वाग्मती सफाइमा ६१५ हप्ता

बागमती सफाइमा निरन्तर लागेको सामाजिक अभियन्ताहरुको एउटा टिमले हरेक शनिबार नदी र वरिपरिको सफाइ गर्दै आइरहेको ६१५ हप्ता भएको छ।

‘राष्ट्रकालागि हप्ताको २ घन्टा स्वयंसेवा’ भन्ने अभियान स्वरुप यो समूहले हरेक शनिबार बिहान ७ देखि ९ बजेसम्म वाग्मती नदी र वरिपरिको किनार एवं पार्क सफाइ गर्दै आएको छ। यो अभियानमा प्रायजसो पुडासैनी समाज र माथिल्लो वाग्मती सफाइ अभियानसँगै गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५, युवा क्लब र सामाजिक ब्यक्तित्वले यसमा नि:शुल्क र निस्वार्थ सहकार्य गर्दै आएका छन् ।

अघिल्लो हप्ता ६१४ औं शृङ्खला भने पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको उपलक्ष्यमा सुर्य घाटदेखि पशुपतिनाथको पुर्वीद्वारको घाटसम्म सफाइ गरियो । यसमा वाग्मती सफाइ अभियान, पशुपति विकास कोष, तिलगंगा महिला समूह, माथिल्लो वाग्मती सरसफाइ अभियान, सामुदायिक प्रहरी, आलोकनगर समुदाय, बानेश्वर महिला वातावरण प्रा लि, सुन्दरीघाट वाग्मती सरसफाइ अभियान, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु र स्थानीयको सहभागी रहेको अभियन्ता ईश्वर पुडासैनीले परेवान्युजलाई जानकारी दिए ।

संघीय राजधानी काठमाडौंको बीचभागबाट बग्ने पवित्र वाग्मती नदी ढल र फोहोरका कारण दुर्घन्धित हुँदै गएपछि २०७० सालमा वाग्मती सफाइ महाअभियान सुरु गरिएको थियो। यद्यपि महाअभियानले के कति काम गर्यो वा गरिरहेको छ त्यसको जानकारी सम्बन्धित पक्षलाई नै होला तर, यो समूहले भने जस्तोसुकै परिस्थितिमा पनि आफ्नो अभियान जारी राखेको छ।


