तीनकुने घटना : दुर्गा प्रसाईं जेल पुग्दा को-को छुटे धरौटीमा ?

काठमाडौं । गत चैत १५ गते राजावादीको आन्दोलनमा काठमाडौं तीनकुनेमा भएको तोडफोड, आगजनी, लुटपाट र २ जना व्यक्तिको ज्यान गएको घटनामा पक्राउ परेका दुर्गा प्रसाईं सहित ७ जना थुनामा पुग्दा धर्म गुरु भनेर चिनिने पुष्कर खतिवडा सहित ३२ जना धरौटीमा छुटेका छन् ।
पुष्कर खतिवडालाई बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले बीस हजार धरौटीमा छाड्न आदेश दिएका हुन् । मध्य रातमा आएको आदेशमा १० हजारदेखि १ लाख सम्म धरौटीमा ३२ जना छुट्ने छन् । तर, प्रसाईं सहित ७ जना भने थुनामै हुने आदेशमा उल्लेख छ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मध्ये बिहीबार सम्पन्न ३९ जनाको थुनछेक बहसपछि मध्यरातमा खतिवडा सहित ३२ जनालाई धरौटीमा छाड्न र ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको छ ।
अदालतले दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
त्यस्तै, गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुली १० हजार, मुनेन्द्र राजभण्डारी १० हजार, कुमार बस्नेत २० हजार, अनिल कुमार थापा १० हजार, तारानाथ बोहरा १० हजार, दान बहादुर न्यौपाने १० हजार र उमेश तामाङलाई १० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।
अदालतले भानुभक्त पौडेलसँग १० हजार, विष्णुजंग बस्नेतसँग १ लाख, देवी प्रसाद सङ्ग्रौलासँग १० हजार, प्रेम थापा मगरसँग १० हजार, ओम प्रकाश लुइँटेलसँग १० हजार, तेजेन्द्र रायमाझीसँग १० हजार, मनबहादुर कालासँग २० हजार, निराजन कुमार गिरीसँग ५० हजार र प्रेध बहादुर श्रेष्ठसँग ५० हजार धरौटी लिएर रिहा गर्न आदेश गरेको छ ।
रमेश राईलाई २० हजार, दिवश बोगटी क्षेत्रीलाई १० हजार, दिलकुमार श्रेष्ठलाई १० हजार, कमलकुमार विष्टलाई २० हजार, लोकबहादुर बस्नेतलाई २० हजार र दिनेश खड्कालाई ५० हजार धरौटीमा छाड्न आदेश गरिएको छ ।
त्यस्तै अमित शाह ५० हजार, सुमन कार्की १० हजार, जितबहादुर श्रेष्ठ ५० हजार र मनोज कुमार सापकोटासँग १० हजार धरौटी लिन आदेश गरिएको छ ।

