१८औं ‘गणतन्त्र’ दिवस : ओली बोल्ने, बाबुराम सुन्ने !

शिरज शर्मा

सरकारले १८ औं गणतन्त्र दिवस मनाएको छ। कर्मकाण्डी भाषामा भन्दा यसपटक पनि भब्य समारोह बीच गणतन्त्र दिवस मनाइयो । गणतन्त्र लेखेको ब्यानर लिएर हेलिकप्टर उडाइयो, राष्ट्रपति उपराष्ट्रपति सहित गन्यमान्यलाई मंचमा उभ्याइयो,जनताको बाटो छेकेर भएपनी भिआईपीका गाडी कुदाइयो ! जनतालाई टुडिखेल बाहिर उभ्याएर आफू भित्र बसियो, त्यसैले गणतन्त्र भब्य रुपमा मनाइयो ।

त्यतिमात्र होइन टुँडिखेलको भब्य समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट गणतन्त्रकै बारेमा प्रवचन समेत सुनाइयो। ‘आजको दिन, हाम्रा लागि विशेष दिन हो । वर्षौँ लामो संघर्ष, हामी सबैको अथक मेहनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन’-ओलीले यसरी सुरु गरे ।

त्यसपछि प्रधानमन्त्रीले भने,-‘…किनभने हामी गणतन्त्रमा छौं..यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो।’ उनले अझै जोशीलो पारामा भने-,गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, आर्जन गरेका हौँ, हजारौँ जनताको बलिदानबाट र त्यागबाट । मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ । हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ ।’

प्रधानमन्त्रीको भाषणमा अझै अगाडि भनियो-‘गणतन्त्र जनताको व्यवस्था हो । यसमा यदि कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुनसक्छ । निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा पनि गणतन्त्रमा मात्रै हुन्छ । आज तपाईँ सरकारको आलोचना गर्न सक्नुहुन्छ, गर्न पाउनु भएको छ । हामी सरकार बदल्न पाउँछौँ, निडर भएर लेख्न, बोल्न पाउँछौँ ।’

सैनिक मंचमा उभिएर उनले यो पनि भने,-‘गणतन्त्र कुनै दलको स्वामित्व होइन,यसको मालिक जनता हो । लोकतान्त्रिक गणतन्त्र ‘जनताको लागि, जनताद्वारा, जनताको’ शासन प्रणाली हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् ।’

प्रधानमन्त्रीले गणतन्त्रबारे प्रवचन दिइरहेका बेला मंचमै रहेका पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई स्रोता थिए। बाबुराम तिनै हुन्,जसले संविधान सभा र गणतन्त्रका लागि ज्यानको बाजि लगाए । जनयुद्धका बेला आफ्नै सहकर्मीबाट झन्डै समातिए,आफ्नै सुप्रीमोबाट झन्डै खाडलमा पुरिए। त्यतिमात्र होइन गणतन्त्र घोषणादेखि संविधान सभाबाट संविधान जारी भएपछि र अहिलेसम्म पनि उनै बाबुरामले सबैभन्दा बढी गाली खाइरहेका छन् ।

हाम्रा राजा हटाएर गणतन्त्र ल्याउने योजनाकार भनेर राजावादी समूह र दरबार निकटका केही पात्र अहिलेपनी बाबुरामको नाम सुन्नै चाहदैनन्। तर, आजको गणतन्त्रमा त्यो बेला दरबारसँग मिल्नुपर्छ भन्ने पुष्पकमल दाहाल प्रचण्ड र गणतन्त्रको नामै सुन्न नचाहने अनि ‘गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका जानू उस्तै हो’ भनेर अपमान गर्ने केपी शर्मा ओलीको रजाइँ छ। साच्चै भन्दा बाबुरामहरु गणतन्त्रमा ‘बुद्धि नभएका डाक्टर’ भनेर गाली खाइरहेका छन्, प्रचण्ड र ओलीलाई भने अहिले गणतन्त्र फलिफाप भएको छ।

२०६१ माघ १९ मा ज्ञानेन्द्र शाहले दोस्रोपटक ‘कू’ गरेपछि तत्कालीन अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले सहित सात दल नामधारी शक्तिलाई गणतन्त्र चाहिएको नै थिएन। ज्ञानेन्द्र शाहले तुलशी गिरी,किर्तिनिधी बिष्ट,श्रीष समशेर राणा र कमल थापाको ठाउँमा आफुहरुलाई राखिदिए हुन्थ्यो भन्ने मात्रै उनीहरुको उदेश्य थियो। त्यतिबेला कांग्रेस एमालेका नेताहरूको दैनिकी भनेको ज्ञानेन्द्रका दूत मार्फत दरबार पुगेर प्रधानमन्त्री बनाइबक्सियोस् भनेर दाम चढाउने र रत्नपार्क पुगेर आन्दोलनमा जुटेजस्तो गर्ने मात्रै थियो।

उता कमरेड प्रचण्डलाई भने ज्ञानेन्द्रसँगै मिलेर एमाले कांग्रेसलाई ठेगान लगाउने र प्रधानमन्त्री भैहाल्ने चाहना बढी थियो। यसका लागि मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको सहयोगमा आफ्ना पार्टीका केही नेतालाई दरबारसँग बार्ता गर्न पठाउने प्रयासमा थिए। त्यतिबेला बाबुरामलाई युद्धमै सिध्याउने अनि भारतीय जेलमा रहेका मोहन बैद्द र सिपी गजुरेललाई उतै सडाउने प्रचण्ड प्लान थियो। आजपनी प्रचण्डको बोली र व्यबहार कहिँ न कहिँ मेल नखाने खालकै छ। उनी ‘उथलपुथल’ गर्दा ज्ञानेन्द्र नै आएपनी आफ्नो शक्ति नगुम्ने ग्यारेन्टी भए लौ त नि ! भन्न सक्ने पात्र हुन् ।

युद्धको त्यो समयमा पनि प्रचण्डले पटकपटक दरबारका मान्छेसँग भेट्न चाहेको कुरा बेलाबेलामा चुहिने गरेकै छ। तर, दरबारले खासै महत्त्व नदिएपछि प्रचण्डले बाध्य भएर सात दलको आन्दोलनमा मिसिएर राजतन्त्र फाल्ने र गणतन्त्र स्थापना गरिछाड्ने बाबुरामलाईनमा सामेल हुने निर्णय गराए। उतिबेला प्रतिगमन आधा सच्चियो भन्ने माधवकुमार नेपाल, ज्ञानेन्द्रले प्रजातन्त्र फिर्ता दिन्छन् भन्ने शेरबहादुर देउवा,गणतन्त्र र संविधान सभा कुन चराको नाम हो नै थाहा नपाउने केपी ओली र ज्ञानेन्द्रलाई नसके ‘वेविकिङ’ नै भएपनी मानेर जाने स्व.गिरिजाप्रसाद कोइरालाका अभिव्यक्ति अहिलेपनि खोजे भेटिन्छ।

त्यससँगै युद्धलाई शान्तिपूर्ण राजनीतिक आन्दोलनको रुपमा बिसर्जन गर्ने र आफू प्रधानमन्त्री हुनपाइन्छ भने गणतन्त्र र संविधान सभाको मुद्दामा लचिलो बन्ने मुड बनाइसकेका प्रचण्ड अहिले गणतन्त्र जोगाउने नै हामीले हो भनिरहेका छन् । खास अर्थमा गणतन्त्र जनताले ल्याएको हो र जनताले मात्रै जोगाउछन्  भन्ने कुरा अझै दलहरूले नबुझ्नु दु:खद हो । जनताको मन जितेर राम्रो काम गर्ने हो भने गणतन्त्र जनताको मनबाट कसैले हटाउन सक्दैन र राजावादीको आन्दोलन पनि जनताले सुकाइदिने छन् ।

तर, अहिले गणतन्त्रको असली हकदार को हो र गणतन्त्रको सहि अर्थमा संरक्षण कसले गर्न सक्छ ? भन्ने कुरा नै जनतालाई बुझाउन गार्हो भएको छ। केपी ओलीले गणतन्त्र मूल आयोजक समिति बनाएर काठमाडौँको टुँडिखेलमा सम्बोधन गर्नु र त्यसको स्रोता बाबुराम बन्नु नै दु:खद छ। जसको निति उसैको नेतृत्व नहुदा के हुन्छ भन्ने अहिले थाहा हुँदैछ, तर जनताले यो सबै बुझ्न अझै समय लाग्नेछ। दुर्भाग्य के हो भने जनताले बाबुरामलाई चिन्न र गणतन्त्रको मर्म बुझ्न जति धेरै समय लाग्छ त्यति देशले अरुबढी  दु:ख पाउँछ । गणतन्त्र र संविधान सभाको परिकल्पना र त्यहाँसम्म पुर्‍याउन डा.भट्टराईको भूमिका जति छ त्यो भन्दा बढी यसलाई हुर्काउन पनि उनैको आवश्यकता छ। जसले जन्मायो उसैलाई सन्तानको माया बढी हुन्छ। तर, कोही अभिभावक त्यस्ता पनि छन् जसले आफैंले जन्माएको सन्तान हुर्काउन भन्दा हत्या गर्न तम्सिन्छन् ।

त्यसैले गणतन्त्र जोगाउन र हुर्काउन पुराना शक्तिबाट खासै चासो दिएको पाइदैन । त्यसका लागि बिचार सहितको बैकल्पिक शक्तिको खाँचो छ । अहिलेको अवस्था हेर्दा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउने अनि समाजवाद र साम्यवादको नाम बेचेर खराब शासन गर्नेबाट नै गणतन्त्रमाथी खतरा छ। अब कांग्रेस,एमाले र माओवादीबाट गणतन्त्रको सुन्दर फूल संरक्षण हुन सक्दैन । यो सुन्दर फूलको हाँगा भाच्न तम्सिएका राजावादी र पुराना शक्तिबाट गणतन्त्र जोगाउन सबै लागौं । गुलियो भाषण गर्नेलाई होइन समृद्ध देशको सपना बोकेर हिंड्नेलाई विस्वास गरौं ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय