लघुकथा: छलाङ

आर्यन शर्मा नेपाल

दलवीर दयालु स्वभावका थिए । सात गाउँमा उनको कीर्ति फैलिएको थियो । उनी अड्डाका विचारी भए पनि गाउँमा सबैले उनलाई बडाकाजी भनेर सम्बोधन गर्थे । उनी पनि सात गाउँमा पाएको सम्मानले पुलकित थिए । गाउँलेबाट छत्रपतिकै सम्मान पाएका उनी गाउँलेका अभिभावक नै थिए भन्दा फरक नपर्ला । तर जे जस्ता भए पनि दयाकै सागर मानिए पनि उनी गाउँका सामन्त नै त थिए । गाउँलेहरूलाई उनी आफ्ना कमारा र खैराती मजदुरका रूपमा प्रयोग गर्थे । सोझासिधा गाउँलेलाई नुन-भुटुन , तिउन- तरकारी र दाल- चामलका खातिर खुब जोताउँथे । अनपढ गाउँले काजी नै हाम्रा आरक्षक हुन् भनी उनकै जयजयकार गाउँथे ।

त्यस गाउँबाट रोजगारीका लागि सहर जाने चलन पनि थियो । सहरतिर सामन्ती संस्कारका विरुद्ध विरोध सुरु हुन थालेको थियो । गाउँबाट आएका केही बाठा युवकहरूले सहरमा दुई चार अक्षर पनि पढेका कारण उनीहरू ती क्रियाकलापतर्फ आकर्षित नहुने कुरै भएन । उनीहरूले सहरमै मिलेर सङ्गठन बनाए र योजनासहित गाउँ छिरे । त्यसपछि उनीहरूले गाउँलेलाई शोषण, दमन र अधिकारका कुराहरूको पाठ पढाउन सुरु गरे। जनवादी क्रान्तिको लहर चलाए। क्रान्तिकारी छलाङ मार्ने सपना पनि उनीहरूले गाउँलेलाई देखाउन भ्याए । क्रमशः गाउँलेहरू पनि उनीहरूका पछि लाग्न थाले ।

कुत्सित योजनासहित आफ्नै जीवनको छलाङ मार्ने सपना बोकेर गाउँ छिरेका छट्टु युवाको गुलियो बोलीमा गाउँले पनि भुलिए। उनीहरूको सुगा रटाईले अन्ततः रङ लियो । शनै: शनैः गाउँमा अब बडाकाजीका विरुद्ध आवाज उठ्न थाले। गाउँलेहरूले खैरातमा काम गरिँदैन भन्दै काजीको काममा जान अस्वीकार गरे । ती छट्टु युवाहरूले गाउँलेको सहयोगमा उनीहरूकै काँधमा बन्दुक तर्स्याएर काजीतर्फ सोझ्याए र उनका जग्गा-जमिन, धनसम्पत्ति हडप्‍न थाले । सोझा गाउँलेले पनि सधैँ दल्ने काजीलाई चखाइयो भन्दै आँखा चिम्लेर साथ दिए ।

अवस्था प्रतिकुल बनेपछि दलवीर सपरिवार बसाइँ सर्न बाध्य बने । गरिबीको दलदलबाट छलाङ मार्ने मीठो सपनामा गाउँलेले मुख मिठ्याए । अन्ततः ती छट्टु युवाहरूले बडाकाजीका अकुत सम्पत्ति र अपरिमेय जमिन लुटेर लिए । जब आन्दोलन मत्थर हुँदै गयो तब छट्टुहरूले लुटेका धन र कब्जा गरेका जमिन आआफ्ना नाममा पारे। बिचरा ती सोझा गाउँलेको जीवनमा कुनै परिवर्तन आएन, उनीहरू जस्ताको तस्तै रहे । त्यसपछि गाउँमा सोह्र, सत्र नव सामन्तहरूको जन्म भयो । आफूलाई अग्रगमनका हिमायती र परिवर्तनकारी ठान्ने तिनै नव सामन्तहरूले गाउँलेहरूलाई न्युनतम ज्यालादारी मजदुरका रूपमा दलाउन थाले । पहिले दाल चामलमा काम गर्नुपर्थ्यो अब त पैसा पाइयो भनेर गाउँलेले उसैगरी नयाँ मुखियाहरूको जयजयकार गर्न थाले । अन्ततः विभिन्न कानुन बनाएर सोझासिधा र निर्धालाई पेल्दै ती नव सामन्तहरू पुराना सामन्ती मुखियाभन्दा कठोर बन्दै गए।

नयाँ छलाङको योजनासहित जन्मेका ती अग्रगमनका हिमायती नयाँ मुखियाहरूले नो वर्क नो पे, मजदुरी समय १२ घन्टा, बिदा लिनै नपाइने जस्ता अनेक नयाँ नयाँ नियम बनाउँदै मजदुरहरूलाई यस म्यानमा परिणत गर्दै गए । नो सुन्नै नचाहने उनीहरूले आफू इतरका मजदुरहरूको कि त गाँस छिने कि त सास छिने । कामदारलाई नसोधी आफू खुसी उनीहरूका लागि कार्य विभाजन र कार्यस्थलको तालिकासमेत तयार पारे ।

अब भने गाउँलेहरू पुरानै मुखिया ठिक थिए , कम्तीमा नुन, भुटुन, दाल, चामल त दिन्थे भन्दै मन कुँडाउन थाले । काम नहुँदा पनि पेट पालिदिने पुराना मुखियालाई सम्झँदै आँसु चुहाई परिवर्तनको धारिलो बाटोमा उनीहरू खै कस्तो छलाङ मारेछौँ भन्दै जीवन बिताउन विवश बने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय