मधेशवादी दलहरूकाे पुन: माेर्चाबन्दी

मनोज कुमार कर्ण

मधेशमा माघ ५ गतेलाई मधेशवादी दलहरूले बलिदानी दिवस भनेर विक्रम सम्वत् २०६३ सालदेखि मनाउन थालेका हुन् जब उपेन्द्र यादवकाे तात्कालीन् मधेशी जनअधिकार फाेरम नेपालकाे आह्वानमा अधिकारका लागि भनिएकाे संघर्षमा पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वकाे तात्कालीन नेकपा माओवादीका उन्मादी नेता राम कार्की र मातृका यादवकाे “मधेशका सबै उपलब्धीका हकदार आफू वा, माओवादीहरू मात्र हुन्” भन्ने भाष्य स्थापना गर्न लाग्दा एउटा स्कूले बालक रमेश महताेले गाेली लागेर शहादत प्राप्त गरे ।

भनिन्छ, स्कूलबाट फर्किरहेका बालक रमेश महताे कार्यकर्ता नभई एक विद्यार्थी नै थिए तर २०३६ सालमा दु:खद् “राम-लक्ष्मण” दाजुभाई धनुषामा भएका शहिदहरूकाे पुनरावृत्ति माओवादी र फाेरमवालाहरूले गराएर काँग्रेसलाई पनि “पछि पार्न” लागे ।

यस लेखकाे मुख्य आशय मधेशवादी दलहरूले पनि मधेशका मशिहा बन्ने हाेडबाजीमा पुराना दलहरू काँग्रेस, एमाले, राप्रपा तथा २०६३ सालपछि सार्वजनिक भएका र नवनिर्मित दलहरू माओवादी केन्द्र, रास्वपा आदिलाई मधेशका विकास अनि मधेशी अधिकारप्रति उदासिन र अवराेधक रहेका भनी सबै दाेषहरू थाेपरे पनि आफूहरूलाई मधेशकै जनताले कति कसूरदार ठहर्याई कुनरूपमा हेर्दछन् साे बारे जानकारी गराउँदै अबकाे यात्रा मधेशवादी दलकाे कस्ताे हुनुपर्ने हाेला, ती कुरालाई संक्षिप्तमा उठान् गर्ने हाे ।

नेपालकाे वर्तमान अवस्थामा मधेश र मधेशी

नेपालभित्र मधेशीलाई परिभाषित गर्नलाई इतिहास, विज्ञान, संस्कृति, भूगाेल, समाज तथा मानवशास्त्र आदिकाे ज्ञानलाई संगम गराउन जरूरी पर्दछ । याे परिभाषा व्यापक हुनसक्छ किनकी चाडपर्व, सांस्कृतिक कार्यक्रम विवाह, जन्म, मरण आदिमा रीतिरिवाज, खानपान, भाषा, धर्म, शरीरकाे आकार आदि जातपिच्छे फरकफरक छन् ।

यसरी हेर्दा नेपालमा मधेशी भन्नाले दक्षिणी समथर मधेश (तराई)काे भू-भागमा सधैंदेखि बस्दै आएका सामान्यतया सनातनधर्मी, मुसलमान वा, साल २०६२/०६३ काे व्यापक राजनीतिक परिवर्तनपछि धर्म परिवर्तन गरेका हुनसक्ने अन्य धर्मावलम्बीहरू तर आमाबुवा भने मधेशी नै रहेका; धाेती-गम्छा, कुर्ता, पाईजामा, शर्ट, काेट, प्यान्ट, सारी, साया, बलाउज आदि लाउने; गर्मी हावापानीकाे कारणले प्राय: शयाम-गहुँगाेराे र कम संख्यामा तुलनात्मक गाेराे भनिने तर मानवशास्त्रकाे भाषामा पहेंलाे वर्ण भएका; न धेरै अग्लाे, न हाेचाे ककेस्वाइड् भाषिकरूपमा मैथिली, भाेजपुरी, अवधी, थारू, मगही, हिंदी, नेपाली, ठेठी आदि भाषा बाेल्ने; एतिहासिकरूपमा नेपालका गैह्रमधेशी पहाडी अन्य समुदाय झैं प्राय: भारतबाट नेपाल पसेका; चाडपर्वमा छईठ, दशैं, सुकराती (लक्ष्मीपूजा: तिहार), जुडशितल, फगुवा, सकराईत (मकर/माघे संक्रान्तिलाई सम्बाेधन गरिने), तीज, अदरा, नागपञ्चमी, जीतिया, भरदूतिया (भाईटीका), विश्वकर्मा-चित्रगुप्त-सरस्वतीपूजा आदि मनाउने मूर्तीपूजक (हेलेनिस्टिक) मनाउने, झिझिया-सामाचकेवा दशैंमा खेल्ने, झण्डा खडा गरि मेला लगाउने तथा उता ईद, बक्कर-ईद, राेजा राख्ने आदिलाई अपनाउने, दाहा बनाउने वा नव धर्म अपनाउनेले साेही अनुसार कर्म धार्मिकता अपनाउने, बुद्ध धर्मावलम्बीले अलग पहिचान परापूर्वकालदेखिनै मधेशमा जन्मेका गैह्रमधेशीमूलकाले मनाउने आदिलाई सकारात्मक साेचले बुझाउँदछ जुन वैज्ञानिक तवरकाे एउटा परिभाषा हुनसक्दछ । तसर्थ, आम मधेशीकाे परिभाषामा थारू, मुसलमान, माडवाडी सबै समाहित हुन्छन् ।

साविकका २२ जिल्ला नेपालका दक्षिणी भेगका जिल्ला मधेश बुझाउँथे भने हाल ८ जिल्लामा “मधेश प्रदेश” प्रशासनिक दृष्टिकाेणले मात्र सीमित गरिएकामा मधेशी भन्नाले केवल ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महाेत्तरी, सर्लाही, राैत्तहट, बारा र पर्सामात्रलाई यदि बुझियाे भने त्याे पूर्णत: गलत हुनेछ, जुन केही प्रदेशमा केही मधेशविराेधी बाठा-वाचालहरूले सामाजिक असहिष्णुता निम्त्याउन बेलाबखत गलत प्रयास अभिव्यक्ति दिंदा गरिरहन्छन् ।

अवश्यपनि राजमार्ग छेउछाउमा बस्ने गैह्रमधेशीहरू पञ्चायतकाे खासगरी राजा महेन्द्र शाहले मधेशीलाई मधेशमै कमजाेर गर्नलाई स्याचुरेट गर्न रणनीतिक हिसाबले हिजाे “वस्ती बसाउन” पठाए नै, पछि पहाडकाे कठीन जीवनयापनलाई सजिलाे बनाउनलाई पहाडबाट मधेशका जंगल फडानी गरि पनि धेरै गैह्रमधेशी झरेका हुन् भने कति परिवार जागिरकाे सिलसिलामा झरेका हुन् ।

विगतकाे इतिहास पल्टाउँदा नेपालमा नून, चामल ल्याईंदा गाेश्वारामा नै सदर (केन्द्र), पहाड र मधेश भनी वर्गीकरण गरेर सामानहरू उपभाेगका लागि राणाकालमा पठाईन्थ्याे भने थानकाेटसम्मलाई नेपाल भनिन्थ्याे अनि काठमाडौं उपत्यका “नेपाल” पस्न आफ्नै देशका मधेशी जनतामाथि शंका गरेर शासकहरूले दाेयम/दाेस्राे दर्जाका नागरिककाे व्यवहार गरि राहदानी प्रयाेग गराउँथे । विभेदकाे यस चरमाेत्कर्श नेपाल आमाका सन्तानहरूबीच रहिसकेकाे हाम्राे अलिकति कलंकित नै इतिहास हाे ।

यहाँ-यहाँ मधेशवादी दलहरूमाथि जनताले कसूरदार ठहर्‍याउँछन्

मधेश र मधेशीमाथि गाेरखाका शाह राजवंशी तथा राणावंशीदेखि हालसम्म गैह्रमधेशी बाहुल्य भएका नेपालका पुराना ठूला दलहरूद्वारा विभेद हुँदै आएकाे हाे । ती पुराना एमाले, काँग्रेस, राप्रपा, माओवादी, रास्वपा (पछिल्ला दुई दलहरू गैह्रमधेशी बाहुल्य हुन् जुन पुराना जस्तै व्यवहार र साेच मधेशीमाथि राख्दछन्) जस्ता दलहरूले मधेशी न केवल जनतालाई थारू, मुसलमान, दलित आदि भनेर फुटाए अपितु सत्ताकाे लाेभ देखाएर एक थान मन्त्री बनाइदिने भनेर मधेशवादी दलहरूलाई समेत पटकपटक फुटाईदिएका छन् । र, मधेशवादी नेता कहलिनेहरूले आफ्नाे एकथान मन्त्री पद वा कुनै नियुक्तिका लागि सबै बुझेरपनि फुट्न चाहन्छन् । याे कसूर हाे !

यस्तै, मधेशवादी दलका नेता अधिकांशले मधेशबीच नै जाे आफ्ना दलका रसिद लिएका छैन, उसलाई काँग्रेसी, एमाले वा माओवादी भन्ने तर “मधेशी” नमान्ने गलत साेच वा, भनाैं अहंकार पालेर बसेका हुन्छन् ।

त्यस्तै, मधेश आन्दाेलनकाे ईपिसेन्टर जनकपुर, वीरगञ्ज, नेपालगञ्ज, सिरहा, जलेश्वर आदि भएपनि मधेश आन्दाेलन एकसाथ काठमाडाैंलगायत देशभरी नै उठ्छन्; जसले मधेश आन्दाेलन आह्वान गरेपनि अन्य दलनिकट विचार राख्ने मधेशीपनि सगर्व भाग लिन्छन्; मधेशका जिल्लाहरू अन्यत्र रहेरपनि सशरीर आन्दाेलनमा भाग लिई बाेल्छन्, लेख्छन् अनि काँग्रेस, एमाले, माओवादीलगायत अन्य दलका मधेशी नेताहरू सबैले मिलेर राज्यसँग सहमति गरि संसदसम्म कार्यान्वयनमा लागिपर्छन् जस्ता कुराहरू यी मधेशवादी दलहरूले बिर्सन्छन् भन्ने दास्राे दाेष जनताले उनीहरूमा देख्छन् ।

कस्ताे ठगी साेच यिनीहरू अधिकांश मधेशवादी कहलिने दलका नेताहरूले कार्यकर्तासम्म पुर्याएका रहेछन् भने गैह्रमधेशी बाहुल्य पुराना वा नयाँ दलका मधेशीसँग जाे जहाँ छन्, उनीहरूसँग “सहानुभूती” बटुलेर लाभ उठाईहाल्छन् सरकारी अड्डातिर तर मधेशवादी दलबाट गएकाहरूले भने आफू पदमा पुगेपछि आफ्ना दलका रसीद, जात, गाेत्र, सगाेत्र सबै भिडाएउँदा मिलिसकेपछि पनि दान, दक्षिणा “न्यून” मिले प्रत्यक्ष, नमिले अप्रत्यक्षरूपमा माग्छन् र पाएपछि मात्र काम गर्छन् । “दक्षिणा टक्र्याउने”जति सरासर मधेशवादी दलबाट मन्त्री बनेकाकाे क्वार्टरकाे माथिल्लाे तल्ला वा शयन कक्षसम्म साेझै पुग्छन् भने सदाबहार ईमान्दार भाेटर राताे चीया खाएर मन्त्रीकाे पीएसँग घण्टाैं मन्त्रीलाई कुर्छन् !

यदि जायज काम बापत पनि “दक्षिणा” माग्नै अवस्था अत्यन्त नजिक भएर निम्त्याे भने बुझ्नुस् कि त्याे काम कहिल्यै हुँदैन । याे, गैह्रमधेशी मन्त्री कहाँपनि उन्नानसय प्रतिशतमा छ तर मधेशी-नेपाली भएर याे लेख लेखिरहँदा म हाल मधेशवादी तथा मधेशी नेताकाे कुरामात्र गराैं, पहिला आफ्नालाई सुधाराैं अनि गैह्रमधेशीले पनि उत्ता आफ्नालाई सुधार्लान् नै ।

मधेशवादी दलका नेताहरूले मधेशमा मीडियाकाे कमी छ भन्दा एउटा-एउटा एफएम, टीभि, पत्रिका आदि त प्राय:ले आफ्ना नाममा निकाले, चलाए तर स्वयंकाे गुणगानमा अनियमित, अति न्यून वा, उधाराे पारिश्रमिकमा पत्रकार/सञ्चारकर्मीलाई लगाईहन्छन् । मधेशकाे मुद्दा खाेई त कवरेज ? खाेई त राेजगारकाे अवसर आम मधेशी जनतालाई नियमित तलबसहित ? खाेई त व्यवसायीक तालिम उनीहरूलाई ? खाेई निष्पक्ष पत्रकारीता गर्नलाई भयरहीत वातावरण ? यहाँ मधेशवादी दलहरू बढी जिम्मेवार छन् ।

अब त यसाे हुनुपर्छ

मधेशकाे भूमीबाट राजश्व उठ्छ तर मधेशले विकास बजेटमा अत्यन्तै न्यून बजेट केन्द्रबाट पाउँछ तसर्थ, मधेशले विकासमा प्राथमिकता पाउनैपर्छ तर संगठित आवाज संसदमा छैन । मधेशवादी दलका सांसदले भन्दा पनि मधेशका साझा मुद्दामा एक आवाज मधेशवादी दल र अन्य दलबाट गएका मधेशी सांसदकाे हुनुपर्छ तर सबै मधेशवादी कुराकाे उठान् मधेशवादी दलले नै गर्ने लाइसेन्स लिनेछन् भन्ने जरूरी छैन ।

अन्य दलका मधेशी सांसद, लेखक, विद्वान, बुद्धिजीविले उठाएपनि त्याे गम्भीर मुद्दा बन्नुपर्छ र श्रेयपनि उसैले लिन पाउनुपर्छ । कस्ताे दु:खद् विडम्वना भने मधेशी लेखकका विचारहरू, गैह्रमधेशी नेताका मधेशमाथिका गलत, आराेप तथा वैचारीक आक्रमणका तपिपय मुँहताेड जवाफ मधेशी लेखक, प्राध्यापक, अनुसन्धानकर्ताका कुरा पढेर जवाफ संसदमा दिने तर उक्त लेखकलाई कहिल्यै नसम्झने !

कुनै अवसर आउँदा जात, गाेत्र, मालपानी, रसिद मिले/नमिलेकाे आदि हेर्ने ! अनि किन काेही स्वतन्त्र वा गैह्रमधेशी दलनिकट विचार राख्नेले फाेगटमा लेखेर विचार दिनेछन् यिनिहरूलाई भन्ने उदासी भावना अधिकांश लेखकमा शिथिल बनाइदिएकाे पाइन्छ ।

हाल, मधेशी एकताबिना संघीयता, प्रादेशिक संरचना सबैमाथि उल्टाे नकारात्मक बहस पुराना दलका केही “पुराना पापी”हरूद्वारा उठाइँदैछ जबकि देशकाे विकासमा असफलताका जड भ्रष्टाचार र मानसिक साेचमा पुराना दलका नेताहरूमा २०७२ सालकाे संविधानले लिपिबद्ध गरिदिएका परिवर्तनलाई आत्मसात्त गर्न नसकेका कारणहरू हुन्, सुशासनकाे अभाव । त्यसतै, निर्वाचन क्षेत्र पुनर्निर्धारण पहाडमा २०७४ सालकाे निर्वाचनकाे बेला भूगाेललाई हेरेर गरियाे तर मधेशका २२-२३ साविकका जिल्लामा भने जनघनत्व अनुसार भएन, त्याे न्याय मधेशले लिन बाँकी छ ।

मधेशवादी दलहरूमा हाल आफ्ना अस्तित्व नै वर्तमान केपी ओली एमालेबाट मधेशविराेधी निरंकुश तथा अनुदारवादी शासक र उनका लहैलहैमा काँग्रेसी केही नेतृत्वपनि लाग्दा यदि थ्रेस हाेल्ड बढाइए रहन्छ कि रहँदैन भन्ने सन्त्रास फैलिएकाे छ । अनि मधेशवादी दलबीच एकता “संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चा”, जुन २०६४ काे फाल्गुणमा सक्रिय रही तात्कालीन् गिरिजाप्रसाद काेईरालाका अन्तरीम सरकारसित ८ बुँदे सम्झाैता गर्याे, लाई पुन: ब्यूंताउने फर्मूला राेजिएकाे हाे ।

त्यसबेलाका जेपी गुप्तालगायत अन्य कतिजना मधेशी नेताकाे अवस्था पस्त भएकाले यसमा रुचि नहुन सक्छ तर सवाल छ कि मधेशी जनताका समस्याका लागि भनेर संसदमा आवाज बुलन्द गर्नलाई कदाचित् यी मधेशवादी दलहरूले एकता देखाए तर आऊने चुनावमा “जीवित्” रहनलाई भने हरेक आपसी मतभेद बिर्सेर भएपनि तुरून्त एक्यबद्ध हुन्छन्, कसरी ? के याे इमान्दारीता उनिहरूकाे जनताका सवाल र मधेशप्रति देखिए त ? त्याे भनाई छ नि, एऊटा असल शासकले देश बनाउने चिन्ता गर्छ भने नेताले आऊने चुनाव जित्ने चिन्ता गर्छन् !

तर, यति भएरपनि आशावादी हाेऊँ हामी कि हाम्रा शहीद रमेश महताेलगायत सयाैं अन्य मधेशी शहीदकाे सम्मान हाम्रा मधेशवादी साेच राख्ने मधेशवादी तथा गैह्रमधेशवादी दलमा आबद्ध सबै मधेशी नेताले चाँडाे गर्न जानून्, गरून् पनि । यस बलिदानी दिवसकाे अवसरमा ज्ञात, अज्ञात सबै शहीदहरूप्रति स्तम्भकारकाे हार्दिक नमन् !

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय