गणतन्त्रको सर्कस : प्रचण्ड, ओली र देउवाको जोकरपन
अमित खनालम एक आम जनताको रूपमा हेर्दा, नेपालको गणतन्त्र आज एउटा सर्कसको रंगमञ्च बनेको छ, जहाँ सत्ताको वरीपरी उभिएका तीन पात्र पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवा जोकरको भेषमा अभिनय गरिरहेका छन् ।
त्यो पनि जनताको सपनासँग खेल्नु र उडन्ते कुरा गर्नु अनि साच्चिकै चटक देखाएर ‘हो झैं’ बनाउनु यिनिहरुको कला हो। ठ्याक्कै जोकरले जादू देेेखाएर आँखा तिरिमिरी पारे जस्तै अहिले प्ररचण्ड,देउवा र ओलीले पनि जनताको भावना र चाहनासँगै खेलिरहेका छन्। उनीहरु पालैपालो सत्तामा बसेर कहिले भुकम्प र बाढी पीडितलाई,कहिले सुकुम्बासीलाई,कहिले दूूूध र उखुको मूल्य नपाउने किसानलाई, कहिले पसिना बगाउने श्रमजीवीलाई र कहिले शिक्षक,कर्मचारीलाई जादू देेखाइरहेका हुन्छन् ।
२०६२/०६३ को जनआन्दोलनले राजतन्त्रको सूलीमा झुण्डिएको तरवार भुइँमा झारेर जनतालाई गणतन्त्रको उज्यालो सपना देखायो । तर,जादूगर र सुबिधाभोगी नेताहरूको हातमा सत्ता पुग्दा जनताको सपना एउटा हाँस्यास्पद तमाशामा परिणत हुनपुग्यो।
पुष्पकमल दाहाल प्रचण्ड, जसले क्रान्तिको नारा लगाउँदै पहाड र तराई हल्लाए, आज सत्ताको कुर्सीका लागि ओली र देउवासँग लुकामारी खेल्छन्। ओली, जसले “समृद्ध नेपाल, सुखी नेपाली” को भव्य नारा उचाले, तर उनको शासनमा भ्रष्टाचार र अहंकार सिवाय केही समृद्ध भएन। केही थान आफ्ना नातेदार र कार्यकर्तालाई सेटिङ गर्नु अनि अनेकौं गफ दिनु बाहेक ओलीबाट न समृद्धि आयो न जनता सुखी भए। यो केवल बिजुलीको पोलमा झुन्डिएको नारामा मात्रै सिमित भयो।
उता ज्योतिष हेराएर छैटौं पटक प्रधानमन्त्री हुने तयारीमा रहेका देउवाको के कुरा गर्नु , जसको पाँचौंपटकको प्रधानमन्त्रीत्वले नै “स्थिरता” को मजाक बनायो। २०५८ मै जानेर वा नजानेर ज्ञानेन्द्र शाहले अ’सक्षम देखेको देउवालाई हामी अझै सक्षम देखिरहेका छौं !कांग्रेसका शेेेखर कोइराला र गगन थापाले पनि अझै देउवालाई नै सक्षम देखिरहनु अर्को अचम्म हो। देउवा कति सक्षम र कति असक्षम भन्ने धेरै पटक देखिएकै कुरा हो। जनताले उनिबाट के आशा र अपेक्षा गर्नु ? उनको हरेक कदमले देशलाई अस्थिरताको भुमरीमा धकेल्छ भन्ने सबैले देखे जानेकै कुरा हो।
अब यी तीनै जना जोकरहरूले गणतन्त्रलाई सर्कसको त्रिकोण बनाएका छन्, जहाँ जनता दर्शक बनेर हाँस्नु कि रुनुको अवस्थामा छन् । अझैपनी यिनले केही गर्छन् होला त ! यो कुरा ठम्याउनै गाह्रो छ।
यी नेताहरूको सत्ताको खेल नेपालको इतिहासमा नौलो होइन, तर गणतन्त्रको मर्ममाथिको यो धोका चाहिँ नयाँ पीडा हो। प्रचण्ड नेतृत्वको १० वर्षे जनयुद्धमा १७ हजारको ज्यान गयो भनेर सधैं कुरा उठिरहेको हुन्छ। यो संख्यामा उनी आफैं पनि कन्फ्युज छन् । कहिले ५ हजारको जिम्मा लिन्छु भन्छन् । कहिले कसैलाई पिटेको पनि छैन भन्छन् र कहिले अझै युद्धको ध्वास पनि देखाउछन् ।तर आज उनी सत्ताको साझेदार बनेर पुरानो क्रान्तिको मूल्य बिर्सिएका छन्।
ओलीले अघिल्लो पटकको प्रधानमन्त्री कालमा भएको मधेस आन्दोलन र नाकाबन्दीमा राष्ट्रवादी कार्ड खेले। तर उनको दोस्रो कार्यकालमा एमसीसी र चिनियाँ प्रभावको दोहोरो खेलले उनको नीति हात्तीको देखाउने दाँतजस्तै देखियो। अनि देउवा, जो सधैं बिपीको समाजवादको नारा लगाउछन र कांग्रेसको झण्डा पनि बोकेर हिँड्छन्, तर उनको सरकार हरेक पटक भ्रष्टाचार र कुशासनको पर्याय बन्छ ।सत्ता स्वार्थ,परिवारवाद,बिचौलियासँगको उठबस र दलाल पुँजीवादले यी नेताहरूलाई जनता भन्दा धेरै टाढा पुर्याइसकेको छ।
यी नेताहरू सत्ताको कुर्सीका लागि गठबन्धन बनाउँछन् अनि भत्काउँछन् र फेरि बनाउँछन्। कुनै संबैधानिक नियुक्ति वा लाभको पदमा आफ्ना मान्छे सेटिङ गर्न एकआपसमा मिल्छन् पनि । अनि जनताको भरोसामाथि खेल्छन्। गणतन्त्रको यो सर्कसमा उनीहरूको जोकरपनले देशलाई आर्थिक संकट, बेरोजगारी र अस्थिरताको चक्रमा फसाएको छ, तर उनीहरूको ध्यान केवल सत्ताको रस्साकस्सीमा छ।
यो सर्कसको सबैभन्दा ठूलो विडम्बना के हो भने, यी नेताहरूले गणतन्त्रलाई जनताको शासन भन्ने नारा लगाउँछन्, तर व्यवहारमा यो उनीहरूको व्यक्तिगत स्वार्थको खेलमैदान बनेको छ। प्रचण्ड, ओली र देउवाको यो त्रिकोणीय जोकरपनले देशको सम्भावनालाई हाँसोको पात्र बनाएको छ। जहाँ बजेट लुटिन्छ, नीति बन्दैन, र जनताको जीवन दिनदिनै कष्टकर बन्दैछ। विश्वमा भारत र चीनजस्ता छिमेकी देश झन् झन् शक्तिशाली बन्दैछन्, तर हाम्रो गणतन्त्र यी जोकरहरूको हातमा कमजोर बन्दैछ। हामीले सजग रहनुपर्छ किनकि यो सर्कस चलिरहँदा, झरेको र खिया लागेको राजतन्त्रको तरवार फेरि चम्काउन खोजीदै छ।
यो तरबार चम्किलो बनाउन यिनै नेताले वातावरण मिलाइदिएका छन् । त्यसैले त राजतन्त्र नामको भूत कहिलेकाँही सडकमा देखिन्छ र अस्ताउछ। यो राजतन्त्र नामको तरबार फेरि हाम्रो टाउकोमाथि झुण्ड्याउन् खोजीदैछ। जनताको शक्ति र जागरूकताले मात्र यो तमाशालाई रोक्न सक्छ, नत्र यो सर्कसले हामी सबैलाई जोकर बनाइदिनेछ।