‘न्याय अझै मरिसकेको छैन’
प्रा. खगेन्द्रप्रसाद भट्टराईविक्रम सम्वत् २०७१ साल साउन १४ गते म पोखरास्थित एउटा कलेजको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भइरहेको थिएँ । त्यति बेला म पोखरा विश्वविद्यालयको उपकुलपति थिएँ । म कार्यक्रममा नै हुँदा रजिष्ट्रार डा. मानबहादुर के. सी. ले फोन गरेर केही जरुरी परेको हुँदा मलाई सकभर चाँडै विश्वविद्यालयमा आउनको लागि भन्नुभयो । कार्यक्रम सकिने बित्तिकै म विश्वविद्यालय गएँ ।
विश्वविद्यालयको सेमिनार हलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट डिएसपी सुभाष पण्डित केही सहयोगीका साथमा आएर बसेका रहेछन् । डा. के. सी. विश्वविद्यालयका शाखा प्रमुखहरूलाई सँगै राखेर उनीहरूसँग कुरा गरिरहनुभएको थियो । म आइपुगेपछि डिएसपी पण्डितले आफ्नो र साथीहरूको परिचय दिंदै विश्वविद्यालयमा भ्रष्टाचार भएको भनी उजूरी परेको हुँदा जाँचबुझको लागि आएको भने । मैले विश्वविद्यालयका शाखा प्रमुखहरूलाई उनले खोजेका कागजातहरू उपलब्ध गराउन भनें ।
सुभाषजी र उनका सहयोगीहरूले भोलि पल्टैबाट विश्वविद्यालयमा आएर फाइलहरू अध्ययन गर्न थाले । ठीकै थियो । तर करीब पाँच दिनपछि मलाई भेटेर उनले भने ‘सर, कागजातहरू अख्तियारको क्षेत्रीय कार्यालय पोखरा नै लगेर हेर्नु पर्ने भयो ।’ मैले ‘नाईं’ भन्न मिल्दैन थियो । म कार्यालयमै छु । ट्रक ल्याएर विश्वविद्यालयका सबै कागजपत्र र फाइलहरू लिएर गए ।
त्यो क्षण मेरो लागि अत्यन्त दुःखद् थियो । सरकारले मलाई विश्वास गरेर विश्वविद्यालयको उपकुलपति बनाएको थियो । मैले मेरो बलबुता र बुद्धिविवेकले भ्याएसम्म संस्थाको हितमा काम गरिरहेको थिएँ । कसैले विश्वविद्यालयको हित विरुद्धमा काम गरेको खण्डमा मैले नै त्यसलाई ठीक गर्ने मेरो दायित्व थियो । तर अहिले अख्तियारले मलाई नै विश्वास नगरेर मेरै अगाडि विश्वविद्यालयका महत्वपूर्ण कागजातहरू लिएर जाँदा मलाई निकै कष्ट भयो ।
त्यसपछि भदौ ४, ५, ६ र ८ गते (वि. संं. २०७१) मैले अख्तियारको क्षेत्रीय कार्यालय पोखरामा बयान दिनु पर्यो । रजिष्ट्रार डा. मानबहादुर लगायत अरु केही कर्मचारीहरूले पनि अख्तियारमा बयान दिए । प्रश्नहरू खासगरी कलेजलाई सम्बन्धन दिंदा, विश्वविद्यालयको भौतिक संरचना निर्माण गर्दा, आवश्वयक सामग्री खरिद गर्दा र विदेश भ्रमण गर्दा भ्रष्टाचार गरेको भन्नेमा सम्बन्धित थिए । मैले सबै प्रश्नहरूको आफूले जानेको जवाफ लिखित रुपमा दिएँ ।
म विश्वविद्यालयको प्रमुख व्यक्तिका हैसियतले अत्यन्त सचेत थिएँ । संस्थाको हित गर्नु नै मेरो प्रमुख दायित्व थियो । भ्रष्टाचार र अनियमितता म आफ्नै लागि कुनै पनि हिसाबले स्वीकार्य थिएन । अतिथि सत्कारका लागि उपकुलपतिलाई छुट्याइएको रकम पनि मैले प्रयोग गरेको थिइनँ ।
सन् २०१२ मा सेन्ट क्लाउड स्टेट विश्वविद्यालयले मलाई उहाँको विश्वविद्यालय भ्रमणको लागि आमन्त्रण गर्नुभएको थियो । म भ्रमणमा गएँ र केही दिन उहाँको अतिथि भएर बसें । म हिंड्ने दिन बिदाईको लागि उहाँ आउनु भयो र मैले भ्रमण गरेकोमा धन्यवाद दिंदै एउटा खाम मतिर बढाउनु भयो । मैले ‘यसमा के छ ?’ भनेर सोधें । उहाँले चार हजार पाँच सय अमेरिकी डलर मलाई उपहारको रुपमा ल्याउनु भएको रहेछ । मैले भने, ‘मेरो हवाईजहाजको टिकट विश्वविद्यालयले किनिदिएको छ र मैले दैनिक भत्ता पनि पाउँछु, त्यसमाथि तपाईंको यत्रो आतिथ्य । यो पैसा मलाई चाहिंदैन ।’ तर उहाँले मान्नु भएन । ‘मैले छुट्याई सकेको छु, अस्वीकार नगर्नुस्,’ उहाँले भन्नुभयो । मैले मानिनँ तर आखिरमा स्वीकार गर्नुपर्यो ।
मेरो छोरा विश्व भट्टराई अमेरिकाको नेब्रास्का राज्यमा बस्दथ्यो जुन मिनेसोटाबाट नजीकै पर्छ । म मिनेसोटाबाट नेब्रास्का गएँ प्रेसिडेन्ट पोट्टरबाट विदा भएपछि । पुग्ने बित्तिकै मैले छोरालाई म नेपाल आइपुग्नुभन्दा पहिले नै सो रकम मेरो खातामा हालिदिन भनें ।
नेपाल फर्केपछि म विश्वविद्यालयको आफ्नो कार्यालयमा गएँ र लेखा प्रमुख यादब थापालाई बोलाएर एउटा टिप्पणी लेखेर ल्याउनू र यो उपहारको रुपमा प्राप्त रकम त्यस दिनको दर अनुसार नेपाली रुपैयाँ कति हुन्छ, त्यसको हिसाब पनि ल्याउन भनें । मैले चेक बोकेरै गएको थिएँ । उनले हिसाब गरेर ल्याएको रकमको चेक काटेर दिएँ र विश्वविद्यालयको खातामा हाल्न भनें । यी कुरा हामी केही व्यक्तिमा मात्र सीमित थियो । तर अख्तियारले भ्रष्टाचारको कार्वाही अगाडि बढाएपछि यी कुराहरू बयानमा लेख्नु पर्यो ।
त्यसपछि दशैं, तिहारको बेला आयो । तिहारको भाइटीका कात्तिकको ८ गते परेको थियो । म काठमाडौंमा थिएँ । भाइटीका पछि पोखरा जाने तरखरमा थिएँ । टीकाभन्दा अगाडि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० गते केन्द्रीय कार्यालय टंगालमा उपस्थितिका लागि बोलाएको कुरा रजिष्ट्रार डा. मानबहादुर केसीले पोखराबाट गर्नु भयो ।
विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारी गरी ३६ जनालाई उपस्थितिका लागि बोलाइएको थियो । पोखराबाट सबै जना ९ गते अघिल्लो दिन नै काठमाडौं आइपुगे । सबैमा के होला भन्ने त्रास थियो । त्यसैले १० गते विहान १० बजे अख्तियारको केन्द्रीय कार्यालयमा जानुभन्दा अगाडि नै पोखरा विश्वविद्यालयको काठमाण्डौंस्थित सम्पर्क कार्यालयमा जम्मा हुनका लागि भनें । अख्तियारमा बाह्र बजेभित्र पुगिसक्नु पर्ने जानकारी आएको थियो । दस बजेभित्रै करीब सबै जना सम्पर्क कार्यालयमा जम्मा भयौं । उपस्थित सबैको अनुहार मलिन थियो । त्यसैले उनीहरूको आत्मबल बढाउनका लागि कसैले पनि आत्तिनु पर्दैन भनें । ढाडस दिने प्रयास गरें ।
सवा बाह्र बजे अख्तियार प्रमुखले हामीलाई भेट्ने भन्ने कुरा थियो । भेटको अवसरमा कसैलाई प्रश्न सोधियो भने विनम्रतापूर्वक उत्तर दिन सल्लाह दिएँ । आफूलाई जानकारी नभएको कुराको बारेमा जानकारी नभएको कुरा गर्ने भन्ने भयो । मलाई खासै चिन्ता थिएन । ‘नबिराउनु, नडराउनु’ भन्ने हाम्रो समाजमा चलेको भनाई हो । आफूले केही गल्ती नगरेको अवस्थामा आत्तिनुपर्ने केही थिएन ।
त्यसपछि हामी टंगालका लागि हिंड्यौं । बाह्र बजेभित्र कार्यालय पुग्यौं । तर बाह्र बज्यो, दिउँसोको एक बज्यो, अनि दुई बज्यो, प्रमुखको आउने लक्षण नै देखिएन । अनुसन्धान अधिकृत सुवास पण्डितले सवा बाह्र बजे भेटघाट हुने/छलफल हुने कुरा बताएका थिए । त्यसको कुनै लक्षण देखिएन ।

साथीहरूले अब हामीहरूलाई पक्राउ गर्ने र कार्वाहीको प्रकृया अगाडि बढाउने अनुमान गर्न थाले । नभन्दै केही समय पछाडि त्यही भयो । हामी ३६ जनामध्ये २४ जनालाई पक्राउ पुर्जी तथा थुन्ने पुर्जी दिइयो र त्यहीं अख्तियारको अधीनमा भइयो । पछि स्वास्थ्य परीक्षणको लागि वीर अस्पतालमा हामीलाई बसमा राखेर ल्याइयो । वीर अस्पताल आउँदा र जाँदा केही साथीहरूलाई एसएमएस गरेर हामीलाई पक्राउ गरेको कुरा जानकारी गराएँ ।
अस्पतालको प्राङ्गणमा नै प्राध्यापक कपिल श्रेष्ठ, मानव अधिकारवादी चरण प्रसाद प्रसाईं भेटिनुभयो । उहाँहरूको अभिव्यक्तिले अख्तियारले बेठीक गरेको जनाउँथ्यो । अफसोस पनि देखिन्थ्यो उहाँहरूमा ।
थुनामा पर्नेमा हामी निम्न लिखित व्यक्तिहरू थियौं–
१. उपकुलपति प्रा. खगेन्द्र प्रसाद भट्टराई
२. रजिष्ट्रार प्रा. मान बहादुर के. सी.
३. पूर्वउपकुलपति प्रा. केशरजंग बराल
४. पूर्व रजिष्ट्रार प्रा. ओम प्रकाश शर्मा
५. का. मु. सहलेखापाल यादब थापा
६. सहप्राध्यापक हरि बहादुर खड्का
७. उपप्रशासक गोवर्द्धन भट्टराई
८. विज्ञान तथा प्रविधि संकायका डीन डा. सुरेश प्रसाद बास्तोला
९. तत्कालीन कार्यकारी परिषद्का सदस्य डा. चन्द्रमणि पौडेल
१०. लेखा अधिकृत (उपप्रशासक) रविन्द्र प्रसाद बराल
११. प्राविधिक (उपप्रशासक) विनोद प्रसाद ढकाल
१२. विज्ञान तथा प्रविधि संकायका पूर्व डीन ईश्वरचन्द्र बानियाँ
१३. कार्यकारी परिषद्का सदस्य भवानी प्रसाद पाण्डे
१४. कार्यकारी परिषद् सदस्य तथा मानविकीका डीन प्रा. इन्द्र प्रसाद तिवारी
१५. प्राध्यापक पदम बहादुर शाही
१६. कार्यकारी परिषद्का सदस्य दीपकराज पौडेल
१७. कार्यकारी परिषद्का सदस्य ज्ञानेश्वर शर्मा
१८. उपप्रशासक होम बहादुर थापा मगर
१९. अर्न्तराष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक पूर्णचन्द्र शर्र्मा
२०. परीक्षा नियन्त्रक बलराम भट्टराई
२१. लेखाका उपप्रशासक ध्रुव प्रसाद अर्याल
२२. व्यवस्थापन संकायका डीन डा. कर्णवीर पौडेल
२३. ठेकेदार रामेश्वर भण्डारी
२४. उपप्राध्यापक सुरेश बराल ।
भोलि पल्ट हामीलाई बसमा राखेर विशेष अदालत बबरमहल ल्याइयो । विशेष अदालतमा हामीले फेरि बयान दिनु पर्यो । पहिलो बयान अख्तियारको क्षेत्रीय कार्यालय पोखरामा नै भइसकेको थियो । सबैजनाले बयान दिनुपर्ने भएको हुँदा एक हप्ताभन्दा बढी समय लाग्यो । बयान सकिएपछि मात्रै वकीलहरूको बहस शुरु भयो । मेरो तर्फबाट श्री हरिहर दाहाल, श्री कोपिल अधिकारी, श्री बद्रि बहादुर कार्की, श्री हरि उप्रेती र श्री राम कुमार श्रेष्ठ लगायतले बहस गर्नुभयो । श्री शम्भु थापा, श्री भीमार्जुन आचार्य, श्री माधव बास्कोटा, श्री रमण श्रेष्ठ, श्री मुक्ति प्रधान, श्री मुकुन्द शर्मा पौडेल, श्री महादेव यादव लगायत अन्य धेरै विद्वान् वकील साथीहरूले हामी आरोपितहरूको तर्फबाट बहस गर्नुभयो ।
विशेष अदालतमा एउटा मात्रै बेञ्च थियो तर पछि अर्को पनि थपियो र उक्त बेञ्चमा श्री मोहनरमण भट्टराई, श्री भूपेन्द्र प्रसाद राई र श्री नरेन्द्र कुमार सिवाकोटी तीन जना न्यायधीशहरू हुनुहुन्थ्यो । केही वकील साथीहरूले हाम्रो तर्फबाट अत्यन्तै प्रभावशाली बहस गर्नुभयो । उहाँहरूले न्यायमूर्तिहरूलाई सत्यतथ्य बुझाउन सक्नुभएकोले हामीलाई विशेष अदालतले कात्तिक २५ गते विना धरौटी साधारण तारेखमा रिहा गर्यो ।
हामीहरू कात्तिक १० गतेदेखि कात्तिक २५ गतेको विहानसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रह्यौं । हामी २३ जनामध्ये एक जना उपप्राध्यापक सुरेश बराल चाहिं अध्ययनको सिलसिलामा दक्षिण कोरियामा हुनुहुन्थ्यो । १६ जनालाई अख्तियारको केन्द्रीय कार्यालयमा र अरु साथीलाई महाराजगञ्ज नेपाल प्रहरीको तालीम प्रतिष्ठानमा राखिएको थियो । अख्तियारको केन्द्रीय कार्यालयमा तीन कोठा थिए । दुई कोठामा पाँच–पाँच जना र एउटा कोठामा ६ जनालाई राखियो । म बसेको कोठामा हामी पाँच जना थियौं– खगेन्द्र प्रसाद भट्टराई, मान बहादुर के. सी., ओम शर्मा, इन्द्र प्रसाद तिवारी र सुरेश बास्तोला ।
पहिलो दिन हामीलाई ठूलो सकस भयो । कोठामा जानु अगाडि हाम्रो जिउको खानतलास गरियो । घडी, मोबाइल, बेल्ट, कलम, कागज केही पनि साथमा लान दिइएन । कोठामा पाँच वटा खाट थिए, प्रत्येकलाई एक–एक वटा पुग्ने तर डस्ना र सिरक मैला थिए । पहिलो रात मुस्किलले सुतें । भोलि पल्ट गायत्री (मेरी धर्मपत्नी) ले घरबाट सामान लिएर आइन् र अलि सजिलो भयो । अदालतमा आउनुभन्दा अगाडि र अदालतबाट गएपछि हामी आफ्नै कोठामा मात्रै सीमित हुन्थ्यौं । फलामको ढोका थियो । त्यो बाहिरबाट सुरक्षाकर्मीले बन्द गर्थे, ताल्चा लगाएर । शौचालय जोडिएको भएकोले बाहिर जान दिंदैनथे ।
विहान र बेलुका छोटो समयका लागि आफ्ना मान्छेलाई भेट्न दिइन्थ्यो । थुनेकै भोलि पल्टैबाट नातेदार र साथी भाइहरूको भीड नै लाग्यो । कति साथीहरूले बाहिर गेटको अवरोधको कारण भेट्न पाउनु भएनछ । पछि थाहा भयो । भेट्नलाई त्यति सजिलो थिएन । बाहिर गेटमै अवरोध हुने । भित्र आएकाहरूसँग पनि राम्रोसँग कुरा गर्न नपाइने । पालैपालो मात्र भेट गर्न पाउने । छोटो समय बितिनै हाल्ने । आगन्तुकसँग कुरा गर्न सजिलो थिएन । कोठा भित्रबाट बोल्नु पर्ने । शीशाको झ्यालमा केही साना–साना प्वालहरू थिए । तिनै प्वालहरूबाट बोल्नु पर्ने, बाहिर उभिएको आगन्तुकसँग । कुरा बुझ्न गाह्रो । गायत्रीले कान कम सुन्ने हुँदा समस्या नै भयो । पछि कान कम सुन्ने भन्ने जानकारी गराएपछि भित्र आउन दियो र अलि सजिलो भयो ।
आमाको मनले मानेन । ८१ वर्षकी बूढी आमा मलाई भेट्न अख्तियार आउनु भयो । पहिलो दिन ज्यादै कष्ट भयो । आमाको आँखामा आँसु देखें । मन थाम्न सकिनँ । अन्तै आँखा लगाएँ । अब दुःख नगर्नोस्, केही समयपछि छुटिहाल्छु नि भनें । तर उहाँको मनले मानेन, बारम्बार भेट्न आउनुभयो । अदालत पनि धाउनुभयो । गायत्री, कमला, नानी (पूजा), हिमाल बाबु, शिखा सिवानीको काम थपियो । मलाई विहानै दूध लिएर आउने, बेलुका रोटी तरकारी । दाजु कृष्ण प्रसाद, भाइहरू ध्रुव अनि उत्तम, प्रभा, शान्ता, दिदी, गीता, सीता, भाञ्जी र ज्वाईंहरूको काम अख्तियार र अदालत धाउने भयो । कोपिल भाइसाहेबले धेरै मिहिनेत गरेर मुद्दाको अध्ययन गरी बहसनोट तयार गर्नुभयो । धेरै वकील साथीहरूको ठूलो साथ–सहयोग भयो । कति साथीहरूले मेरो मुद्दामा बहस गर्न नपाएकोमा दुःख पनि मान्नु भयो ।
कात्तिक २५ गते ठोस आधार केही नदेखिएकोले हिरासतमा राख्नु नपर्ने भनी विशेष अदालतले विना धरौटी साधारण तारेखमा हामी सबै जनालाई छोडिदियो । धेरै साथीहरूलाई धरौटीको रकमले चिन्तित तुल्याइरहेको बेला यो निर्णयले एक किसिमको हामी सबैमा विजयको जस्तो खुशी र उत्साह लिएर आयो ।
हामी साधारण तारीखमा छुटेपछि प्रत्येक महिना जस्तो अदालत धाउन थाल्यौं । पोखराबाट आउने साथी धेरै जसो अघिल्लो दिनै आइसक्दथे । म अब काठमाडौं नै बस्ने भएँ । दिनभरि अदालत बस्यो, अदालती कार्वाही अगाडि बढ्दैन, फेरि तारीख लियो घर हिंड्यो । यस्तो धेरै चोटि भयो । न्यायधीशहरूको मुद्दा फैसला छिटो गर्ने सोच भए पनि प्रकृया नै दोषपूर्ण देखियो ।
यसभन्दा पहिले मलाई अदालत बारे त्यति थाहा थिएन । अब विस्तारै थाहा पाउँदै गएँ । दिनभरि कुर्यो, फुस्सा । काम केही हँुदैन । समय खेर जाने । बीसौं वर्षदेखि हजारौं मुद्दाहरू अदालतमा थुप्रिएर बसेका छन् । सम्बन्धित व्यक्तिहरू कता–कता पुगिसके । मुद्दा अझै चलिरहेका छन् । फैसला कहिले हुन्छ, थाहा छैन । समय, शक्ति र पैसाको दुरुपयोग छ । यो अहिले हाम्रो न्याय क्षेत्रको यथार्थ चित्र हो । नागरिकले न्याय कहिले पाउने ? कति समय कुर्नुपर्ने ? तर अरुको तुलनामा हाम्रो मुद्दा छिट्टै अगाडि बढेको हो ।
विशेष अदालतमा बहसको अन्तिम दिन बहस सकिएपछि मुख्य न्यायधीश मोहनरमण भट्टराईले ‘उपकुलपतिजीलाई केही भन्नु छ भने छोटकरीमा आफ्नो कुरा राख्न आग्रह गर्दछु’ भन्नुभयो । धेरै दिनको बहस, धेरै वकील साथीहरूले गर्नुभएको बहस र बहस नोट पनि पेश भइसकेको अवस्थामा मलाई धेरै बोल्नु थिएन । फेरि २४ जनाको तर्फबाट वकील साथीहरूले बोल्दा कुराहरू दोहोरिएका थिए । हामी सबै सुन्दा–सुन्दै थाकिसकेका थियौं । त्यसैले बुँदागत रुपमा मात्र मैले केही कुराहरू राखें –
१) पहिले लोकतन्त्रका लागि, नागरिक अधिकारका लागि र अख्तियारलाई बलियो पार्नका लागि बोल्दा, संघर्ष गर्दा म जेल परें र अहिले अख्तियारले मलाई जेल हालेको छ । तर यसमा मलाई कुनै दुःख छैन । मुलुकमा सधैं राम्रा मात्र काम हुन्छन् भन्ने छैन, नराम्रो काम हुँदा अख्तियारले तटस्थ रुपमा अझ सशक्त भएर आफ्नो दायित्व निर्वाह गर्नुपर्दछ । अझै म त्यही कुरामा विश्वास गर्दछु ।
२) मैले कुनै गल्ती गरेको छु भने मलाई कानून बमोजिम सजाय होस् । तर कसैले चाहेको कुरा नपाउँदा रिसको आवेगमा दुःख दिने नियतले उजुर गरेको छ भने त्यसलाई राम्रोसँग केलाएर हेरियोस् ।
३) श्रीमान्हरू न्यायमूर्ति हुनुहुन्छ । तपाईंहरूले दूधको दूध – पानीको पानी छुट्याउनु हुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । तपाईंहरूले दिएको निर्णय हाम्रा लागि स्वीकार्य छ ।
४) सम्मानित अदालतको तर्फबाट म नेपाल सरकार / अख्तियारलाई केही सुझाव दिन चाहन्छु –
क) अख्तियारले कुनै संस्था या व्यक्तिले गरेको कार्यको अनुसन्धान गर्नुपर्दा तालीम प्राप्त अनुसन्धानकर्तालाई मात्र अनुसन्धानको जिम्मा दिइयोस् । दक्ष अनुसन्धानकर्ता छैन भने तालीम दिएर मात्रै कार्यक्षेत्रमा पठाइयोस् ।
ख) अनुसन्धानकर्ताले संस्थाको बारेमा, संस्थाको अधिकार क्षेत्रको बारेमा राम्रो अध्ययन गरेर मात्रै आफ्नो कार्य अगाडि बढाओस् ।
५) अन्त्यमा, अख्तियारमा उजुर गर्ने व्यक्तिको उजुरी अदालतले ठीक ठहर्याए आरोपित व्यक्तिलाई कानून बमोजिमको सजाय गरियोस्; तर उजुरी गलत सावित भएको अवस्थामा आरोपित व्यक्तिलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरियोस् । यिनै कुरा सहित विदा लिन्छु । धन्यवाद !
म अदालत धाउँदा (करीब दस महीना) मनोज कुमार कर्णले मलाई छोडेनन् । उनी सधैं मसँग अदालत जान्थे । उनी पाटन संयुक्त क्याम्पसका मेरा विद्यार्थी हुन् र अहिले त्यही क्याम्पसमा नै अंग्रेजी विषय प्राध्यापन गर्दछन् । उनी मलाई अत्यन्तै सम्मान र आदर गर्दछन् । उनले मैले सत्य निष्ठालाई पछ्याएको कारणले गर्दा मलाई एक्लै कहिल्यै छोडेनन् र विशेष अदालतमा अन्तिम बहसपछि साक्षी बकपत्र पनि मेरो लागि बके । म मुद्दा टुंगिएर विश्वविद्यालयमा हाजिर हुन जाँदा पनि मसँगै पोखरा गए । मनोज अत्यन्तै मिहिनेती छन् । निर्भीक पनि । आफ्नो कुरा बोलेर र लेखेर प्रभावकारी किसिमले व्यक्त गर्दछन् । उनले मेरो बारेमा लेखहरू लेखेका छन् र पत्रकार सम्मेलन समेत गरेर अख्तियारले अन्याय गरेको कुरा गरेका छन् ।
साउन १८ गते विशेष अदालतले हामीलाई निर्दोष ठहर्याएर सोही बमोजिमको निर्णय सुनायो । हामीले न्याय पायौं र खुशी भयौं । न्यायधीशहरूले दूधको दूध – पानीको पानी छुट्याउनु भयो र उचित न्याय गर्नुभयो । भोलि पल्ट १९ गते अदालतबाट आवश्यक कागज लिएँ र २० गते म पोखरा गएँ । त्यहाँ ठूलो भीड थियो । साथीहरूले हार्दिक स्वागत गर्नुभयो । एउटा औपचारिक कार्यक्रमकै आयोजना गरिएको थियो ।
२१ गते मैले कार्यालयमा उपस्थित भएर हाजिरी गरें । २२ गते मेरो कार्यकालको अन्तिम दिन थियो । विदाईको लागि कार्यक्रम आयोजना गरिएको हुँदा पोखराबाट लेखनाथस्थित विश्वविद्यालय जाँदै थिएँ । कान्तिपुर दैनिकका एक जना पत्रकारले अन्तर्वार्ता दिनको लागि आग्रह गरे । ‘म भोलि काठमाडौं आउँदै छु, त्यहीं आएर दिउँला’ भनें । तर उनले भोलि पल्टै अखबारमा छाप्नुपर्ने नत्र एक हप्तापछि मात्र पालो आउने कुरा गरे । त्यसैले एक हप्तापछि बासी खबर हुने हुनाले केही बोलिदिनका लागि आग्रह गरे ।
मैले गाडीमा हिंड्दै अन्तर्वार्ता दिएँ, जुन कान्तिपुर दैनिकमा छापिएको छ । उनले प्रश्न गरे – ‘तपाईंलाई अख्तियारले समाउँदा कस्तो लाग्यो ?’ मैले भनें, ‘मलाई अख्तियारले समाउँदा यस्तै लाग्यो भनेर तपाईंलाई बुझाउन सक्दिनँ । कस्तो लाग्यो भनेर थाहा पाउनको लागि तपाईं निर्दोष भएको बेलामा तपाईंलाई नै अख्तियारले समाउनु पर्दछ ।’
दोस्रो प्रश्न ‘तपाईंलाई अख्तियारले समाउँदा अरु मान्छेको कस्तो प्रतिक्रिया थियो ?’ मा मेरो उत्तर ‘सबै मानिसको एउटै किसिमको प्रतिक्रिया थिएन । विभिन्न मानिसले विभिन्न किसिमले प्रतिक्रिया दिए/दिए होलान् । कसैले भने होलान् – यो मानिस असल जस्तो देखिन्थ्यो तर पद पाएपछि बिग्रियो । कसैले भने होलान् – यस्तो सोझो मानिसलाई कर्मचारीहरूले फँसाए । कतिले विश्वविद्यालय जस्तो पवित्र ठाउँमा पनि भ्रष्टाचार देखियो । अब के आशा गर्ने – भने होलान् । मलाई राम्रोसँग चिन्नेहरूले भने – अनाहकमा खगेन्द्रलाई फसाए । यो भ्रष्टाचार गर्ने मानिस नै होइन । परिबन्धमा पर्यो होला । झुकिएर कहीं हस्ताक्षर गर्यो होला । जसले मेरो विरुद्धमाा मुद्दा हाल्यो, मलाई अख्तियारले समाउँदा ऊ रमायो होला, लड्डू खायो होला, बाँड्यो होला, खुशी भयो होला’ रहयो । त्यस्तै, तेस्रो प्रश्न ‘अब विशेष अदालतले तपाईंलाई निर्दोष भनी मुक्त गरेको छ ।
अदालतप्रति तपाईंको के भनाई छ ?’ मा मेरो जवाफ ‘अदालतले दूधको दूध र पानीको पानी छुट्याएको छ । हाम्रो मुद्दालाई निस्पक्ष किसिमले राम्रोसँग केलाएर निर्णय दिएको छ । यो मुलुकमा न्याय मरेको छैन भन्ने देखिन्छ । अदालतका न्यायमूर्तिहरूलाई तपाईंमार्फत् हार्दिक धन्यवाद दिन्छु; हाम्रो मुद्दामा सहयोग गर्नुहुने सबै वकील साथीहरूलाई हार्दिक धन्दवाद दिन चाहन्छु ।’
पत्रकारको अन्तिम प्रश्न ‘अब तपाईं कसरी आफ्नो जीवन बिताउनु हुन्छ ?’ मा मैले ‘म त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसको प्राध्यापक हूँ । चार वर्षको जिम्मा दिएर सरकारले मलाई पोखरा विश्वविद्यालयको उपकुलपति बनाएर पठाएको हो । त्रिविमा अझै मेरो सेवा अवधि दुई वर्षको लागि बाँकी छ । म फर्केर आफ्नै पुरानो थलोमा जान्छु’ जवाफ दिएँ ।

