सुनसरीमा दम्पतीको संकास्पद मृत्यु


सुनसरीको इनरुवा नगरपालिका-९ स्थित बाबियामा आइतबार बिहान मृत फेला परेका श्रीमान-श्रीमतीको मृत्युलाई प्रहरीले शङ्कास्पद भनेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको आशंकासति अनुसन्धान थालेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा सामान्य घरेलु विवादका कारण श्रीमान्ले कान्छी श्रीमतीको हत्या गरेर आफैँ आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको भनाई छ। ४२ वर्षीय सुदीप शर्मा खतवे र उनकी ३२ वर्षीय कान्छी श्रीमती ३२ वर्षीय नविता खातुन आइतबार घर भित्रै मृत अवस्थामा फेला परेका थिए।

प्रहरीले आइतबार दिनभर गरेको अनुसन्धानका आधारमा प्रारम्भिक रूपमा सुदीपले श्रीमतीको हत्या गरी आफू घरको टाटिबेरामा साडीको पासो लगाएर झुन्डिएको पाइएको हो। नविता घरको सुत्ने कोठामा मृत अवस्थामा भेटिएकी हुन्।

घटनापछि दुवै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नविताको मृत्यु पहिले भएको र त्यसपछि सुदीपले आत्महत्या गरेको देखिएको छ। यद्यपि विस्तृत निष्कर्ष पोस्टमार्टम रिपोर्टपछि सार्वजनिक गरिने उनले बताए।

सुदीपको पहिली श्रीमती काठमाडौँमा बस्छिन् भने उनी कान्छी श्रीमतीसँग इनरुवामा बस्दै आएका थिए। दम्पतीबिच पछिल्ला दिनमा विवाद बढेको स्थानीय बताउँछन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय