‘यसकारण म बाबुराम भट्टराईसँग छु’
कमलप्रसाद खनालमेरो जीवनको न त सुरुवात सजिलो थियो, न त आफैंले हिंडेका बाटाहरू सिधा र साधरण थिए। धेरै घुम्ती,मोड र अफ्ट्यारा यात्रा पार गर्दै म निरन्तर हिंड्दै छु। तर,आज २०८२ सालमा आइपुग्दा म एकछिन टोलाएर आफैंलाई हेर्छु र सोच्न बाध्य हुन्छु।
झन्डै ३७ वर्षको मेरो राजनीतिक जीवन कहिले एक दिनको सपना झैं लाग्छ त कहिले युगौंको संघर्ष। अनि आफैंले आफैंलाई प्रश्न गर्छु कि मैले हिंडेको बाटो सहि छ त ? अनि फेरि उत्तर आफैं भित्र पाउछु-‘हो,मैले हिंड्न सुरुगरेदेखी अहिलेसम्मको बाटो एकदम सहि र सत्य छ।’ त्यसैले त म थाकेको छैन, गलेको छैन र आत्तिएको पनि छैन ।
म त्यो बालक हुँ, जो १० वर्षको उमेरमै पैसाको खोजीमा भारततिर लाग्यो। कुनै लक्ष्य भेट्टाउन मेरो पहिलो हिंडाई सायद त्यही थियो। काँधमा जिम्मेवारीको झोला, मनमा अलमल र आँखामा सपना बोकेको त्यो सानो केटो जब ठुलो देश भारतको गहिराइमा छिर्दछ अनि त्यहाँ उसले भेट्छ नेपाली मनहरु। जसलाई विदेशी भूमिमा वीर गोर्खाली होइन, मालिकका दास र श्रमजीवी गुलामको रूपमा व्यवहार गरिन्थ्यो। बोल्दा हेपेर बोलिन्थ्यो अनि व्यवहार तुच्छ गरिन्थ्यो। हो, त्यै दृष्टि मेरो आत्मामा जलिरहने आगो बन्यो। मैले तय गरें जीवनको उद्देश्य केवल आफ्नो उद्धार होइन, आफ्नो देशको आत्मसम्मान फर्काउनु पनि हो।
त्यसपछि अखिल भारत नेपाली एकता समाजबाट मेरो राजनीतिक यात्रा सुरु भयो। नेकपा मसाल हुँदै नेकपा माओवादीसम्म र पछिल्लो मोडमा नयाँ शक्ति पार्टी नेपाल यी सबै मोडहरू केवल पार्टीको नाम होइनन्, ती मेरो विश्वास, चोट, भरोसा र खोजका चिह्नहरू पनि हुन्।
२४ वर्षको उमेरमा जब मैले २० हजारको जागिर त्यागें त्यो निर्णय आज पनि मलाई मूल्यवान लाग्छ, किनभने त्यही त्यागले मलाई आत्मनिर्भर नेपालको खोजीमा धकेल्यो। त्यो अवधारणा मेरो आत्मामै बसेको थियो। २०४८ सालमा दिल्लीमा पहिलोपटक डा. बाबुराम भट्टराईसँग भेट भयो। त्यो भेटमा मैले के देखें भने डा.भट्टराईमा बोलाइको चातुर्यता होइन, सोचको गहिराइ बढी थियो। उहाँको बिचार र तर्कको शक्ति बेजोड थियो। त्यसैले पनि म उहाँप्रति गहिरो आकर्षण महसुस गर्न थालेँ।
२०६६ सालतिर पुनर्गठित मसाल र माओवादी मिसिँदा मलाई लागेको थियो राजनीति भनेको जागरूक मस्तिष्क र सक्रिय शरीरको सहकार्य हो। त्यसै सिद्धान्तले मैले डा. बाबुराम भट्टराईलाई मस्तिष्क र पुष्पकमल दाहाल कमरेड प्रचण्डलाई मांसपेशीको रूपमा हेरेँ। तर जब म पार्टीको केन्द्र नजिक पुग्न थालेँ, तब बिस्तारै प्रस्ट भयो शरीर थकित थियो, केवल मस्तिष्क चली रहेको थियो। म झन् डा. भट्टराईप्रति नजिकिँदै गएँ अहिले त्यो सम्बन्ध केवल राजनीतिक होइन,वैचारिक र आत्मिक सहयात्रामा रूपान्तरित भएको छ।
मैले जीवनमा धेरै कुरा गुमाएँ, तर मैले स्वाभिमान कहिल्यै गुमाइन। मसालका दुई दशक र शान्ति प्रक्रियाको कठिन मोड सबैमा मैले आफूलाई जनताको पक्षमा उभ्याएँ। मलाई राजनीतिमा पद कहिल्यै चाहिएको थिएन, न त पुरस्कार। मलाई केवल आत्मनिर्भर राष्ट्र देख्ने सपना चाहिएको थियो र आज पनि त्यो सपना मेरा हरेक श्वाससँग जिउँदो छ।
नेपालका युवाहरू अब खाडीमा नजाउन, आफ्नै देशमा सीपको मूल्य पाउन। नेपालमै बनेको गाडी चढून्, नेपालमै बुनेको कपडा लगाउन, हो यो मात्रै मेरो सपना हो। यिनै सपनाहरूलाई जीउँदै मैले डा. भट्टराईसँग वैचारिक सहकार्य जारी राखेको छु। हाम्रो विचार सधैं मेल खाँदैन,तर म रणभुमिको त्यो योद्दा हुँ जस्ले मैदानमा आफ्नो सेनापतिलाई ढाल बनेर रक्षा गर्छ भने उसका गलत कदममा कडक आलोचना गरिरहेको हुन्छ।
३७ वर्षको राजनीति जीवनमा म थाकेको छैन, बरु अझ परिपक्व भएको छु। हिजो म भारतको गल्लीमा उत्पीडन देखेर क्रान्तिकारी बनेको थिएँ, आज म ती उत्पीडितहरूकै सन्तानलाई आत्मनिर्भर बनाउने सपना देखिरहेको छु। म विश्वास गर्छु सपना देख्नेहरू धेरै हुन्छन्, तर त्यो सपना जिउनेहरू विरलै। म ती विरलै मध्ये एक बन्न खोजिरहेको छु।
आज पनि म भन्छु देशको मुख्य शक्ति अब विचारमा निहित छ। न सस्त्रमा, न स्वरमा। केवल सम्वाद, दृष्टिकोण र नीतिमा हुनुपर्छ । यही विश्वासले म डा. बाबुराम भट्टराईसँगको सहयात्रा निरन्तर राख्दै छु।
किनभने यो यात्रा केवल अतीतको सम्झना होइन, यो भविष्यको निर्माण हो। जबसम्म देश आत्मनिर्भर हुँदैन, तबसम्म म विश्राममा जान सक्दिन। मेरो जीवन, मेरो संघर्ष र मेरो सम्पूर्ण चेतना सबै नेपालीका लागि समर्पित छ।