महिला र सशक्तिकरणका सवाल
विमला दाससन् १९९५ मा छिमेकी चीनको बेईजिंगमा भएको चौथो महिला सम्मेलन (बेईजिंग प्लेटफाँम फर एक्सन) ले महिला सँग जोडिएर सशक्तिकरणका बिभिन्न आयामहरु बारे महत्त्वपूर्ण बहस चलायो। जस्तै: महिला र गरिबी, महिला र अर्थ व्यवस्था, महिला बिरुद्ध हुने हिंसा, महिला र शिक्षा तथा तालिम, महिला र राजनैतिक सहभागिता, महिला र सशस्त्र द्वन्द्व, महिला र स्वास्थ्य, महिला र टेक्नोलोजी, महिला र अन्तर्राष्ट्रिय मंच, महिला र वातावरण, सत्ता र निणर्य गर्ने ठाउँमा महिला आदि जस्ता १२ वटा विषयवस्तुमा त्यहाँ गम्भीर छलफल भएको थियो। खासगरी महिलाको मुद्दामा केन्द्रित भई महिला समानता तथा सशक्तिकरणका लागि सरकारी तथा गैर सरकारी तवरमा नीति नियम बनाउने कामहरुबारे त्यो सम्मेलन सहयोगी बनेको छ। त्यसको केही सकारात्मक परिणामहरु पनि देखा पर्न थालेका छन् ।
बेइजिङ्ग सम्मेलनपछि औपचारिक रुपमा लिखित दस्तावेज बनाउन तिर निकै गहकिला कामहरु पनि सुरु भए । त्यसको हरेक पाँच वर्षमा यी उल्लेखित मुद्दामा के कति प्रगति भए त्यसबारे प्रगति विवरण अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गरिन्छ । यो खुसीको कुरा हो। तर,यत्ति कुराले मात्रै महिला सशक्तीकरण र महिला मुद्दा सम्बोधन भयो भन्न सकिन्न।
यसै सन्दर्भमा केही दिनमै अर्थात सन् २०२४ को नोभेम्बर महिनामा बेइजिङगको समिक्षा सभा भन्दा पहिलेको आन्तरिक वा राष्ट्रिय स्तरको बैठकहरुबाट उठान भएका प्रभावकारी बुँदाहरुलाई समेटेर प्रतिवेदनका लागि तयारी गरिने छ। त्यसैको तयारी स्वरुप आयोजित एक अन्तरक्रियामा सहभागी एक श्रोताले भन्नुभयो-‘महिला सशक्तिकरणका प्रशस्त उदाहरणहरु हामी हिन्दु धर्मावलम्बीहरुको शास्त्र र संस्कार मै देखिन्छ । हामी हिन्दुहरु नारीलाई देवी सरह मान्छौं। नारी शक्तिलाई पूजा गर्दछौं । हिन्दु धर्ममा नारीलाई परापूर्वकाल देखि नै अग्र स्थानमा राखिएको छ । देवी देवताहरुको नाम अगाडि महिला कै नाम आउँछ, जस्तै सीताराम, राधाकृष्ण, गोपी कृष्ण,गौरी शंकर, लक्ष्मी नारायण आदि । देवी दुर्गाकै बिभिन्न स्वरुपहरु शक्तिको प्रतिकको रुपमा लिने गरेका छौं ।’
अझै भन्नुपर्दा आमाको नाम र गोत्रबाट छोराको वंश चल्ने परम्परा पनि कहिँ कतै थियो । केहि जातजातिहरुमा मातृसतत्ताको स्वरुप आंशिक रुपमा अहिले पनि देखिन्छ । उदाहरणका लागि हाम्रै देशको पुर्वी तराईमा बसोबास गर्ने राजवंशी समूदायमा बेहुलीको विवाह पश्चात बेहुलाको घर नगई बेहुला नै आफनो श्रीमतिसँग बस्न आउँछन । त्यस्तै मधेशको यादव समूदायमा पनि आमा कै गोत्र वा थरबाट चिनिने परम्परागत संस्कार अहिलेसम्म पनि प्रचलनमा छ । तर,यो नगन्य र सामान्य उदाहरण मात्रै हो। यसका लागि पनि त्यहाँ भित्रका महिलाको गाह्रो अफ्ट्यारो धेरै छन् ।
महिला सशक्तीकरण र महिला अधिकारका कुरामा बहस चलाइरहँदा के महिलाहरु पुरुषको अगाडि सशक्त छन त ? के महिला र पुरुषको समानताको कुरा आउँदै गर्दा साँच्चै पुरुष सरह नै महिलालाई पनि अवसरहरु प्राप्त छन् ? वर्तमानको समय र परिवेशमा कसरी महिलाहरुको सशक्तिकरण भयो ? भन्ने कुरामा म आफैंलाई रनभूल्लमा परेको अनुभूति हुन्छ। ती शब्दहरुले मैले अनुसन्धान र अनुभवबाट प्राप्त गरेका ज्ञान र मैले बुझेको सशक्तिकरणको परिभाषासँग पटक्कै मेल नखाएको अनुभव मैले गरेकी छु । सिद्धान्त प्रतिपादकहरु, विद्वानहरुको अनुसन्धानात्मक खोज र भाषाविज्ञहरुको भनाईका साथै तथ्यगत सार्थकतालाई आत्मसात गर्दै म मेरा सोच पस्किन चाहन्छु ।
महिलाको नाम अगाडि आउँदैमा उनको स्वतन्तत्रा, उनको सोच र निणर्यको सम्मान गरेको, मन्तव्य र नीतिगत निणर्यलाई घरमा पुरुष र राज्यले मानक बनाएर व्यवहारमा उतारेको बिरलै पाईन्छ । यसको ठिक विपरित, महिलालाई रबर स्टाम्पको रुपमा प्रयोग गरिएको, खास गरी राजनीति र आर्थिक श्रोतमा नियन्त्रण गर्ने मामिलामा प्रयोग गरिएको घटना र यथार्थ प्रशस्तै पाईन्छ । जसका कारण महिला मुद्दा र महिलाका सबाल अझै ओझेलमा छन् भन्न सकिन्छ।
एक्काईसौ शताब्दिको बदलिंदो परिस्थिति समयको माग अनुसार समानताको यर्थाथपरक भाव सिद्धान्तकारहरुले प्रतिपादित गरी उठान गरेका परिभाषालाई हेर्दा सशक्तिकरणशब्दको बहुआयामिक पक्ष आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिकसँग प्रत्यक्ष सम्बन्ध छ । सूक्ष्म रुपमा हेर्ने हो भने आर्थिक सशक्तिकरण अन्य सशक्तिकरणका आधार स्तम्भ हुन् । सशक्तिकरण परिवार, समाज र राज्यको शक्तिको श्रोतमा पहुँच र त्यसमा नियन्त्रण सँग जोडिएको छ । महिला सशक्तिकरण भन्नाले आफनो जीवन माथिको नियन्त्रण हुनु र आफनो निणर्य आफैं गर्ने मानवीय स्वभावगत तात्विक गुणलाई जनाउँछ । महिलालाई सशक्त बनाउनु भनेको घर भित्रै र बाह्य अर्थ व्यवस्था र राजनैतिक प्रकृयागत कुराहरुमा महिलाको पुर्णरुपमा सहभागिताका साथै उनीहरुको स्वास्थ्य र समद्धिका लागि आफैं निणर्य लिन सक्षम बनाउनु हो ।
खासमा सशक्तिकरणको अवधारणा सामाजिक न्यायका लागि संघर्ष गर्दै आएको प्रतिफल हो । बृहत रुपमा भन्ने हो भने यो शब्द पुँजीवाद, जातिय तथा लैङ्गिक अत्याचार, दमनको बिरुद्ध उठेको आन्दोलनको उपज हो । यस आन्दोलनले शक्तिको बाँडफाँड, ज्ञानको श्रोतमा पहुँच र संरचनात्मक स्वरुप मै स्तरिकरणगर्नुपर्ने अवधारणा ल्याए । परम्परागत सामाजिक संरचना अनुसार महिलाको काम घरभित्र र पुरुष बाहिरको काम गर्ने भनेर लैंगिक भुमिकामा नै कार्य बिभाजन गरिएको थियो । महिला सशक्तिकरण ईस १९८० मा भएको महिला आन्दोलनबाट निस्केको विचार हो । समय र बिकासवाद, उदारवाद वा विश्व बैंकको संरचनागत समायोजनको नीतिको उदय पछिको बदलिंदो परिस्थतिमा बिकासमा महिलाको सहभागिता बारे महिलावादीहरुको चरणबद्ध आन्दोलन, विश्वस्तरको सभा सम्मेलन आदिबाट प्राप्त जागरुकताबाट नेपालमा पनि महिला सशीक्तकरणको अवधारणा आएको हो । १९८० को दशकमा बदलिंदो समयको बहाव सँगै अर्थ व्यवस्थाको मानकमा प्रतिमान विस्थापन (पाराडाईम शिफ्ट) भएपछि महिलावादीहरुमा असंतुष्टि देखापर्यो ।
नेपालमा महिला सम्बन्धि अधिकार तथा सशक्तिकरणका प्रयासमा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुले निकै महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यसमा,सिडाँ १०९१ (Convention on Elimination of All kinds of Discrimination against women ( CEDAW- 1991)
बि पि एफ ए (Beijing Platform Action –BPFA, 1995)
एस डि जी (Sustainable Development Goals – SDG, 2015-2030)
यु एन एस सी आर, १३२५, १८२० (United Nations Security Council Resolution UNSCR, 1325 & 1820)
महिला सशक्तिकरणका लागि शिक्षाको व्यापकता बारेको अवधारणा तथा महिलावादको अन्तरक्रियाको शुरुआत भयो । उक्त अन्तरक्रिया गहन छलफलबाट समूदायको विकासमा माथिबाट तल आएको अवधारणा (टप डाउन एप्रोच) मा चल्दै आएको लैंगिक र महिलाहरु अरुको अधिनमा रहने परम्परागत अभ्यासले महिलाको स्वतन्त्रतालाई वेवास्ता गरे । त्यहि समयमा प्रभुत्व वा आधिपत्य (हेजेमनी) समाजको कथित तल्लो वर्ग (सबाल्टर्न) आदिका सिद्धान्त सँगै सामाजिक संरचना र उत्तर औपनिवेशिक (पोष्टकोलोनियल) सिद्धान्त सँगै आएको हो । महिला सशक्तिकरण पित्तृसतालाई चुनौति दिने अलिक बढी राजनैतिक तथा रुपान्तरणकारी विचार हो । महिला सशक्तिकरण शब्दले लैंगिक, धार्मिक, जातिगत संरचचनाप्रति विकासोन्मुख समाजमा महिलाको अवस्था र स्थिति (कन्डिसन र पोजिशन) को स्वरुपलाई बुझाउँछ ।
मार्क्सको विचारधारा बोकेका मार्क्सवादी सिद्धान्तकार, ईटालियन विचारक तथा भाषाशास्त्री एन्टोनियो ग्राम्सीको अनुसार बिसौं शताब्दी पश्चात समााजको कथित तल्लो वर्गभित्र महिला, किसान, धार्मिक समूहका व्यक्तिहरुलाई ईंकित गर्दछ । यस्ता समाजमा विद्यमान वंचितिकरण, बिपन्न ( डिस्एडभान्टेज्ड) तथा विभेदकारी अवस्थाहरुलाई सम्बोधन गर्नु सशक्तिकरण हो ।
आर्थिक सशक्तिकरणले महिलालाई समाजमा व्यक्तिगत र सामाजिक क्षेत्रमा एउटा सम्मानित ठाउँ स्थापित गर्छ । यसका साथै यसले व्यक्तिको क्षमता, ज्ञान र आत्म स्वाभिमान, आफनो ईच्छा, विवेक,मूल्य मान्यतामा परिवर्तन ल्याउँछ । नेपालको सन्दर्भमा भन्ने हो भने ५१.१३ प्रतिशत महिलाले ओगटेको स्थानमा परिवार, समूदाय, समाज र देश विकासका लागि महिला सशक्तीकरण आवश्यक छ । त्यसमा पनि नेपाल, कृषि प्रधान देशमा जहाँ ६०.२ प्रतिशत (सन् २०२१ को गणना अनुसार) महिलाहरु कृषिमा संलग्न भई आर्थिक रुपमा सशक्त छन् ।यसले राज्यको कुल ग्राह्यस्थ उत्पादन बढनुका साथै सकारात्मक परिणाम को दायरा बढाउँछ भन्ने कुरामा शंका छैन ।
महिला सशक्तिकरण शब्दले महिलालाई अवसर दिनु भनेको सामाजिक र आर्थिक रुपले सक्षम बनाई उनीहरुलाई स्वतन्त्र बनाउनु हो । महिलाको स्वतन्त्रता, परिवार भित्रै पनि निणर्य लिने, आर्थिक स्थिरता ल्याउन र पुरुष सरह समान पहिचान प्राप्त होस् भन्ने बिभिन्न मुद्दामा आफ्ना विचार अगाडि राख्न सकुन् भन्ने चाहना पनि हो। विशेषगरी सुशासन, शिक्षा र स्वास्थ्यमा महिला अझै बढी सचेत भएको पाउछौ। वर्तमानको १६ औं योजनाले पनि शिक्षा, स्वास्थ्यमा र रोजगार आदिमा सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ ।
विश्वविख्यात लेखिका एस्टर बोसरपले आफनो पुस्तक ‘आर्थिक विकासमा महिलाको भूमिका’ मा लेख्नुभएको छ- ‘महिलाहरु समाजका निष्किृय लाभार्थी होईन, सक्रिय कर्ता हुन् ।’
राष्ट्रिय लैंगिक समानता नीति (सन् २०२१)ले आर्थिक सशक्तिकरणका अवसरहरु दिएर काम गर्नु पर्नेमा जोड दिएको छ । भनाई नै छ यदि परिवारमा महिला शिक्षित र आर्थिक रुपले सशक्त छ भने उनीहरु स्वयं र बालबालिकाहरुलाई यथास्थितिबाट उठाउन सक्षम हुन्छन् । नेपालको नयाँ संविधान(२०७२)ले पनि लैंगिक समानता र महिला सशक्तिकरणमाथि जोड दिएको देखिन्छ । नेपालको पन्ध्रौं योजनाले सुखी नेपाली,समृद्ध नेपालको परिकल्नामा महिला सशक्तिकरणको अवधारणा लाई अग्रणी भागमा राखेको थियो । आधा आकास र आधा धर्ती भने झैं राज्यको जनसंख्याको आधा भाग महिलाले ओगटेकोमा उनीहरुको व्यक्तिगत विकासका लागि सशक्तिकरणको माध्यमले माथि उकासी राज्यले लिएको सन् २०३० सम्म दीगो विकासमा लक्ष्य प्राप्त गर्ने नीति सफल पार्न सहयोग मिल्छ ।
तदनुरुप नेपालमा महिला सशक्तिकरणलाई अगाडि बढाउन तल दिईएका योजनबद्ध कार्यक्रमहरुले नेपालका महिला सशक्तिकरणको बाटोमा सक्रियताका साथ पाईला चालेको देखिन्छ ।
– राष्ट्रपति महिलासशक्तिकरण कार्यक्रम ग्रामीण तथा बिपन्न महिलाहरुका लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरु (सामाजिक, आर्थिक रुपले सिमान्तकृत महिलाहरुका लागि उनीहरुको सीप, उद्यमशीलता र उद्यम विकास तथा बाजारिकरण सहजताका लागि कार्यक्रमहरु सन २०२३ देखि ३४ जिल्लाहरुमा संचालित।
– सशक्त महिला र समृद्ध नेपाल कार्यक्रम( सन २०२३ देखि मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा संचालित कार्यक्रम।
– एकिकृत ऋण अनुदान योजना कार्यक्रम सन् २०१५ देखि संचालित योजनामा १५ लाख रुपैयाँ सम्म बिनाधितो ऋण कम व्याजमा महिलालाई दिने व्यवस्था।
– महिला उद्यमशीलता विकास कोष सन् २०१५ देखि विना धितो ५ लाख सम्मको ऋण दिने कार्यक्रम।
– महिलाको नाममा अचल सम्पत्ति भएमा २५ देखि ३५ प्रतिशत सम्मको छुट दिने कुरा।
– लैंगिक उत्तरदायी बजेट प्रणालीलाई संस्थागतीकरण।
– नेपालको १६ औं योजनाले रुपान्तरणकारी लैंगिक समानताको योजना रणनीति अँगालेको छ जुन लैंगिक समानताको मूलप्रवाहिकरण, स्थानीयकरण, सशक्तिकरण , सामाजिक सुरक्षा र समावेशिकरण गर्नमा केन्द्रित छ ।
– राष्ट्रिय लैंगिक समानता योजना सन् २०२१ ले महिलालाई समान अवसर, पहुंच, सेवासुविधाहरु दिएर आर्थिक रुपले सशक्त बनाउने लक्ष्य रहेको छ ।
यसरी महिला सशक्तिकरण भएमा पित्तृसत्तात्मक सोच र व्यवहारमा पनि परिवर्तन आउँछ । लैगिंक असमानता सँगै जातिय विभेद तथा अन्य सामाजिक रुपमा भैरहेको असमानता र हिंसामा न्युनीकरण हुनेछ।समाजमा रहेको बिद्यमान विभेदहरुको अन्त्य गरि लैंगिक समानता, एकअर्कामा पारस्परिक सहयोगी भावनाको विकाससँगै स्वास्थ र संतुलित सम्बन्धको बृद्धि भै समग्र परिवार, समाज र देशको विकासमा टेवा पुग्दछ ।
लेखक :लैंगिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) अनुसान्धानकर्ता हुन् ।