दमन दाइः केही सम्झना, केही पछुतोहरू !
युवराज आचार्यम गाडीमा बुढानीलकण्ठतर्फ जाँदै थिएँ, दिउँसो साढे दुई तिर नेपाल शान्ति प्रतिष्ठानको कार्यालयका एक मित्र, राजेन्द्रले फोन गर्नु भयो । लाग्यो बिहीबारको मिटिङ्गको खबर होला । अघिल्लो मङ्गलबार साँझ मात्रै स्टेला तामाङ्ग दिदीलाई भनेको थिएँ, “दमन दाइ नि आउन सक्नु हुन्छ होला, आउँदो बिहीबार चाहिँ म पनि आउँछु दिदी” तर राजेन्द्रको स्वर मलीन थियो, तीन शब्द मात्रै सुनेँ, “दमन दाइ बित्नु’भो।”
मलाई अघिल्लो दुई-तीन हप्ता प्रतिष्ठानको अफिस तिर नगएकोमा पछुतो लाग्यो । दमनदाइ बिमारी भएर दिल्ली जानु केही अघिदेखि नै उहाँसँग भेट भएको थिएन । दुई पटक विद्याधर मल्लिक सर, स्टेला दिदी र प्रतिष्ठानका कर्मचारी दमनदाईकोमा पुगेर दाइसँग गफ गरेर आउनु भएको सुनेँ, म जान पाइनँ । आउँदो बिहीबार चाहिँ जान्छु भन्ने योजना थियो ।
हरेक बिहिबार भेट्ने, देश, राजनीति, समाज कता जाँदैछ भनेर छलफल गर्ने चिया पिउने र छुट्ने । यो प्रतिष्ठानको नियमित जस्तै कार्यसूची हो । “ल बिष्णु जी विश्लेषण सुनौँ”, “अजय बावुको यसमा गहिरो अध्ययन होला”, “सजना नानीको सुनौँ न”, “युवराज बावुले इतिहासदेखिको कुरा ल्याउनु हुन्छ”…. दाइहरूले हामीलाई प्रोभोक गर्ने र हामीले दाइहरूलाई प्रोभोक गर्ने बाटै सुरु हुन्थे धेरै जसो साप्ताहिक भेला ।
पद्मरत्न तुलाधर दाइको मृत्यू पछि अलि पातलिए पनि स्वास्थ्यले साथ दिएसम्म दमन दाइ र डा.वीरेन्द्र प्रसाद मिश्रले बिहिबारे मीटिङ्ग छुटाउन मन गर्नु भएन । दमन दाइको राजनीति र इतिहासमा रूची, मिश्र सरको दर्शनशास्त्रमा । म चाहिँ आलु जस्तो दुबैमा ठिक्क । मिश्र सर अति नै ब्यवस्थित, लेख्नमा गहिरो लगाव छ उहाँमा ।

धेरै वर्षदेखि उहाँको पहिलो पण्डुलिपी दमनदाइले पाउनु भयो र त्यसपछि घुम्दै मेरोमा आयो होला। मिश्र सरको उदाहरण दिँदै कम्तिमा बीस पल्ट मैले दमनदाइलाई भने हुँला, दाइ तपाईंसँगै धेरै इतिहास मरेर जान्छ, कति नयाँ पुस्ताले थाहा पाउनु पर्ने कुरा पनि मर्छन् । पाँच-सात चोटी त मैले र दाइले लेख्ने ढाँचा पनि कोऱ्यौं । मैले सम्झनयोग्य घटनाका एकपेजका निबन्ध तयार गर्ने तरीका सुझाएँ ताकि त्यसलाई कुनै राम्रो कलम चलाउने लेखकले बिस्तार गर्न सकोस् । एकै पल्टमा निस्कने गम्भीर लेखको भूत दाइअको दिमागबाट हट्न भने सकेन । पद्मरत्न दाइ जीवित हुँदै आधा दर्जन जति भिडियो मेकर, लेखक आए, दमन दाइको नै अन्तर्वार्ता समेत गरे तर दमन दाइले लेखनको विषयलाई सामान्यीकरण गर्नै सक्नु भएन, लेखन भनेको ठूलो विषय बनाएरै बस्नु भयो ।
इतिहास र राजनीतिमा रूची भएकोले दमन दाइसँग म नौ-दश दिन लामा यात्रामा निस्कँदा मेरो प्रयास नै इतिहास कोट्याउनु हुन्थ्यो । २०७४ साल तिरको होला एउटा लामो मधेश यात्रामा हामी बिन्दास तालले घुम्यौँ , साथमा हुनुहुन्थ्यो पत्रकार चन्द्रकिशोर । दाइ जवान हुँदाका मित्रका घर समेत खोज्दै गयौँ, सर्लाही तिरका कोइराला, महोत्तरीका मिश्र देखि राजविराजका खुशीलाल मण्डलसम्मका घर । त्यही बेला हो दाइको स्मृतिलाई २०२७-२८ साल तिर धकेल्न मैले थोत्रो टेम्पो र रिक्सामा हालेर उहाँलाई जयनगर समेत पुऱ्याएँ । दाइ र म दुवै त्यहाँ पुगेपछि एकछिन नोस्टाल्जिक भयौँ । दाइको काँग्रेस राजनीतिमा लागेको युवाको माडर- जयनगर कनेक्सन, मेरो चाहिँ जीवनको पहिलो फिल्म, “हात्ती मेरा साथी” हेरेको ठाउँ । दाइले नौजवान काँग्रेसी ठिटो हुँदा खद्दरको कुर्ता किनेको ठाउँ खोज्नु भयो, हामीले गम्छा-सम्छा केही किन्यौँ र सिरहा फर्कियौँ।
कुनै कुनै यात्राको निहुँ चाहिँ एउटा हुन्थ्यो तर दाइको डुल्ने रहरमा त्यो निहुँ गौण । प्रजातान्त्रिक आन्दोलनमा सीमा वार-पारको माहोल हामीले देख्न पाइएन सुन्न मात्रै । तर हामीले दमन दाइको अनुभूति खोतरेर त्यसको प्रतिछायाँ हाम्रो दिमागमा कोऱ्यौँ ।
समाज र राजनीतिका विषयमा दमनदाइको सोच मलाई अनुपम लाग्छ । कुनै कुनै विषयमा हामी बजारको पछि लाग्दा दाइले उल्टो कुरा गरेको याद छ । त्यो उल्टो तर्क कति सही रैछ भन्ने मैले त कहिलेकाहिँ एक महिना पछि मात्रै महशूस गरेको छु । कुनै बेला यो पनि कुनै मुद्दा हो र? भनेको विषयको उठान गर्नु हुन्थ्यो । शब्द शब्द तौलेर बोल्ने, हामी पुग्न नसकेको कुनामा पुगेर विषय बस्तु छान्न सक्ने दाइको बौद्धिकता अजीबको थियो ।

धनगढिदेखि धनकुटासम्म यात्रा गर्दा नि दाइको ६०-६५ वर्षको स्मरण हत्तपत्ति नदोहोरिने । विशेषगरी कुनै घटनामा दमन दाइ र पद्मरत्न दाइको अनुभूति अतिनै चाखलाग्दा । मलाई चाहिँ उहाँहरूको सार्वजनिक अडान वा धारणा होइन अनुभूतिमा चासो थियो ।
२०४६को आन्दोलनका बेला जेल सरुवा गरेर रसुवा लैजाँदाको अनुभूति, सभामुख नियुक्त भएपछि संसदको पहिलो अधिवेशन आह्वान गर्ने विषयमा दरवारसँग भएको खटपटि, गिरिजाप्रसाद कोइरालासँग भएको असमझदारीदेखि २०७४को चुनाव लड्ने निर्णयसम्मका दमन दाइका कथा नलेखिइ मरे ।
कति ठूलामान्छेको सामाजिक जीवन मात्रै समाजले देख्छ कारण उनीहरूको निजी जीवन आफ्नै व्यक्तित्वको ओझेलमा परेको हुन्छ । मलाई चाहिँ राजनीति, दर्शनका ठूला-ठूला कुरा भन्दा उनीहरूका व्यक्तिगत अनुभूतिले बढी बाँध्छ । राजनीति, इतिहास पछि हामीले धेरै गफ गरेका अर्का दुई विषय थिए मृत्यू र स्वास्थ्य । सन २०१२-१३ तिर होला हामी भेडेटार पुगेका थियौँ, एकजना पूर्व राजदूतले दमन दाइ र पद्मरत्न दाइलाई लिएर धनकुटा जानु भयो । त्यहाँ नागरिक समाज भेला भएर भाषणबाजी चलेछ राती ८ बजेसम्म । दुवै दाइको औषधीको समय घड्कियो, खानाको सन्तुलन बिग्रियो । उहाँहरूको अनुहार हेर्दा अत्यन्तै सिथिल । यात्रामा मैले खाना र औषधी चाहिँ अत्यन्तै ख्याल गर्ने दुई विषय हुन् । पुराना क्लासिक गाडी र बृद्ध मान्छेको कसरी ख्याल गर्ने भन्नेमा म राम्रै मध्येमा गनिन्छु । तर त्यो दिन पाको उमेरका दुई दाइहरूको अनुहारमा खाना र औषधीको सन्तुलन बिग्रियो । खाना खाँदा दमनदाइले भन्नु भयो यो उमेर भयो, यस्तैमा कुनै दिन फुस्स गइन्छ होला । मैले भने, “कालले उमेर हेर्छ र दाइ?” तर पनि दाइहरूको उमेर र स्वास्थ्य हेरेर डर चाहिँ लाग्यो । अलग अलग कोठामा सुत्नु भएको दाइहरूको ढोकाको चाबी छिराउने प्वालमा कान थापेर राती पनि दुई पटक मैले सुनेँ, दाइहरू दुवै मज्जाले घुर्दै हुनुहुन्थ्यो । सायद मैले खाना, औषधी, र आरामलाई बढि महत्त्व दिएको देखेरै दाइहरू त विश्वस्त हुनु हुन्थ्यो तर परिवार विश्वस्त थियो कि थिएन मलाई थाहा भएन । कहिलेकाहिँ काठमाण्डु बाहिर जाँदा परिवारका सदस्य साथै लैजाने चलन थियो, पछि लैजान छाड्नु भयो ।
मृत्यू साश्वत हो। बयासी वर्ष अर्थपूर्ण जीवन बाँचेर मर्नु “असामयिक” होइन भन्छु म। अहिले धेरै बाबु आमामा दुईवटा अव्यक्त इच्छा देख्छु मः लामो समय थलिएर, सन्तानलाई दुःख दिएर मर्नु नपरोस् र कुनै एउटा भए नि सन्तान त्यो बेला आफ्नै वरिपरि हओस् । दमन दाइको मृत्यू यस अर्थमा सहज नै भयो होला, लामो समय पीडा खेप्नु र दिनु परेन होला र कम्तिमा एक वा दुई सन्तान वरिपरि नै थिए होला।
तर मलाई खड्कि रहने कुरा चाहिँ नयाँ पुस्ताले जान्नु पर्ने, बुझ्नु पर्ने कति विषयको दस्ताबेजीकरण गर्न सकिएन, दाइको स्मरण रेकर्ड गर्ने काम हुन सकेनन् , दाइसँगै ति अस्ताए ।

