विभेद, विद्रोह र काजीमान

जनार्दन वियोगी

मानव समाजमा विभेद भन्ने एउटा यस्तो डरलाग्दो रोग हो जसले ब्यक्ति, परिवार, साथीभाई, इष्टमित्र मात्रै होइन समाज र राष्ट्रलाई नै सखाप पारिदिन सक्छ। विभेदको जरो गाडिएको समाजमा सामान्य मानिसलाई हिँड्न डुल्न र बाँच्न नै कठिन हुन्छ। नेपाली समाजमा विभेद भन्ने कुरा अझै पनि जरो गाडेर बसेको छ।

विषय धेरै गम्भीर र ठूलो छ यद्यपि मैले मेरै ठाउँमा भएको सत्य घटनालाई आधार मानेर सामाजिक रुपमा देखिएका नराम्रो पक्षको जानकारी मात्रै गराउन खोजेको हूँ।

तनहुँको शुक्लगण्डकी नगरपालिका वडा नम्बर-२, कोत्रे निवासी काजीमान बिक जातीय विभेदबाट हैरान भएपछि अन्तत: धर्म नै परिवर्तन गर्न बाध्य हुनुभयो। समाज र छिमेकीलाई सकारात्मक परिवर्तन गराउन र समाज बुझाउन उहाँले ठुलै संघर्ष गर्नुभयो। अन्ततः उनीहरु सकारात्मक समाज निर्माण गर्न र विभेद अन्त्य गर्ने कुरामा परिवर्तन हुन नचाहेपछि काजीमान आफैंले बौद्ध धर्ममा प्रवेश गर्नुभयो ।

साँधमा जग्गा हुने छिमेकीले आफ्नो जग्गामा टेक्न नदिएका कारण घरको बाहिरी भित्तो प्लास्टर गर्न समेत नपाएको र यो विषयमा नगर पालिकाको न्यायिक समितिमा उजुरी गर्दा समेत सुनुवाइ नभएको उहाँका पटकपटकका कुराले मलाई जानकारी थियो।

श्रीमतिले मंगल चौथीको ब्रत राख्ने गरेकोमा स्थानीय मन्दिरमा अरु सँगै पूजा गर्न नदिइ अलग बस्नु परेको तितो यथार्थ उहाँमा थियो। तर, एक दिन आफैले पहिले पूजा गर्न गएपछि त्यो मन्दिरमा कोही नआएको कुरा पनि उहाँले मलाई बताउनु भयो। यसरी विभेद गर्ने व्यक्ती ब्राह्मण समुदाय र जग्गामा टेक्नै दिन्न भन्ने व्यक्ति जनजाती भएको पनि थाहा थियो। तर,उनीहरु आफुलाई ठुला जाति भन्ने मात्रै होइन ठूला भनिएका राजनीतिक दलको आडमा बसेका कुरा पनि काजीमानले बेला-बेला मलाई बताउनुहुन्थ्यो ।

यतिसम्म कि ठूला दलका दलित अगुवाहरु पनि काजीमानको समस्या र अफ्ट्यारोमा बोलेनन् । बरु मौन भएर बसेको काजीमानको नमिठो भोगाइ थियो । मलाई उहाँको कुराले मन अमिलो हुन्थो संविधान सम्झन्थे, माओवादी पार्टी संझन्थे। स्वयं उपमेयर दलित भएको पनि संझन्थे। तर उहाँ माथिको अत्याचार बारेमा सब मौन थिए। यसको कारण चाहिँ अचम्म लाग्दो नै थियो।

काजीमानले मलाई धेरै पटक ‘दैलो दैलो चहारेर दुःख बिसाउँदा पनि कसैले सुनेनन् जनार्दन सर’ भन्नुहुन्थ्यो ।

अनि मैले सल्लाह दिएँ- ‘कि नास्तिक बन्नुस । नास्तिक बन्न सक्नु हुन्न भने बौद्ध धर्म अँगाल्नुस । कति अपमान सहेर लडिरहनु हुन्छ। यो लड्ने समय अन्तै लगाउनुस । समाज सेवामा लगाउनुस । म त ९९ प्रतिशत विज्ञान,प्रकृति वाद र मानवता वाद मान्ने मान्छे।’

त्यसपछि एक दिन हामी बौद्ध गुम्बा गयौं संगै । परिचित भयौं। विभेदबारे छलफल गर्यौँ । मगर समाजको बौद्ध गुम्बा संचालक हरुले हामीलाई आफ्ना धारणा यसरी व्यक्त गरे-‘बुद्धमार्ग मा कहिं कतै विभेद हुदैन। आउनुस सबै कर्मकाण्ड बौद्ध निती अनुसार गरौं। पंचशीलको नियममा रहने कोशिस गरौं।’

काजीमानले त्यसपछि निरन्तरता दिनु भएछ म चाहीं १/२ पटक गएर अलिकति किताब ल्याएँ र पढ्न थालें । त्यसपछि गुम्बा जान समय मिलेन र गइन । उहाँलाई मन परेछ क्यार ! बाबाको श्राद्ध र आज आमाको अंतिम संस्कार समेत बौद्धको तरिकाले गर्नुभयो। मलाई खुशी नै लाग्यो। त्यसपछि मैले सोधेँ-कतै बिभेद महसूस गर्नु भा छ ?
उहाँले भन्नुभो-अहँ ! म धेरै बौद्धमार्गीहरुको घरमा गएँ । कहीँ कतै विभेद र अपमान महसूस गर्नु परेको छैन। उहाँले खुसी मुद्रामा जवाफ फर्काउनु भयो। मलाई खुशी सँगै यो विभेद विरुद्ध काजीमानको बिद्रोह सहि लाग्यो।

त्यसैले म भन्छु-हिन्दु महानुभावहरु कुतर्क गरेर जित्ने कि आफूलाई सुधार गरि विभेद र अपमान हटाउने? कुनियत आत्मै देखि हटाएर समानता दिने संयुक्त समाज बनाउने कि विभाजन गर्ने ?

मनैदेखी धेरै धन्यवाद !बौद्ध गुम्बा शुक्लागण्डकी-४ का प्रमुख सूर्य बहादुर थापा मगर र गुम्बा संचालक समिति परिवार सबैलाई ।
तपाईहरुले विभेद हुन दिने छैनौं भनेको बाचा पुरा गर्नु भएकोमा मेरो पनि धन्यवाद ! अन्त्यमा मलाई यि प्रचलित धर्महरुको आबस्यकता पर्दैन भन्ने लाग्छ। यदि परेछ भने म बौद्ध धर्ममा नै आउने छु। मलाई गालि गर्नु भन्दा आफूलाई सुधार्ने कोशिस गर्नुस विभेदी हिन्दू साथिहरु ।

(जनार्दन वियोगी नागरिक पहिलो अभियानका अभियन्ता हुन् )

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय