विद्यार्थी पलायनकाे समस्या विज्ञान संकायमा पनि
मनोज कुमार कर्णभूमिका
नेपालमा केही वर्ष यता कक्षा १२ उतीर्ण हुने बित्तिकै अलिकति आर्थिकस्थिति राम्राे भएकाे विद्यार्थीले पनि नेपालबाट भारत, अष्ट्रेलिया, अमेरिकालगायत विभिन्न युराेपीयन तथा एशियाई देशहरूमा उच्च शिक्षा अध्ययन गर्न जाने गर्छन् । नेपालमा भने हाल त्रिभुवन, नेपाल संस्कृत, काठमाडाैं, पूर्वाञ्चल, पाेखरा, लुम्बिनि बाैध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदूरपश्चिम, खुला, राजर्षीजनक, गण्डकी, मनमाेहन प्राविधिक, मधेश कृषि, लुम्बिनि प्राविधिक, मधेश, मदन भण्डारी विज्ञान तथा प्रविधि गरि कुल १७ वटा विश्वविद्यालयहरू छन् भने अझ कतिवटा पाईपलाईनमा छन् ।
यी विश्वविद्यालयहरूमध्ये त्रिभुवन विश्वविद्यालय सबैभन्दा पुरानाे तथा नेपालकाे एकमात्र केन्द्रीय विश्वविद्यालय हाे भने बाँकी कुनै क्षेत्रीय वा प्रादेशिक वा कुनै निश्चित विषय र उद्देश्य लिएर खाेलिएका देखिन्छन् । तर विज्ञान र प्रविधि भनेर खाेलिएका विश्वविद्यालयहरूलगायत त्रिभुवन, पाेखरा, काठमाडाैं, पूर्वाञ्चललगायत अन्य धेरै विश्वविद्यालयमा प्राविधिक विषयहरू पढाईने भएपनि सन् २०२० काे काेराेनाकालदेखि नेपाली विद्यार्थीहरू तीव्र पलायन विदेशमा गर्दैछन् । के व्यवस्थापनका पढाईमात्र डाक्टरी र इञ्जिनियरिङसमेत पढ्न जानेहरूकाे घुईंचाे नाे अब्जेक्शन लेट्टर (No Objection Certificate/Letter, NOC/L) लिने ठाउँ र एयरपाेर्टमा देखिन्छ । याे देश बनाउने याेजनाकार, प्राध्यापक, देश चलाउने सरकार, दल र नेता सबैका लागि साेचमग्न पार्ने कारूणिक दृष्य र सवाल हाे, जसबाट काेहिपनि मुख फेर्न मिल्दैन ।
यस लेखमा विज्ञान-प्रविधि अर्थात्, डाक्टर, ईञ्जिनियरिङ, कृषि आदि पढ्ने विद्यार्थीमा किन विदेश पलायन (Brain drain) प्रवृत्ति छ, त्यसबारे छलफल र समस्या समाधान हेतु केही तत्काल लागू गर्ने उपायहरू छन् जुन नेपाल सरकार र सम्बन्धित विश्वविद्यालयहरूले गर्न सक्छन् ।
डरलाग्दाे खाका
मंसीर अन्तिम सातादेखि एऊटा खाका (Data) सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति छन् जसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १५ वटा ईञ्जिनियरिङ्ग कलेजहरूकाे नयाँ भर्ना यसपालीकाे समाप्त भएपछिकाे खराब अवस्था चित्रण गर्दछ । उक्त खाका अनुसार पुल्चोक ईञ्जिनियरिङ्ग क्याम्पसमा जम्मा सिट संख्या ६३४ रहेकाेमा ११६ सीट खाली नै रहेकाे छ भने थापाथली ईञ्जिनियरिङमा ४३२ मध्ये २३४ खाली, पश्चिमाञ्चलमा ४३२ मध्ये १८४ खाली, पूर्वाञ्चलमा ५२८ मध्ये २१५, काठमाडाैं ई. मा ३८४ मध्ये २८८ सिट खाली छन् । त्यस्तै, सगरमाथा ईञ्जिनियरिङ कलेजमा १४४ सीटमध्ये १३९ सीट खाली छन्, एड्भान्स्ड कलेज अफ् ईञ्जिनियरिङ एण्ड म्यानेज्मेन्टमा ३३६ मध्ये २८८ खाली, हिमालयन कलेज अफ् ईञ्जिनियरिङमा २४० मध्ये १९६ खाली, नेश्नल कलेज अफ् ई. मा २४० मध्ये १०९ सीट खाली, ललितपुर ई. कलेजमा ९६ मध्ये ९२ खाली, क्याथफाेर्ड ईन्टरनेश्नल कलेजमा १९२ मध्ये १४४ खाली, ख्वप: ई. मा १९२ मध्ये ११० खाली, चितवन ईन्टरनेश्नल ईञ्जिनियरिङ्गमा २४ सीटमध्ये ७ वटा खाली छन् भने जनकपुर ईञ्जिनियरिङ्ग कलेजमा सबैभन्दा दुखद् अवस्था छ १९२ सीटमा पूरै खाली छ अर्थात्, त्यसले एकजनै विद्यार्थी पाएकाे छैन ।
याे डेटापछि यदि कहिंकतै भर्ना भएछ भने अलिकति फरक पर्न सक्छ नत्र समग्रमा ईञ्जिनियरिङ कलेजहरूकाे हाल बेहाल छ । यस डेटामा माथि भूमिकामा उल्लेखित त्रिविबाहेक नेपालका बाँकी १६ वटा विश्वविद्यालयकाे अवस्थाबारे उल्लेख छैन । तर यस डेटाबाट के सहजै बुझ्न सकिन्छ भने केन्द्रीय विश्वविद्यालयबाट सम्बन्धनप्राप्त (Affiliated) कलेजहरूकाे याे दशा छ भने क्षेत्रीय तथा विना पूरा मापदण्ड परिक्षण नयाँ-नयाँ विश्वविद्यालयले बाँडेका र नियमित ईमान्दार अनुगमण नभईरहेकाे ईञ्जिनियरिङ कलेजहरूकाे हालत अझ के हाेला ।उता मेडिकल, नर्सिङ्ग तथा अन्य टेक्निकल कलेजहरूकाे डेटा यहाँ छैन तर त्यतापनि अवस्था चिन्ताजनक नै सराेकारवालाहरूबाट सुनिन्छ ।
समस्याहरू
नेपालका जुनसुकै विश्वविद्यालयमा समस्या पहिल्याउनलाई आङ्गिक वा भनाैं त्यसका सरकारी क्याम्पस (Constituent campus) र सम्बन्धप्राप्त कलेज (Affiliated college) का समस्या गरि दुई भागमा वर्गीकरण गरि अध्ययन गर्न सकिन्छ तर केही समस्या वा कुरा समान/उही हुन सक्छन् । जस्तै, एउटै शहरभित्र कुनै सरकारी/आङ्गिक क्याम्पसमा प्राध्यापनरत शिक्षकले त्यसकै वा अन्य विश्वविद्यालयकाे पनि कुनै सम्बन्धनप्राप्त कलेज अर्थात्, नीजिमा पनि बाँकी समयमा काम गर्ने कुराे उहि एऊटै मानव संशाधन हुन गयाे तर उसले पढाउने ठाऊं, ईक्वीप्मेन्ट फैसिलिटिज्, काम गर्ने लगन-मनशाय फरक हुन सक्छन् ।
काेराेनाकालमा विश्वसहित नेपालजस्ताे अति गरिब र अति कम विकसीत देशमा विद्यालय शिक्षा (S. E. E.) र राष्ट्रिय परीक्षा बाेर्ड (N. E. B.) बाट कक्षा १२ उतीर्ण हुने विद्यार्थीकाे जडाे (Base) अति कमजाेर प्राय: मा देखियाे जसकाे मजबूतीबारे देशले साेचेन । अन्तत: विद्यार्थीहरू अभिभावककाे क्षमता र अभिभावककै “ईच्छा”मा नेपालमा डाक्टरी/ईञ्जिनियरिङमा भर्ना त भए तर जाँच पास गर्न गाह्राे भयाे र परिणामस्वरूप नेपालका यी विषय पढाइ हुने कलेजहरू बदनाम भए । विद्यालय शिक्षा जति कमजाेर विद्यार्थीकाे भएपनि विदेशमा जाने बित्तिकै जादूकाे छडीबाट झैं ऊ तेज हुनेछ भन्ने भ्रम अभिभावकमा बढी पाइन्छ भने १८-२० वर्षका युवाले संसार र आफ्नाे सपना नै देख्न नपाई अभिभावककाे सपना “पूरा गर्न” विदेश जाने प्रवृत्ति बढ्याे ।
जहाँ विश्वका अन्य देशमा विद्यार्थीले महँगाे खर्चमा पढ्ने खर्च अभिभावकबाट वा पाए भने स्वयं काम गरेर पनि उठाउँछन्, त्यहीँ नेपालभित्र ब्याचलर पढ्ने हाम्रा विद्यार्थीका लागि अन्त्यमा ईन्टर्नशीपबाहेक अवसर छैन । पढाईसँगै अर्थाेपार्जनकाे उपाय वा राम्राे अंकले उतीर्ण हुने बित्तिकै याे सम्मानित ठाउँमा आकर्षक राेजगार पाइने सुनिश्चितता छैन । यसले गर्दा नेपाली विद्यार्थीहरू “मिहिनेत” सिक्न बाहिरिन्छन् ।
हाल नेपालका चाहे पाेखरा विश्वविद्यालय हाेस् वा त्रिवि वा काठमाडाैं वा अन्य जे सुकैका नीजि कलेज, त्यसमा प्राध्यापन गराउने ९५ प्रतिशत अध्यापक “अध्यापक” भन्दापनि “दलाल”काे भेषमा आफूलाई प्रस्तुत गर्छन् । याे स्तम्भकार (Columnist) स्वयंले आफ्नाे खाली तथा अतिरिक्त समयमा त्रिविबाट नियमपूर्वक स्वीकृतिलिएर काेराेनाकालमा पाेखरा विश्वविद्यालय अन्तर्गत बालकुमारी-ग्वार्काेतिर एऊटा नीजि कलेजमा करिब दुई सेमेष्टर पढाऊंदा कलेज व्यवस्थापन समूह-टिचरबीचकाे दुईटा बैठकमा भाग लिँदा व्यवस्थापकले विद्यार्थी ल्याऊ भन्ने अनि टिचरले तपाईंले सेमेष्टरपछि दिईने प्रति कक्षा ५०/५५/६० हजारले दिने पारिश्रमिकले पुग्दैन त्यसैले मानाैं ईञ्जिनियरिङ वा बीबीएमा ४ लाख पूरा काेर्षकाे फिस हाे भने हामीलाई ८ देखि ११ लाखसम्म भन्न दिनुस्, विद्यार्थी आए भने उसकाे ४ लाख तपाईंकाे हुनेछ र बाँकी ल्याउने मेराे रकम हुनेछ ताकि मेराे जबकाे पनि ग्यारेन्टी यति वर्ष कम्तिमा पढाई ऊसकाे नसकुन्जेल हुनेछ भनी माेलमाेलाई, दलाली देख्याे ।
स्तम्भकारले भने एऊटा सेक्शन भनेर कलेजले आफूलाई हायर (Hire) गरेकाेमा दुईटा सेक्शन मर्ज गरेर उत्तिकै पारिश्रमिकममा पढाउन लगाउने, सेमेष्टरकाे अन्त्यमा पारिश्रमिक दिंदा आफूसँग भएकाे थुप्रै बैंककाे खातामा नभई कलेजकै प्रेस्क्राईब्ड बैंकमा खाता खाेल्नुपर्ने, एक सेमेष्टरपछि प्रति कक्षा पारिश्रमिक बढाईने भनिएकाेमा नबढाईंदा दाेस्राे सेमेष्टरमा बढाउन आवाज जाेडदार उठाएकाे, क्लाशमा प्राेजेक्टर हाल ताकि गुणस्त्तरीय र प्रभावकारी शिक्षा दिन सकियाेस् भन्दा नसुन्ने, काेर्ष म्याटेरियलकाे अडियाे प्ले नभई डाईरेक्ट उत्तरहरू आफैंले भन्नुपर्ने, आन्तरीक मूल्याङ्कनमा जाँच टाईट लिएकाे देखाउने तर अङ्क बढाउनलाई पहिल्यै प्रश्नपत्र बाहिरिने वा व्यक्तिगत मालपानीमा अङ्क थपेर कलेजले विश्वविद्यालयलाई पठाईदिने, विद्यार्थी खाेज्ने वा दलाली गर्ने कुनैपनि कार्यमा नसक्ने र दलालीमा खासगरी अरूची भएकाेले भर्खर पास गरेर आएका अनुभवहीन “पाेटेन्सियल” टिचरहरूका लागि जाैब छाेड्नुपर्याे ! यस्तै अन्य कारणहरू पनि छन् जसले विद्यार्थीलाई बाहिर्याऊंछन् नेपालबाट ।

नेपाल गरिब मुलुककाे शिक्षाकाे स्त्तर युराेप, अमेरीका वा एशियामै पनि जापान, भारत, चीनकाे जति नभएकाेमा त्यता पढ्नजाने विद्यार्थीकाे थुप्रै शैक्षिक गतिविधि ईक्विप्मेन्टसँग हुन गई उनिहरूकाे प्राक्टिकल क्लास र एक्स्पाेजर बढी हुन्छ जसकारणले आर्थिक अवस्था राम्राे भएका विद्यार्थीकाे च्वाेईस नेपालबाहिर हुन्छ तर यस्ता विद्यार्थीकाे संख्या तुलनात्मकरूपमा कम छ किनकि अधिकांश नेपाली परिवार आर्थिकरूपले त्यति धनी छैन ।
नेपालका विद्यालय शिक्षादेखि नै क्याम्पस/कलेजसम्म गुणस्त्तर सुधार्ने उपाय विज्ञहरूसँग धेरै हुन सक्छन् तर आङ्गिक क्याम्पसहरूमा जनशक्तिकाे पूर्ती, ईक्विप्मेन्ट्ससहितकाे कक्षाकाेठा, नियमित सरकारी नियमन, शिक्षक-कर्मचारीमा दण्ड र पुरस्कारकाे व्यवस्था नहुँदा, महंगाई अनुसारकाे तलबमान नहुँदा बाहिर-बाहिर काम गर्न जाने अवस्थाले जनशक्तिकाे मानसिक दबावकाे असर कार्यक्षेत्रमा पर्फर्मेन्समा देखापर्छ ।
त्यस्तै, नेपालका मेडिकल कलेजहरूमा ताेकिएकाे भन्दा बढी असिमित फीस् अभिभावकबाट मागिएकाे मागिएकै हुनु तथा कलेजहरूकाे आन्तरीक मूल्याङ्कनमा सबैले उच्च अङ्कसहित नै चमत्कारीकरूपमा उतीर्ण हुनु तर सेमेष्टरकाे अन्तिम जाँचमा त्यहि विद्यार्थीकाे केही बाहेककाे सवालमा झूर पर्फाेर्मेन्सले पठनपाठनमा “प्वाल” परेकाे देखिन्छ ।
सुधारका पाटाहरू
सुधारका लागि :
१) नीजि वा सरकारी आङ्गिक क्याम्पस जहाँ प्राध्यापन गरेपनि कम/बढी तलब/सुविधाकाे हेक्का नराखी “आफूले अन्यत्र अवसर नपाएकाेले स्वयं आएकाे” भनी उत्साहले एउटै क्वालिटिले कम्तिमा ईक्वीप्मेन्टकाे उपलब्धता अनुसार प्राध्यापन गराउनुपर्ने प्राध्यापकीय ईमान्दारीताबारे जाँचका रिजल्ट तथा अनुगमणबाट निर्क्याैल गर्ने;
२) विद्यालय शिक्षाकाे मजबूत जग विद्यार्थीमा बसाल्ने र जग कमजाेर हुने विद्यार्थीले पनि पैसाकाे जाेडबलमा विदेशमा “तेज” हुने भ्रम नेपाली समाजबाट हट्नु जरूरी छ;
३) विश्वविद्यालयहरूले प्राविधिक विषयमा अध्ययनरतहरूका लागि अध्ययन-अनुसन्धानसँगै अलिकति भएपनि खर्च धान्नलाई स्वआर्जनकाे दायरा देखाउनु पर्छ भने पढाईपछि नीजि तथा सरकारी स्थलमा देश/विदेशमा बिक्रिहुनेस्त्तरकाे पढाई गराएर बेच्ने ठाउँ बनाउनुपर्छ;
४) विश्वविद्यालयहरूकाे अनुगमण अति फितलाे भएर कक्षाकाेठाहरू २१ औं शताब्दीकाे जस्ताे छैन, प्रभावकारी शिक्षण कतिपय शिक्षकले चाहेपनि दिन नसकेकाे अवस्थालाई नियमित चेकजाँचले हटाउनुपर्छ । शैक्षिक/प्राज्ञिक ठाउँबाट गैह्रप्राज्ञिक दलालहरू व्यवस्थापक वा शिक्षक जाे भएपनि हटाईनुपर्छ भने ईमान्दार शिक्षककाे श्रम शाेषण कुनैपनि रूपमा हुनुभएन;
५) नेपालका विश्वविद्यालयहरूले सिमित आर्थिक स्राेत र साधनमा संसारमा बिक्रि हुने मानवसंशाधन कसरी उत्पादन गर्ने हाे, त्याे खत्तरा माेल्ने याेजना भएकाहरूलाई नै कलेजहरूकाे सम्बन्धन दिंदा राम्राे हुने देखिन्छ । शिक्षालाई सेवा नठानी व्यापार-व्यवसायकाे भावनाले जर्जर बनाएकाे छ;
६) सरकारी वा आङ्गिक क्याम्पसमा नियमित अनुगमण फिजिकल ईन्फ्रास्ट्रक्चरलगायत जनशक्तिकाे पर्फाेर्मेन्स चेक हुनुपर्छ र राम्राे गर्नेलाई पुरस्कार तथा कमजाेर पर्फाेर्मरलाई दण्डकाे व्यवस्था हुनुपर्छ । त्यहिं सरकारी विद्यालय वा आङ्गिक क्याम्पसमा पढाउने तथा देश हाँक्ने मन्त्री, साँसद, नेता, राजनैतिक-संवैधानिक-कूटनैतिक नियुक्तिधारी तथा सुरक्षा निकायका हाकिमका सन्तानलाई अनिवार्य सरकारी विद्यालय तथा आङ्गिक क्याम्पसमै, यदि नेपालभित्रै पढ्नेभए, पढाउन अनिवार्य व्यवस्था गरिए नसाेचेकाे झैं अचानक पढाईकाे गुणस्त्तर यहाँ ऊठ्नेछ,
७) सरकारले मेडिकल कलेजलाई नियन्त्रणमा राख्ने चुनाैती दुर्गा प्रसाईंजस्ताबाट नै रहेकाे देखिएकाेमा राज्यकाे नियन्त्रणमा उनिहरू हुनैपर्छ, उनिहरूले सार्वजनीक गरेकाभन्दा फीस् कुनै बहानामा असूल्न नहुने हुनुपर्छ । त्यस्तै, कलेजहरूले फीस् असूलेरपनि प्राेजेक्ट वर्क नगराएर, टर्म पेपर/रिपाेर्ट लेखन आदि नगराएर आन्तरीक मूल्याङ्कनमा बढी अङ्क दिने कार्य राेकिनुपर्छ आदि ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक पनि हुनुहुन्छ)

