राममान सरलाई सम्झँदा…

प्रा. खगेन्द्रप्रसाद भट्टराई

प्राध्यापक राममान श्रेष्ठ बहुमुखी प्रतिभा भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँ त्रिभुवन विश्वविद्यालयको गणित विषयको अत्यन्तै लोकप्रिय प्राध्यापक हुनुहुन्थ्यो । उहाँले नेपालको गणित शिक्षाको विकासमा ठूलो योगदान पुर्‍याउनुभएको छ । नेपालको उच्चशिक्षाको विकास, विश्वविद्यालयको स्वायत्तता तथा प्राज्ञिक स्वतन्त्रताका लागि सधैं लागिपर्नुभयो । उहाँको राजनीतिक, सांगठनिक तथा प्रशासनिक कुशलतालाई प्रशंसा गर्नुपर्दछ । मुलुकमा लोकतन्त्रको स्थापना तथा पुनस्र्थापनाका लागि उहाँ लडिरहनुभयो । गणित विषयको प्राध्यापक भएर पनि होला, उहाँ सधैं तथ्य समातेर मात्रै बोल्नु हुन्थ्यो । यथार्थवादी हुनुहुन्थ्यो । सामान्य व्यक्तिमा नपाईने, उहाँको एक किसिमको छुट्टै व्यक्तित्व थियो । उहाँ आत्मविश्वास भएको व्यक्ति हुुनुहुन्थ्यो । आफ्नो मनले ठीक ठानेको कुरामा चट्टान झैं अडिनु हुन्थ्यो ।

मैले राममान सरलाई २०३७/३८ सालतिर देखेको हूँ । उहाँ सफा सफारीसुटमा हुनुहुन्थ्यो । हाम्रो परिचय भयो । गोरो मान्छे, सुडोल शरीर, सरल व्यवहार र आकर्षक व्यक्तित्वले मलाई प्रभाव पार्‍यो । पछि विस्तारै उहाँको बारेमा थाहा हँुदै गयो । विभिन्न कार्यक्रमहरुमा भेट हुन थाल्यो । पछि उहाँ प्रगतिशील प्राध्यापक समूहबाट नेपाल प्राध्यापक संघको निर्वाचनमा अध्यक्षको उम्मेदवार हुनुभयो र विजय हासिल गर्नुभयो । प्राध्यापक संघको अध्यक्ष हँुदा उहाँले उच्च शिक्षाको गुणस्त्तर अभिवृद्धि तथा प्राध्यापकहरुको पेशागत हकहीतका लागि धेरै काम गर्नुभयो । सरकारबाट प्राध्यापक संघलाई दिइएको जग्गाको खोजी गर्नुका साथै कीर्तिपुरमा संघको भवन निर्माणको लागि कोशिस गर्नुभयो । आफ्नो पदावधि समाप्त भइसकेपछि पनि राममान सरले संघलाई सधैं माया गर्नुभयो । करीब करीब संघका सबै कार्यक्रममा उहाँ उपस्थित हुनुहुन्थ्यो र आफ्नो विचार र सुझाव राख्नुहुन्थ्यो । २०५८ सालमा म पनि संघको अध्यक्ष भएँ । मैंले उहाँलाई सम्पर्क गर्दा, उच्च शिक्षा र त्रि. वि. को बारेमा उहाँ सधैं महत्वपूणर् सुझावहरु दिनुहुन्थ्यो । आमन्त्रण गरिएका करीब सबै कार्यक्रमहरुमा उपस्थित हुनुहुन्थ्यो । हाम्रो उत्साह बढाउनुहुन्थ्यो । उहाँको उपस्थितिले कार्यक्रमको गरिमा नै बढेको हामी ठान्दथ्यौं । नेपाल प्राध्यापक संघले पूर्व अध्यक्षहरुलाई अत्यन्तै आदर र सम्मान गर्ने परम्परा स्थापित गरेको छ । उहाँहरुले पनि त्यही हिसाबले संघलाई अभिभावकत्व प्रदान गर्दै आउनुभएको छ ।

२०३६ सालको जनमत संग्रहपछि पुनःस्थापित नेपाल प्राध्यापक संघको निर्वाचनमा दुई समूहहरुको प्रतिस्पर्धा हुन्थ्यो — प्रजातन्त्रवादी प्राध्यापक समूह र प्रगतिशील प्राध्यापक समूह । दुवै समूहका उम्मेदवारहरुको करीब करीब मिश्रित विजय र नेतृत्व हुन्थ्यो । २०४५ सालको निर्वाचनमा चाहिं प्रजातन्त्रवादी प्राध्यापक समूह र प्रगतिशील प्राध्यापक समूहको अतिरिक्त प्राज्ञिक समूहको नाउँले अर्को एक नयाँ समूह पनि देखियो । उक्त प्राज्ञिक समूहले निर्दलीय पञ्चायती व्यवस्था तथा सकृय राजतन्त्रको खुलेर समर्थन गर्दै चुनावी मैदानमा आफूलाई उतार्‍यो । त्यस बेलाको निरंकुश शासनको कारणले गर्दा सरकार तथा प्रशासनको प्रभावको आडमा त्यस समूहले बहुमतका साथ नेपाल प्राध्यापक संघको नेतृत्व हासिल गर्न सफलता प्राप्त गर्‍यो । प्रजातन्त्रवादी तथा प्रगतिशील प्राध्यापक समूहहरुले सधैं लोकतन्त्र तथा विश्वविद्यालयको स्वायत्तताका लागि लड्दै आएका थिए । अब २०४५ सालको निर्वाचनपछि संघको नेतृत्व त्यसको प्रतिकूल भयो । यसले प्रजातन्त्रवादी तथा प्रगतिशील दुवै समूहलाई एउटा पाठ सिकायो र मुलुकको लोकतन्त्र प्राप्तिको लडाईंमा एकै ठाउँमा उभ्यायो । दुवै समूहका संयुक्त कार्यक्रम हुनथाले ।

२०४६ साल फाल्गुण ७ गतेबाट हुनगइरहेको जनआन्दोलनलाई सघाउने किसिमले कार्यक्रमहरु निर्माण गरिए । यसै सिलसिलामा २०४६ साल माघ महिनाको अन्त्यतिर पूर्वाञ्चलको महेन्द्र मोरङ क्याम्पसमा प्राध्यापकहरुको पूर्वाञ्चल क्षेत्रीय भेलाको आयोजना गरियो । केन्द्रबाट प्रगतिशील प्राध्यापक समूहको तर्फबाट राममान सर र प्रा. बालमुकुन्द खरेल तथा प्रजातन्त्रवादी प्राध्यापक समूहको तर्फबाट प्रा. वी. सी. मल्ल र म उक्त कार्यक्रममा सहभागी हुन गयौं । कार्यक्रममा ठूलो संख्यामा प्राध्यापक साथीहरुको उत्साहपूणर् उपस्थिति थियो र प्राध्यापकबाहेक त्यस क्षेत्रका बौद्धिक व्यक्तिहरुले पनि कार्यक्रमलाई महत्व दिएर हेरेका थिए । त्यहाँ हामी सबैले निर्दलीय पञ्चायती व्यवस्थाको जोडदार विरोध गर्दै प्रजातन्त्र स्थापनाको लागि आफ्नो आवाज उठायौं र हुनगइरहेको जनआन्दोलनलाई पूणर् समर्थन गर्ने वचन दियौं । राममान सरको त्यस बेलाको विचारले साथीहरुलाई उत्साह प्रदान गरेको थियो । हाम्रो कार्यक्रम चलिरहँदा प्रहरीका गाडीहरु क्यामपस बाहिर उपस्थित थिए । तर हामीलाई त्यसको पर्वाह थिएन । हामी प्रजातन्त्र प्राप्तिका लागि प्रतिबद्ध भएर उभिएका थियौं । कुनै पनि परिस्थितिको सामना गर्न तयार थियौं । त्यही दिन विद्यार्थीहरुको पनि पञ्चायतको पुत्ला जलाउने कार्यक्रम रहेछ । पुत्ला जलाएको थाहा पाएपछि प्रहरीले क्याम्पस परिसरमा प्रवेश गरी विद्यार्थीहरुलाई कुट्दै, घिस्याउँदै ट्रकमा हाले । कति घाइते भए, कतिको टाउकोबाट रगत बग्यो । हामीले त्यो सबै देख्यौं । प्रहरीको निर्लज्जपूणर् बर्बता देखियो । त्यस घट्नाले हामीलाई झन बढी लोकतन्त्रको पक्षमा दृढ बनायो ।

फाल्गुण ७ गतेबाट जनआन्दोलन शुरु भयो । शीर्ष नेताहरुलाई गिरफ्तार गरियो । केही दिन आन्दोलन चल्यो, त्यसपछि आन्दोलन सेलाउने डर देखियो । त्यसैले प्रजातन्त्रवादी तथा प्रगतिशील प्राध्यापक समूहहरुले प्राध्यापकहरुलाई आन्दोलनको समर्थनमा परिचालन गर्नका लागि एउटा Nucelus भन्ने अनौपचारिक आन्तरिक संयन्त्र निर्माण गरे । त्यस संयन्त्रमा प्रजातन्त्रवादी समूहबाट नवीनजङ्ग शाह, शौभाग्यजङ्ग कार्की र वसन्त गौतम गरी तीन जना र प्रगतिशील समूहबाट तीन राममान श्रेष्ठ, चन्द्रराज ढुङ्गेल र विश्वेश्वरमान श्रेष्ठ गरी ६ जना सदस्य थिए । राममान सरले त्यस संयन्त्रमा रही अत्यन्तै महत्वपूणर् भूमिका निर्वाह गर्नुभयो । प्राध्यापक संघ समन्वय समितिलाई आवश्यक सल्लाह दिने तथा प्राध्यापकहरुलाई आन्दोलनमा सरीक गराउने काम उक्त संयन्त्रले गर्‍यो । आन्दोलनले फेरि गति नलिउन्जेलसम्म प्राध्यापकहरुले विभिन्न ठाउँमा विरोधको कार्यक्रम राखी आन्दोलनलाई जोगाइराखे । अन्ततः आन्दोलन सफल भयो र मुलुकमा बहुदलीय प्रजातान्त्रिक शासन प्रणालीको स्थापना भयो ।

जनआन्दोलनको सफलतापछि प्रा. वी. सी. मल्ल त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुनुभयो, प्रा. राममान सर शिक्षाध्यक्ष र प्रा. विश्वेश्वरमान श्रेष्ठ रजिष्ट्रार हुनुभयो । त्रि. वि. शिक्षाध्यक्षको हैसियतमा राममान सरले त्रि. वि.को शैक्षिक, प्राज्ञिक उन्नतिको महत्वपूणर् कार्य गर्नुभयो । उहाँहरुको टिमले वर्षौंदेखि प्राध्यापकहरुले भोग्दै आएका समस्याहरुलाई टुङ्गो लगायो । राममान सरको प्रशासनिक कुशलता तथा प्राज्ञिक दक्षताले त्रि. वि.लाई नयाँ दिशा दिनखोजेको देखिन्छ ।

मुलुकको राजनीतिक परिवर्तनपछि प्राध्यापक संघमा फेरि प्रजातन्त्रवादी समूह र प्रगतिशील समूहकै बीचमा मात्र प्रतिष्पर्धा देखिन थाल्यो । संघको निर्वाचनमा यिनै दुई समूहले विशेषरुपले भाग लिन्थे । प्राज्ञिक समूहको त्यस्तो ठूलो उपस्थिति थिएन । दुई समूहका बीचमा केही समस्या भएमा दुवै समूहका साथीहरु बसेर समस्याको समाधान गर्ने गरिन्थ्यो । शिक्षाध्यक्षको पद समाप्त भएपछि पनि राममान सर प्राध्यापक संघमा, प्राध्यापकहरुको बीचमा सकृय हुनुहुन्थ्यो । परिवर्तित सन्दर्भमा संघको संरचना परिवर्तनका कुरा, उच्च शिक्षाका कुरा तथा प्राध्यापकहरुको हकहितका कुरामा कहिलेकांही मतभिन्नता हुन्थ्यो । त्यस बेला दुवै पक्ष बसेर छलफल गरिन्थ्यो । त्यसमा मेरो पनि संलग्नता हुन्थ्यो । त्यस बेला मैले राममान सरलाई राम्रोसँग चिन्ने मौका पाएँ । उहाँ अत्यन्तै वस्तुवादी भएको पाउँथे । उहाँले प्रखर रुपमा तथ्य र तर्क प्रस्तुत गरेको मलाई अहिले पनि सम्झना हुन्छ । आफ्नो विश्वासमा उहाँ सधैं अडिग रहनुहुन्थ्यो । कहिलेकांही उहाँको अडानले समझदारीमा पुग्न अप्ठ्यारो पनि हुन्थ्यो । त्यही नै उहाँको पहिचान र व्यक्तित्व थियो ।

राममान सरको मुलुकमा लोकतन्त्र स्थापना गर्नका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय सभामा मनोनित गरियो । राष्ट्रिय सभाको सदस्यको हैसियतले उहाँले राष्ट्रको सर्वाङ्गीण विकास, मुलुकको समग्र शैक्षिक क्षेत्रको विकास तथा उच्च शिक्षाको स्त्तरउन्नतिका लागि सक्दो कोशिस गर्नुभयो । राममान सर प्रगतिशील विचारधारा राखने व्यक्ति भए पनि सबैखालका मानिससँग उहाँको मित्रवत् व्यवहार थियो । सबैको मन जित्न सक्नुहुन्थ्यो । प्रा. दुर्गाप्रसाद भण्डारी, अर्का विद्वान् तथा नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष—सँग उहाँको अत्यन्त हार्दिक तथा रोचक सम्बन्ध थियो । दुवै पूर्वअध्यक्षहरुको भेट हुँदा वातावरण नै विशिष्ट किसिमको हुन्थ्यो । उहाँहरुको सम्बन्धमा आत्मीयता झल्कन्थ्यो । ठट्टा, मजाक र बौद्धिक बहस — सबै हुन्थे । उहाँहरुको व्यवहार तथा सम्बन्ध अनुकरणीय थिए, हुन्थे ।

आज राममान सर हाम्रो सामुन्ने हुनुहुन्न । केही समय अगाडि यो भौतिक दुनियाँ छोडेर जानुभयो । हामीलाई ठूलो अभाव खड्किएको छ । उहाँको निधनमा मुलुकले एक सच्चा, इमान्दार तथा बौद्धिक व्यक्ति गुमाएको छ । शिक्षा क्षेत्रको एक उज्ज्वल नक्षत्र अस्ताएको छ । राष्ट्रलाई माया गर्ने एक सच्चा देशभक्त गुमाएको छ । उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै विदा लिन्छु । धन्यवाद !

(लेखक प्रा. भट्टराई प्रजातान्त्रवादी प्राध्यापक संघको तर्फबाट प्रा. श्रेष्ठसँगै समकालीन भएर काम गर्नुभएको हो)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...