शाह नारायणहिटी छाडेर निजि निवासतिर लागे।

त्यसपछि संविधान सभा निर्वाचन भई माओवादी नेतृत्वमा सरकार बन्यो। गणतन्त्रले ३ जना राष्ट्रपति/उपराष्ट्रपति पाइसक्यो। गणतन्त्रपछि ४ जना कम्युनिस्ट नेता र ३ जना कांग्रेसका नेता पटकपटक प्रधानमन्त्री अनि एकजना मन्त्रीपरिषद अध्यक्ष (खिलराज रेग्मी) पाइसक्यो।
देश संघीयतामा गैसकेर गन्न नभ्याउने मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्री, सांसद र स्थानीय पालिका प्रमुख/उपप्रमुख पाइसक्यो। यति हुँदा पनि फेरि ‘राजा’ को कुरा कसरी आयो ? राजा बनाएर को ल्याउने ? किन ल्याउने ? कसका लागि चाहियो राजा ? बुझेर हो कि नबुझेर हो ‘राजा’ ल्याउने वा ल्याउन नदिने बारे बहस किन भइरहेको छ ? के यो बहसको बिषय हो ? कसले हो ज्ञानेन्द्रलाई राजा बनाउने ? कि पारस शाह हो राजा ? यो सम्भव छ ? कुनै पनि अर्थमा सम्भावना नै नभएको हावादारी कुरामा लामो राजनीतिक इतिहास भएका दल र तिनका नेता नै अलमलिएको देखिन्छ। यो जनताको लागि दु:खद कुरा हो।
लोकतान्त्रिक आन्दोलनमा ज्यानको बाजी लगाएर आएका हौं भन्ने शीर्ष नेतादेखि क्रान्तिकारी चेतका परिवर्तनकारी युवा नेता भन्नेहरू सम्म दिनहुँ ज्ञानेन्द्र शाह र उनका समर्थकप्रति कटाक्ष गरिरहेका भेटिन्छन्। संसदमा सांसदहरूले पनि यसै विषयमा चर्चा गरिरहेका छन्। टेलिभिजनमा बहस पनि यसैमा छ। अनी युटुब र फेसबुकमा पनि ‘राजा’ कै चर्चा छ।कोही राजा भन्ने, कोही पूर्वराजा भन्ने, कोही श्री ५ महाराज नै भन्नेहरू बग्रेल्ती भेटिन्छन् ।
त्यतिमात्र होइन गणतन्त्रको ब्याज खाइरहेका उच्च नेताहरू समेत राजाको कुरा गरिरहन्छन् । यो समय विकास, समृद्धिका कुरा हुनुपर्ने, आत्मनिर्भर अर्थतन्त्रका कुरा, किसानका कुरा, खेलाडीका कुरा, कलाकारका कुरा, हस्पिटलका कुरा अनि बाढी पहिरो, भुकम्पले भत्काएका संरचना पुनर्निर्माणका कुरा हुनुपर्नेमा सदन, सडक, सञ्चारमाध्यम, युटुब र फेसबुकमा ‘राजा’ कै बाजा किन बजिरहेको छ !
गणतन्त्रवादीको विरुद्ध राजावादी सडकमा आउने, राजावादीको प्रदर्शनको प्रतिवादमा माओवादीले सडकमा मान्छे उतार्ने अनि यही हो विकास ? यही हो लोकतन्त्र ?यसैगरी समृद्धि आउने हो ?
यस्ता अनावश्यक कुरामा समय खेर फाल्नुभन्दा खुरुखुरु देश र जनताको लागि सोचे हुँदैन र ?

