सबैका ‘हरिबोल’ कहिल्यै नबोल्ने गरी बिदा भए
शिरज शर्माअसल मानिसलाई आफ्नो भन्दा देशको बढी चिन्ता र चासो अनि साथीभाइको बढी माया हुन्छ। अझ देशभन्दा टाढा छ भने उसको परिवार र मातृभूमि प्रतिको माया अपार हुन्छ, बेजोड हुन्छ र त्यसलाई कुनै यन्त्रले मापन नै गर्न सकिन्न । यो उसको गुण हो,स्वभाव हो र संस्कार पनि हो।
हो, यस्तै गुण स्वभाव र संस्कार भएका ब्यक्ति थिए काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटीका हरिबोल भण्डारी । नेपालका हरेक राजनीतिक दल,सामाजिक संस्था र राज्यका निकायमा सम्बद्ध युवादेखि जेष्ठ नागरिक हुन् वा अमेरिकाको हरेक राज्यमा बसोबास गर्ने र घुम्न मात्रै जाने नेपाली हुन् हरिबोल सबैसँग उत्तिकै परिचीत थिए। आफन्त साथिभाई र हितैषी मात्रै होइन नेपाली भनेपछि जोसँग पनि उनको असाध्य निकटता थियो।
दु:खको कुरा अब ती सबै सम्बन्ध भौतिक रुपमा पुनः जोडिन कठिन छ। हरिबोलसँगका सम्बन्धहरु केवल स्मरणमा मात्रै सिमित भएका छन् । ती असल अब ब्यक्ति हामी माझ छैनन् । छैनन् मात्रै होइन भौतिक रुपमा अब भेट पनि हुँदैनन् ।
हरेक वर्ष जस्तै यो बर्ष पनि दसैं नजिकिएको छ। जब दसैंको चहलपहल सुरु हुन्थ्यो त्यै बेला अमेरिकादेखि हरिबोल टुप्लुक्क नेपाल आइपुग्थे। बिरामी आमा अनि परिवारका अन्य सदस्यलाई भेट्न प्रायः नेपाल आइरहने हरिबोलले यो बर्षदेखी हामी कसैसँग पनि भेट गर्ने छैनन् । तर, मन मस्तिष्क र मुटुमा सदैव रहनेछन् । उनको परिवार मात्रै होइन हजारौं साथी र शुभेच्छुकले उनलाई भूल्न गाह्रो छ।
अब केही दिनमा नेपाल आउँदैछु,एयरपोर्ट झरिसके,दिउँसो त्यो ठाउँमा भेटेर कफि गफ गरौंला ! उनका यस्ता कुरा म मात्रै होइन धेरैले स्मरण गरिरहेका छन् । त्यसमाथि राजनीतिक रुपमा नेपाली कांग्रेससँग आवद्ध भएका कारण पार्टीको नेताकार्यकर्ता धेरैले उनलाई असल रुपमा चिन्दथे। पार्टीको क्रियाशिल सदस्य देखि वडा इकाइ हुँदै केन्द्रिय नेतृत्व सम्म उनको सामीप्यता थियोे। उनलाई माया गर्ने हजारौं साथीहरू आज हरिबोल छैनन् भन्ने कुरा पत्याउन गार्हो मानिरहेका छन् ।
जेन-जी आन्दोलनको झिल्कोले पुरै देशमा आगो दन्किरहेको थियोे, नेताका घर,गाडी र निजि सम्पत्तिमा लुटपाट र आगजनी भैरहेको थियो, सार्वजनिक सम्पत्तिमा तोडफोड र विध्वंस मच्चिएको थियो। त्यही समयमा हरिबोलले विदेशी भूमिमा गुमनाम संसार छाडे । पत्याउनै गाह्रो पर्ने यो खबरले पनि देशमा फैलिएको आगोले जत्तिकै हाम्रो मस्तिष्कलाई खरानी बनायो। हरिबोल अब हामी माझ छैनन् ! भन्ने कुरा हाम्रालागि केही सोच्नै नसक्ने,कसैसँग सोध्नै नसक्ने र सामाजिक सञ्जाल खोल्नै नसक्ने गरि हुरी बनेर आइदियो। के समस्या आइलाग्यो ! के कुरामा मन बहकियो र विरक्त भए ! कुन परिस्थितिले बाटो मोड्यो ? कसैले भेउ पाएका छैनन् ।
परिवारसँग आत्मीय र सुमधुर सम्बन्ध,साथीहरू बीच असल र लोकप्रिय अनि राजनीतिक रुपमा आशावादी युवा नेता थिए हरिबोल । त्यसैले लाग्थ्यो उनलाई संसार नै छाड्नुपर्ने कुनै बाध्यकारी अवस्था थिएन । अघिल्लो बर्ष उनी नेपाल हुँदा जोरपाटी स्थित घरमा हामी बसिरहेका बेला उनको मोबाइलमा अमेरिकाबाट तारन्तार फोन आइरहेको थियो, त्यो फोनमा उनको साथी कृष्ण लामिछानेले अमेरिका स्थित घरमै ‘आत्महत्या’ गरेको सन्दर्भमा थियो। हरिबोलका निकट साथीमध्य कृष्ण पनि थिए। तर,कृष्णले जुन बाटो अपनाए हरिबोल त्यसको विपक्षमा थिए। मर्नैपर्ने अवस्था थिएन,हामी सहयोग गर्न तयार थियौं,कृष्णले रोजेको बाटो गलत छ,त्यसरी हिम्मत हार्न हुन्नथ्यो ! यस्तै यस्तै कुरा हरिबोलले सुनाए। त्यसपछि झन्डै १०/१२ जना उस्तै प्रकृतिको मृत्यु रोज्ने साथीहरूका बारेमा पनि कुरा भए र हामी छुट्टियौं । हरिबोललाई मैले कहिल्यै निरास र हतोत्साही देेेखीन। मैले जति समय संगत गर्न पाएँ जहिले पनि सकारात्मक र उर्जाशिल ब्यक्तिको रुपमा चिने।
नेपाली कांग्रेस महासमिति सदस्य रहेका हरिबोल काठमाडौं क्षेत्र नम्बर-३ बाट सांसद बनेर जनताको सुखदुःखको सारथि बन्न चाहन्थे। २०७९ मा उनले सन्तोष चालिसेलाई चुनाव जिताउन आफैं कमान्डर बने। त्यसभन्दा अगाडि स्थानीय निर्वाचनमा गोकर्णेश्वर नगरपालिका प्रमुखमा दिपक रिसाल र कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा उपेन्द्र कार्कीलाई विजयी बनाउन पनि भूमिका खेले । राजनीतिक आस्थाका हिसाबले कांग्रेससँग जोडिए पनि वामपन्थी दलहरू एमाले,माओवादी र एकीकृत समाजवादीका धेरैजसो नेताकार्यकर्ता उनिसँग निकट थिए। उनले कसैलाई राजनीतिक आँखाले हेर्दै हेरेनन् ।
उनले २०७८ साल पौषमा सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खर्स आर्य समूहबाट उम्मेदवारी दिएर १५९३ मत प्राप्त गरेका थिए । तर, यो मत जितका लागि भने पर्याप्त भएन । केही मतले उनी केन्द्रीय समिति सदस्य हुनबाट रोकिए ।
नेपाली काँग्रेसको यो महाधिवेशनको नेतृत्व चयन प्रक्रिया गुट उपगुटमा विभाजित थियो । यद्यपि भण्डारीले त्यतिबेला भनेका थिए-‘काँग्रेसका महाधिवेशन प्रतिनिधिले मलाई दिनुभएको मतमा सबैलाई जस जान्छ । म हारेको होइन, थाकेको पनि छैन।’ उनले पार्टीको अनुशासन र बिचार मुख्य कुरा हो भन्दै यसो पनि भनेका थिए-‘बिपी विचारको शस्त्र बोकेको यो सिपाही न हारेको छ न थाकेको छ अझ बढी उत्साहित वनेको छ जति गर्न सकिन्छ त्यसका लागि अझै बढी कृयाशिल रहने छु ।’
विद्यार्थीकाल देखि नै काँग्रेस राजनीतिमा सक्रिय थिए भण्डारी। पछिल्लो समय युवा व्यवसायीको पनि परिचय बन्दै थियो। नेपाल र अमेरिकामा उनका व्यवसाय फष्टाएकै थिए। उनी विदेशमा बस्ने नेपालीको संस्था एनआरएनएका सल्लाहकार समेत थिए । त्यसैले पनि अमेरिका मात्रै होइन विश्वका सबै देशमा बस्ने नेपालीसँगको पहुँचमा उनको राम्रो सञ्जाल थियो । स्वदेशी भूमिमा त उनी झन् सबैको प्रिय र रोजाईको ब्यक्ति थिए। त्यसैले आफ्नो क्षेत्रबाट सधैं अब्बल मत ल्याएर पार्टी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य दोहोरिरहन्थे।
सबैसँग उत्तिकै निकट र सहयोगी हरिबोललाई नेपाली भूमिमा अन्तिम विदाइ सम्म गर्न पाइएन । यद्यपि उनका कयौं आफन्त,साथिभाइ र शुभेच्छुक समर्थकले अमेरिका स्थित टेक्सासमा अन्तिम विदाइ गरे। हाम्रा लागि चाहिँ अब आउँदैछु, जाँदैछु,भेटौंला र सँगै कफि खाउला भन्ने त्यो आवाजको अन्त्य भएको छ। अब यत्ती मात्रै भन्न पाइयो जहाँ रहेपनी सबैको प्यारो भएर रहनु ! भावपूर्ण श्रद्धाञ्जली !!!