मैले परिकल्पना गरेको गफतन्त्र !

अमित खनाल

भविष्यका लागि म एउटा यस्तो देश परिकल्पना गरिरहेको छु, जहाँ बुद्धिजीवी र बौद्धिक श्रमजीवी होइन, हावादारी गफ मात्रै जोतेर खाने गफजीवीहरूको शासन हुनेछ। देशको नाम त अहिले गोप्य राखौं, किनभने राष्ट्रवादको नाममा भावुक जनताले देशको नाम नै गफिस्तान राखिदेला जस्तो डर लाग्छ।

तर त्यस देशको शासन प्रणाली चाहिँ गफतन्त्र हुने निश्चित छ। गणतन्त्र भन्दा गफतन्त्रमा विश्वास गर्नेहरूका लागि यो त्यो देश समृद्ध र सुखी अवस्य हुनसक्छ । किनभने त्यहाँ श्रम गर्नुपर्दैन,पसिना बगाउनु पनि पर्दैन, केबल गफ जोतेर गफ भित्रै सपना फलाए मात्रै हुन्छ।

गफतन्त्रमा अर्को एउटा कुरा पनि छ। जहाँ संविधान लेख्ने समिति बनाइनेछ । जसका सदस्यहरूलाई तीनवटा अनिवार्य योग्यता मागिनेछ। पहिलो : झुट बोल्न सक्ने क्षमता, दोस्रो : नहल्लिने आत्मबल र तेस्रो : अति आत्मविश्वासी अनुहार।

त्यसपछि गफैगफको गफतान्त्रीक संविधान लेखिनेछ, तर कलमले होइन माइक समातेर। अनि संविधानको धारा र उपधारा अनुसार अनुच्छेद १ मा नै घोषणा गरिनेछ: “यो देश तर्कले होइन, टन्टलापुर गफले चल्नेछ।”

त्यसपछि सुरु हुनेछ गफतान्त्रिक शासन प्रणाली। त्यसको कार्यकारी  प्रधानमन्त्री बन्नको लागि कुनै दलको सदस्य हुनु पर्दैन, नत कुनै विचार चाहिन्छ। आवश्यक पर्ने भनेको फेसबुकमा दैनिक स्टाटस लेख्ने र टिकटक वा फेसबुक लाइभमा ५ मिनेटमै ५ सय वटा इमोजी आँसु निकाल्ने गफ दिने क्षमता।
उम्मेदवारहरूको बहस कार्यक्रम कुनै न्युज च्यानलमा होइन, कमेडी शो मार्फत प्रसारण गरिनेछ। त्यहाँ प्रश्न यस्तो आउनेछ

“तपाईंले विकास कसरी गर्नुहुन्छ?” उत्तर: “म पाँच तले पुल बनाउँछु तर नदी नभएको ठाउँमा। किनकि त्यसले पर्यटन बढाउँछ!”

चुनाव पनि ई-गफ मतदान प्रणालीबाट हुने छ। जसको गफमा जति धेरै “वाह!” आयो, उसले जित्नेछ। चुनावी घोषणा पत्रहरू टिकटकमा नृत्य गर्दै सुनाइनेछ, अनि हरेक गफपछि(गफै त हो) #JustGuff ट्रेन्डमा ल्याइनेछ।

संसद भवनमा जनताका समस्या होइन, गफको स्तर माथि-तल हुने छलफल गरिनेछ। कसैले भन्यो- ‘देशमा महँगी बढेको छ’ अनि जवाफ आउँछ ‘महँगी त भावना हो, यो बढेको भन्दापनी तपाईंले नै महँगो सोच राख्नुभएको हो।’

सांसदहरूले ‘गफका आधारमा अनुदान’ पाउनेछन्। जसको गफबाट उत्कृष्ट कमेडी शो बन्न सक्छ वा जसको गफले जनता मख्ख पर्नेछन्, उसलाई गफ श्री पदवी दिइनेछ।

शिक्षा मन्त्रालयले पाठ्यक्रम नै परिवर्तन गर्नेछ। विज्ञानको किताबमा लेखिनेछ “विश्व बिग-बैंगले होइन, बिग-गफ ले सुरु भएको थियो।”

परीक्षा प्रणाली यस्तो हुनेछ:

प्रश्न: “पृथ्वी घुम्छ?”
उत्तर: “हो तर हाम्रो नेताको वरिपरि मात्र।”
र त्यो उत्तरले पूर्णाङ्क पाउनेछ।

स्वास्थ्य मन्त्रालयले ‘गफ उपचार केन्द्र’ खोल्नेछ, जहाँ रोगीलाई औषधी होइन, गफ दिइनेछ। डाक्टर भन्नुहुनेछ “तपाईंलाई ज्वरो होइन, हिजोको तथ्य थाहा भएकोले टेन्सन आएको हो।”
हस्पिटलको प्रवेशद्वारमा लेखिएको हुनेछ “हामी यथार्थ होइन, विश्वास उपचार गर्छौं।”

मिडिया पनि परिवर्तन हुनेछ। पत्रकारहरू ‘तथ्यजाँच’ होइन, ‘भावनाजाँच’ गर्नेछन्। ब्रेकिङ न्युज होइन ‘ब्रेकिङ गफ’ हुनेछ:

“प्रधानमन्त्रीले आज जनतालाई ‘सबै ठिकै छ’ भनेर देशकै ठूलो गफको कीर्तिमान राख्नुभयो।”
र समाचार अन्त्यमा लेखिनेछ “यो समाचार सत्य हुनुपर्छ भन्ने कुनै प्रमाण छैन, तर राष्ट्रहितको गफ हो।”

यस्तो देशमा जनताले गुनासो गर्दैनन्, उनीहरू गफकै सुरमा लय मिलाउँछन्। एउटा नागरिकले अर्कोलाई भन्छ “तिमी बेरोजगार हैनौ, तिमी रोजगारको सम्भावना भएको व्यक्ति हौ।”
भोक लाग्दा गफ खानु, र तिर्खा लाग्दा सपना पिउनु जनताको दिनचर्या यही हुनेछ।

अन्ततः राष्ट्रको आधिकारिक नारा घोषित हुनेछ:

“वास्तविकता त तितो हुन्छ, गफ मिठो गफ नै हाम्रो गौरव!”

यही हो मेरो परिकल्पनाको गफतन्त्र, जहाँ झुट हँसिलो हुनेछ, र सत्य घमण्डी जस्तो देखिनेछ। जहाँ नेताको योग्यता उनको उपलब्धिले होइन, उनको गफको जनरल नलेज तय हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय