‘म’ र मेरो ‘आत्मसंवाद’
अमित खनाल
म एकछिन आफूभित्र हराउँछु। बाहिरको संसार शान्त देखिन्छ, तर म भित्र एउटा द्वन्द्व चलिरहेको छ। विचारहरू गुँजिरहेकाछन्, कल्पनाहरू जुधिरहेका छन्,र मन… त्यो त अजीब ढंगले चञ्चल हुँदै गएको छ।
अहिले मेरो सोचको आकाशमा घनघोर कालो बादलहरू मडारिइरहेका छन्।यी बादलहरू केवल मौसमी होइनन् यी मेरो भावनाका बादल हुन्।एकैछिन लाग्छ म धेरै नजिक पुगेको छु आफ्ना सपनासम्म,तर अर्को क्षण,लाग्छ म अझै त्यत्तिकै टाढा छु, सायद हिजोभन्दा पनि।
हिजो मसँग केही थिएन न त परिचय, न त पहिचान।तर मभित्र एउटा इच्छा थियो केही बन्ने, केही गर्नेसम्मको।आज मसँग केही छ,शब्द छन्, परिचय छ, भूमिका पनि छ।तर त्यो ‘केही’ म बन्न चाहेको ‘म’ होइन।
त्यसैले, आज फेरि लागिरहेको छ म त्यो बालक बन्न चाहन्छु जसले भविष्यबारे नसोचीहालको कल्पनामा रमाउँथ्यो।जो थाक्दैनथ्यो, डराउँदैनथ्यो,र एकोहोरो सपना देख्थ्यो।
आज मेरो मन निकै चञ्चल छ अत्यन्त अस्थिर।यो कहिले आँधीझैं दौडिन्छ,कहिले मौन नदीझैं थाकेर बस्छ।यसको आकांक्षा अनन्त छ,तर ती आकांक्षाहरूको मार्ग अस्पष्ट छ। कहिले लाग्छ म परिवर्तन गर्न सक्छु,तर अर्को पल्ट, आफैलाई नियाल्दा,लाग्छ म आफूलाई नै बुझ्न असमर्थ छु।
म कहिलेकाहीँ अड्कन्छु,अनि प्रश्न गर्छु के म साँच्चिकै बाँचिरहेको छु ? कि देखावटी मात्रै ? मैले केवल दिनहरू गन्दै समय बिताइरहेको त छैन ? यसको जवाफ पनि पाउन सकिरहेको छैन।
त्यस्तै बेला सम्झनाहरूले टोक्छन् । झरीमा खेल्ने ती दिनहरू,जहाँ लक्ष्य थिएन, तर उत्साह थियो।अहिले उद्देश्य छन्, तर ऊर्जा छैन।
तब स्वतन्त्रता थियो, अहिले जिम्मेवारी छ।त्यसैले मन अलमलिन्छ स्वतन्त्र बालक र जिम्मेवार युवा बीच।
तर म बुझ्दैछु,मानिस केवल लक्ष्यले मात्र होइन,द्वन्द्वले पनि बाँच्न सक्दोरहेछ । उही चञ्चलता अनि त्यो अस्थिरता ! सायद यही हो मेरो प्रेरणा ।
सायद यो मनको बिचलन स्थायी हो,तर त्यसभित्र कतै गहिरो तिर्सना छ आफ्नो अस्तित्वको, आफ्नो मूल्यको । त्यसैले म बाँचिरहेछु,यही तिर्सना, यही खोज र यही ‘म’ लाई भेट्ने प्रयासमा।

