तीज : जहाँ बाबाको आँगनी र आमाको माया होस् !
मीरा बस्ताकोटी
नेपाली महिलाको महत्त्वपूर्ण चाड भन्ने बित्तिकै सबै नारीको मुहारमा मुस्कान र दिमागमा चन्चल हुने ‘तीज’ पर्व नजिक आइसकेको छ। तीज आयो भन्ने बित्तिकै नारीहरूको उत्सुकता र मन जाग्ने गर्दछ किनकि तीजमा मनका भावनाहरु नदीका पानी जसरी सतहको अन्दाज नै नगरी वेपर्वाह निस्कन्छन् । मनभित्रका कतिपय पीडा र वेदनालाई तीजका मिठा भाकामा मनबाट गीत स्वरुप गाउने गरिन्छ। त्यसैले जति पीडा भएपनी ‘तीज’ हामी नेपाली नारीको हर्ष र उत्साहको पर्व पनि हो।
हो, मलाई पनि त्यो तीज अर्थात उ बेलाको तीज ! अहिले पनि आँखा वरिपरि घुमिरहेको हुन्छ। बाबा-आमाको आँगनमा जम्मा भएर नाच्ने,गाउने रमाइलो गर्ने ती दिदीबहिनीको यादले सधैं घेरिरहेको हुन्छ। आहा ! त्यो पल आँखा अगाडि खम्बा बनेर अहिले पनि उभिए जस्तो लाग्दछ।
मलाई संझना छ त्यो रमाइलो क्षण, जब तीजको दरखाने दिन मेरा दिदी बहिनी अनि दाजुभाईसँग साँझमा खाना खान्थ्यौ। अनि दिदी छिमेकी दिदीहरु आँगनमा छमछमी नाच्नुहुन्थ्यो त्यो मिठो धुनमा। हामी ताली बजाएर हेर्न उत्सुक भएपनी दिदिहरुको पिडाका ती भावहरु समेटिएका गीत त्यति बुझ्दैनथ्यौ। केहिबेर संगै बसेर हामी बहिनी र दाजुभाइ आएर सुत्थ्यौ। तर, दरखाने दिन राती दर खानुपर्छ भन्ने थाहा पाएका हामी कसरी निदाउनु !
हाम्री आमा भन्नुहुन्थ्यो राति दर खानु पर्छ। म सुतिरहेको बेलामा आमा दिदीहरुले मात्रै खानुहुन्छ कि भन्ने लोभले निद्रा नलागेपनी सुतिहाल्थे। तर, आमा अनि दिदिहरुले मलाई नबोलाई कहाँ दर खानुहुन्थ्यो र ! निन्द्रामा मलाई बोलाएर अगेनाको छेउमा ल्याउनुहुन्थ्यो । अनि त्यहीँ घेरामा जम्मा भई सबै परिवार मिलेर तीजको दर खान्थ्यौ । बाबा सधैं भन्नुहुन्थ्यो-‘ल है मज्जासँग खानुपर्छ के थाहा हामी यो परिवार यसरी फेरि एकैसाथ हौंला वा नहौंला !’
त्यति मात्रै होइन बाबाले मेरी आमा र हामीलाई पुग्यो-पुग्यो भन्दा पनि हामीलाई थपिदिनुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो ‘यो टुसाको तरकारी,ताईमा तातेको घिउ, अनदीको चाँम्रे, लट्ठे, आलु र घिरौलाको तरकारी, आलु फ्राई घिउमा तारेको, किटको ठूलो कराईमा मज्जाले तर लागेको दुध मज्जाले खानुपर्छ ।’ अनि आमा र बुबाले कुनै बर्ष हाम्री भाउजु माइती जान नपाउनु भएको बेलामा उहाँलाई पिर नपरोस् भनेर माया गर्दै ‘यो तिमीहरुले दुई घण्टा लगाएर भएपनि खानुपर्छ है, यो रमाइलो पछि नहुन पनि सक्छ’ भन्नुहुन्थ्यो ।
बुबा आमाको भनाइको अर्थ थियो, यसरी परिवार जम्मा नहुन पनि सकिएला । कसैलाई केही होला वा कोही कतै टाढा पुग्ला भन्ने उहाँहरुको कुरा हुन्थ्यो । त्यस्तै त्यस्तै कुरा गरेर रातीमा हामी दर खान्थौ। दर चाहिँ उज्यालो हुनु भन्दा अगाडि नै खाइसक्नु पर्थ्यो। हामी रमाइलोले यति धेरै खान्थ्यौ कि पकाएको सबै कुरा पेट अटसमटस हुनेगरी समेत खाइन्थ्यो। दर खाएर बिरामी पर्ने पनि हुँदैन थियो, त्यो खाएको सबै पच्थ्यो पनि । खासमा दरखाने र तीजमा रमाइलो गर्ने हामी नारीको संस्कृति हो। यो पर्व आफैंमा सभ्य र भब्य रमाइलो गरि मान्ने पर्व हो।
तर, आजको तीज रमाइलो त छ,उबेलाको जस्तो चाहिँ छैन। पहिलो कुरो त हाम्रो त्यो परिवार अहिले एकै ठाउँमा छैन। कोही गाउँ,कोही शहर,कोही तराई र कोही विदेशमा बाँढिएका छौं । अनि परिवार एकैसाथ नभएपछि त्यो मिठास र रमाइलो हुने नै भएन। त्यसमाथि खानाको त्यो अर्गानिक स्वाद खोजेर कहाँ पाउनु ? आमाको हात,बुबा र दाजुभाइको साथ अनि लोकल खानाको त्यो स्वाद अब संझनामा मात्रै हुन्छ। आमाको माया घटेको होइन,दाजुभाइले गर्ने मायामा कमि पनि भएको होइन तर, परिवार एकैसाथ नहुदा त्यो दिन, त्यो मायाको मिठोपन यो मनमा काँटा जसरी लुकी बसेको छ। जे जस्तो भए पनि त्यो तीज मेरो कल्पनामा मात्रै छ। त्यो बाबाको हरेक शब्द मनभरि छाप बनेर गढेको छ। त्यो माया र ममता पनि छाती भित्रै लुकी दिन्छ। जति कोसिस गर्दा पनि मैले अब ती पलहरु पाउन सक्दिन। अहिले पनि मेरी आमा हुनुहुन्छ। तर,बाबा हुनुहुन्न। दिदी बहिनीहरु पनि आफ्नो पारिवारिक जालो भित्र घेरिएको हुनाले चाहेर पनि सबै संगै हुन सकिदैन । म जान नभ्याउदा मेरी आमा कौसीमा गहभरि आँसु लिएर वरपरका दृश्य हेरेर टोलाउनुहुन्छ भन्ने सुन्छु तर, ति आँसु पुच्छ्न जाने अवस्था मेरो पनि सधैं हुँदैन ।
हिजोको दिनमा माइतीबाट लिन आएका बुवा वा भाइ साँझमा दिदी नलिई जान्न भनि बसेको याद अझै आउँछ। त्यो बेलामा म आफू पनि पसलमा व्यस्त हुन्थे,नजिक भएका बच्चाहरु गएर खाइसक्थे। अनि आमाको आँखा चाहिँ छोरीको बाटो हेर्दै हुनुहुन्थ्यो, अलि ढिला गएर भएपनी खान्थे । आमाले फेरि राति पनि खानुपर्छ है छोरीहरुलाई भन्नुहुन्थ्यो । अहिले पनि दाजुभाइ अनि भाउजू बुहारीले धेरै नै कर गरेर बोलाउछन। उनीहरुको त्यो आग्रह पनि पूरा गर्न म आफैंले नसक्दा मन खिन्न हुन्छ। फेरि आफू उता रमाइलो गर्न जादा यता परिवारका सदस्यलाई पनि त नमज्जा हुने नै भयो।
मैले पनि दिदिबहिनीलाई बोलाउन चाहन्छु तर,घर व्यवहार सम्हाल्दै गर्दा उनीहरुको पनि समय मिल्दैन। यता मेरो मिल्दा उता उनीहरुको ब्यस्तता हुन्छ, उता मिल्दा म जान सक्दिन अनि एकले अर्कालाई गर्ने माया घटेको पनि होइन,कसैले कसैलाई बिर्सेका पनि होइनन् ! खै किन-किन एकैसाथ बसेर अब त्यस्तै तीज मनाउने दिन कहिले पो जुर्ला र ! मैले पनि आफ्नो मात्रै खुशी हेरेर चटक्क छाडेर जादा यता श्रीमान,छोरा बुहारीलाई पनि नमज्जा हुने, उता जान नपाउदा आफ्नो पनि मन खिन्न हुने ! त्यसैले अब जो जहाँ छ त्यहीँ रमाउने र तीज मनाउने बाहेक विकल्प छैन।
दोस्रो कुरा चाहिँ यो तीज पहिलेको भन्दा फरक भएको छ। पहिले आमाले पकाएको खाने ठाउँमा अहिले होटल र क्याटरिङका खानामा मन जाने गरेको छ। पहिले अर्गानिक चाम्रे,तरकारी,घिउ र दूध दही खाने ठाउँमा अहिले अल्कोहल (मदिरा) नछुट्ने भएको छ। अनि पहिले पीडा र वेदना गाउने र आँगनमा घुमेर नाच्ने ठाउँमा अहिले छाडा र अश्लील गीतमा नाच्ने दिन आएको छ। ओत्यसैले यो कुरामा पनि मन भारी हुन्छ। हामीले संस्कृति जोगाउने हो संस्कृति मास्ने होइन ! हामीले तीज मनाउने हो बिकृती निम्त्याउने होइन । र, हामीले भावी पुस्तालाई सभ्य हुन सिकाउने हो, असभ्य बनाउने होइन। तीजको दर घरमा खाने हो,होटलमा होइन, दर एक दिन खाने हो महिनाभर होइन !
अन्तिममा म मेरा देश विदेश बस्ने सबै दिदीबहिनी छोरी सम्मलाई यो रमाइलो तीज र उमंगको बेला राम्रोसँग मनाउनु होला भन्ने कामना गर्दै सम्पूर्ण आदर अनुसार शुभकामना तीजको धेरै धेरै शुभकामना दिन चाहन्छु। खुशी रहनु, सुखी रहनु, ह्याप्पी तीज।

