‘घुम्‍ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रहबारे

प्रा. खगेन्द्रप्रसाद भट्टराई

भूपी शेरचनका केही कविता पढेको थिएँ, तर उनीद्वारा रचितघुम्ने मेचमाथि अन्धो मान्छे शीर्षकको कविता संग्रह पढ्ने अवसर चाहिँ यसपालि मिल्यो । यस संग्रहमा ४२ वटा कविताहरु छन् र कविताहरु गद्यमा लेखिएका छन् । कविता पढेर भूपीलाई अझ गहिरो गरी बुझ्ने अवसर मिल्यो । भूपी आधुनिक नेपाली साहित्यका एक सफल कवि हुन् र उनका गद्य कविता काव्य रसमा डुबेका छन् । केही कविताले मन-मस्तिष्क दुवैलाई छुन्छन् । जति पढे पनि पढिरहुँ जस्तो लाग्ने । जति र जहिले पढे पनि नयाँ र ताजा लाग्ने ।

भूपीले कविताको माध्यमबाट समाजमा भएका विकार र विकृतिहरुको चित्र उतारेका छन् । विसंगति र कमजोरीहरुलाई उदाङ्ग पारेका छन् । युद्ध र गलत राजनीतिका कारणले मानवले भोग्नुपरेको पीडा पाइन्छ उनको कवितामा । नेपाली समाजले व्यहोर्नु परेको पीडा र नेपालीका आँसु कविताका हरफमा बगेका छन् । चित्रण छ बेरोजगारीको अभाव र भोकको । शहीदको रगतको अपमान गरिएको ।

भूपीमा बलियो राष्ट्र प्रेम छ र मानवताप्रति प्रगाढ आस्था । ढोंगी धर्म र समाजप्रति व्यंग्य गर्छन् उनी । उनी दुःखी र असक्तका आवाजहरु हुन् र न्यायको लागि बोल्छन् ।

भूपी राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति र घटनाक्रमहरुप्रति सचेत छन् र तिनका बारेमा कविताद्वारा आफ्नो दृष्टिकोण र भावना व्यक्त गर्दछन् । मानिसको खोक्रो अहंकार र अर्थहीन अस्तित्वको तस्वीर भेटिन्छ उनको कवितामा । उनका कविताका हरफहरुमा शब्द संयोजनको विशिष्ट शिल्प छ । अभिव्यक्ति शैली बिछिट्टको छ ।

केही उदाहरणहरुः
‘‘यसरी नै सधैं-सधैं मेरो सपनामा
म्लायाका असंख्य-असंख्य मानिसहरुको
आँसुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाश माथि उठ्छ
एक लाश तल डुब्छ’’ (‘सधैं-सधैं मेरो सपना’बाट)

सारा ढोका र झ्यालहरु लातले खोलेर
डाका झैं आउँछ हावा कोठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कगजपत्रहरु पल्टाई हेरे
केही नपाउँदा रिसले रन्थनिएर
अरु झ्यालहरुबाट हाम्फालेर भाग्छ

यो चैत्रको दिनको कस्तो उराठलाग्दो पहर हो !
यो कस्तो मुर्दा शहर हो । (‘वसन्त’बाट)

हामी जतिसुकै माथि उठौं
जतिसुकै यताउति दगुरौं
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत पानीका फोका हौं
पानीका निर्बलिया फोका

हामी वीर छौं
तर बुद्धू छौं
हामी बद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं

हामी पाइताला हौं
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ (‘हामी’बाट)

जहाँ
हिउँ परेको रातमा
जून, धतीलाई मेट्न
हिमकणहरुको साथमा
मुस्कुराउँदै ओह्रालो झर्छ,

जहाँ
एकबाजी आएर
घर फर्कन वसन्त भुल्दछ (‘मेरो देश’बाट)

चियाको किटलीबाट एउटा सूर्य उदाउँछ
सधैं रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेको छ म बसेको पृथ्वी — पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि
दृश्ययहरुदेखि
रमाइलोदेखि
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै (‘घुम्ने मेचमाथि अन्धो मान्छे’बाट)

यस्तो युगमा जन्मेका छौं हामी
जन्मिनु अगावै मृत्युको त्रास बोकेर हत्याको सुइँको पाएर
आएका छौं हामी यस पृथ्वीमा

र हामी हुर्किरहेका छौं त्यस युगमा
जुन युगमा
हामी भित्र
हामी संगसंगै
हुर्किरहेको छ एउटा तीव्र अनास्था
स्वयं यस युगप्रति नै यस युगको अस्तित्वप्रति नै । (‘मर्दैछ हामीमा हामी बाँचेको युग’बाट)

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिंडिरहेको छ

बेला-कुबेलाको बादलको गडयाङ-गुडुङ
आकाशलाई पखालो लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर

फेरि एक चोटि
भयानक बमहरु बोकेर, उडिरहेको हवाइजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना-पत्र (‘नयाँ वर्ष’बाट)

मैंले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर, पिउन झन गाह्रो छ ।
मरेर शहीद हुनेहरु
जिएर त हेर, जिउन झन गाह्रो छ ॥ (‘मेरा साथीहरु’बाट)

(पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. भट्टराई आफैं पनि अंग्रेजी साहित्यका विद्यार्थी हुन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...