त्रिवि ईञ्जिनियरिङकाे स्वायत्ततामाथि धावा

मनोज कुमार कर्ण

त्रिभुवन विश्वविद्यालयमा हाल जतातत‌ै हलचल नै हलचल देखिन्छ अर्थात्, जसरी सबै थाेक साधारण हिसाबले जानुपर्थ्याे त्यसरी नगएर असाधारण तरिकाले गइरहेका छन् ।

यसै सन्दर्भमा गत आषाढ २० गते त्रिवि दिवसकाे अवसरमा हरेक वर्ष बजेट, ग्रेस लिष्टलगायत बस्ने सिनेट यस पालि कुलपति तथा प्रम केपी ओलीकाे व्यस्तता र युनिभर्सिटि परिसरमा आफूविरूद्ध शिक्षा/उच्च शिक्षा विधेयकबाट असन्तुष्ट र अन्य असन्तुष्टबाट हुन सक्ने सम्भावित विराेधबाट बच्नलाई आषाढ २६ गतेमात्र गएर बालुवाटार प्रधानमन्त्री निवासमा सम्पन्न भयाे ।

जुन अन्य युनिवर्सिटिकाे हकमा पनि स्वायत्तता र स्वतन्त्रताकाे विपरीत बालुवाटारमा सिनेट बसेकाे देखियाे । तर त्रिविकाे सिनेटकाे हकमा भने दुईटा अनाैठा र अन्य युनिवर्सिटिकाे तुलनामा नयाँ कुरा देखिए- पहिलाे, सिनेट अघि नै ईञ्जिनियरिङ अध्ययन संस्थान (Institute of Engineering, IOE) काे आर्थिक गतिविधिमा पाएकाे स्वायत्ततालाई कटाैती गरिएकाेमा सामूहिक राजीनामा दिनेदेखि पठनपाठन थप्प भयाे र दाेस्राे, यसपालि पनि कुलपतिले त्रिविकाे हकमा गत आर्थिक वर्ष झैं बजेटमात्र पारित हुन दिए तर नीति तथा कार्यक्रम पारित हुन दिएनन् ।

बजेटमात्र पारित हुन दिनुले कुलपति/सरकारले प्राध्यापक, कर्मचारीकाे तलब राेकेर अनि सामान्य गतिविधि त्रिविमा राेकेर खतरा नमाेल्ने तर वर्तमान रेक्टर र रजिष्ट्रारलाई केही गर्न नदिई घर जान बाध्य बनाई नयाँ एमाले भीसि प्रा. दिपक अर्यालसँगै नयाँ रेक्टर र रजिष्ट्रारलाई पनि ल्याएर सम्भवत: विगतझैं पुन: त्रिविकाे स्वायत्तताविपरीत नयाँ केही गतिविधि गर्ने मनशाय लुकेकाे प्रतीत हुन्छ । यद्यपि भीसि केशरजंग बराललाई यहि तरिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा बजेट बारे गरेर घर यहि ओली सरकारले गरेपनि वर्तमान रेक्टर र रजिष्ट्रारले भने पूरा कार्यकाल बिताएरमात्र जानेमा दृढ देखिन्छ ।

कानूनन् बलजफ्ति कसैले हटाउन मिल्दैनपनि तसर्थ, वर्तमान भीसि अर्यालले केवल त्रिवि र यस्का स्टेकहाेल्डर्स प्राध्यापक, कर्मचारी, विद्यार्थी र नेपालकाे उच्च शिक्षाकाे पक्षमा मेरिट र प्रकृयागत नै नियुक्त वर्तमान रेक्टर प्राडा खड्ग केसी र रजिष्ट्रार प्राडा केदार रिजालसँग मिलेर काम गर्नुमै चातुर्यता देखिन्छ ।

याे लेख त्रिविकाे यसै स्वायत्तता र स्वतन्त्रतासँग आईओईसँग हाल जाेडिएकाे छ ताकी आईओईका जायज असन्तुष्टीहरू जनसमक्ष र सरकार समक्ष ल्याउन सकेर हकदारले न्याय पाउन्, आमजनताले सरकारमाथि न्याय दिन दबाव बनाउन् ।

के हाे स्वायत्तता र स्वतन्त्रता ?

कुनै पनि युनिर्सिटिकाे लागि संस्थाकाे स्वयत्तता र त्यहाँका प्राध्यापककालागि उनकाे उच्च नैतिकताकाे सँगै प्राज्ञिक स्वतन्त्रता प्राण हुन् । यी दुईकाे अभावमा काेहीपनि प्राध्यापकले क्रिएटीभ कुरा बाेल्न, विवेचना गर्न, व्यवहारमा लागू गर्न सक्दैन किनकी त्यति दूरदृष्टिसम्म कहिलेकाहिं साेच्न कार्यव्यस्तताले यदि सरकारमा बस्नेले फ्री माईन्डमा साेच्न सकेन भने प्राध्यापक र युनिवर्सिटिका कार्यहरू गैह्रकानूनी लाग्न सक्छ । त्यसैले सरकारले एउटा विश्वासका साथ युनिवर्सिटिलाई स्वायत्तता र स्वतन्त्रता दिएकाे हुन्छ भने युनिवर्सिटिले ‘उच्च नैतिकता, मानवकाे कल्याणकाे प्रतिज्ञा’ आदि बदलामा सरकारलाई दिएकाे हुन्छ ।

तसर्थ, सरकार वा प्राध्यापक कसैले पनि नीजि लाभमा युनिवर्सिटि वा देशलाई डाेर्याउन कल्पणा गरिंदैन तर जब सरकारले कुनै देशमा युनिवर्सिटिलाई आफ्नाे स्वार्थमा हाँक्न खाेज्छ अनि त्यहाँ युनिवर्सिटिले नमान्ने जनाउ दिई केवल समाज र मानव कल्याणकाे पक्षमा उभ्ने भनेर त्यस्ताे सरकारकाे स्वेच्छाचारी कदमकाे विरूद्ध जनताकाे आँखा खाेल्न मुख खाेल्छ ।

यसै सन्दर्भमा त्रिविका पूर्व भीसि प्रा. तीर्थराज खनियाद्वारा लिखित तथा सन् २०२४ जुलाई ७ तारिखमा काठमाण्डाैंकाे भृकुटी मण्डपमा विमाेचित पुस्तक शिफ्टिङ प्याराडाईम्स ईन हायर एजुकेशन : ब्यालेन्सिङ ह्युमानिज्म; साईन्टिज्म, एण्ड एकेडेमिक क्यापिटेलिज्मकाे अध्याय ३ ‘Academic Freedom and Institutional Autonomy’ बुझ्न अति जरूरी हुन्छ । पुस्तककाे पृष्ठ ६२ र ६३ मा लेखक खनियाले ओऊसु-आँसाह (Owusu-Ansah) लाई उद्धृत गर्दै लेख्छन् कि काेही प्राज्ञिक ठाउँमा काम गर्नेकाे स्वतन्त्रता उसकाे संघर्ष, विकास तथा ज्ञान, अनुसन्धान, उत्पादन, सृजना, शिक्षण, भाषण, डकुमेन्टेशन, लेखन आदि गर्ने/दिनेसँग सम्बन्धित हुन्छ (the freedom of members of the academic community, individually or collectively, in pursuit, development, and transmission of knowledge, through research, study discussion, documentation, production, creation, teaching, lecturing and writing) ।

लेखक खनियाले फेरि अर्काे महत्त्वपूर्ण संस्था अन्तर्राष्ट्रिय विश्वविद्यालय संस्था (International Association of Universities, IAS) काे सन् १९९८ मा पारित प्राज्ञिक स्वतन्त्रताकाे परिभाषा त्यहि पृष्ठ ६३ मा उल्लेख गर्छन् । IAS काे अनुसार प्राज्ञिक स्वतन्त्रता काेही विद्वान, प्राध्यापक वा विद्यार्थीकाे भन्नाले त्यस समाजकाे नियम, मान्यताभित्र उच्च नैतिकतालाई पालनगर्दै तथा अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर कुनै दबावबिना गरिने प्राज्ञिक गतिविधि हुन् । (The freedom for members of the academic community- that is, scholars, teachers and students – to follow their scholarly activities within a framework determined by that community in respect of ethical rules and international standards and without outside pressure)

त्यस्तै, युनिवर्सिटिकाे स्वायत्ततताबारे साेही अध्यायकाे पृष्ठ ६५ मा युनिवर्सिटिकाे म्याग्ना कार्टाबाट उद्धृत गरिएकाे छ । यस अनुसार, युनिवर्सिटि विश्वकाे विभिन्न भू-भागमा आफ्नै एतिहासिक सम्पदासहित समाजकाे बीचमा आफ्नाे स्वायत्ततासहितकाे संस्था हाे । …संसारकै मागका लागि युनिवर्सिटि सबै राजनैतिक प्रशासन तथा आर्थिक शक्तिबाट नैतिक र बाैद्धिक ढंगले स्वतन्त्र हुनैपर्छ (the university is an autonomous institution at the heart of societies differently organized because of geography and historical heritage. … to meet the needs of the world around it, its research and teaching must be morally and intellectually independent of all political authority and economic power, Magna Charta Universitatum, 1998; no page) ।

अब यी प्राज्ञिक स्वतन्त्रता र युनिवर्सिटिकाे स्वायत्ततालाई ध्यानमा राखेर अध्ययन गराैं कि नेपालका विभिन्न सरकारहरूले त्रिवि, त्रिविका निकायहरू चाहे चिकित्सा शिक्षा अध्ययन संस्था (Institute of Medicine, IoM) वा, आईओई वा अन्य वा अन्य कुनै अर्काे युनिवर्सिटिसँग के कस्ता व्यवहारहरू गर्दै आएका छन् ।

त्रिविमा स्वायत्तताकाे अभ्यास

त्रिविकाे जन्मबारे उनै लेखक तथा त्रिविका पूर्व भीसि खनियाकाे अर्काे पुस्तक नेभिगेटिङ हाइयर एजुकेशन ईन नेपालमा विस्तृतमा उल्लेख गरिएकाे छ । त्रिविपछि अन्य विश्वविद्यालयहरू नेपालमा विभिन्न सन्दर्भमा बनाइएका हुन्, आजसम्मपनि बनाईंदैछ पनि । त्रिविकाे हकमा भने प्राज्ञिक कार्यमा त्रिवि स्वायत्त रह्ने भनिएपनि आर्थिकरूपमा भने सरकारमाथि धेरै भरपर्ने बनाइएकाे हाे । विश्वव्यापी मान्यता अनुसार सरकारले कि आफैं युनिवर्सिटिकाे खर्च व्यहाेर्नुस् वा, त्यसलाई महँगाे पढाईकाेलागि उसैलाई शुल्क उठाउन दिउन् तर कुनैपनि अवस्थामा भने युनिवर्सिटि पदाधिकारीमाथि राजनैतिक वा, आर्थिक शक्तिकाे भरमा विचारधारा लाद्न पाईंदैन, लादिएमा तत्काल युनिवर्सिटि प्रशासनले सरकारकाे जनकल्याणबाहेककाे राजनैतिक अजेण्डालाई नकार्नुपर्छ ।

स्तम्भकारकाे जानकारी अनुसार त्रिविमा स्वायत्तता अनुसार नयाँ पाठ्यवस्तुसहित उन्नत गर्ने, त्रिविलाई घाटा नपारेर संस्थालाई टिकाउन शुल्क उठाउ र अन्यभन्दा राम्राे गर भन्ने शर्तमा सबभन्दा पहिला लुम्बिनि वाणिज्य कलेज, बुटवललाई बीबीए पढाउनलाई त्रिविका भीसि प्रा. तीर्थराज खनिया (कार्यकाल साल २०७२ – २०७६) ले प्रदान गरेका थिए । त्यसपछि अन्यले देशैभर पाएका हुन् ।

त्रिविमा ईञ्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले विगतदेखि नै अभ्यास गर्दै आएकाे स्वायत्ततामा, जानकारी अनुसार, त्यसले त्रिविकाे साधारण सिटमा पूर्ण स्कलरशीपमा मुफ्त शिक्षालाई उपलब्ध गराऊँदै आएकाे र स्वायत्ततामा संस्था टिकाउन र आर्थिक सबलीकरणगर्न स:शुल्कपनि सम्बन्धनप्राप्त कलेजले झैं ईच्छुक विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आईरहेकाे थियाे । याे दाेस्राे किसिमकाे स:शुल्क र ईच्छुक विद्यार्थीकाे हकमा आईओईले उठेकाे रकमबाट २० प्रतिशत त्रिविलाई दिने र ८० प्रतिशत आफ्नाे जरूरतमा खर्च गर्ने थियाे । हाे, यहाँनेर गड्बड वा, भनाैं त्रिविबाट छेड्खानी भएकाे हाे, जस अनुसार आज आईओई अशान्त, बन्द, हड्ताल भएकाे हाे ।

प्राप्त जानकारी अनुसार भीसि धर्मकान्त बास्काेटाकाे पालामा रेक्टर शिवलाल भुषाल र रजिष्ट्रार पेशल दाहाल अनि कुलपति आजकै श्रीकेपी ओली रह्नुहुँदा त्रिविकाे कार्यकारिणिकाे निर्णयले आईओईकाे सम्झाैतामाथि धावा बाेलिएकाे हाे । त्रिविले आफूले २० प्रतिशत रकम आईओईबाट स:शुल्क पढ्ने विद्यार्थीबाट लिएपनि बाँकी उसकाे ८० प्रतिशत रकमपनि चलाउन नदिने र त्रिविकाे मुताबिक खर्च गर्न पाउने निर्णय सुटुक्क गरेर हाल त्याे निर्णय भीसि दिपक अर्याल यहि गत आषाढ २५, साल २०८२ गते नियुक्त हुनै लाग्दा कार्यान्वयन गराउँदा आईओईमा ‘आगाे’ लाग्न गई अशान्त भएकाे हाे । संयाेग कस्ताे भने भीसि बास्काेटाकाे पालामा आईओईविरूद्ध सुटुक्क कार्यकारिणिकाे निर्णय हुँदापनि कुलपति ओली र आज उक्त अनैतिक निर्णय कार्यान्वयनपनि अचानक हुँदा कुलपति फेरि उनै ओली !

संक्षेपमा भन्नुपर्दा

याे बडाे दुर्भाग्य हाे कि मानवताकाे आधारलाई ठाेस बनाउने प्राज्ञिक स्थल नेपालमा त्रिविलगायत अन्य ठाउँमा हालसालै अमेरिकामा हार्वर्ड विश्वविद्यालयमा राष्ट्रपति डाेनाल्ड जे. ट्रम्पले असफल प्रहार गरे झैं दिनानुदिन भईरहेका छन् । नेपाली जनता मर्यादित र सुशील भएकै कारणले नेपाल सरकारका त्रिविमाथिकै अधिकांश स्वायत्तता खाेस्ने ज्यादतिहरू सहेका छन्, अन्य देशमा तत्काल विद्राेह हुन्छन् र अमेरिका नै काफी छ हेर्नलाई ।

नेपालमा स्वायत्तताहरू खाेसिएका छन्, याे आराेप हाेईन । जस्तै- १) त्रिवि सेवा आयाेगलाई लाेक सेवा आयाेगकाे काखमा बसाईदिनु कुलपति ओली नै रह्नुहुँदा भीसि धर्मकान्त बास्काेटाकै पालामा त्रिवि सेवा आयाेगका अध्यक्ष लालूप्रसाद पाैडेलले सहमति जनाएर जान दिए; २) त्रिवि सभा भीसि धर्मकान्तकै पालादेखि लगातार कुलपति ओलीले स्मृति भवन (सिनेट घर) बाहेक अन्यत्र गराउँदै आउनुभएका; ३) त्रिविकाे बजेटमात्र पारित गरेर नीति तथा कार्यक्रम नगरेर लगातार आ. वर्ष २०८१/०८२ देखि स्वायत्त निकाय त्रिविका भीसि (केशरजंग बरालले त नसकेर राजीनामा दिएरै गए), रेक्टर र रजिष्ट्रारमाथि राजीनामा दिएर घर जान अदृष्य दबाव दिने; ४) आईओएमकाे मेडिसिन पढ्ने विद्यार्थीकाे प्रवेश परीक्षाकाे हक खाेसेर चिकात्सा शिक्षा आयाेगलाई दिईसकेकाे; ५) आईओईमा माथि जनाइए अनुसार उसकाे कमाईकाे ८० प्रतिशत रकमपनि खाेस्न लगाउने; ६) ओली सरकारमै त्रिवि परिसरमा जेसिबि लगाएर क्रिकेट मैदान त्रिवि पदाधिकारीलाई नभनेर बलजफ्ति बनाउनु; ७) अर्का कम्युनिस्ट माओवादी प्रचण्डकाे सरकारमा रास्वपा ‘लाेकतान्त्रिक दल दाबी गर्ने’ शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिवि परिसरमा ट्रकका ट्रक प्रहरी परिचालन गरेर समाजशास्त्रकाे प्राध्यापककाे अन्तर्वार्ता लिएकाे जस्ता अन्य धेरै उदाहरण अझै छन् । संयाेगले स्वतन्त्रता र स्वायत्ततामाथि धावा बाेल्नेमा नेपालमा कम्युनिस्ट सरकार र साे बेला नियुक्त पदाधिकारीहरू नै अग्र पंक्तिमा छन् ।

त्रिविकाे स्वायत्तता बचाउन नेपाल/त्रिवि प्राध्यापक छाता संघहरू, कर्मचारी छाता संघ, विद्यार्थी संघ/संगठनहरूले र आम प्राध्यापकहरूले बाेल्ने हुन् । तर नबाेल्दा कार्यक्षमतामाथि वा, अज्ञानता रहेकाे वा, कसैबाट लाभ लिएर चुप्की साँधेकाे जस्ता सवालहरू यी स्टेक हाेल्डर्समाथि उठ्छ । हाल, आईओई स्वायत्ता खाेसिएकाेमा अशान्त छ, पठनपाठन थप्प छ, प्राध्यापक-कर्मचारीले सामुहिक राजीनामा दिएकाे अवस्थामा नवनियुक्त भीसि प्रा. दिपक अर्यालले कुलपति केपी ओलीसँगै वर्तमान मेरिटाेक्रेसीमा भीजन र वर्क प्लान पेपर्स पेश गरेर आएका रेक्टर प्रा. खड्ग केसी र रजिष्ट्रार प्रा. केदार रिजालकाे राजीनामा कुरेर स्वयं भीसिमा अफिसमा प्रवेश गरेर अन्य पदाधिकारीलाई सहज नबनाउनु गलत हाे ।

भीसि अर्यालले रेक्टर र रजिष्ट्रारकाे प्रवेश निषेध भनेकाे आफ्नै प्रवेश निषेध हाे नबुझ्नु नै दुर्भाग्य वा अज्ञानता हुनसक्छ । तत्काल रेक्टर र रजिष्ट्रारकाे प्रवेश सहज बनाई आईओईबारे कार्यकारीकाे विगतकाे गलत निर्णय तत्काल सच्याईनुपर्दछ र त्रिविकाे पुनर्संरचनातिर लागेर पाे भीसिकाे चारवर्षे पूरा कार्यकाल म बस्नेछु भन्नुपर्छ !

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...