मेरो कथा: ‘मेरो जीवन यात्रा’
अमित खनालमैले धेरै लेखहरू लेखेँ। कुनै लेखमा मैले मेरो देशको पीडा पोखेँ, कुनैमा समाजको अँध्यारो कुनामा उभिएका मानिसहरूको कथा समेटेँ, र कुनैमा मेरो मनमा उब्जिएका ती क्रान्तिकारी विचारहरूलाई शब्दमा ढालेँ।
तर जब आफ्नै कथालाई शब्दमा उतार्ने बेला आयो, मेरो हात काँप्यो। मेरो मनमा त्रासको बादल मडारियो। मलाई लाग्थ्यो, मेरो कथा लेख्नुको अर्थ के छ? मेरो जीवनको यो सङ्घर्ष, यो प्रेम, यो देशप्रेमयी कुराहरू कसले सुन्न चाहला? मेरो लेखनले कसैको मनमा ठाउँ बनाउन सक्ला र? यस्ता प्रश्नहरूले मेरो मनलाई गाँजेर राखे। मेरो कलम सधैं ठप्प हुन्थ्यो, जस्तो कि कुनै अदृश्य शक्तिले मेरो हातलाई बाँधेर राखेको होस्। मलाई लाग्थ्यो, म कुनै प्रख्यात लेखक वा दार्शनिक त होइन। म त केवल अमित खनाल हुँ एउटा साधारण युवा, जसको मनमा असाधारण सपनाहरूको तूफान चल्छ। यो डर, यो सङ्कोचले मलाई वर्षौंसम्म चुप राख्यो। मेरो कथा मेरो मनको कुनामा लुकेर बस्यो, जस्तो कि कुनै गोप्य खजाना, जसलाई म आफैंले पनि खोल्न डराउँथेँ।
तर अब म चुप लाग्दिन। म लेख्छु। मलाई थाहा छ, यो लेखन मेरो लागि हो। यो मेरो मनको बोझ हल्का गर्ने बाटो हो। यो मेरो आत्मालाई मुक्त गर्ने तरिका हो। यो किताब सायद कुनै ठूलो प्रकाशन गृहमा छापिँदैन। यो कथा कुनै पुस्तकालयको र्याकमा धूलोले ढाकिएर हराउन पनि सक्छ। तर मलाई यो कुराले अब रोक्दैन। यो मेरो कथा हो मेरो सङ्घर्ष, मेरो प्रेम, मेरो देशप्रेम, र मेरो मनको गहिरो तहमा लुकेर बसेका ती भावनाहरूको कथा। यो कथा सायद सबैले नपढ्लान्, तर यो मेरो सत्य हो। यो लेखन मेरो मुक्ति हो। मलाई विश्वास छ, यो कथा लेखेर म आफूलाई मुक्त गर्नेछु। मेरा यी शब्दहरूले मेरो मनको ती बन्द ढोकाहरूलाई खोल्नेछन्। र सायद, कुनै दिन, कसैको मनमा यो कथाले ठाउँ बनाउनेछ। कुनै एक पाठकले मेरो सङ्घर्ष बुझ्नेछ, मेरो देशप्रेम महसुस गर्नेछ, र मेरो सपनाहरूसँग जोडिनेछ।
मलाई लाग्छ, यो लेखन मेरो आत्मसँगको संवाद हो। म मेरो भित्री अमितलाई भेट्न चाहन्छु त्यो अमित, जो सधैं सपनाहरूको पछि दौडिन्छ, तर वास्तविकताको कठोर धरातलमा ठोक्किन्छ। मलाई थाहा छ, मेरो कथा लेख्नु सजिलो छैन। यो कथामा मेरो पीडा छ, मेरो असफलता छ, मेरो प्रेमको टुक्रिएको टुक्रा छ, र मेरो देशप्रेमको आगो छ। तर यो कथा लेख्नु मेरो कर्तव्य हो। यो मेरो मनको आवाज हो, जसलाई मैले अब दबाउनु हुँदैन। म लेख्छु, किनभने यो मेरो सङ्घर्षको गवाही हो।
मेरो परिचय: एउटा फरक युवा
म अमित खनाल, २३ वर्षको एक युवा। बाहिरबाट हेर्दा म सामान्य देखिन्छु साधारण अनुहार, साधारण पहिरन, र साधारण जीवन। तर मेरो मन र मस्तिष्कमा सधैं एक तूफान चलिरहन्छ। मलाई लाग्छ, म यो उमेरमा हुनुपर्ने भन्दा धेरै गम्भीर छु। मेरो विचारहरू, मेरो सपनाहरू, र मेरो देशप्रेमले मलाई सधैं एउटा भँवरमा फसाउँछ। म बुटवलमा हुर्किए, साधरण परिवारमा, तर मेरो परिवारको कथा साधारण छैन। मेरो बुवा एक क्रान्तिकारी, मेरी आमा एक असाधारण महिला, र म एक यस्तो युवा, जो आफ्नै विचारहरूको बोझले थिचिएको छ।
तर मलाई सधैं देशको अवस्था, समाजको गति, र परिवर्तनको सपनाले पछ्याइरह्यो। मलाई लाग्छ, म मेरो समयभन्दा अगाडि छु, तर यो हुनु बोझ पनि हो। मलाई मेरो देशको लागि केही गर्न मन छ, तर मलाई थाहा छैन कसरी। यो कथा मेरो हो, तर यो हरेक ती नेपाली युवाको पनि कथा हो, जो सपना र वास्तविकताको बीचमा सङ्घर्ष गरिरहेका छन्।
मेरो परिवार: सङ्घर्षको कथा
हामी मध्यमवर्गीय परिवारबाट हौं। मेरो बुवा १८ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) मा जोडिनुभयो। उहाँले देशको प्रगतिका लागि आफ्नो जीवन समर्पित गर्नुभयो, व्यक्तिगत फाइदाको लागि कहिल्यै राजनीति गर्नुभएन। बुवाको यो समर्पणले हाम्रो परिवारको जिम्मेवारी मेरी आमाको काँधमा आयो। आमा, एक साधारण तर असाधारण महिला, हाम्रो परिवारको आधारस्तम्भ हुनुहुन्थ्यो। आमा पनि मसाल मा आबद्द् हुनुहुन्थ्यो। म र मेरी बहिनीलाई स्कूल पठाएर आमा प्रायः राजनीतिक काममा व्यस्त रहनुहुन्थ्यो। हाम्रो परिवारको आर्थिक अवस्था सधैं तंग थियो, तर आमाले हामीलाई कहिल्यै अभाव महसुस गर्न दिनुभएन। उहाँले घरको काम, हाम्रो पढाइ, र हरेक साना-ठूला जिम्मेवारी आफ्नो काँधमा बोक्नुभयो।
मलाई अझै पनि सम्झना छ, २०६० सालको कुरा। बुटवलका सडकहरू गणतन्त्रको नाराले गुञ्जिरहेका थिए। क्रान्तिकारीहरूको भीडले सडक रङ्गिएको थियो। म सानो थिएँ, सायद ३-४ वर्षको। आमा हामीलाई प्रायः मसालको पार्टी कार्यालयमा छोडेर जानुहुन्थ्यो। म र मेरी बहिनी त्यहाँ बस्थ्यौं, जहाँ क्रान्तिकारी नाराहरू, किताबहरू, र छलफलहरूको गहिरो माहोल हुन्थ्यो। त।यो समयमा मेरा साथीहरू कार्टुन हेर्दै वा भाँडाकुटी खेल्दै रमाउँथे, तर म भने पार्टी कार्यालयको धूलोमाटोमा हुर्किरहेको थिएँ। एक दिन, मलाई सम्झना छ, २०६० सालको एउटा जुलुसमा म पनि सहभागी भएँ। म सानो थिएँ, तर उत्साहले मलाई पनि नारा लगाउने हुटहुटी चलेको थियो। म जोडजोडले कराएँ, “कमल थापा छट्टु, ग्यानेको कट्टु!” त्यो नारा सुनेर वरपरका मानिसहरू हाँसे, तर मलाई लाग्छ, त्यो मेरो बाल मनको क्रान्तिकारी भावनाको पहिलो अभिव्यक्ति थियो।
पार्टी कार्यालयमा बिताएका ती पलहरूले मेरो बाल मानसपटलमा गहिरो छाप छोडे। त्यहाँ मैले कार्ल मार्क्स, लेनिन, र माओका कुरा बुझ्दैनथेँ, तर तिनले भित्रभित्रै मेरो मनमा गहिरो प्रभाव पारिरहेका थिए। मलाई लाग्छ, ती विचारहरूले मेरो बाल मस्तिष्कमा क्रान्तिको बीउ रोपिदिए। म सानैदेखि फरक थिएँ। मेरा साथीहरू साइकल दौडाउँदै वा खेलकुदमा मस्त हुँदै गर्दा म भने पार्टी कार्यालयको कुनामा बसेर किताबहरू पल्टाउँथे, क्रान्तिकारी कुराकानीहरू सुन्ने गर्थें। मलाई लाग्छ, ती पलहरूले मलाई मेरो उमेरभन्दा धेरै परिपक्व बनायो। मलाई समाजले भन्थ्यो, “यो केटो त समयभन्दा अगाडि सोच्छ।” कसैले मलाई वैज्ञानिक बन्ने सम्भावना देख्थे, कसैले त्योभन्दा पनि ठूलो केही। तर मलाई लाग्छ, म केवल आफ्नै सोचको भँवरमा हराइरहेको थिएँ। मेरो बाल्यकाल पार्टी कार्यालयको धूलो, क्रान्तिकारी नाराहरू, र मेरी आमाको सङ्घर्षले बनेको थियो।
मेरो पहिलो प्रेम: अनया
कक्षा ९ मा पुग्दा म सरकारी स्कूलमा भर्ना भएँ। त्यहाँ मेरो जीवनमा अनया आइन्। यो उनको वास्तविक नाम होइन, किनभने म उनको गोपनीयता कायम राख्न चाहन्छु। उनी मेरो पहिलो प्रेम थिइन्, र मेरो जीवनको सबैभन्दा सुन्दर पलहरू उनकै साथमा बिते। कक्षा ९ मा हामी सँगै पढ्थ्यौं। उनको मुस्कानले मेरो मनमा एउटा नयाँ संसार खोलिदियो। उनी सधैं हाँसिरहन्थिन्, र उनको हाँसोले मलाई मेरो गम्भीर स्वभाव र राजनीतिक विचारहरूबाट एकछिन भए पनि मुक्त गर्थ्यो। हामी सँगै स्कूल जान्थ्यौं, सँगै गृहकार्य गर्थ्यौं, र सँगै सपना देख्थ्यौं। अनयाले मलाई बुझ्थिन्। मेरो देशप्रेम, मेरो गम्भीर विचारहरू, र मेरो फरक स्वभावलाई। उनले मलाई कहिल्यै मेरो विचारहरूको लागि आलोचना गरिनन्।
कक्षा १० मा पुग्दा हाम्रो सम्बन्ध झनै गहिरो भयो। हामी सँगै बुटवलको सडकमा हिँड्थ्यौं, चिया पसलमा बस्थ्यौं, र साँझमा नजिकैको पार्कमा घण्टौंसम्म कुरा गर्थ्यौं। मलाई सम्झना छ, एक दिन उनले मलाई भनेकी थिइन्, “अमित, तिमीले देशको लागि ठूलो केही गर्नुपर्छ। मलाई विश्वास छ, तिमीले गर्न सक्छौ।” उनको यो कुराले मलाई सधैं प्रेरित गर्थ्यो। उनको परिवारले मलाई आफ्नै छोराजस्तै माया गर्थे। मलाई लाग्थ्यो, हामी सधैं सँगै रहनेछौं।
कक्षा ११ मा पुग्दा हाम्रो सम्बन्धमा नयाँ रङ्गहरू थपिए। हामीले सँगै भविष्यको योजना बनाउन थाल्यौं। मलाई लाग्थ्यो, म समाजशास्त्र पढ्नेछु, र उनले मलाई साथ दिनेछिन्। हामीले सँगै काठमाडौं गएर पढ्ने सपना देखेका थियौं। तर, कक्षा ११ को मध्यतिर हाम्रो सम्बन्धमा स-साना गलतफहमीहरूले प्रवेश पाए। उनको परिवारको सामाजिक पृष्ठभूमि र मेरो परिवारको राजनीतिक विचारधाराले हामीलाई बिस्तारै टाढा गर्न थाल्यो। मलाई लाग्थ्यो, हामी यी कुराहरूलाई जित्न सक्छौं, तर म गलत थिएँ।
कक्षा १२ मा पुग्दा हाम्रो सम्बन्धमा ठूलो दरार आइसकेको थियो। हाम्रा कुराकानीहरू कम हुँदै गए। हाम्रा भेटहरूमा पहिलेजस्तो उर्जा थिएन। मलाई सम्झना छ, एक साँझ हामी पार्कमा बसेका थियौं। उनले मलाई हेरिन् र भनिन्, “अमित, हामी सायद सधैं सँगै रहन सक्दैनौं।” उनको यो कुराले मेरो मन टुक्रियो। हामीले हाम्रो सम्बन्धलाई बचाउने धेरै कोसिस गर्यौं, तर अन्ततः हामी अलग भयौं। अनया मेरो पहिलो र अन्तिम साँचो प्रेम थिइन्। उनको सम्झनाले मलाई सधैं दुखाउँछ। त्यसपछि मैले अरू केटीहरूसँग सम्बन्ध बनाएँ, तर उनको जस्तो भावना कहिल्यै महसुस गर्न सकिनँ।
कक्षा १२ को अन्तिम वर्ष मेरो लागि निकै कठिन थियो। अनयासँगको बिछोडले मलाई भावनात्मक रूपमा कमजोर बनायो। म स्कूलमा ध्यान दिन सकिरहेको थएन। मेरो मन सधैं उनको सम्झनामा हराइरहन्थ्यो। मलाई लाग्थ्यो, म मेरो प्रेमलाई बचाउन असफल भएँ, र यो असफलताले मलाई सधैं पछ्याइरह्यो। तर, यो बिछोडले मलाई एउटा कुरा सिकायो ,जीवन सधैं सपना अनुसार चल्दैन। अनयाको सम्झनाले मलाई सधैं एउटा खालीपनको अनुभूति गराउँछ, तर यो पनि मेरो कथाको हिस्सा हो।
भारतको यात्रा: अप्रत्याशित बाटो
१२ कक्षा पास गरेपछि म भारतको पुणे गएँ, मेकाट्रोनिक्स इन्जिनियरिङ पढ्न। यो मेरो सपना कहिल्यै थिएन। मलाई त समाजशास्त्र वा कानुन पढ्ने इच्छा थियो। मलाई लाग्थ्यो, मेरो विचारहरू समाज परिवर्तनका लागि बनेका छन्। तर, भाग्यले मलाई इन्जिनियरिङतिर डोर्यायो। म नास्तिक हुँ, तर कहिलेकाहीँ भाग्य शब्दबाहेक अरू केही सूझ्दैन। पुणेमा चार वर्ष बिताउँदा मैले इन्जिनियरिङका धेरै कुरा सिकेँ। तर, मेरो मन र मस्तिष्क नेपालको राजनीति, समाज, र समस्याहरूमा अल्झिरहन्थ्यो। म सधैं नेपालको राजनीतिक मुद्दाहरूमा बहस गर्थें, कुराकानी गर्थें। मलाई मेरो साथीहरूले फरक ठान्थे, किनभने मलाई यी कुराहरूले मात्र छुन्थ्यो।

पुणेमा पुग्दा मलाई भारतको विकासले निकै प्रभावित बनायो। भारतका चम्किला सडकहरू, ठूलाठूला विश्वविद्यालयहरू, र तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्रले मलाई नेपालको अवस्थासँग तुलना गर्न बाध्य बनायो। नेपालमा हामी अझै आधारभूत पूर्वाधारहरूका लागि सङ्घर्ष गरिरहेका थियौं, तर भारतमा मेट्रो रेलहरू, ठूलाठूला औद्योगिक क्षेत्रहरू, र प्राविधिक नवप्रवर्तनहरूले मलाई चकित बनाए। विशेष गरी भारतको शिक्षा प्रणालीले मलाई धेरै प्रभावित गर्यो। शिभाजि विश्वविद्यालयमा मैले अनुभव गरेको शैक्षिक वातावरण नेपालको तुलनामा निकै व्यवस्थित र प्राविधिक थियो। यहाँका प्राध्यापकहरूले विद्यार्थीहरूलाई अनुसन्धान र नवप्रवर्तनमा प्रोत्साहन गर्थे। कक्षा कोठाहरूमा प्रयोग हुने प्रविधि, डिजिटल लाइब्रेरीहरू, र प्रयोगात्मक शिक्षण विधिहरूले मलाई नेपालको शिक्षा प्रणालीको कमजोरी महसुस गरायो। नेपालमा हाम्रा स्कूलहरू र कलेजहरूमा आधारभूत प्रयोगशालाहरू र पुस्तकालयहरूको अभाव थियो। हाम्रा शिक्षकहरू मेहनती थिए, तर उनीहरूसँग स्रोतहरूको कमीले शिक्षण प्रभावकारी हुन सक्थेन।
भारतको शिक्षा प्रणालीमा मैले अनुशासन र प्रतिस्पर्धाको महत्व बुझेँ। यहाँ हरेक विद्यार्थी आफूलाई अब्बल बनाउन दौडिरहेको थियो। तर नेपालमा, हाम्रो शिक्षा प्रणालीमा यस्तो प्रतिस्पर्धात्मक माहोलको अभाव थियो। हामी अझै रटन्ते शिक्षामा अल्झिरहेका थियौं। पुणेमा मैले सिकेका कुराहरूजस्तै रोबोटिक्स, प्रोग्रामिङ, र स्वचालित प्रणालीहरू नेपालमा लागू गर्न सकिन्छ जस्तो लाग्थ्यो, तर हाम्रो देशमा यस्ता प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको थिएन। यो तुलनाले मलाई मेरो देशको लागि केही गर्नुपर्छ भन्ने भावना जागृत गरायो, तर साथसाथै मलाई यो पनि थाहा थियो कि यो काम सजिलो छैन।
पुणेमा रहँदा मैले मेरो राजनीतिक चेतनालाई पनि जीवित राखेँ। मैले नयाँ शक्ति पार्टी (नेसपा) को विचारधारालाई भारतमा रहेका नेपाली विद्यार्थीहरूका बीचमा फैलाउने प्रयास गरेँ। मैले पुणेमा नेसपाको विद्यार्थी युनियन खोल्ने पहल गरेँ। यो युनियनले नेपाली विद्यार्थीहरूलाई एकजुट बनाउने र नेपालको सामाजिक-राजनीतिक मुद्दाहरूमा छलफल गर्ने मञ्च प्रदान गर्यो। हामीले नियमित भेटघाटहरू आयोजना गर्थ्यौं, जहाँ नेपालको शिक्षा, स्वास्थ्य, र आर्थिक अवस्थाबारे बहस गर्थ्यौं। यो युनियनले मलाई मेरो देशप्रति समर्पित रहन प्रेरित गर्यो। हामीले नेपालको विकास र भारतको विकासलाई तुलना गर्दै छलफल गर्थ्यौं। उदाहरणका लागि, भारतमा नवीकरणीय ऊर्जा र डिजिटल प्रणालीको तीव्र विकासले हामीलाई नेपालमा यस्ता पहलहरूको आवश्यकता महसुस गरायो। तर, मलाई यो पनि थाहा थियो कि नेपालको सीमित स्रोत र राजनीतिक अस्थिरताले यस्ता परिवर्तनहरू ल्याउन कठिन छ।
पुणेमा रहँदा मैले आफूलाई धेरै कुरामा परखेँ। मैले सिकेँ कि जीवन सधैं सपनाअनुसार चल्दैन। मलाई इन्जिनियरिङले प्राविधिक ज्ञान दियो, तर मेरो मन समाज र देशप्रति समर्पित थियो। मलाई लाग्छ, म मेरो समयभन्दा अगाडि छु, तर यो बोझ पनि हो। मलाई मेरो देशको लागि केही गर्न मन छ, तर मलाई थाहा छैन कसरी। पुणेका चम्किला सडकहरू, व्यस्त विश्वविद्यालय, र नयाँ संस्कृतिले मलाई धेरै कुरा सिकायो, तर मेरो मन सधैं नेपालमै अडिएको थियो। मलाई लाग्थ्यो, म यहाँ छु, तर मेरो आत्मा नेपालको गल्लीहरूमा, बुटवलको धूलोमा, र मेरो बुवाको सपनाहरूमा थियो।
देशप्रेम: मेरो मनको आगो
मेरो देशप्रेम मेरो बुवा र आमाबाट आएको हो। उहाँहरूको सङ्घर्ष र समर्पणले मलाई सधैं प्रेरित गर्छ। मेरो बुवा अहिले पनि नयाँ शक्ति पार्टी (नेसपा) मा सक्रिय हुनुहुन्छ, तर मलाई लाग्छ, उहाँ अब अलि थकित हुनुभएको छ। उमेरले पनि त उहाँलाई गाँजेको छ। सधैं क्रान्तिकारी सपनाहरू बोकेर हिँड्ने मेरो बुवालाई देख्दा मलाई कहिलेकाहीँ दुख लाग्छ। उहाँले आफ्नो जीवन देश र समाजको लागि समर्पित गर्नुभयो, तर देशको अवस्था उस्तै छ। मलाई सम्झना छ, एक दिन बुवाले मलाई भन्नुभयो, “अमित, यो देश हाम्रो हो। हामीले यसलाई बनाउनुपर्छ। हाम्रो सङ्घर्षले सायद हामीलाई व्यक्तिगत रूपमा केही नदेला, तर यो देशको भविष्यको लागि हो।” बुवाको यो कुराले मलाई सधैं प्रभावित गर्छ। तर, मलाई यो पनि थाहा छ कि बुवा र आमाको सङ्घर्षले हामीलाई आर्थिक रूपमा बलियो बनाएन। सधैं मध्यमवर्गीय बनायो तर हामीलाई कहिल्यै अभाव महसुस गर्न दिनुभएन, तर मलाई थाहा छ, यो सबै उहाँहरकोको देश प्रतिको माया र परिवर्तनका लागि गरेको सङ्घर्षको कारण हो र यस्मा मेरो केहि पनि चित्त दुखाई छैन।
नेपाल फर्किएपछि म नेसपाको महाधिवेशनमा उभिएँ। मलाई लाग्थ्यो, म मेरो विचारहरू र देशप्रेमलाई पार्टीमार्फत व्यक्त गर्न सक्छु। म केन्द्रीय सदस्यको लागि उम्मेदवार बनेँ। मलाई लाग्छ, म झन्डै जित्ने अवस्थामा थिएँ, तर अन्तिममा म हारें। यो हारले मलाई निराश बनाएन। मलाई थाहा छ, सङ्घर्ष लामो हुन्छ, र परिवर्तन रातारात आउँदैन। म अझै पनि समाज परिवर्तनका लागि काम गरिरहेको छु। मलाई थाहा छ, देश विकराल अवस्थामा छ। पुराना र नयाँ दलहरूको रस्साकस्सीमा देश पिल्सिएको छ। राजनीतिक अस्थिरता, भ्रष्टाचार, र अव्यवस्थाले देशलाई पछाडि धकेलिरहेको छ। तर म हार मान्दिन। म देशका युवाहरूलाई जागरूक बनाउन लागि परेको छु। मैले “राजनीति बहस” र “अल्टरनेटिभ टक” जस्ता युवा केन्द्रित इन्टरनेट सभा र गोष्ठीहरू सञ्चालन गरिरहेको छु। यी मञ्चहरूमा हामी नेपालको शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, र राजनीतिक सुधारबारे छलफल गर्छौं। मलाई विश्वास छ, युवाहरूको चेतनाले देशलाई नयाँ दिशा दिन सक्छ।
मेरो बुवाको थकान मलाई देखिन्छ, तर उनको सङ्घर्षले मलाई सधैं प्रेरित गर्छ। मलाई लाग्छ, नेपालको भविष्य हामीजस्ता युवाहरूको हातमा छ। यो जिम्मेवारीले मलाई कहिलेकाहीँ डराउँछ, तर मਦु देखी पनि मलाई यो डरले मेरो देशप्रेमलाई कमजोर बनाउँदैन। मलाई थाहा छ, मेरो काम सजिलो छैन। तर, म हार मान्दिन। म लेखिरहनेछु, किनभने यो मेरो देश र मेरो मनको लागि हो। मेरो कथा सायद कसैले नपढ्ला, तर यो मेरो सत्य हो।
मेरो देशप्रेम मेरो मनको आगो हो। यो आगो जलाउन मलाई मेरो बुवाले सिकाउनुभयो, मेरी आमाले जागृत गर्नुभयो। मलाई सम्झना छ, सानो छँदा मसालको जुलुसमा “कमल थापा छट्टु, ग्यानेको कट्टु” भन्दै कराएको थिएँ। त्यो बाल्यकालको उत्साह अहिले पनि ममा छ। मलाई लाग्छ, यो देशप्रेमले मलाई सधैं डोर्याउनेछ। मलाई थाहा छ, नेपालको भविष्य बदल्न गाह्रो छ, तर म यो आगोलाई निभ्न दिन्न। मेरा गोष्ठीहरू, मेरा बहसहरू, र मेरो लेखनले यो आगोलाई जीवित राख्नेछ। मलाई थाहा छ, मेरो बुवा थकित हुनुहुन्छ, तर मलाई उनको सपना बोकेर हिँड्न मन छ। मलाई लाग्छ, यो देशप्रेम मेरो मनको आगो हो, र यो सधैं बलिरहनेछ।
मेरो द्वन्द्व: सपना र वास्तविकता
मेरो मन एक अस्थिर समुद्र हो, जहाँ भावनाहरूको छालहरू कहिल्यै थामिँदैनन्। मलाई लाग्छ, म मेरो सपना र वास्तविकताको बीचमा फसेको छु, जस्तो कि एउटा यात्री, जो अनन्तको बाटोमा हराएको छ, तर गन्तव्यको नाम मात्र थाहा छ। मेरो मनमा एउटा आगो बल्छयो देशलाई बदल्ने, समाजलाई उज्यालो बनाउने, र हरेक नेपालीको जीवनमा परिवर्तन ल्याउने आगो। तर यो आगो सधैं स्थिर रहँदैन। कहिलेकाहीँ यो आगो मेरा आफ्नै भावनाहरूको आँधीमा कमजोर हुन्छ। म स्थिर छैन। मेरो मन डगमगाउँछ, मेरो विचारहरू भड्किन्छन्, र मेरो आत्मा कहिलेकाहीँ आफैंसँग लड्छ। तर मेरो उद्देश्य स्पष्ट छम मेरो देशको लागि जिउन चाहन्छु, म मेरो देशको लागि मर्न चाहन्छु। यो देशप्रेम मेरो रगतमा बग्छ, मेरो सासमा मिसिन्छ, र मेरो हरेक सपनामा जीवित छ।
तर यो समाज, यो मूर्ख समाज, मलाई मेरो विचारहरूसँग तुलना गर्छ। मेरो सपनाहरूलाई मेरो भौतिक सम्पत्तिसँग जोख्छ। मलाई मेरो बाहिरी रूप, मेरो साधारण जीवन, र मेरो मध्यमवर्गीय पृष्ठभूमिसँग मापन गर्छ। यो समाजले मलाई मेरो विचारको उचाइमा होइन, मेरो कपडा, मेरो बोल्ने शैली, वा मेरो सामाजिक हैसियतमा हेर्छ। यो मूर्खताले मलाई कहिलेकाहीँ विचलित गर्छ। मलाई लाग्छ, यो समाजले मेरो मनको आगोलाई देख्दैन, मेरो सपनाको गहिराइलाई बुझ्दैन। मलाई तुलना गर्छ, मलाई खिसी गर्छ, र मलाई मेरो आफ्नै बाटोमा हिँड्नबाट रोक्न खोज्छ। तर मलाई थाहा छ, यो समाजको मूर्खताले मलाई पराजित गर्न सक्दैन। म यो आगोलाई निभ्न दिन्न। म यो सपनालाई मर्न दिन्न।
मेरो विगतको प्रेम, अनया, मेरो मनको एउटा खाली कुनामा अझै पनि बस्छिन्। उनको सम्झनाले मलाई सधैं दुखाउँछ। उनको मुस्कान, उनको माया, र उनले मलाई दिएको विश्वासले मेरो मनमा अझै पनि गहिरो छाप छोड्छ। कहिलेकाहीँ म उनको सम्झनामा हराउँछु। मलाई लाग्छ, यदि म उनलाई थाम्न सक्थेँ भने, सायद मेरो जीवन अर्कै हुन्थ्यो। यो सम्झनाले मलाई विचलित गर्छ, मेरो मनलाई कमजोर बनाउँछ, तर यो पनि मेरो कथाको हिस्सा हो। मलाई थाहा छ, यो पीडा मेरो शक्ति हो। यो बिछोडले मलाई सिकायो कि जीवन सधैं सपनाअनुसार चल्दैन। यो पीडाले मलाई बलियो बनायो, र यो पीडाले मलाई मेरो उद्देश्यतर्फ डोर्यायो।
मलाई मेरो लेखनले पनि कहिलेकाहीँ विचलित गर्छ। म लेख्छु, तर मलाई डर लाग्छ कि मेरो लेख कसैले पढ्दैन। मलाई लाग्छ, म मेरो विचारहरूलाई शब्दमा उतार्न सक्छु, तर के यो शब्दहरूले कसैको मनमा ठाउँ बनाउन सक्ला? यो डरले मलाई रातभरि सताउँछ। मलाई लाग्छ, म मेरो कथालाई संसारसामु ल्याउन चाहन्छु, तर यो समाजले मेरो कथालाई स्वीकार गर्ला कि नगर्ला? यो प्रश्नले मलाई सधैं पछ्याउँछ। तर मलाई थाहा छ, यो डर मेरो कमजोरी होइन। यो डर मेरो लेखनको शक्ति हो। यो डरले मलाई मेरो कथालाई अझ गहिरो बनाउन प्रेरित गर्छ। म लेखिरहनेछु, किनभने यो मेरो मनको आवाज हो।
म कहिल्यै कसैको राम्रो साथी बन्न सकिनँ। मलाई लाग्छ, मैले सबैलाई समान व्यवहार गरेँ, तर यो समाजमा प्राथमिकता र पक्षपातले ठूलो अर्थ राख्छ। मैले मेरो मनले सबैलाई माया गरेँ, तर यो समाजले मलाई मेरो विचारहरूको लागि अलग गरायो। मलाई मेरा साथीहरूले बुझेनन्। मलाई मेरा सहपाठीहरूले स्वीकार गरेनन्। मलाई मेरा नजिकका मानिसहरूले पनि कहिलेकाहीँ टाढा राखे। यो बिछोडले मलाई दुखाउँछ। मलाई लाग्छ, म सधैं एक्लो थिएँ। मलाई लाग्छ, म सधैं मेरो विचारहरूको संसारमा हराइरहेँ। तर यो एक्लोपनले मलाई कमजोर बनाएन। यो एक्लोपनले मलाई मेरो उद्देश्यतर्फ डोर्यायो। मलाई थाहा छ, मलाई यो समाजको स्वीकृति चाहिएन। मलाई यो समाजको माया चाहिएन। मलाई मेरो देशको माया चाहिएको छ। मलाई मेरो सपनाको साथ चाहिएको छ।
मेरो मनमा सधैं एक प्रश्न उठ्छ म के बन्न चाहन्छु? यो द्वन्द्वले मलाई सधैं पछ्याइरहन्छ। तर मलाई थाहा छ, यो द्वन्द्व मेरो कमजोरी होइन। यो द्वन्द्व मेरो शक्ति हो। यो द्वन्द्वले मलाई मेरो सपनातर्फ डोर्याउँछ। यो द्वन्द्वले मलाई मेरो देशप्रेमको आगोलाई जीवित राख्छ।
मलाई थाहा छ, मेरो बाटो सजिलो छैन। यो समाजले मलाई बारम्बार रोक्न खोज्छ। यो समाजले मलाई मेरो विचारहरूको लागि खिसी गर्छ। यो समाजले मलाई मेरो सपनाहरूको लागि हाँस्छ। तर म हार मान्दिन। मलाई थाहा छ, मेरो सपनाहरू ठूला छन्। मलाई थाहा छ, मेरो उद्देश्य स्पष्ट छ। म यो देशको लागि बाँच्नेछु। म यो देशको लागि लड्नेछु। म यो देशको लागि लेख्नेछु। मलाई थाहा छ, यो बाटोमा धेरै अवरोधहरू छन्। मेरो विगतको प्रेम, मेरो एक्लोपन, मेरो लेखनको डर, र यो मूर्ख समाज यी सबै मेरो बाटोका काँडाहरू हुन्। तर म यी काँडाहरूलाई पार गर्नेछु। म यी अवरोधहरूलाई जित्नेछु।
यो द्वन्द्व मेरो कथाको हिस्सा हो। यो मेरो सङ्घर्ष हो, मेरो पीडा हो, र मेरो आशा हो। मलाई थाहा छ, म एक्लो छु, तर यो एक्लोपन मेरो शक्ति हो। मलाई थाहा छ, म अस्थिर छु, तर यो अस्थिरता मेरो प्रेरणा हो। मलाई थाहा छ, म मेरो सपनाहरूको पछि दौडिरहेछु, र यो दौड कहिल्यै रोकिनेछैन। म अमित खनाल, एक साधारण युवा, तर मेरो मनमा असाधारण सपनाहरू छन्। मलाई लाग्छ, मेरो कथाले एक दिन यो देशको कथालाई बदल्नेछ। यो मेरो विश्वास हो, यो मेरो सङ्कल्प हो, र यो मेरो जीवनको उद्देश्य हो।
मेरो भविष्य: अनिश्चित तर आशावादी
मलाई थाहा छैन म के बन्नेछु। म इन्जिनियर बन्न सक्छु, समाजशास्त्री बन्न सक्छु, वा केही नयाँ बन्न सक्छु। तर, मलाई थाहा छ, म लेखिरहनेछु। यो मेरो मनको बोझ हल्का गर्ने तरिका हो। यो मेरो देशप्रेम व्यक्त गर्ने तरिका हो। यो मेरो सङ्घर्ष र सपनालाई जीवित राख्ने तरिका हो। मलाई थाहा छ, मेरो कथा सायद कसैले नपढ्ला, तर यो मेरो सत्य हो। यो मेरो मुक्ति हो।
मेरो कथा केवल मेरो होइन। यो हरेक ती नेपालीको कथा हो, जो सपना र वास्तविकताको बीचमा सङ्घर्ष गरिरहेका छन्। यो मेरो बुवाको सङ्घर्ष, मेरी आमाको बलिदान, अनयाको प्रेम, र मेरो देशप्रेमको कथा हो। म लेख्छु, किनभने यो मेरो देशको लागि हो। म लेख्छु, किनभने यो मेरो मुक्ति हो। म लेख्छु, किनभने यो मेरो सत्य हो।

