असली जेनजी अस्पताल र खाेरमा, नक्कलीहरू सरकार र वरिपरि

मनोज कुमार कर्ण

नेपालमा गत २०८२ भदाै २३ गते जेनजी विद्राेह भयाे, त्यसलाई सरकारबाट दबाउने प्रयास हुँदा अहिलेसम्म ज्ञात ७६ जनाभन्दा बढी मान्छे हताहत भएका हुन् । घाईते, धनमाल लूटिएका, जलाएका, ताेडफाेड आदि थप क्षति देशले व्यहाेर्याे । भाेलिपल्ट भदाै २४ गते काँग्रेस र एमाले सम्मिलित सरकार त भाग्याे-भाग्याे, नेताहरू कुटिए, आगजनी, मान्छे जलाउने आदि अमानवीय र गैह्रकानूनी जेनजी आन्दाेलनकै नाममा भए ।

तर याे अस्त्य कुरा हाे किनकि त्यसमा जेनजीभन्दा बढी उमेर समूहका मान्छेहरू बालेन्द्र साह, सुदन गुरूङ, दुर्गा प्रसाईं, रवि लामिछानेहरूकाे ब्याकअप थियाे भने सहभागिता विविध राजनैतिक स्वार्थ बाेकेका आपराधिक पृष्ठभूमीका मान्छेहरूकाे थियाे अर्थात्, आन्दाेलनमा व्यापक घूसपैठ थियाे । यी घूसपैठियाहरू राजनैतिक प्रतिस्पर्धामा आफू कसैसित उत्रन नसक्दा कसैद्वारा पठाइएर पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी, काँग्रेस महामन्त्री गगन थापालगायत धेरैका घर जलाइदिए भने कसैले गरीबलाई राेजगार दिएका मीन बहादुर गुरूङका भाटभटेनी डिपार्टमेन्टल स्टाेर्स धेरै ठाउँमा जलाएर कामदारपनि जलाइदिए अनि पूर्वप्रम झलनाथ खनालकी पत्नीलाई जलाए अनि कतिपय राजधानी बाहिर नगरपालिका जलाउँदा जनप्रतिनिधिहरूले नै आफ्ना भ्रष्टाचार विरूद्धका प्रमाणहरू, जमीनका नक्शा तथा लालपूर्जाहरू जलाए ।

काठमाडाैंमा भने काेही जेलबाहिर आऊन्, काेही आफूले प्रहरीमाथि जीप कुदाएकाेमा अदालतमा रहेका मुद्दाकाे डकुमेन्ट्स जलाउन, मारवाडी व्यापारीलाई धपाउन आगजनी, नेपालसँग आफ्ना सिमानाका दस्तावेज रहेकालाई नष्टपार्न सिंहदरबार र अदालतहरू जलाउने जस्ता अपराधिक गतिविधि सबै यी घूसपैठियाद्वारा गरिए ।

याे लेख असली जेनजीहरू कुन हालतमा छन् तर जेनजीका नाममा अरूहरू सरकारमा भएदेखि अरू कहाँ के गर्दैछन् बारे केन्द्रीत छ ।

सरकारमा जेनजीका प्रतिनिधि नाम मात्रकाे

भदाै २७ गते जेनजी विद्राेहकाे जगमा सरकार बनाईंदा अस्वभाविकरूपमा गैह्रजेनजी मान्छे काठमाडाैंका मेयर बालेन्द्र साह, धरानका मेयर हर्क साम्पाङ राई, हामी नेपाल एन्जिओका संस्थापक सुदन गुरूङहरू अचानक टीभिमा आए । जेनजी अगुवाहरू सेनाकाे मुख्यालयमै वार्ताकाे नाममा आपसमै झगडिन थाले । पूर्वप्रधानन्यायधीश सुशिला कार्कीकाे प्रधानमन्त्रीमा नाम मेयर बालेन्द्र साहकाे अस्वीकारपछि आएकाे हाे । कार्की नमान्नुभएकाे भए शायद पूर्वप्रन्या कल्याण श्रेष्ठ हुन्थे हाेलान् । जाे आए पनि सडकमा जेनजी आन्दाेलन अमेरीकी टूलकिट र रकममा नेपालमा भएकाे हाे र साह, गुरूङ, कार्कीहरू अमेरीकि लब्बीका हुन् भने जनमुखारमा लवज् थियाे तर गलत कुरा थियाे । अरू सत्य भएपनि मेयर साह भने अमेरीकि सिआइए नजिक नभएर ऊनी पाकिस्तानकाे आईएसआई नजिक भएकै कारणले, नेपालमा भारत र चीनलाई चिढ्याउँदै पाकिस्तानमार्फत् अमेरीकालाई छिराएकाे कारक बनेकाले असुरक्षा महशूस गरि र स्वयम् अमेरिकाले पनि आफ्नाे मान्छे बालेन्द्र साह नरहेकाले प्रम बन्ने कुरा नै सम्भव थिएन । आम नेपालीले याे कुरा बुझ्नलाई अझ समय लाग्नेछ तबसम्म शायद नेपालले धेरै क्षति आईएसआई पाकिस्तानबाट व्यहाेरिसकेकाे हुनेछ ।

यहाँ भन्न के खाेजिएकाे हाे भने अमेरीकाले आईएसआईका लाेकल प्रतिनिधि, युवामा नचाएर, गीत गाएर भएपनि “पपुलर” रहेका मेयर साहमार्फत् सत्तापरिवर्तन त गरायाे तर सबै थाेक अमेरिकाले चाहे जस्ताे भएन । अमेरीकाले सम्भवत: श्रीलंकाकाे जेनजी आन्दाेलनपछि संविधान र संसदलाई टेकेर सरकार बनाएकाे माेडल अपनाउन चाहन्थ्याे हाेला नेपालमा तर भइदियाे पाकिस्तानले बंगलादेशमा जेनजी विद्राेहपछि सडकबाट, संविधान र संसदलाई बाईपास गरेर टप्परटुईंयाँलाई प्रम बनाएकाे, सरकार बनाउने माेडेल मेयर साहकाे राेजाईमा पर्याे ताकी सरकार संविधान, संसद, देश र जनताप्रति उत्तरदायी नभएर बाह्यरूपमा राष्ट्रपतिकाे कुरा सुनेपनि भित्रिरूपमा पूर्णरूपमा मेयर बालेन्द्र साहप्रति उत्तरदायी रहाेस् । दुर्भाग्य, त्यही छ नेपालमा अहिले । स्वयम् प्रम कार्की साहलाई “छाेरा” भन्नुहुन्छ । फलस्वरूप, दलहरू मेयर साहकै याेजनामा पाखा लगाइएका, लखेटिएका छन्, सरकारकाे लगाम साहकाे हाथमा छ अनि जे जे अराजकता गर्न मन साहकाे छ, त्याे त्याे भइराख्या छन् । यसैले हाेला, यस जेनजी विद्राेहकाे जगमा बनेकाे वर्तमान सरकारमा सबै गैह्रजेनजी, अमेरीकि-पाकिस्तानी लब्बीका, भित्रबाट सनातन हिन्दुका विराेधी तर मुसलमान र क्रिष्चियन धर्मका हिमायती छन् र एकजना बब्लु गुप्ता मेयर साहकै आफन्त नाममात्रका जेनजी प्रतिनिधि मन्त्री हुन् ।

असली जेनजीका हालत

जाे जेनजी नेताहरू फ्रन्टलाईनमा भदाै २३ गते देखिए, उनीहरू मध्ये कति शहीद भए, घाईते भएर निकाे भएका छन् भने कतिपय अङ्गभङ्ग भएका छन्, कतिपयले जेनजीकाे माग अनुसार काम कुरा गर भनेर सानाेतिनाे समूह बनाएर बालुवाटार, माईतिघरकाे सडकमा कहिलेकाहिं उत्रन्छन् तर अब सरकारद्वारा नै समातिएर प्रहरीकाे पाहुना बनाईन्छन् । तर बाराकाे सिमरामा सुदन गुरूङले उत्रेर प्रहरीकाे सरूवा गराउँछन्, एमालेमाथि दबाउन खाेज्न सफल हुन्छन् त्यहाँका “जेनजी”ले । याे आश्चर्य हाे ।

हुनत याे स्तम्भकार एमाले हाेईन र उसकाे प्रशंसापनि गरेकाे हाेईन । वास्तवमा एमालेमा केपी ओली र महेश बस्नेतकाे अहंकारले पार्टीबाहेक मधेशमा पनि जसरी सबै दललाई पाखा लगाएर एक्लै हाेटलमा गएर सरकार बनायाे, सबैकाे रीसकाे पाराे ततायाे, त्यसकाे परिणाम सबै दलका युवाले “एमालेले जेनजीकै नाममा डराउने र अन्य दलले राेक्नजाँदा साे दलसँग एमालेले जातिगत दुश्मनी गर्ने भएकाेले” जेनजी “सगाेल” शब्दमै सिमरामा ठाेकेकाे हाे, पछि महेश बस्नेतलाई पूर्वमा पनि ठाेकेकाे हाे । तर बुझ्नेले बुझेर सुध्रे पाे !

जेनजी विद्राेहकाे नेपालमा अन्तर्य सतहमा सामाजिक सञ्जाल खुलाउने देखिएपनि प्रमुख संसदीय ठूला दलका सभापति र अध्यक्ष शीर्ष नेतालाई सडककाे बलमा फेरेर पुस्तान्तरण गराउनु र देशमा भ्रष्टाचारमाथि नियन्त्रण गरेर सुशासनकाे प्रत्याभूति दिलाई नेपाललाई फाइनान्सियल एक्शन टास्क फाेर्स (एफएटीएफ)काे ग्रे लिष्टबाट पुन: ग्रीन लिष्टमा बाहिर ल्याउनु जस्ता थिए । तर जेनजीकै अगुवा कतिपयले चरम् महत्त्वाकांक्षामा मैं प्रधानमन्त्री हुँ भन्दै कहिले रवि लामिछानेकाे पछि भने कहिले दुर्गा प्रसाईंकाे पछि लागेर डा. निकाेलस भुषाल मीडिया अनुसार प्रहरीकाे हिरासतमा छन् भने सरकारकाे स्वेच्छाचारीविरूद्ध बाेल्ने मिराज ढुङ्गानापनि प्रहरी हिरासतमा लिईन्छन् । यसरी किन जेनजीकाे जगमा बनेकाे सरकारले नै जेनजी अगुवालाई प्रहरीद्वारा समात्छन् भने – उनीहरू वर्तमान संघीय लाेकतान्त्रिक गणतन्त्रकाे बाटाेबाट काेही बिराउनु; आपसी युनिटि नभई दल, दरबार, व्यक्ति नेता, जिल्ला, समुदायपिच्छे “जेनजी” समूह खाेलेर विभक्त हुनु; वास्तवमा जेनजी उपजकाे सरकार भनिएपनि गैह्रजेनजी सुदन गुरूङ, बालेन्द्र साहहरूले सरकारलाई नियन्त्रणमा लिनु, सरकारकाे स्वेच्छाचारीताबारे जेनजीहरूले बाेल्दा सरकार अत्तालिएका जस्ता आदि कारणहरू छन् ।

यहाँ सवाल उठ्छ कि असली जेनजीमाथि गैह्रजेनजीकाे पक्कड कसरी सम्भव भयाे ? किन असली जेनजीहरू सरकारकै गलत कामबारे सडकमा बाेल्दा प्रहरीद्वारा उठाईन्छन् तर नक्कली जेनजी सुदन गुरूङ र बालेन्द्र साहहरू काठमाडाैंदेखि सिमरा, ईटहरी सबैतिर प्रहरीसँग भीडेर सरूवासमेत गराएर दलकाे गतिविधि भाँडेर समेत फर्कन्छन् ? वास्तवमा, याे गहिराे अनुसन्धानकाे विषय हाे किनकि नक्कली जेनजी साह र गुरूङहरू नेपालप्रति प्रतिबद्ध नभई नेपालमा विदेशीकाे “मिस्सन”मा छन्, जसकाे लागि यहाँका युवालाई बरालिन जे जस्ताे वस्तु चाहिन्छन्, त्याे सबै दिएर मानसिकरूपमा “गुलाम” बनाएका छन् ।

सरकारले राम्राे मात्र गराेस्

कार्की सरकार अन्तरीम र चुनावीमात्र हाे । यस सरकारले दूरगामी असरपार्ने निर्णय र कामहरू निर्वाचन आचारसंहिताले पनि गर्न नहुने हाे । तर अख्तियार दुरूपयाेग, सतर्कता केन्द्र, सीआइबी, अदालत, प्रहरी, प्रशासन आदि लगाएर नेतालाई तर्साएर नीजि स्वार्थका राेटीहरू सेक्न पाउँदैन । तर सरकार स्वयम्ले विधिकाे शासन, संविधान, नियम, कानूनलाई धाेती लाएर स्वेच्छाचारी र अराजकढंगले विभिन्न क्षेत्रमा अघि बढिरहेकाे छ । याे सरकारकाे एकमात्र काम भनेकाे लाेकतान्त्रिक तवरले चुनाव गराएर नवनिर्वाचित सरकालाई सत्ताहस्तान्तरण गर्ने हाे । यदि यस मार्गबाट सरकार चिप्लेर बढी गर्छ अध्यादेश वा बलजफ्ति भने राष्ट्रपति र पछि चुनावबाट बनेकाे सरकारले सबै क्रस गरिदिनुपर्छ र राज्यलाई क्षति गराएकाे असूलउपरपनि यिनिहरूबाट गराउनुपर्छ ।

सरकार यी ठाउँमा कम्तिमा बिराएका छन् । नयाँ राजदूत नियुक्त गर्न नसक्ने तर भएका एघार देशबाट नेपाली दूतलाई फीर्ता गराएर नेपालकाे अन्तर्राष्ट्रिय बेइज्जत गराएकाे; सरकार स्वयम्ले अदालतकाे भर्डिक्ट विपरीत दूतहरूलाई फीर्ता बाेलाएर कानून नमान्ने अराजकता मच्चाउने सन्देश प्रवाह गरेकाे; त्रिभुवन विश्वविद्यालयकाे जमीन स्टेकहाेल्डर्स नेपाल/त्रिवि प्राध्यापक र कर्मचारी छाता संघ (त्रिविका सिनेटर्स स्टेकहाेल्डर्स)समेतलाई किन जमीन कब्जा गरिस् भनेर स्वयम् शिक्षामन्त्री महावीर पुनले चाईनिज एकेडेमी अफ् सायन्सेज र त्यसकाे अफिस केसीआरई सहित आफैं राष्ट्रिय अविष्कार केन्द्र रिकास्टमा बिना डकुमेन्ट बलजफ्ति जग्गा कब्जा गर्नु; त्रिविकै जग्गा तथा अचल सम्पत्ति छानबिन समिति २०८१ काे प्रतिवेदन आफैंले क्याबिनेट डिसिजन गरि गरेर क्रिकेट रङ्गशालालाई प्रतिवेदनले सार भनेकाे सुझाव र निर्देशन विपरीत उल्टै मन्त्री कुलमान घिसिङले क्यान र त्रिविबिचकाे सम्झाैता अवधिपनि आऊने २०८३ वैशाखमा सकिनलाग्दा पनि थप दस अर्ब रूपैयाँ लगानी गरेर आफैंले प्रतिवेदन नमान्ने अराजक भएकाे आदि हुन् ।

अझ शिक्षा मन्त्रालयकाे गम्भीर चाल के देखिन्छ भने त्रिविकाे कुलपति प्रधानमन्त्रीबाट बाेर्ड अफ् ट्रस्टिजमा व्यक्तिलाई अब बनाएर आफू अनुकुल युनिवर्सिटिजलाई चलाउने रे ! नेपालका नयाँ नयाँ बिना स्राेतसाधन खाेलिएका युनिवर्सिटिजका हकमा याे कदाचित उचित हाेलापनि तर नेपालकाे करिब अस्सी प्रतिशत विद्यार्थी भार थामेकाे त्रिविमाथि याे चुनावी सरकारले केवल कीर्तिपुरवासी र एमाले कम्युनिस्ट प्रगतिशील प्राध्यापकबाट दस जनाकाे टीम बनाएर यति ठूलाे त्रिविकाे चान्सलर प्रमबाट व्यक्तिमा फेर्ने कुराे नितान्त गलत र अस्विकार्य हुनेछ । नेपालकाे उच्च शिक्षामा नै गम्भीर असर पार्ने निश्चित छ । त्रिवि जस्ताे केन्द्रीय र नेपालकै पुरानाे युनिवर्सिटिले उच्च शिक्षामा सरकारकाे भरमार अथाह लगानी खाेजेकाे ठाउँमा प्रधानमन्त्री कुलपति कार्यकारी शक्ति भएकाे मान्छेले नै याे आवश्यकता त्रिविकाे पूरा गर्ने हाे । यहि साेचेर विगतमा राजालाई कुलपति राखिएकाे थियाे । आजपनि बेलायतकाे ईडिनबर्घ युनिवर्सिटिमा महारानी एलिजाबेथपछि उनकी छाेरीलाई नै कुलपति राखिएकाे छ तर त्रिविमा कम्युनिस्ट एमाले र २०३७ सालमा वामपन्थी खेमाबाट नेपाल राष्ट्रिय शिक्षक संगठनमा चितवनमा काेषाध्यक्ष जितेका शिक्षक महावीर पुन (मान्य शिक्षामन्त्री)लाई किन बाेर्ड अफ् ट्रस्टीज नै चाहियाे ? अहिलेपनि त मान्य पुन एमालेकै दसजनाकाे टीमले कब्जा गरेरै मन्त्रालय र त्रिवि चलाइराख्नुभएकाे हाे ! अब के कब्जा गर्न पुगेन भन्ने सवाल उठेकाे छ ।

यसरी धेरै मन्त्रालयमा यस कार्की सरकारका यस्ता अराजकता देखिन्छन्, जुन आम जनतामा दण्डहीनता बढाउने र देशलाई भाँडभैलाे मच्चाउने दिशामा डाेर्याएकाे देखिन्छ । परिणामत: ताेकिएकाे समय २०८२ फाल्गुण २१ गते चुनाव नहुने र सरकारले आयु बढाउने देखिन्छ ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय