म को हुँ? तिमीलाई के थाहा !

अमित खनाल

मानव अस्तित्वको प्रश्न कहिल्यै समाधान हुँदैन। जब म प्रश्न गर्छु म को हुँ? उत्तर सधैँ एक छायाँ जस्तो लाग्छ, जसलाई समाउन खोजेँ, तर झन् टाढा जान्छ। म शरीर हुँ कि चेतना? आत्मा हुँ कि समाजको उपज? म मेरो अतीत हुँ कि मेरो भविष्य? कि म केवल एउटा क्षणिक भ्रम, जसको कुनै निश्चित अस्तित्व नै छैन?

मानिस सधैँ आफूलाई चिन्न खोज्छ। सायद यो उसले गर्ने सबैभन्दा पुरानो खोज हो आफैंको खोजी। हजारौं वर्षअघि गुफाको भित्तामा चित्र कोर्दै गर्दा आदिम मान्छेले पनि सोचेको हुन सक्छ म को हुँ? धर्मशास्त्रहरूले आत्माको अवधारणा जन्माए, विज्ञानले न्यूरोनहरूको जालो भित्र चेतनाको कारण खोज्यो, तर कुनै उत्तर अन्तिम हुन सकेन।

म समाजको उपज हुँ कि स्वतन्त्र चेतना?
मानवशास्त्र भन्छ, म एउटा जैविक प्राणी हुँ लाखौं वर्षको क्रमिक विकासबाट बनेको एक चेतनशील संरचना। मेरो शरीर प्रकृतिले बनायो, मेरो चेतनाले संसारलाई बुझ्ने भाषा सिक्यो। समाजशास्त्र भन्छ, म मात्र मानिस होइन, म समाजको प्रतिविम्ब हुँ। म त्यो संरचना हुँ, जसलाई मेरा पुर्खाहरूले बनाएका थिए, जसलाई समाजका नियमहरूले ढालेका थिए।

तर के म केवल समाजले दिएको परिचय हुँ?
यदि म एउटा निश्चित भूमिकामा जन्मेको भए, के त्यो नै मेरो सम्पूर्णता हो?
यदि समाजले मलाई एउटा नाम, धर्म, लिंग, जात, भाषा, र नैतिकता दिएको छ, के तिनै कुराले मेरो अस्तित्व निर्धारण गर्छ?

यदि म जंगलमा जन्मेको भए, जहाँ कुनै भाषा थिएन, कुनै संस्कृति थिएन, कुनै धर्म थिएन के म त्यहाँ पनि उही व्यक्ति हुने थिएँ, जुन म आज यहाँ छु?

म स्थिर छु कि प्रवाह?म आत्मसमीक्षा गर्छु।
आज म जुन विचार बोल्दैछु, त्यो हिजोको भन्दा फरक छ।
भोलि सायद झन् फरक हुनेछ।
यदि म परिवर्तनशील छु, यदि मेरो सोच हरेक पल बदलिन्छ, भने के म कहिल्यै स्थिर रुपमा ‘म’ हुन सक्छु?
के समुद्रको हरेक छाल उही हुन्छ?
के समयको प्रत्येक क्षण स्थिर रहन्छ?
यदि होइन भने, म किन एक निश्चित पहिचान खोज्न दौडिरहेको छु?
बुद्धले भने आत्मा भन्ने कुनै चीज छैन, किनकि सबै कुरा परिवर्तनशील छ।
तर अरू धेरै दर्शनहरूले भने आत्मा अमर छ, स्थायी छ।
त्यसैले म अलमलमा छु। यदि म स्थायी हुँ भने किन मेरो अस्तित्व प्रत्येक क्षण बदलिँदै छ? यदि म मात्र परिवर्तन हुँ भने, कसले परिवर्तनलाई महसुस गरिरहेको छ?

म मेरो भोगाइ हुँ कि मेरो सम्भावना?
मेरा अनुभवहरू मेरो जीवनका पानाहरू हुन्। म तिनै भोगाइहरूबाट बनेको छु
तर म केवल भोगाइको संग्रह मात्र हुँ त?

यदि मलाई मेरो विगतबाट अलग गरियो भने, के म अझै पनि उही व्यक्ति रहनेछु?
यदि कुनै दिन मेरो सबै सम्झना हरायो भने, के म अझै पनि म नै रहनेछु?
हुन सक्छ, म मेरो विगत होइन, म त्यो सम्भावना हुँ, जुन म बन्न सक्छु।
सायद म कुनै निश्चित अस्तित्व होइन, म त एउटा सम्भावनाको सतत यात्रा हुँ।

म वास्तविक छु कि कल्पना?
कुनै दिन मेरो चेतना रोबोटमा सार्न सकियो भने, त्यो रोबोट म हुनेछ कि म मर्नेछु?
यदि म कुनै अन्य शरीरमा पुनर्जन्म लिएँ भने, म उही व्यक्ति हुनेछु?
यदि मेरो नाम, पहिचान, समाज, भाषा सबै मेटियो भने, के म अझै पनि म नै रहनेछु?

अर्थात्, म वास्तवमै छु कि केवल चेतनाको एउटा क्षणिक भ्रम?
तिमीलाई के थाहा!
तिमी मलाई नामले चिन्न सक्छौ। मेरो अनुहार सम्झन सक्छौ। मेरा विचारहरू बुझ्न सक्छौ।
तर के तिमी मलाई वास्तवमै बुझ्न सक्छौ?
किनभने जब तिमी भोलि मलाई भेट्छौ, म आजको म हुने छैन।
जब म यो प्रश्न पुनः गर्छु म को हुँ?
सधैँ नयाँ उत्तर आउनेछ।

किनभने म को हुँ? तिमीलाई के थाहा !

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय