‘तिज’ धनी-गरीब छुट्याउने पर्व नबनोस्
मीरा बस्ताकोटी
सधैंको बर्ष जस्तै यस बर्ष पनि हामी नारीहरुको महान पर्व तिज आइसक्यो। यो हाम्रा लागी अमुल्य र संस्कृतिसंग जोडिएको पर्व हो त्यसैले तिजमा हामी सबै जना रमाई रहेका हुन्छौ ।
तिज आयो रे भन्दै साथीसंगीमा उमङ्ग आउने गर्छ । तर,बाल्यकालको त्यो तिज र आजकल शहरको रमझममा मनाउने यो तिज धेरै भिन्न हुन थालेको छ। तिजको सबै कुरा राम्रो भएर पनि आजकल मलाई यती मात्र मन पर्दैन कि तिजमा पनि धनी र गरीब छुट्याउने हामी नेपालीको बानी चाहिँ साह्रै नराम्रो ।
आखिर हामी सबै नेपाली एकै त होनि, को धनी को गरिब ? तिज आयो भन्दै कपडा र गहनाको प्रतिस्पर्धा गर्न निक्कै चाहन्छौँ ।तर त्यो गलत हो, तिज मा मात्र गहना तिजमा मात्र राम्रो कपडा हाम्रो भ्रम हो कि जस्तो लाग्दछ ।
सायद मलाई लाग्दछ तिजमा हामी हाम्रा सब परिवार एक ठाउमा बसेर मिठा मिठा खानेकुरा खाँदा एक अर्का मा मनभित्र गुम्सिएका मिठा, नमोठा दुख सुख तिजका गित द्वारा हामी गाउन सक्छौँ ।
सिधै भन्दा हाम्रा समाज अथवा हाम्रा परिवारमा व्यक्त गर्न गाह्रो पर्दछ तर सबै मिलीजुली मीठो स्वरमा तिजको गित गाएर रौनक बढाउन हामी महिला दिदीबहिनीहरु उत्साहित हुन्छौं र मीठा तिजका भाका नौलो गरी गाउन थाल्छौँ ।
त्यो देख्दा घर गाउँ सबैमा रमणीय मान्ने गर्छन् । पाकेर बसेका नास्पती तथा काँक्रो गाउँमा पालो राखी राखी सर्लक्क चिरेर महिला दिदी बहिनीका अगाडी राखिदिन्छौँ र धेरै रमाइलो पनि लाग्दछ ।
अर्को घरमा वर्षभरी दुःख गरी गरी माइत आउन नपाएका चेली तिजमा मलाई लिन आउँछन भनी दिन गन्दछन् । आँखा टोलाई माइतीका पर्खाईमा रहन पर्दथ्यो, त्यही सजीलै माइत जान, मिठो खान आफू सासु नबनिन्जेल मुस्किल नै पर्थ्यो ।
माइतीघर गएर साँझको खाना र राति आमाको हातले पकाएकोजस्तो मीठो दर सायद अब हाम्रा छोरी नातिनाहरुले त्यति स्वादिस्ट दर खान पाउन गाह्रो नै छ । मलाई त साँच्चै भन्नुपर्दा बुबाआमासँगै बसी बारिमा फलेका थरी थरीका तरकारी टुसा लगायतसंग चाम्रे दर खाएको सम्झना छ ।
साँच्चै नै भन्नु पर्दा लामो समयको चाड भन्दा छोटो समयको चाड रमाइलो हुन्छ। हामी पनि कर गरी हाम्रा समयको खेर नजाने तरिकाले तिज मनाउन देशभर जुनसुकै ठाउँमा भएपनि रमाइलो हुने तरिकाले समयको सदुपयोग गर्नुपर्छ ।
खर्च बचाएर रमाइलो गर्न सक्यौं भने त्यो असक्त, वृद्ध, अनाथ लाइ थोरै भएपनि दिन सकिन्छ भने बचेको समयमा हामीले काममा ध्यान दियौँ भने राम्रो हुन्छ ।हामीले पनि घर चलाउने क्रममा चाहिने कुरामा बाहेक अन्यमा खर्च कटौती गरी समयको पनि सदुपयोग गर्न सकेमा अबका पिडिहरुलाई पनि सजिलो होलाकि ।
मानौं म एकदिन दर खाने दिनमा उमङ्गका साथ बस्न पाएँ भने के मलाई रमाइलो काफी हुँदैन त ? मलाई लाग्छ म एकदिन मेरा घर परिवार इष्टमित्रसँग बसेर एकसाथ तिजको दर खाँदा खुसी धेरै मिल्छ जस्तो लाग्छ । अनि श्रीमानहरुको गोजी पनि बचत भयो, हैन र ?
अनि अहिले बजारमा हरेक कुराको मूल्य हेर्नुहोस् त, व्यापारमा पनि मन्दी छ । तरकारी र खाद्यान्नको भाउले आकाश छोएको छ । हामी जनतालाई साँझविहान खान नै धौधौ पर्लाजस्तो भइसक्यो । जनताबाट कसरी असुल्न सकिन्छ भनेजस्तो मात्र भइराछ ।
उता राष्ट्रबैंकमा पैसा ढुसी परिसक्यो रे जनताको ऋण चुलिएर आकामा पुगिसक्यो, कतिको सम्पत्ति लिलाम भइसक्यो, कतिले आत्महत्या गर्दै छन्, युवाहरु जति सबै विदेश पलायन भइसके । कसैको मृत्यु भएमा लास उठाउने मानिस पनि छैनन् । नेपाल आमा निकै पीडित भइसकिन् ।
हुनेखानेहरु फेसन देखाउनमै व्यस्त छन् । त्यो पनि आफ्नो कला र संस्कृति होइन अर्को देशको सिको गरेर । देश नै खोक्रो भइसक्यो, जनताको घरमा चुल्हो बल्न गाह्रो भइसक्यो सरकारको ध्यान जाँदैन । स्थानीय तहतिर राम्रा विकासहरु हुदै छन् तर माथि माथि ठुलाबडाहरुले खासै केही गरेको देखिँदैन ।
दिदीबहिनी आमा छोरी बुहारीहरु अब हामी आम नेपालीले बेलैमा खर्च बचाउनुपर्छ नत्र हामी पीडामा नै हुनेछौँ । तिज पनि आयो तर व्यापार नै छैन । कलेजमा विद्यार्थी छैनन्, पढाउने शिक्षक छैनन्, कलकाराखानाहरु, होटल, रेस्टरेन्टहरुमा योग्य व्यक्ति छैनन् । सबै पलायन हुन मात्र चाहन्छन् ।
हामी रहेकै घरमा बसेर आनन्दले मीठामीठा परिकार बनाई दर खाने दिन भनी तोकिएको दिनमा सबै पीडित दिदीबहिनीहरु भेट भई दर खाएर गीतद्वारा आफ्ना दुःख पोखौं बेग्लै आनन्द आउँछ ।
वेदनाहरु धेरै छन, घर चलाउन मुस्किल छ । महँगाई बढेको छ । भूकम्पबाट राहत हुँदाहुँदै कोरोना महामारीले लकडाउन भयो । लकडाउनको पीडा आम जनमानसमा छ । नेपाली हामी साह्रै पीडामा छौं । अब सके उद्दार गरौं नसके विनाश पनि नगरौं ।
हामीले संसकृति पनि बचाइराख्नु पर्छ भने आफ्ना रमाइलो चाडपर्वहरु उत्साहपूर्ण ढङ्गले मनाउनुपर्छ । हामी अरुको भलो चिताएर सबैलाई साथ दिएर आफ्नै देशमा हाँस्न रमाउन सिक्नु पर्छ । मेहनत गर्न अल्छी नगरौं ।
यही भन्दै सबै नेपाली दिदीबहिनीहरुलाई तिजको मङ्गलमय शुभकामना दिन चाहन्छु र देशकै माटोमा सुन फलाएर देशमै मगमग बास्ना आउने फूल फूलाउनुपर्छ भन्न चाहन्छु ।

