दसैं: वाल्यकालमै रमाइलो !

नानु दाहाल

दसैं ! आहा ! जब यो पर्वको रौनक सुरु हुन्छ त्यसपछि प्रकृतिसँगै मन पनि फुरुङ्ग भएर छुट्टै किसिमको उमंग छाउँछ।गाउँले जीवन र बडादसैं त झन् एक अर्काको घनिष्ठ हुन ! जव दसैं आउँछ सहरमा भन्दा गाउँमा मानिसहरु खुशी हुन्छन् । घर लिपपोत गर्ने र रंग लगाएर चिटिक्क पार्ने,नयाँ लुगासँगै अन्य खानेकुरा किन्न बजार जाने,घरमा केरा पकाउने,काक्रो चिरेर अचार(खल्पी) हाल्ने,गाउँ टोल सफा गर्ने,चौरमा रोटेपिङ र लिङ्गेपिङ हाल्ने आहा ! यो सबै कुरा सम्झँदै मन फुरुङ्ग भएर आउँने क्या !

साच्चै भन्नुपर्दा बडा दसैं आउनुभन्दा महिना दिन अघिदेखि नै घरमा आमा-बुबा ब्यस्त हुनुहुन्छ। बुबाले बाहिरको व्यवहार मिलाउने र आमाले घरभित्रको बन्दोवस्त मिलाउने। चिउरा कुट्नेदेखी तेल पेल्ने र सेल पकाउने जोहो आमाले मिलाउनुहुन्थ्यो भने बुबाले दसैं लाई चाहिने अन्य प्रबन्ध गर्नुहुन्थ्यो। अनि हामी उहाँहरुको काम हेरेर सघाउन पर्ने ठाउँमा सघाउन तयार हुन्थ्यौ। उहाँहरुलाई काम सघाउनुमा नयाँ लुगा र खानेकुरामा ध्यान खिच्न सकियोस् भन्ने स्वार्थ पनि हुन्थ्यो !

अझ दसैंको लागि भनेर छिट्टै पाक्ने धान (थापाचिनी) रोप्न असार महिनामै सोच गरिएको हुन्थ्यो । ठिक्क दशैंमा चिउरा कुट्नको लागि त्यो धान पाक्थ्यो। दशैंको लागि भनेर आमाले काँक्रो जोगाउन थाल्नुहुन्थ्यो। त्यही काँक्रोको आमाले मिठो पारेर खल्पी हाल्ने  र घरमै पालिएको खसी पनि हुन्थ्यो। लामो समय अघिदेखि नै त्यो खसीको खुबै हेरविचार गरिन्थ्यो। ठूलो र बलियो बनाउन पाए हुन्थ्यो भनेर आफ्नो भागको खाना पनि एक दुई गाँस भएपनि उसलाई खुवाउन मन लाग्थ्यो । गाउँ भरीका खसीहरु मध्ये कसको घरको खसी ठूलो र बलियो भन्ने एक प्रकारको प्रतिस्पर्धा  नै हुन्थ्यो। तेरो घरको भन्दा मेरो घरको खसी ठूलो भनेर धाक लगाउँदाको मज्जै बेग्लै।

दशैंको लागि पिङ हाल्न भनेर खरबारीमा खर बाबियो छुट्याइएको हुन्थ्यो। हाम्रो गाँउ(ओखलढुंगा,रामपुर)को शिरमा हाम्रै घर माथि  देवाली चौर भन्ने रमाईलो ठाउँ छ। दाहालहरुको देवालीथान भएकोले यो ठाउँलाई देवाली चौर भनिएको हो।लगभग त्यो चाहिँ हाम्रो गाउँको सबैभन्दा माथि सिरानमा पर्छ। उच्च स्थानमा रहेको फराकिलो र धेरै रमाईलो ठाँउ भएकाले मानिसहरु यहाँ भेला हुने गर्दछन्। त्यस ठाउँमा रोटेपिंग हाल्नको लागि एक महिना अघिदेखि नै तयारी गरिन्थ्यो। सलक्क परेको काठ निस्किने रुखको खोजी हुन्थ्यो। रुख पत्ता लगाएपछि त्यसलाई काटिन्थ्यो र त्यो रुखलाई ल्याएर देवाली चौरमै राखिन्थ्यो। तब आरा लगाएर काठ निकाल्ने काम सुरु हुन्थ्यो। त्यो प्रक्रिया हेर्नका लागि हामी गाउँभरीका केटाकेटी देवाली चौरमा भेला हुन्थ्यौं।रोटेपिङ  तयार गर्नको लागि आरा लगाउने व्यक्ति पनि सिपालु र जान्ने हुनुपर्थ्यो उहाँहरुको पनि छुट्टै समुह हुन्थ्यो। दाइहरु मध्यबाटै ती कामहरुको व्यवस्थापन हुन्थ्यो।

रोटेपिङ जो कसैले बनाउन नजान्ने भएकोले होला प्रायजसो मैले देखेको अष्ट दाइ, गड बहादुर दाई, टेक बहादुर दाई, गम बहादुर दाई, गोविन्द दाईहरुले नै सधैं बनाउनुहुन्थ्यो। हाम्रो काम स्कुल सकिएपछि उकालो लागेर देवाली चौरमा जाने र त्यही पिङ बनाएको हेर्ने अनि त्यतैबाट खरबारीमा पसेर घाँस लिएर घर फर्किने हुन्थ्यो । लिङ्गे पिङ त प्राय धेरैतिर हाल्ने चलन थियो। लगभग हाम्रो गाउँभरिमा पाँच छ वटा जति लिङ्गे पिङ हालिएको हुन्थ्यो। रोटेपिङ भएको ठाउँमा पनि लिङ्गेपिङ एउटा दुईटा हाल्ने चलन थियो। सायद रोटेपिङ खेल्न कुरेका मान्छेहरुलाई अल्मल्याउन होला !

दशैंको लागि किनमेल गर्न हाट बजार जाने चलन थियो। हाटमा बुवाले हामी सबैलाई नयाँ कपडा किनेर जोखे दर्जी दाजुलाई दिनुहुन्थ्यो । त्यो लुगा ल्याएको दिनदेखि जोखे दर्जी दाजुको घरमा दिनमैं दुई तीन चोटि पुगिन्थ्यो। बिहानै  उठेदेखि दिमागमै दाजुले लुगा कहिले सिलाएर दिनुहोला भन्ने हुन्थ्यो। राति सुत्दा पनि त्यही लुगाकै ध्यान हुन्थ्यो। एक खालको रौनक यस्तो रमाइलो हुन्थ्यो कि त्यो लुगा घर आको दिनदेखि बल्ल दशैं आएको जस्तो हुन्थ्यो । कहिले भाउजुलाई(जोखे दाइकी श्रीमती)काम सघाएर हुन्छ कि ! वा भाउजुलाई फकाएर हुन्छ कि दाइलाई जति सक्दो छिटो हाम्रो लुगा सिलाउने बनाउनुपर्ने थियो।  हामीले भाउजुलाई फकाउनको लागि  कहिले जाँतो पिसिरहेको बेला जाँतो पिस्न सघाईयो त कहिले ढिकी कुटिरहेको भाउजुलाई ढिकी कुट्न सघाईयो। भाउजु का भाउजु भनेर पछिपछि लागेर जेजसरी हुन्छ फकाएर भाउजूले दाईलाई यो नानिहरुको लुगा पहिले सिलाइदिनु है भने पछि मात्र बल्ल दाईले हाम्रा लुगा सिलाइदिनु हुन्थ्यो। यस्तो परिपाठ गर्न सिपालु हाम्री ठुली दिदी हुनुहुन्थ्यो । यसरी जति सक्दो छिटो आफ्नो लुगा सिलाएर घर ल्याउन पाउनु पनि ठूलो विजय हासिल गरे जस्तो र दशैं आएजस्तो महसुस हुन्थ्यो। हामीलाई खुसी हुन अरु धेरै केही नचाहिने हुन्थ्यो।

कहिले सोह्र श्राद्ध सकिन्छ र घर चिटिक्क पारौला भन्ने अर्को चिन्ता हुन्थ्यो। बुवाले जब १६ श्राद्ध सकियो भनेर भन्नुहुन्थ्यो अनि मात्र हामीलाई धेरै खुशियाली छाउथ्यो। रातो माटो लिन जाने घटनाले पनि रमाइलो सम्झना गराउँछ । साथीभाइ सबजना मिलेर मट्केलामा गएर रातो माटो ल्याउने र घटस्थापना सुरु हुने बित्तिकै घरमा रातो माटो छ्याप्ने काम गरिन्थ्यो। रेडियोका पुराना ब्याट्रीलाई  वर्षभरि जम्मा पारेर राखिएका हुन्थे र ती ब्याट्री भित्रका कार्बनलाई पिसेर कालो रङ बनाई झ्यालढोका तथा बार्दलीमा लगाउने गरिन्थ्यो। घर चाँडोभन्दा चाँडो चिटिक्क बनाउने कुराको पनि एक प्रकारको प्रतिस्पर्धा नै हुन्थ्यो।

दशैंमा आफन्त र पाहुना आउने भएको हुँदा धान कुटेर सकेसम्म धेरै चामल बनाएर राख्नुपर्थ्यो। रातभरि चिउरा कुटिन्थ्यो आलोपालो गरेर राति सुतिन्थ्यो। एक रात कुटेको चिउराले पुग्दैन थियो अर्को रात पनि कुटिन्थ्यो। रातभरि अनिदो बसेर दुःख पाउँदाखेरि पनि त्यो ज्यादै रमाइलो र यादगार लाग्थ्यो। चिउरा सग्लो गरी बन्ने र लट्टा पर्ने गरी दुई भागमा छुट्टाछुट्टै राखिन्थ्यो । पाहुनालाई खुवाउनका लागि सग्ला चिउराहरु एउटा डालामा राखिन्थ्यो भने लट्टा परेका चिउराहरु अर्को डालोमा राखिन्थ्यो। त्यो लट्टा परेका चिउरा चाहीं पाहुनाहरूलाई नदिएर घरकै केटाकेटीहरूलाई बाँड्ने गरिन्थ्यो। त्यसमा पनि हामी बीच प्रतिष्पर्धा पो हुन्थ्यो त !  चिउरा चढाउने कार्य सकिएपछि तुरुन्तै लट्टा परेका चिउरा पाइने आशामा हामी भने बढीभन्दा बढी चिउरालाई लट्टा पार्दै  डालोमा थुपार्ने गर्थ्यौं । जबकि एकैछिन कुट्दा त्यो चिउरा फेरि सग्लो नै हुन्थ्यो। तर हामी भने बठ्याइ गर्दै बढीभन्दा बढी लट्टा परेको चिउरा थुपार्ने तर्फ लाग्थ्यौं।

अहिले पनि कतै चण्डी पढेको सुन्यो भने मलाई आनन्द लाग्छ। किनभने घरका दिदीहरू सबै घाँस काट्न गएकाबेला बुवाले चण्डी भन्न सुरु गर्नुहुन्थ्यो। अनि म छेउमा बसेर चण्डी सुनेर बस्थें। मलाई धेरै रमाइलो लाग्थ्यो । सायद त्यो रमाइलो चण्डीमा भएका कथाहरु बुझेर भन्दापनी पाठ सकिएपछि टीका लगाएर पाईने १ रुपैयाँ पैसा र नैवेद्यले खुसी पारेको हुन सक्छ।

दसैंको बिदामा विदेश गएका तथा शहरमा पढ्न गएका दाइ दिदी र काका काकीहरुको आगमनले गाउँलाई अझ रमाइलो तुल्याउँथ्यो। चौतारा होस् अथवा कुनै खुल्ला ठाउँ वा बार्दलीमा नै किन नहोस् पाहुनाहरूका हाँसो र उल्लासले गाउँ नै झलमल्ल बनाउँथ्यो। दाइ-दिदी काका-काकीहरुले ल्याएका मिठाईहरूले हाम्रा गोजी भरिएका हुन्थे।


सुलथुम्का डाँडामा सप्तमीका दिन काटिने राँगोको हल्लिखल्ली अर्कै हुन्थ्यो। कत्रो राँगो ठिक पारेका छन् भन्ने कुराको चर्चा दुई तीन दिन अगाडिदेखि नै हुने गर्थ्यो। राँगो ढाल्ने दिन सारा गाउँ भरिका केटाकेटी सुल्थुमका डाँडामा जम्मा हुन्थे। हामी भने राँगो काटेको हेर्न डराएर अलि परबाट हेर्न जान्थ्यौं। हामीभन्दा अलि ठूला दाई दिदीहरु भने नजिकै गएर हेर्ने गर्दथे।

हाम्रो घर वरपर भने सबैले अष्टमीको दिन खसी काट्ने गर्थे। अष्टमीको दिन बिहान सबेरै दाइले जब आँगनको डिलमा चौको लगाएर ठूलो खड्कुलोमा पानी तताउन थाल्नुहुन्थ्यो। हामी भने के काम गर्दा छिटो हुन्छ भन्दै फर्याकफुरुक गर्दै बाहिर र भित्र गरिरहन्थ्यौं।

आफूले घरमा पालेको खसीलाई काट्नुपर्दा मनमा ज्यादै अमिलो लागेर आउने त थियो। तर पनि मासु खान पाइने लोभ अनि सबै घरमा उनीहरुले पालेका खसीहरु चटाचट काटिरहेको देख्दाखेरि आफ्नो घरमा पनि आफूले पालेको खसी काट्न लाग्दा पनि त्यति सार्है माया नलागेको पो हो कि !

गाउँको स्कुलमा अष्टमीका दिन राती नाटक पनि देखाउने चलन थियो। त्यो हेर्न भनेर वारि गाउँ पारी गाउँबाट पनि मानिसहरु आउने हुँदा गाउँनै उज्यालो र बेहुली झैं सिङ्गारिएको हुन्थ्यो। गाउँका दाजुदिदीको लेखन र निर्देशनमा बनाईएका नाटकमा खेल्न पाउने आशामा हामी पनि प्रयास गर्थ्यौं। तर कुनै-कुनै साल मात्र खेल्ने मौका पाउँथ्यौं।

नवमीको दिन नौ केटी खुवाउने भनेर धेरै घरबाट  हामीलाई बोलावट आउँथ्यो। त्यो नवमीका दिन मानिसहरूको घरमा जान हामीलाई साँच्चै रमाइलो लाग्थ्यो। उनीहरुले खुवाउने मीठा खानेकुरा, लगाउन दिएका राम्रा राम्रा रिबन, चुरा, कपडा, दक्षिणा आदिको लोभले हामी सकेसम्म धेरै घरमा जाने गर्थ्यौं।

टिकाको दिनको सुरुवात बडीका घरबाट सुरु हुन्थ्यो। बडीका घरमा हजुरआमाले बुवाहरुलाई टीका लगाइसकेपछि हामीलाई टीका लगाइदिनुहुन्थ्यो। टिका लगाउन थालेपछि हामी चेलीबेटी भएका कारणले गर्दा हजुरआमा, बढिबा, बढिआमा, बुवा-आमा, फुपुहरु, दाइ,दिदी सबैले हामीलाई दक्षिणा दिँदा मख्ख पर्थ्यौं।

घरको र घर वरपरका आफन्तको हातको टीका लगाइसकेपछि मामाघर जाने पालो आउँथ्यो। घरमा आउने पाहुनाहरूलाई सत्कार गर्नका लागि बुवा घर कुर्नुहुन्थ्यो भने हामी सबैजना टिकाको भोलीपल्ट बिहानै मामघरतर्फ लाग्थ्यौं। मामाघर जाने तयारी पनि बन्दिलो नै हुन्थ्यो। बस्तुभाउका लागि २-३ दिनलाई पुग्नेगरी घाँस काटेर ठिक्क पारेर मामा घर जान्थ्यौं। मामाघर पुग्न करिब ७ घण्टा जति पैदल यात्रा गर्नु पर्थ्यो। तर पनि हामीलाई त्यो यात्रा सामान्य नै लाग्थ्यो। सहज रुपमा पार गर्थ्यौं। मामाघर गएपछि पनि हाम्रो फर्याकफुरुक उस्तै हुन्थ्यो।

दशैंको लगत्तै दुईदेखि तीन दिनपछि भने गाउँको माहोल बिस्तारै पुरानो अवस्थामा आउँथ्यो। सहरबाट गाउँमा आएका दाजुभाई, दिदीबहिनी, काका काकीहरु बिस्तारै सहरतर्फ फर्कन थाल्थे। त्यतिबेलाको माहोल ज्यादै नरमाइलो हुन्थ्यो।यसरी दसैंको १५ दिनको बिदा सकिना साथ अब हाम्रा दैनिकी सुरु हुन्थे विद्यालय जाने, घाँस काट्ने, खेतबारीमा काम गर्ने, वस्तु चराउने ! आदि इत्यादि !!

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय