प्रा. खगेन्द्रप्रसाद भट्टराईलाई सम्झँदा
मनोज कुमार कर्ण
विक्रम सम्वत् २०१२ सालमा ओखलढुङ्गाकाे गामनाङ गाउँपालिकामा जन्मिनुभएका, हाल कुपण्डाेल, ललितपुर निवासी, त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायबाट स्नातकाेत्तर उतीर्ण गरी पाटन संयुक्त क्याम्पस, पाटनढाेका ललितपुरमा सहायक प्राध्यापककाे रूपमा प्राध्यापन पेशा शुरू गर्नुभयाे । पिता (दिवंगत) श्रीनीलप्रसाद भट्टराई तथा माता श्रीमतीभीमकुमारी भट्टराईका ५ जना दाजुभाई तथा ४ जना दिदी-बहिनिमध्ये प्रा. भट्टराई माथिबाट तेस्राे सन्तान हुनुहुन्छ । प्रा. भट्टराई ईश्वरकाे कृपाले धर्मपत्नी गायत्रीकुमारी भट्टराई, सुपुत्र विश्व भट्टराई (अमेरिकामा सपिरवार स्थापित) तथा सुपुत्रि पूजा भट्टराई घिमिरे (विवाहिता काठमाडाैंमै) सहित सानाे र सुखी पारिवारीक जीवन व्यतित गरिरह्नुभएकाे छ ।
संस्मरणकारकाे अर्थात् मेराे परिचय वहाँसँग वि. सं २०५६ सालमा पाटन क्याम्पसमा भयाे जब सर क्याम्पस प्रमुख हुनुहुन्थ्याे । म बीए प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी तथा म रा. रा. ब. क्याम्पस जनकपुरधामबाट स्थानान्तरण गराई पाटन क्याम्पसमा आउनलाई स्वीकारपत्र लिन निवेदन बाेकी गएकाे थिएँ । छाेटकरीमा भन्नुपर्दा, गाउँ साेनाैल तथा सानाे शहर जनकपुरबाट भर्खर काठमाडाैं आएकाे म आर्थिक रूपमा अति कमजाेरले उहाँकाे कार्यकक्षबाहिरै चप्पल फुकालेर भित्र गई मंसीर महिनामा झण्डै ४ बजे अपरान्हतिर पाटनमा आफू विद्यार्थी भई पढ्न पाऊँ भनेर स्थानान्तरण आशयकाे निवेदन हातैले दिएँ जसमा मैले “म घर-घर ट्यूशन वा बाेर्डिङ्ग स्कुल पढाएर यहाँ पढ्ने हुँ, म यहिँ पढ्न आएकाे हुँ अब फर्केर जान मिल्दैन, यहाँ मेराे भर्ना नभए म पढाई छाेड्नेछु” लेखेकाे थिएँ ।
दाह्री पाल्नुभएका, माेटाे शरीर तर मृदुभाषी श्वरमा सरले मुस्कुराउँदै मलाई भन्नुभयाे, “तिमी यहिँ पढ्ने हाे, बाबू ? ल, तिम्राे भर्ना हुनेछ तर एउटा शर्त छ, तिमी चाँडाे आउनुपर्छ ! हामीले चाहेकै तिमिजस्ताे पढ्ने विद्यार्थीलाई हाे ।” म त डराउँदै भित्र पसेकाे मान्छेकाे अलिकति आफनाेपन परिचय नहुँदै पाटन क्याम्पस संस्था र क्याम्पस प्रमुख सरसँग हुनलाग्याे । तर प्रा. भट्टराई सरसँग अझ नजिक गुरु-चेलाकाे रूपमा मेराे तब भयाे जब म स्नातकपछि अंग्रेजीमै स्नातकाेत्तर पढ्न बेलुकाकाे शिफ्टमा नाम लेखाँए र सर Intellectual History पेपर पढाउन क्लासमा साल २०५९/६० मा आउनुभयाे । साे बेला भर्खर माेबाइल नेपालमा आएकाे थियाे, क्लासमा सरकाे माेबाईल बज्याे र सरले “पहिला पढाई त्यसपछि माेबाईल” भनेर स्विच अफ् गरेर खल्तिमा राख्नुभयाे ।
संस्थागत संलग्नता
त्रिविमा अंग्रेजी विषयमा प्राध्यापक खगेन्द्रप्रसाद भट्टराई नेपाल प्राध्यापक संघ (Nepal University Teachers’ Association, NUTA), नूटाका सदस्य २०४५ सालमा, नुटाका महासचिव २०५१ सालमा तथा नुटाका अध्यक्ष २०५८ सालमा हुनुभयाे । सन् १९९५ मा पेरिसमा आयाेजित UNESCO काे अन्तर्राष्ट्रिय सम्मेलन नेपालकाे प्रतिनिधित्व गर्दै भाग लिनु भएकाे तथा सन् १९९९ मा संयुक्त राष्ट्र संघकाे अमेरीकाकाे न्यूयाेर्कमा आयाेजित सम्मेलनमा सरकारकाे प्रतिनिधिकाे रूपमा सहभागिता जनाउनु भयाे । वहाँ विश्व सम्बन्ध परिषद्काे महासचिवपनि, अध्यक्ष प्रा. वीसी मल्लकाे अध्यक्षकाे कार्यकाल २०५०-२०५२ पछि रह्नुभयाे भने पाेखरा विश्वविद्यालयकाे झलनाथ खनाल सरकारमा शिक्षामन्त्री गंगालाल तुलाधर रह्नुहुँदा उपकुलपति २०६८ सालतिर नियुक्त हुनुभयाे ।
नेपालमा उच्च शिक्षाबारे विश्वविद्यालय तथा नेपाल सरकारका तर्फबाट विभिन्न सुझाव समिति, गाेष्ठी, प्रतिवेदन तयारपार्नेमा सामेल भई विचारहरू राख्नुभएकाे छ । त्यस्तै डीन बाबुराम भट्टराई रह्नुहुँदा पुल्चाैक ईञ्जिनियरिङ्ग अध्ययन संस्थानकाे उन्नति, प्रगतिकाे लागि बनेकाे समितिमा डीन साहेबकाे अनुराेधमा रहेर दिशा देखाउनु भयाे । यसका अलावा दर्जनाैं अर्द्ध सरकारी तथा नीजि शिक्षालयका सञ्चालक समिति/निर्दशन समितिमा भट्टराई सरकाे सफल वैचारिक संलग्नता रह्याे ।
केही सार्वजनीक स्मरणहरू
देशले प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईलाई केवल एक प्राध्यापककाे नेतृत्वकाे रूपमा नलिई एक विचारक, पत्रपत्रिकामै भएपनि एक साहित्यकार (पुस्तककाे रूप दिनुहुँदै), हमेशा परिवर्तन पक्षधर भई नेपालकाे विकास र नेपाली जनताकाे आर्थिक, वैज्ञानिक, तकनिकि, चेतना आदिका स्तराेन्नति विश्वकाे अनुसार उठ्नुपर्छ ठान्नुहुन्छ ।
भट्टराई सरकाे साल २०५१ मा नेपाल प्राध्यापक संघकाे दशाैं महाधिवेशनमा महासचिवकाे तर्फबाट प्रस्तुत विचार अति घत्लाग्दा छन् जसमा वहाँले हालकाे प्लस-टु काेर्स अवधारणा पाइपलाइनमा रहेकाे बेला प्रष्टरूपमा यसले मुलुककाे वास्तविकतासँग कस्ताे किसिमकाे सम्बन्ध राख्दछ भनेर शंकाकाे घेरामा राख्नुभएकाे थियाे । त्यस्तै, राष्ट्रिय सभागृहकाे उक्त दशाैं महाधिवेशनताका सरले वि. सं २०२८ सालकाे नयाँ शिक्षा याेजनाले प्राईभेट क्याम्पसहरूलाई त्रिविकाे आङ्गिक क्याम्पसमा परिणत गराई शिक्षामा नयाँ माेड दिएपनि राष्ट्रिय बहसबाट नआएर लादिएकाे भन्नुहुन्छ । उहाँकाे दृष्टिकाेणमा २०२८ सालकाे दासत्व मनाेविज्ञानबाट माथि उठेर २०४६ सालकाे परिवर्तनपछि “राष्ट्रिय शिक्षा आयाेग” गठन त भयाे तर शिक्षाक्षेत्रकाे अन्याैलताले १०+२ तथा बढ्दाे विश्वविद्यालयकाे संख्याबारे वास्तविक धरातलसँग सरकार/याेजनाकारहरूले साेच्न सकेनन् ।
साे बेला सरकारी विद्यालयमा प्राध्यापककै बच्चा पढ्न जाँदैनथे तर आज भने सरकारी विद्यालयमा पढ्न जान थालेका छन् तर देशैभरीका सरकारी विद्यालयकाे स्तराेन्नती भने भई नसकेकै अवस्था हाे । साे दशाैं महाधिवेशनमा सरले त्रिविमा नियमित विज्ञापन नहुने, वर्षाैं करार, अस्थायीमा झुण्डिनुपर्ने, सरकारले विश्वविद्यालयमा दिएकाे तलबकाे ९३% तलबमै जानू, बाँकी ७% प्रतिशत अति कम रकमले कसरी काम गर्नु, विश्वविद्यालयकाे नन्-प्राेफिट संस्था हाे र आजकाे लगानी भाेली देखिंदैन तर लगानी नलगाउँदा याे संस्था कमजाेर हुन पुग्दा वर्षाैंपछि देश पछाडी पर्छ (जुन आज नेपालमा विश्वविद्यालयबाट ब्रेन ड्रेन भई विद्यार्थी विदेश पलायन गरिरहेकाे बाट अनुभव गर्न सकिन्छ), अति कम तलब प्राध्यापककाे रहेकाे, घर बाहिर बसेका प्राध्यापककाे क्वार्टर सुविधा नरहेकाे, २०४६ सालकाे आन्दाेलनमा प्राध्यापक र बाैद्धिक जमात्ले ठूलाे संघर्ष गर्नुपरेकाे, सरकारी दफ्तरमा जनताकाे कामकाे ढिलासुस्ती, हामी प्रजातन्त्रवादी हुन नसकेका अहंकारी भएका बाेल्नुभएकाे सम्झनु हुन्छ ।
प्रा. वासुदेव मल्ललाई सरले वि. स. २०३१/३२ सालदेखि विद्यार्थी छँदै त्रिचन्द्र क्याम्पसबाट चिन्नुभयाे जसलाई २०३६ सालपछि प्रा भट्टराईले अझ बढी चिनें भन्नुहुन्छ । २०४६ साल पाैष १ गते प्रा साैभाग्यजंग कार्कीकाे घरमा फाल्गुण ७ गतेबाट हुन गईरहेकाेे जनआन्दाेलनकाे खाका स्व. नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद काेईराला (काेईराला अचानक भारत जानुभयाे) अनुसार प्रजातन्त्रवादी प्राध्यापक समूह र प्रगतिशील प्राध्यापक समूहकाे माघ महिनामा महेन्द्र माेरङ्ग क्याम्पसमा पूर्वाञ्चल भेलामा काठमाडाैंबाट प्रजातन्त्रवादीबाट प्रा वीसी मल्ल र खगेन्द्र भट्टराई सर तथा प्रगतिशीलबाट प्रा. राममान श्रेष्ठ र बालमुकुन्द खरेलले भाग लिन जानुभयाे जहाँ कार्यक्रम चलिरहँदा प्रहरीका भ्यानहरूले बाहिर घेरेर त्रास दिईरहेका थिए भने विद्यार्थीकाे विराेधमा प्रहरीले लाठी चार्ज गरि धडपकड गरिरहेका थिए ।
२०४६ सालपछि प्रा. वीसी मल्लकै प्रयासमा “प्रजातान्त्रिक विचार समाज”काे जन्म भयाे जसमा प्रजातन्त्रवादी बाैद्धिक व्यक्तित्व प्राध्यापक, डाक्टर, वकिल, ईञ्जिनियर आदिलाई जाेड्ने काम भयाे जसले प्रजातन्त्रकाे संस्थागत विकास र संस्कार निर्माणमा रह्ने भयाे । प्रा भट्टराई सम्झनु हुन्छ कि २०४५ सालमा प्रजातन्त्रवादी र प्रगतिशील प्राध्यापक समूहका अलाबा राजावादी साेचलाई बढावादिने “प्राज्ञिक समूह”ले प्राध्यापक संघकाे चुनाव जितिदियाे जसले गर्दा प्रजातान्त्रवादी र प्रगतिशील समूहहरूले सबक सिकेर सँगै अगाडि बढ्ने भएर नै २०४६ सालमा पूर्वाञ्चल भेला पञ्चायतविरूद्ध प्रा. वीसी मल्ल र प्रा. राममान श्रेष्ठहरूले संयुक्तरूपमा सफल पारे अनि आन्दाेलनलाई जीवन्त राख्नलाई Nucleus संयन्त्र गठन भयाे जसमा प्रजातन्त्रवादी ३ जना र प्रगतिशील समूहबाट पनि ३ जना गरि ६ जना पहिला थिए ।
प्रा. भट्टराई पूर्वमन्त्री तथा काँग्रेसी नेता गणतन्त्रका प्रखरवक्ता नरहरि आचार्यसँगकाे प्राध्यापकीय यात्रा २०४५ सालबाटै सम्झनु हुन्छ । उहाँकाे नजरमा आचार्य प्रष्ट विचारक, हमेशा अग्रगामी, अति विद्वान्, संघर्षशील हुनुहुन्छ । त्यस्तै, प्रा. सूर्यलाल अमात्यलाई पनि प्रा. भट्टराई अत्यन्तै कुशल त्रिवि पदाधिकारी, काँग्रेसलाई वैचारिक निर्देश गर्ने, मिहिनेती हुनुहुन्छ । स्व. अमात्य सरकाे घरमा प्रा. भट्टराई हालकाे आफ्नाे घर कुपण्डाेल, ललितपुर, मा बन्नु अघि केही वर्ष बस्नुपनि भएकाे हाे ।
पाेखरा विश्वविद्यालयकाे २०६८ सालमा नवाैं, २०६९ सालमा दशाैं र २०७० सालमा एघाराैं दीक्षान्त समाराेहमा उपकुलपतिकाे हैसियतले भागलिनु हुँदा प्रा. भट्टराईले शिक्षाकाे गुणस्त्तर मापन गर्ने प्रमुख आधार भनेका स्त्तरयुक्त शैक्षिक पाठ्यक्रम, भाैतिक पूर्वाधारहरू, शिक्षककाे गुणस्त्तर, शिक्षण विधि, मूल्याङ्कन, शैक्षिक वातावरण आदि हुन् ।
यति स्मरण गरिरहँदा सार्वजनिक जीवनकाे पाटाेमा भएका केही अप्रिय पलपनि प्रा. भट्टराईले व्यतित गर्नुपर्याे । उहाँ पाेखरा विश्वविद्यालयका भीसी रह्नुहुँदा विभिन्न कुण्ठा पालेका काँग्रेस र कम्युनिस्ट नेता तथा प्राध्यापकबाटै केही मान्छेद्वारा शिक्षालाई व्यापार बनाउन अन्धाधुन्ध सम्बन्धन (Affiliation) माँग्दा त्यसमा सरले प्रक्रिया फलाेअप गर्नुहुँदा कुण्ठितहरूले सरलाई विश्वविद्यालयका विकास निर्माणका कुराहरूलाई जाेडेर अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा तात्कालीन् राजावादी प्रमुख आयुक्त लाेकमानसिंह कार्कीले परेकाे मुद्दामा सरमाथि नेपालमा गणतन्त्र ल्याएकाे “बदला” लिन न्वारणदेखिकाे बल लगाईयाे । तर करिब १ वर्षकाे विशेष अदालतमा चलेकाे मुद्दारूपी कालरात्रीबाट भीसी प्रा. खगेन्द्र भट्टराईले २४ कराेडकाे दाबी मुद्दामा फुटी काैडीपनि बुझाउनु नपरेर त्रिविका तात्कालीन् रजिष्ट्रार प्राडा चन्द्रमणि अधिकारीसहित सबै आराेपी २२ जना साधारण तारिखमा पहिला रिहा हुनुभएकाेमा २०७२ सालमा पूर्ण सफाई पाउनु भयाे ! मलाई याद छ कि बबरमहल विशेष अदालतकाे परिसरबाटै नुटा अध्यक्ष रामेश्वर उपाध्याय तथा डेपान, प्रप्रासंघ महासचिव जगत तिमल्सिनालाई आफ्नै फाेनबाट जानकारी गराएकाे थिएं जसमा उपाध्याय सरले “फाेन मेराे लागेन सरलाई” भन्नू भयाे भने जगत तिमल्सिनाले भने “भ्रष्टाचारीलाई जाेगाएकाेमा बधाई छ !” प्रतिक्रिया दिएका थिए । लगत्तै अख्तियारले सर्वाेच्च अदालतमा पनि गयाे र त्यहाँबाट पनि पूर्ण सफाई भन्ने विशेष अदालतकाे फैसला नै भयाे ।
जे हाेस्, प्रा. भट्टराईजस्ताे मान्छेलाई “भ्रष्टाचारी” अदालतसमेतले याे शब्द क्रस गरिदिएकाे परिवेशमा करार गर्दा आज निज वर्तमान प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष कहलाउनेले ३ वर्षे कार्यकाल भनेर ८ औै वर्षपनि महाधिवेशन नगराएर बसिरहँदा र कराेडाैं रूपैयाँ प्राध्यापककाे रसीद र नवीकरण रकम अवैध चलाएर हिसाब दिन नसकिरहेकाे मान्छेलाई के भन्ने ? देशका विशेष र सर्वाेच्च अदालतहरूले पनि जगत तिमल्सिनालाई सफाई दिएकाे हाे कि आफैं वहाँ अदालत हाे, थाहा भएन तर गलत मान्छेलाई हामीले साथ नदिऊं तर देश र न्यायकाे लागि खट्नेकाे पूर्ण रक्षा गराैं । म धन्य छु, प्राध्यापक भट्टराईका कुराहरू पूरा “आफ्ना”हरू पराया भएका बेला र केहिमात्र मान्छे सरसँग रह्नुभएका बेला मैंले बहालवाला अख्तियार प्रमुख कार्कीकाे विरूद्ध मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरें, कान्तिपुर, जन आस्था, कमाण्डर पाेष्ट, मधेशवाणीलगायत थुप्रै पत्रपत्रिकामा लेखें र वर्षभरी शिष्यकाे रूपमा म सरसित विशेष अदालत गएर बहसहरू सुनें र, सत्यकाे हाम्राे विजय भयाे !
देश र समाजले सिक्नुपर्ने कुरा
प्राध्यापक खगेन्द्रप्रसाद भट्टराई मेराे गुरूदेव र पारिवारीक स्टेटसेजमा मात्र समाजसँग नजाेडिनु भएर नेपालकै लागि एक बाैद्धिक व्यक्तित्व, शालीन, मृदुभाषी, नियमकानूनमा चल्ने, अति नैतिकवान्, सच्चरित्र, अध्ययनशील, मिहिनेती, अनुभवका खानी, देश अप्ठेराे राजनीतिक परिस्थितिमा रहँदा काँग्रेस-कम्युनिस्ट सबैसँग संयुक्तरूपमा न्यूक्लियस (Nucleus) मा रहेर काम गर्नुभएका सामञ्जस्य मिलाउन सक्ने, युवा नवपिंढीलाई पनि सुन्ने, शिखर व्यक्तित्व (towering personality), कर्तव्य परायण, विवादबाट टाढा रह्न खाेज्ने, २०४६ सालमा प्रजातन्त्रकाे पुनर्स्थापना तथा २०६२/६३ सालमा गणतन्त्रकाे लागि नेपाल प्राध्यापक संघ, नूटा (NUTA) तथा राेटेशनमा परेर पेशागत महासंघ, पापड, काे अध्यक्षकाे हैसियतले लड्नुभएका र साे क्रममा घरबाट खरीपाटी, भक्तपुरमा सेनाकाे ब्यारेकमा अन्य प्राध्यापकहरूसँग नजरबन्दमा पर्नुभएकाे, पाेखरा विश्वविद्यालयकाे उपकुलपति (Vice-chancellor) पद सम्भालिसक्नुभएकाे व्यक्तित्व हुन्छ ।
६८ वर्षीय प्राध्यापक भट्टराई हाल पुस्तकहरू पढ्ने, सामाजिक-सांस्कृतिक क्रियाकलापमा सरिक हुने, जीवनभरीका आफ्ना भाषण, लेख, रचना आदिलाई खाेजेर एकत्रित पार्ने, छाेरा-बुहारी भेट्न अमेरीका पुग्नेजस्ता दैनिकीमा अति उत्साहका साथ लाग्नुहुन्छ । उहाँलाई लाग्दा हुन् कि प्राध्यापक संघ, विश्वविद्यालयकाे माहाैल पहिलाकाे भन्दा अलि खराब भयाे, प्रतिष्ठा कायम गर्न नसकिरहेका छन् यी संस्थाहरू, सरकारले विभिन्न विश्वविद्यालय खाेल्ने नीति त लिए तर कुनै मापदण्ड र पालन गर्नैपर्ने कुराहरू पूर्ण लागू गर्न सकेन र त्रिविका चल, अचल सम्पत्तिहरू नै खाेसिरहेका छन् यी नयाँ विश्वविद्यालयहरूले । सर २०५६ सालतिरै “देशान्तर” साप्ताहिकमा लेखेर अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग राष्ट्रकाे सम्पत्ति चुस्नेमाथि लगातार सक्रिय भई कार्वाही गर्नुपर्छ, राजनैतिक दलका केही नेताहरूले भने चुनाव जित्न पैसा, लुगा बाँड्ने गलत कर्म गरिरहेका, गरिबी हटाउने प्रयास नगरिरहेका, प्रजातन्त्र (लाेकतन्त्र) जनताकाे लागि सदुपयाेग नभईरहेकाे, स्थिर सरकार नरहेकाे, विकास कार्यमा असर परेकाे, विश्वविद्यालयका शिक्षक-कर्मचारीकाे तलब सुविधा अति कम यति कि उनिहरूले विहे नै नगरून् नत्र दु:ख हाेला जति आदि चिन्ता सार्वजनीक गरिसक्नुभएकाे छ ।
हुनत देशमा एक-से-एक अरू याेग्य व्यक्तित्व छन् विश्वविद्यालय, कूटनैतिक आदि नियुक्तिका लागि तर स्वयं नेपाल सरकार तथा दलका सभापति तथा अध्यक्षहरूले त्यस्ता मान्छे प्रा. खगेन्द्र भट्टराई, प्रा. गुणनिधि न्याैपाने, प्राडा दयामान कर्माचार्य, प्राडा हरिदर्शन श्रेष्ठ, रामेश्वर उपाध्याय वा अन्य यस्ता जस्ताहरूलाई खाेज्नुपर्छ जसले कहिल्यै पदकाे लागि दाैडधूप गर्दैनन् र पद पाउन भन्सुन वा रकमकाे माेलमाेलाई गर्नुहुन्न अपितु प्राध्यापकीय मर्यादामा बस्नुहुन्छ । हाे, अवसर आयाे भने संस्था र नेपाली समाजलाई सेवा गर्ने हाे । नेपाली काँग्रेसका नेतृत्वले त झन् अहिले नेपालमा भीसी, रेक्टर, रजिष्ट्रार विभिन्न विश्वविद्यालयमा खाली रहँदा, माेलमाेलाई भईरहँदा, काँग्रेस नेतृत्व माेहमाया र लाेभमा परेर बाैद्धिक व्यक्तित्व “नदेखिरहँदा” त्रिविका भिसिका लागि प्रा. गुणनिधि न्याैपाने वा प्रा. खगेन्द्र भट्टराईलगायतहरू अनुभवले खाँरिएका हुनुहुन्छ ।
हाम्रा डेपानका अन्य दिग्गज नाम लेखिएका वा नलेखिएकालाई विभिन्न विश्वविद्यालयका भीसी र अन्य पदमा डेपानकाे हालसम्म कायम ५५-६० प्रतिशत नूटा, टूटाकाे भाेट प्रतिशत जति सबै विश्वविद्यालयबाट याेग्यलाई अगाडि सारेर प्रतिष्ठा दिन सकिन्छ । तर प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालबाट यति अनुभवी, कानूनका ज्ञाता, घघरानहरू हुँदाहुँदै अनि विश्वविद्यालय अनुदान आयाेग पूरै कम्युनिस्टकाे कब्जामा छँदै त्रिविलाई किन नेतृत्वमा डेपानलाई अगाडि सार्दैनन् ? याे महत्वपूर्ण प्रश्न हाे ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

