दलहरूलाई कानुनभन्दा उपहार माथि, दातालाई धमाधम उन्मुक्ति !

अनुसा थापा

यतिबेला केही विवादित व्यक्तिहरू निजि स्वार्थका लागि विभिन्न नयाँ उपाय लगाउँदै छन् । तिनै व्यक्तिको छविलाई नहेरी राजनीतिक दलहरूले उनैबाट उपहार स्वरुप नगद वा जिन्सी लिइरहेका खबर सार्वजनिक पनि भइरहेका छन् । कहिले कुनै विवादमा परेको व्यापारीले नेताको विदेशमा हुने उपचार  खर्च व्यहोर्ने  गरेको त कहिले पार्टीको होटल खर्च र यातायात खर्च व्यहोरेको कुरा सार्बजनिक भैरहने विषय हो।

यस्तै मध्यको पछिल्लो घटनामा भने सरकारको नेतृत्व गरिरहेको पार्टी र प्रधानमन्त्री समेत रहेका सो पार्टीका अध्यक्ष  सिधै मुछिए। यो विषय हो कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित भर्खरै शिलान्यास गरिएको नेकपा एमालेको केन्द्रिय हेडक्वाटर अर्थात पार्टी कार्यालय । विवादमा परिरहेका र अझ भनौं अदालतमै मुद्दा  चलिरहेका व्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउन सो पार्टीका अध्यक्ष एवं बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २५ गते शिलान्यास गरेका थिए।

एमाले पार्टी कार्यालय बनाउन शहर भित्रको १० रोपनी १४ आना जग्गा दिने व्यक्ति अरु कोही नभएर भाटभटेनीका संचालक  मीनबहादुर गुरुङ हुन् । उनले एमालेलाई सो जग्गा दानमा दिएका हुन् । त्यतिमात्र होइन, भवन निर्माण गर्दा लाग्ने खर्च पनि उनले नै व्यहोर्ने समेत भनिएको छ । जग्गा र भवन गर्दा झन्डै डेढ अर्ब बढी  खर्चको हिसाब देखिन्छ । त्यो अर्बको सम्पत्ति गुरुङ्ले एमालेलाई दिनुको पछाडि स्वार्थ जोडिएको छ कि छैन ? यो अहिलेको मुख्य विषय हो। कसैले यसमा स्वार्थ छैन भनेर भन्छ भनेपनि त्यो पत्यार लाग्ने देखिन्न। सायद जनताले पनि यो कुरा बुझिसकेका छन् । तर, एमाले नेताकार्यकर्ताले नबुझेको हो कि बुझ्न नचाहेको ? यो चाहिँ अहिले व्यापक बहसको विषय बनेको छ ।

मिनबहादुर गुरुङलाई एमालेले आफ्नो समर्थक वा सदस्य नै भएको दाबी गरिरहदा ऊनी माथी राजश्व छली लगायत केही विवादास्पद विषय उठेकै छन् । केही विषय अदालत सम्म पुगेको पनि छ। केही समय अघि उनी हिरासत बसेर धरौटीमा छुटेका हुन् ।अदालतको आदेश अघि नै यो विषयमा उनी दोषी भन्न नमिले पनि प्रश्न उठाउन भने छाडेका छैनन्। वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि उनलाई प्रश्न उठेकै छ। यद्यपि यसको अझै टुंगो लागेको छैन। यसरी विवादास्पद व्यक्तिबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिनुलाई  नैतिकताको प्रश्न समेत भनेर टिप्पणी गरिएको छ। विवादास्पद व्यक्तिसँग यसरी जग्गा दानमा (उपहारस्वरूप)लिन मिल्छ त ? यो विषयमा एमालेभित्र पनि चौतर्फी विरोध सुरु भएको बुझिन्छ । पार्टी नेता भिम रावल,बृन्दा पाण्डे र उषा किरणले त पार्टीले जग्गा लिन नहुने तर्क गर्दा स्पष्टीकरण सहित अनुशासनको कारबाही समेत गर्न खोजियो ।

एमालेलाई जग्गा दिने र लिने विषयमा सर्वोच्चमा रिट पर्यो । सर्वोच्चले तत्काल उक्त जग्गामा निर्माणको प्रक्रिया नथाल्न आदेश गरेको छ । यता, दुवै पक्षलाई कात्तिक २६ गते बोलाइएकोमा त्यो मुद्दामा कुनै छलफल नै नगरी सरेको छ । गुरुङ्गले किन एमालेलाई जग्गा दिए ? बुझ्नेका लागि यो विषय घामजस्तै छर्लङ्ग छ । अर्ब रुपैयाँ कर तिर्न नपरोस्, ललिता निवास प्रकरणमा जेल जानबाट जोगियोस् र सस्तो सामान महँगोमा बिक्रि गर्दा पनि कानुनी समस्या नहोस् भनेर प्रधानमन्त्री अनि एमाले खुशी बनाउन उनले जग्गा दान दिएको भन्नेहरू पनि छन्। एमालेले आफूलाई विगतदेखि नै जनताको पार्टी बनेर चिनाउँदै आएको छ । तर, यस्ता विवादास्पद कुराले एमाले जनताको होइन्, माफियाको पार्टी हो भन्ने आरोप लगाउनेहरू पनि छन् ।

व्यक्तिगत र पार्टीगत स्वार्थ लिएर माफियालााई जोगाउन खोजेको भनेर पनि एमालेलाई आरोप लगाइएको छ। एमालेले यसको प्रष्ट जवाफ जनतालाई दिन खोजेको छ तर,सकेको छैन। आखिर किन एमालेले गाली खाइरहेको छ ? एमालेका तल्लो तहका नेतादेखि अध्यक्षसम्म भ्रष्टाचारी छन् भनेर आरोप लगाउनेलाई पनि एमालेले ‘होइन/ छैन’ भनेर भन्न सकेको छैन। पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न,म भ्रष्टाचार सहन्न’ भन्ने अभिव्यक्ति दिदै आएका छन् । हरेक कार्यक्रममा प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य गर्ने कुरा र भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने कुरा दोहोर्‍याएको सुन्न सकिन्छ।

जनताले मदन भण्डारी र मनमोहन अधिकारीको योगदान देखेर एमालेलाई भोट दिए । तर, त्यो पार्टी अब मदन र मनमोहनले चलाउँदाजस्तो छैन् । एमालेलाई भ्रष्टाचारी संरक्षण गर्ने पार्टी भन्ने देखि दादागिरी देखाउने, कर नतिर्नेहरूको पार्टी समेत भनेर आरोप लागेको छ। यद्यपि एमालेले यी सबैकुरामा खण्डन गर्दै आएको छ ।

पछिल्लो घटना (भाटभटेनीको जग्गा लिने)ले मुलुकको दोस्रो ठूलो पार्टी एमालेप्रति जनतामा व्यापक वितृष्णा जागेको छ । पार्टी अध्यक्षका कारण पनि एमाले जनताको नजरमा कम्जोर बन्दै गएको आरोप पार्टी भित्रैबाट लागेको छ । प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिरहेका ओलीको पछिल्लो समय व्यापक विरोध भइरहेको छ । झापाको गिरीबन्धु टी-स्टेटको जग्गा हिनामिना प्रकरणदेखि यति,ओम्नी हुँदै सहकारीमा समेत एमालेको नाम जोड्न थालिएको छ। उता, भ्रष्टाचारीलाई जोगाउन हदम्याद लगाउन खोजेको भनेर समेत बिरोध सुरु भएको छ।

देशमा सुशासन कायम गर्ने र समृद्धि ल्याउने भन्ने ओलीको यो कार्यकाल सुरु भएपछि एउटा पनि भ्रष्टाचारको फाइल खोलिएको छैन् । उल्टै विवादात व्यक्तिबाट जग्गा दान लिइरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले गुरुङ्लाई पक्राउ गर्यो । पछि उनी धरौटीमा छुटे । यति थाहा हुँदाहुँदै पनि जग्गा दान लिन विधि र नैतिकताले दिन्छ ? अनि अझै ओली कुन पार्टी कार्यालय दान नलिई बनेको छ ? भन्दै प्रश्न गर्छन् । चार पटक प्रधानमन्त्री भएका र पार्टी नेतृत्वमा रहेका व्यक्तिलाई अलिकति लाज लाग्नुपर्दैन् र ?

अदालतमा मुद्दा विचाराधिन रहेको व्यक्तिलाई कानुनी दायरामा ल्याउनुको सट्टा अझै उनैबाट जग्गा दान लिइँदैछ । उनलाई दोषी हो भने कानुनको कठघरामा उभ्याउनुपर्ने थियो । तर, एमालेले जग्गा दान लिएर कानुनबाट जोगाउने प्रयास गरेको हो कि भन्ने आशंका उब्जिएको छ।यसरी यी र यस्ता कुरामा सामन्य पनि ध्यान नदिदा ओलीले विगतदेखि नै दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् भन्नेहरूलाई बल पुग्दैन र ? आफ्नालाई जोगाउने, आफूविरुद्ध बोल्नेलाई कारबाही गर्ने उनको प्रवृत्ति नै हो भन्नेहरू पनि छन् ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई पक्रेर हिरासतमा राख्ने काम भएको छ। छानबिन समितिले दिएको प्रतिबेदनका आधारमा पक्राउ गरिएको भनिएका रास्वपा सभापति रवि लामिछाने अहिले प्रहरी हिरासतमा छन् । तर, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले पार्टीका सांसद् ऋषिकेश पोखरेल अनि उनकी श्रीमतीमाथि पनि सहकारीको रकम अपचलनको आरोप लागेको छ । तर, उनीहरूलाई कारबाही गर्न एमाले तातिएको छैन् । नेपाली काँग्रेसका सांसद समेत रहेका पुर्व कानुनमन्त्री धनराज गुरुङ्ग पनि अहिलेसम्म ढुक्कसँग बसेका छन् । सायद समितिले कारबाहीको सिफारिस गर्दा उनलाई पनि गरेको थियो । रास्वपाका उपसभापति डिपी अर्याल, माओवादीका शक्तिबहादुर बस्नेत, राप्रपाको सांसद गीता बस्नेत लगायत थुप्रै नेता तथा उच्च पदका व्यक्तिलाई आरोप लागेकै छन् ।

यसरी हेर्दा एमालेको नामचाहिँ कम्युनिष्ट, कामचाँहि दोषी जोगाउने भनेजस्तो भएको छ। एमालेले जनताको नाममा राजनीतिलाई व्यापार गरिरहेको छ । जुन विस्तारै जनताको आँखाअगाडि आइरहेको छ । एमालेका नेताप्रति अब जनतामा आक्रोशबाहेक केही छैन् । एमाले अहिले सबैभन्दा धेरै गाली खाने पार्टी बनेको छ । २०४६ सालपछि एमालेबाट मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री भए । विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति भइन् ।

तर, उनीहरूले जनताको पक्षमा के-के काम गरे ? पदको स्वाद चाँखे, व्यक्तिगत स्वार्थ लिए, आफ्ना आफन्त, कार्यकर्तालाई पोसे त्यति नै हो । हिजो जुन उद्देश्यले एमाले पार्टी स्थापना भएको आज सिद्धान्त र विचार तहसनहस बन्यो । एमालेले आफ्नो लाखौं कार्यकर्ता भएको दाबी गर्छ ।तर,ती कार्यकर्ताको भावना र पार्टी सिद्धान्तलाई कहिल्यै गम्भीर रुपमा लिएन।

यतिबेला आएर एमालेको राजनीति झुटो रहेछ भन्ने पुष्टि भइसकेको छ । लाखौं कार्यकर्ता भएको पार्टीले किन एउटा व्यापारीबाट दान लिइरहनुपर्थ्यो । कार्यकर्ताबाट एक सयको दरले उठाएर पनि पार्टी कार्यालय ठड्याउन सकिन्थ्यो होइन र ? एउटा पार्टी कार्यालय पनि व्यापारीले बनाइदिनुपर्ने हो भने एमालेमा कस्ता व्यक्ति छन् ?

अब के स्पस्ट हुँदैछ भने कुनैपनी राजनीतिक दल सत्तामा होस् वा प्रतिपक्षमा सबैभन्दा पहिला देश र जनताको होइन् आफ्नो व्यक्तिगत फाइदा हेरिन्छ । फाइदा लिएर दलाल र भ्रष्टहरूलाई छोडिन्छ । कानुनमाथि राजनीतिक दल हाबी भएको अवस्था छ । प्रधानमन्त्री ओलीलाई त अहिले सत्ताभन्दा प्यारो केही छैन् । यसको पछाडि पनि कारण छ होला ! जनताले अब यस्तो पार्टी र व्यक्तिलाई पत्याउने होइन्, यिनीहरूलाई ठीक ठाउँमा ल्याउने हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय