प्रचण्डको हत्या गराएर झन्डै मन्त्री !

त्यो समयसम्म करोड कमाउन सक्नु र मन्त्री बन्नुलाई निकै ठूलो लक्ष्य मानिन्थ्यो । अहिले जस्तो करोडपति र मन्त्री बन्न सजिलो पनि थिएन र, तिनको मर्यादा पनि यसरी ह्रास भइसकेको थिएन । त्यस्तो समयमा आफूसँगै घटना र विचार (पत्रिका) मा काम गर्ने सहकर्मीमा मन्त्री र करोडपति बन्ने महत्त्वकाङ्क्षा होला भन्ने ठानिएको थिएन । तर २०५७ सालको प्रारम्भमा घटना र विचारका एक ‘स्टाफ’ ले जे गरे, त्यस घटनाले मानिसका महत्त्वाकाङ्क्षा कसरीसम्म सल्बलाउँछ भन्ने स्पष्ट गन्यो र प्रचण्डको हत्या गराएर मन्त्री बन्न चाहने मानिस पनि समाजमा रहेछन् भन्ने जानकारी यो लेखकलाई गरायो । सफल हुन नसकेको उक्त ऐतिहासिक घटना सन्दर्भबारे उल्लेख हुनु वाञ्छनीय ठानिएकोले यहाँ प्रस्तुत गरिएको छ ।
२०५६ चैतमा किशुनजीलाई हटाएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएको दुई महिना पनि बितेको थिएन । घटना र विचार पत्रिकामा सम्पादकका रूपमा कार्यरत निर्मलमणि अधिकारीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्नुपर्ने अत्यन्त जरुरी काम परेकोले उहाँसँग समय मिलाइदिन आग्रह गर्नुभयो । अत्यन्त संवेदनशील छ भनिएकोले कारण जान्न पनि खोजिएन । २०५४ मा कोइरालाले दिएको राजनीतिक धोखापछि म उहाँबाट टाढिएको भए पनि मेरा निकटवर्तीहरू गिरिजासँग राम्रो सम्बन्ध भएका मानिसका रूपमा मलाई बुझ्दथे । सम्भवतः निर्मलमणिमा पनि त्यस्तै भ्रम थियो । त्यसैले आग्रह टारेर निर्मलमणिलाई निराश बनाउन खोजिनँ, प्रधानमन्त्री निवास • बालुवाटारमा फोन गरेर समय मागियो । निर्मलमणि अधिकारी प्रधानमन्त्रीलाई भेट्न चाहनुहुन्छ, उहाँका लागि समय दिनुपर्यो भन्ने आग्रहलाई स्वीकार गर्दै _ उताबाट जवाफ आयो- भोलि दिउँसो चार बजेलाई समय मिल्यो, तर तपाई आफैँले लिएर आउनुपर्ने भयो ।’
निर्मलमणिलाई लिएर जानु मेरा निम्ति बाध्यता बन्यो । वास्तवमा स्वयम् निर्मल पनि गिरिजासँग एक्लै भेट गर्न चाहन्थे । निर्धारित समयभन्दा करिब पाँच मिनेटअगाडि नै प्रधानमन्त्री निवासस्थान पुगेका हामीलाई स्वकीय सचिवले सोझै एक तलामाथिको बैठकमा पुऱ्याए । गिरिजाप्रसाद कोइरालालाई निर्मलमणिको परिचय दिइसकेपछि मैले बाहिरिन खोज्दै भनेँ- ‘दाज्यू, निर्मलजीका केही अति गोप्य र संवेदनशील कुराहरू तपाईंसँग शेयर गर्नुपर्ने छ भन्नुभएकोले म बाहिर बस्छु, उहाँका कुरा सकिएपछि खबर पाऊँ, आउनेछु ।’
म बाहिरिने कुराले निर्मलमणिको अनुहारमा खुशी चम्किएको देखायो । गिरिजाप्रसादलाई दुई हात जोडेर अभिवादन गर्दै म बाहिरिन खोजें, तर गिरिजाप्रसाद मेरो कुरामा सहमत हुनुभएन । ‘उहाँका कुरा जेसुकै हुन्, तपाईं नबस्ने हो भने यो मिटिङ नै हुँदैन’ भन्नुभयो । गिरिजाको भनाइले निर्मलमणिको अनुहार सूर्यलाई बादलले छेकेका बेला क्षणभरका लागि छाउने अँध्यारो बनाइदियो । म निकै अप्ठ्यारोमा परेँ, मबिना मिटिङ नै नहुने भएपछि दुई जनाबीचको कुरामा साक्षी बस्न बाध्य भएँ । त्यसपछि गिरिजाप्रसाद कोइरालाले निर्मलमणितिर हेरेर भन्नुभयो- ‘लौ भन्नुहोस्, कुरा के हो ?
निर्मलले पुलुक्क मतिर हेर्नुभयो र, गिरिजातर्फ फर्किएर भन्नुभयो- ‘प्रधानमन्त्रीज्यू, प्रचण्डका एकजना अङ्गरक्षक मेरो सम्पर्कमा आएका छन्, उनीमार्फत प्रचण्ड रहेको ठाउँमा पुग्न सकिन्छ । र, यदि सरकार प्रचण्डको हत्या गर्न चाहन्छ भने म सहयोग गर्छु । तर मलाई मन्त्री बनाइने ग्यारेन्टी र नगद तीन करोड रूपैयाँ दिनुपर्छ ।
निर्मलको प्रस्ताव सुनेर गिरिजाले खुशी हुँदै भन्नुभयो- ल, तपाईंको डिमाण्ड पूरा हुन्छ, तर कहाँ कसरी प्रचण्डलाई फेला पार्न सकिएला ?
आफ्नो प्रस्ताव त्यति सजिलै कोइरालाबाट स्वीकार हुने अपेक्षा निर्मलमा शायद थिएन । तीन करोड नगद र मन्त्री पद पाउने कुराले निर्मललाई निकै प्रशन्न तुल्याएको भाव अनुहारमा देखापयो । गिरिजाप्रसादको जिज्ञासा मेट्दै निर्मलमणिले भन्नुभयो- ‘यहीँ कीर्तिपुरको एउटा घरमा प्रचण्ड बारम्बार आउ
गरेका छन् । त्यस घरकी एक महिला कामरेडलाई भेट्न आउने गरेको भन्ने सूचना छ । घरमा आएको सूचना मलाई आउँछ, त्यसपछि म प्रधानमन्त्रीज्यूलाई खबर गर्छु, घरमै घेरा हालेर पक्राउ गर्न सकिन्छ ।’
निर्मलमणिको जवाफ आश्चर्यचकित हुँदै गिरिजाप्रसादले स्वीकार गर्नुभयो । त्यसपछि उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा रहेका आफ्ना दुई वटा ‘हट लाइनहरू मसमेतलाई उपलब्ध गराउनुभयो । बिहान ४ देखि साढे चार बजेभित्र प्रयोग गर्ने भन्दै ४३९९४३ र साढे पाँच बजेदेखि बिहान ६ बजेसम्म प्रयोग हुने ४१०४१५ नम्बर गिरिजाले दिनुभयो । निरन्तर सम्पर्कमा रहने बताउँदै गिरिजाप्रसादले हामीलाई त्यहाँबाट बिदा गर्नुभयो ।
।
अप्रत्याशित र यति भयङ्कर योजना सुन्दा म अति नै आश्चर्यचकित भएँ । हुनत मेरो मनमा यस भेटको उद्देश्य उनको करिअर र व्यक्तिगत जीवनको कुनै लाभप्राप्तिकै सन्दर्भ हुन सक्ला भन्ने अनुमान थियो, तर त्यसका लागि यस्तो हत्यासम्मको योजना र कल्पना गरेको होला भन्ने चाहिँ थिएन ।
सानो उमेरमै निर्मलमणिको महत्त्वाकाङ्क्षा देखेर म छक्क परेँ । निकै महत्त्वाकाङ्क्षी मानिसलाई अखबारमा समेटिएको महसूस मैले गरेँ । तर भोलिपल्ट कार्यालयमा आएर आफू आजका मितिदेखि घटना र विचारमा नरहने जानकारी निर्मलमणिले गराउनुभयो, उहाँको निर्णयले मलाई खुशी तुल्यायो र सहर्ष उहाँलाई धन्यवाद भन्दै बिदा दिएँ । घटना र विचार पत्रिकाबाट हिँडेको भोलिपल्ट निर्मलमणि मेरो कार्यकक्षमा अचानक आउनुभयो र एउटा विनाखामको पत्र दिँदै भन्नुभयो- ‘यो पत्र तपाईं पढ्नुहोला र पन्ध्र मिनेटपछि म यहाँ आउनेछु, तपाईंले पत्र मलाई नै फिर्ता गर्नुपर्ने छ ।
मैले पत्र हातमा लिएँ, निर्मलमणि छापामार शैलीमा आउनुभएको थियो, त्यसैगरी फर्कनुभयो । फिर्ता गर्नुपर्ने शर्तमा पत्र दिएको हुनाले मैले • अगाडि नै त्यसको फोटोकपी गराएँ र सक्कलप्रति पढ्न थालेँ । मलाई चेतावनी पत्र लेखिएको रहेछ । गिरिजासँग मात्र शेयर गर्नुपर्ने कुरा मेरो जानकारीमा आएकोले कतै सूचना चुहिने हो कि भन्ने चिन्ता निर्मलमणिमा रहेछ । कुरा • लिक गरिए मारिन सक्ने चेतावनी दिइएको पत्र पढेर म स्तब्ध भएँ । पत्र निर्मलमणिको आफ्नै हस्ताक्षरमा लेखिएको तर प्रचण्डका अङ्गरक्षकले लेखेजस्तो व्यहोरा थियो । पत्रमा निर्मलमणिले आफूलाई गुरुवर, यो लेखकलाई ‘डी’ (ड) अङ्गरक्षक भनिएका व्यक्तिलाई एक्स (X), खुमबहादुर खड्कालाई न. २ र गिरिजा प्रसाद भनी उल्लेख गरेका थिए |
त्यसपछि निर्मलमणिका चेतावनीपत्रहरू बारम्बार आइरहन थाले (फोटोकपी गर्न भ्याइयेका केही पत्रहरु एसै पुस्तक मा जस्ता को त्यस्तै राखिएको पनि छ ) निर्मलमणिलाई सम्बोधन गरी कथित अङ्गरक्षकका तर्फबाट लेखेको भनिएक
पत्रहरूसमेत मलाई पढ्नका निम्ति उपलब्ध गराइन्थ्यो ।
निर्मलमणिलाई भेटाएका दिनदेखि गिरिजाप्रसाद कोइराला मलाई बारम्बार आफ्नो हटलाइनबाट विभिन्न विषयमा कुराकानी गर्नुहुन्थ्यो । एक दिन बिहालको फोनमा उहाँले भन्नुभयो- ‘त्यो प्रचण्ड एउटालाई मारेर के गर्नु माओवादीको सिङ्गै केन्द्रीय कमिटीलाई सिध्याउनुपर्छ । तपाईंले पनि निर्मललाई यो कुरा भन्नु पर्यो |
कोइरालाको कुरा सुनिसकेपछि मैले भनेको थिएँ- ‘दाज्यू, खास कुरा के भने, निर्मलमणिले यस्तो खतरनाक योजना बुनेका छन् र त्यो तपाइँलाई भन्नका लागि मलाई त्यहाँ लगेका हुन् भन्ने मेरो कल्पनामा पनि थिएन । वास्तवमा म यस्ता व्यक्तिहत्याका निकृष्ट तानावानामा लाग्ने छैन र यसमा म यहाँहरूसँग हुँदिन पनि ।
‘हैन किन त्यसो भन्नुहुन्छ ? उनले सजिलै यसको तानावाना मिलाउन सक्छु भनेका छन् त ! तपाइँलाई पनि राम्रै हुन्छ, गिरिजाले फोनमा भने ।
मैले अस्वीकार गर्दै भनेँ, ‘दाज्यू, तपाइँलाई म प्रस्ट पार्छु कि मलाई मन्त्री बन्नु पनि छैन र, करोडपति बन्नु पनि छैन । निर्मलमणिले धम्कीपत्र पठाएर मलाई हैरान बनाएको छ । यो चक्करमा म पर्न चाहन्नँ, उसलाई तपाईं नै भन्नुहोस् ।’
त्यसपछि गिरिजाप्रसाद कोइराला र निर्मलमणि अधिकारीबीच संवाद र सम्पर्क भए कि भएनन्, यो मेरो जानकारीमा रहेन । गिरिजाप्रसादले पनि मलाई •बिस्तार-बिस्तार फोन गर्न छोड्नुभयो । २०५८ को प्रारम्भमा होलेरी काण्ड हुँदा त्यो माओवादीको नेतृत्वपङ्क्ति नै सिध्याउने प्रयास थियो कि भन्ने मलाई लागेको छ ।
-यो सामाग्री पत्रकार देवप्रकाश त्रिपाठीको पुस्तक ‘तुषनाल’ बाट लिइएको हो।

