नेपालकाे उच्च शिक्षाबारे खनियाका पुस्तक नेभिगेटिङ हायर एजुकेशन इन नेपाल
मनोज कुमार कर्णShifting Paradigms in Higher Education: Balancing Humanism, Scientism, and Academic Capitalism का साथै यस न्याभिगेटिङ्ग हायर एड्युकेशन ईन् नेपाल पुस्तकका लेखक प्राध्यापक डाक्टर तीर्थराज खनिया त्रिभुवन विश्वविद्यालयका पूर्व विकासप्रेमी नामले जानिने उपकुलपति (विक्रम सम्वत् २०७२ – २०७६ सालसम्म), नेपाली काँग्रेस र नेकपा एमालेकाे संयुक्त सरकारमा साल २०६६ मा माधव कुमार नेपालकाे सरकारकाे बेला नेपालकाे राष्ट्रिय याेजना आयाेगकाे शिक्षा विभाग हेर्ने सदस्य तथा तात्कालिन उच्च मा. वि. शिक्षा परिषद् (हाल राष्ट्रिय परीक्षा बाेर्ड) का उपाध्यक्ष रहिसक्नुभएका एक चीरपरिचित नाम हाे ।
खनिया नेपालकाे उच्च शिक्षाप्रति निरन्तर लगाव राखेकाे भनी उनका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परियाेजनाहरूमा संलग्नताबाट सावित हुन्छ । उनका पुस्तकका माध्यमबाट उच्च शिक्षा सम्बन्धी अनुभव नेपाल सरकार, त्रिवि र नेपालका अन्य विश्वविद्यालय आदिका लागि मार्गदर्शन सिद्धान्तकाे रूपमा लिईन्छ । लेखक खनियाका याे पुस्तक Navigating Higher Education in Nepal कुल निम्न सातवटा अध्यायमा विभाजित छ : १) Historical Development of Higher Education in Nepal; २) Major Issues and Challenges in Higher Education in Nepal; ३) Politicization of Higher Education and University Teachers; ४) Politicization of University Students; ५) The Way Forward for Nepal’s Higher Education and Tribhuvan University; ६) Fading Human Civilization Causing End Traps, र ७) Humanistic Higher Education at Central Campus, TU Overcoming End Traps ।
प्रथम अध्याय “हिस्टाेरिकल डेव्लप्मेन्ट अफ् हायर एड्यूकेशन” ले नेपालमा राजनैतिकरूपले महत्वपूर्ण समय सन् १९५० लाई मानेर त्रिभुवन विश्वविद्यालय; उच्च र आधुनिक शिक्षाकाे राणा र पञ्चायत कालमा शुरूवात र पछि त्रिवि स्थापनाका लागि गरिएका संघर्षहरू; उच्च शिक्षालाई दबाउने (Consolidation) काल; नीजि क्षेत्रकाे उच्च शिक्षामा पुनराेदय तथा प्रविणता प्रमाणपत्र तह (Proficiency Certificate Level, PCL) लाई “दस जाेड दुई, १० जाेड २” शिक्षा माेडलद्वारा विस्थापित जस्ता कुराहरू विस्तारमा वर्णन गरिएका छन् । पहिलाे अध्याय नै विहानीले दिनकाे झलक दिन्छ (Morning shows the day) जस्ताे अनुभूति पाठकलाई राेमाञ्चक तरिकाले गराईदिन्छ ।
यस्तैगरि दाेस्राे पाठ “मेजर ईस्यूज् एण्ड च्यालेञ्जेज् ईन् हायर एड्यूकेशन ईन् नेपाल” पछि आउने तेस्राे र चाैथाे पाठसँग सम्बन्धित छ । याे दाेस्राे पाठले नेपालमा चरम् राजनीतिले उच्च शिक्षाबारे विभिन्न प्रतिवेदनहरूबाट प्राप्त सुझावलाई लागू गरेर सुधार गर्न परिरहेका असरलाई केलाईएकाे छ । चुनाैतीमा भने सैद्धान्तिकरूपमा नव प्रविधिकाे अभाव, ज्ञानमा आधारीत अर्थ नहुने, ईन्ट्रेप्रेन्यूरिअल उच्च शिक्षा (उद्याेगमा आधारित) काे अभाव तथा युवा प्राेडक्ट्सलाई विषयविज्ञद्वारा शिक्षण प्रदान गरेर नेपालकाे विकासमा प्रतिबद्ध राख्ने अभावहरूलाई देखाईएका छन् । लेखकले राजनैतिक दलका नेताहरूमा विगतका प्रतिवेदनका सुझावहरू नपढ्ने तर नयाँ-नयाँ विश्वविद्यालयहरू खाेल्ने हाेडबाजी रहेकाे बुझेका छन् ।
जस्तै, लेखक खनियासमेत संलग्न नेपालकाे The Education Task Force-२०५७ सालले नयाँ विश्वविद्यालय खाेल्नुभन्दा पनि क्षेत्र र अध्ययनकाे विशेषता अनुसार हाललाई पाेखरास्थित पृथ्वीनारायण र विराटनगरस्थित महेन्द्र माेरङ्ग बहुमुखी क्याम्पसहरूलाई नै नयाँ विश्वविद्यालयकाे रूप दिने र पछि अन्य क्याम्पसकाे हकमा पनि गर्नेलाई नेपाल सरकारले बेवास्ता गरि चिताैनमा कृषि तथा वन विश्वविद्यालय खाेल्दा त्रिवि र नेपालकाे उच्च शिक्षाकाे राम्राे भविष्य साँचेर बसेका र पछि त्रिविकाे भिसि बन्न पुगेका लेखकले नै नेपाल सरकारसँग निकै वर्ष कानूनी लडाई लड्नुपर्याे । त्यस्तै सरकारले त्रिविकाे आयुर्वेद क्याम्पस, कीर्तिपुरलाई अध्ययन संस्थानमा परिणत गर्नुपर्नेमा विदुषी याेगमाया आयुर्वेद युनिवर्सिटि खाेल्ने ऐन संसदबाट पारित गर्याे ।
लेखक दाबी गर्छन् कि सरकारका यस्ता अतार्किक कार्यहरूले देशमा केन्द्रीय तथा क्षेत्रीय विश्वविद्यालयहरूलाई सञ्चालन गर्ने संयन्त्र (Mechanism) बन्न सकेन । नेपालकाे विश्वविद्यालय अनुदान आयाेग (University Grants Commission, UGC) समेतले सबै विश्वविद्यालयलाई निर्देश गर्न असमर्थ बन्न पुगेकाे हाे भने त्रिवि र अध्ययन संस्थानहरूका स्वायत्ततामाथि सरकारी रवैयाले नै धावा बाेलिएकाे छ । नेपालकाे उच्च शिक्षामाथि थप चुनाैतीमा लेखक थप्छन् : परम्परागत पाठ्यवस्तु; उच्च शिक्षामा लगानीबारे सरकारकाे अस्पष्ट नीति; लामाे समयसम्म परीक्षाका नतिजा प्रकाशन नहुनु; विदेशी विश्वविद्यालयबाट नेपालमा सम्बन्धनप्राप्तगरी खाेलिएका कलेजहरूकाे नियमन हुन नसक्नु, र त्रिवि सेवा आयाेगले नियमित ६-६ महिनामा विज्ञापन दिई बढुवा र पुरस्कृत शिक्षक-कर्मचारीहरूलाई नगर्दा मनाेबल खस्केका जस्ताहरू छन् ।
यसक्रममा तेस्राे अध्याय “पाेलिटिसाईजेशन अफ् हायर एड्यूकेशन एण्ड युनिवर्सिटि टिचर्ज” ले लेखक खनियाकाे वृहद् भिजनलाई दर्शाउँदछ । खनियाकाे बुझाई छ यहाँनेर कि नेपाली राजनीतिकाे असर उच्च शिक्षामाथि काेड भाषामा भन्नुपर्दा “UPIG” काे रूपमा छ, जहाँ “U” भन्नाले User अर्थात्, विद्यार्थी तथा उनिहरूका छात्र संगठन; “P” भन्नाले Providers अर्थात्, युनिवर्सिटिका नेतृत्व र व्यवस्थापन; “I” भन्नाले Influences अर्थात्, राजनैतिक दलहरू, र “G” भन्नाले Governance अर्थात्, स्वयम् सरकार बुझाउँछन् । लेखकले राम्राे गर्नलाई विश्वविद्यालयमा दलका नेताहरूले प्राज्ञिक स्वतन्त्रता र संस्थागत स्वायत्तता दिनुपर्ने बताउनुहुँदै विगतमा त्रिविका प्राध्यापकले जब राज्यले दलविहीन पञ्चायती राज्य टिकाउनलाई “राष्ट्रवादी विद्यार्थी मण्डल” विश्वविद्यालय परिसरमा विना कुनै पर्मिशन प्रहरीसँगै घुसाएर पढ्ने तथा लाेकतन्त्रका अनुयायी असली छात्रहरूमाथि अनैतिक र दमन गरिए, तब बाध्यभएर दललाई सपाेर्ट गर्न पुगेका बताउँछन् ।
उनी सगर्व त्रिवि कीर्तिपुरकाे शिक्षा विभागकाे अडिटाेरियम हलभित्र मई ५ तारिख सन् १९७५ साेमवारका दिन जुन तरीकाले प्रहरी र मण्डले विद्यार्थी कहलिनेले पसे र त्यसकाे विराेध आम प्राध्यापक र कर्मचारीबाट गरिए, ती प्राध्यापक र कर्मचारीहरू २५ जनाले जागिर, आत्मसम्मान घटुवा भई गुमाएकाेकाे नाम उल्लेख गर्दै साेही तरीकाले साल २०६२ चैत्र २६ गते (अप्रिल ८ तारिख सन् २००६ शनिवार) नेपालगञ्जका उपप्राध्यापक हरिराज अधिकारी (पुस्तकमा धाेखाले “शर्मा” हुन पुगेकाे) ले लाेकतन्त्रकाे लागि आफ्नाे सर्वाेच्च बलिदान शहादत नै दिएका भन्छन् । यहाँ लेखक खनिया सूक्ष्म तरिकाले के बुझाउँछन् पाठकलाई भने कि नेपालमा विश्वविद्यालयमा प्राध्यापककाे राजनीति दलगत विचारमा फसेकाले बिग्रेकाे हाे किनकि युनिवर्सिटि प्राेफेसरहरूले उच्च शिक्षा किन खस्कियाे नेपालमा, साेबारे अनुसन्धान वा चर्चा गरेकाे खासै देखिंदैन । यस क्रममा उनी माओवादी केन्द्रका अध्यक्ष, प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले सन् २०२४ काे शुरूवातमा जसरी विज्ञापन, मेरिटाेक्रेसी आदिकाे जलप लगाएर त्रिविमा अदृष्य र अनैतिक चलखेल गरि उपकुलपति आफ्नै दलकालाई गरे, त्यसप्रति नाम नलिईकन असन्तुष्टी पाेख्छन् ।
पुस्तक : Navigating Higher Education in Nepal: Historical Perspectives and Future Directions
लेखक : तीर्थराज खनिया
प्रकाशक : STAR Scholars Press, Baltimore
मुद्रण : म्यारील्याण्ड अमेरीका र नेपालबाट
प्रकाशन वर्ष : साल २०८१/सन् २०२४
पृष्ठ संख्या : २२५
मूल्य : पेपरब्याक ने. रू. ८००/- तथा हार्डकभर ने. रू १,५००/-
चाैथाे पाठ “पाेलिटिसाईजेशन अफ् युनिवर्सिटि स्टुडेन्ट्स्” तेस्राे पाठकै निरन्तरता हाे तर यहाँ प्राध्यापक नभई छात्रकाे दलीय राजनैतिक लगाव कुराे छ । खनियाले सन् १९५० काे दशककाे ईर्दगीर्द (वरिपरि) राणा शासनकालमा “नेपालमा संस्कृत शिक्षा चाहिन्छ” मूल नाराकाे साथ सफल भएकाे प्रथम छात्र आन्दाेलन “जयतु संस्कृत्तम्” लाई लिंदै विद्यार्थी आन्दाेलनका प्रमुख ऐतिहासिक वर्षहरूमा साल २००८ (गृहमन्त्री बीपी काेइरालाले राजीनामा दिनु परेकाे); साल २०२१; साल २०२३ (डीआईजी नारायण सिंहसँग सम्बन्धित); साल २०२६; साल २०२९; साल २०३२ (माथि मई महिना सन् १९७५ भनेर उल्लेख गरिसकिएकाे); साल २०३६ (नामांकनकाे लागि प्रवेश परीक्षा र सेमेष्टर पद्धतिकाे विराेधमा भनिएपनि त्याे राजनैतिक जनमत संग्रह गराउन सफल); साल २०४६ लाेकतन्त्र पुनर्प्राप्तिका लागि र साल २०६२/०६३ (सन् २००६ काे आन्दाेलन जसले नेपाललाई संघीय लाेकतान्त्रिक गणतन्त्र बनायाे) लाई गन्छन् । तर छात्र आन्दाेलनकाे रूपमा भने उनले सन् १९५० अघिदेखिकाे “जयतु संस्कृत्तम्” र सन् १९७९ (सम्वत् २०३६) लाई मात्र प्राज्ञिकरूपले सफल मान्छन् भने बाँकीलाई दललाई लाभ पुर्याउनेरूपमा लिन्छन् ।
यहाँ साँगठनिक रूपमा खनियाले नेपालमा नेपाल विद्यार्थी संघ (साल २०२५ मा संगठित, नेपाली काँग्रेसनिकट) विशुद्धरूपमा पञ्चायतविरूद्ध तथा लाेकतन्त्रमा समर्पितरूपमा लिन्छन् भने साल २००७ मा संगठित रूसी विचार निकट राष्ट्रिय विद्यार्थी फेडरेशनले पञ्चायतसँग पछि हात मिलाउन पुग्दा त्यसबाट उछिट्टिएर चिनियाँ वमपन्थी विचार निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकाे जन्म विक्रम सम्वत् २०२५ मा हुन पुगेकाे लिन्छन् । थपमा स्वतन्त्र विद्यार्थी मण्डल “मण्डले” भनेर राजावादी विद्यार्थी संगठन (साल २०२५ मै) भनिए पनि मण्डल समूहमा छद्मभेषी विद्यार्थीकाे ठाउँमा टाेले गुण्डा, शराबीहरूलाई लाेकतन्त्र दबाउन सुराकी आदिकाे रूपमा थिए, लाई कुल ४ वटा भनेर विद्यार्थी समूह गन्छन् । लेखक गम्भीरतापूर्वक के कुरा उठाउँछन् भने कि नेपालमा दसवर्षे सशस्त्र द्वन्द्वपछि संघीय लाेकतान्त्रिक गणतन्त्र आयाे, धेरै नयाँ-नयाँ विद्यार्थी संघ/संगठन खाेलिए तर शैक्षिक-प्राज्ञिक सुधारकाे लागि कुनैपनि समूह विगतका “जयतु संस्कृत्तम्” र “दि एक्शन कमिटि” (गठन चैत्र २७ साल २०३५/अप्रिल ९ तारिख सन् १९७९) जस्ताे देखिएनन् !
पाँचाैं अध्याय “द वे फर्वार्ड फर् नेपाल्स् हायर एड्यूकेशन एण्ड त्रिभुवन युनिवर्सिटि” भनेकाे नेपालकाे उच्च शिक्षाकाे भावी याेजना हाे, जहाँ लेखकले ठान्छन् कि उच्च शिक्षाकाे सबलीकरण बिना नेपालकाे पछिल्लाे संविधान, २०७२ (सन् २०१५) लाई त्यसकाे “प्राण” प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, मानवाधिकार, आधारभूत अधिकारहरू, नागरिक स्वतन्त्रता, अद्यावधिक निर्वाचन, दीगाे शान्ति, समाजवाद, कानूनी राज्य आदि जस्ता कुरा व्यवहारमा उपभाेग गर्न, अनुभूति गर्न सकिँदैन । यसका लागि नेपाली ७८ दशमलव ७ प्रतिशत जनताले पत्याएका त्रिविकाे विविध क्षेत्रमा शैक्षिक सुधार अत्यावश्यक छ भन्दै उनले याेग्य प्राध्यापक, अनुसन्धानमा निर्लिप्त, भाैतिक पूर्वाधार, पाठयक्रममा सुधार आदि जरूरी छन् उल्लेख गर्छन् । यथार्थमा उनले त्रिविलाई देशकाे वर्तमान संघीय संरचनामा आधारीत पुनर्संरचना गर्नुपर्ने, आङ्गिक क्याम्पसहरूलाई स्वायत्तता अझ बढी दिईनुपर्ने, सरकारले शिक्षक-शीक्षार्थीलाई अनुसन्धान, डेटा कलेक्शन, ईन्टर्नशीप, तालिमजस्ता थप कार्यमा लगाउनुपर्ने, कम्युनिटी युनिवर्सिटिकाे आवश्यकता, नेपालकाे उच्च शिक्षाकाे अन्तर्राष्ट्रियकरण हुनुपर्ने तथा विदेशी विश्वविद्यालबाट नेपालमा खाेलिएका सम्बन्धनप्राप्त कलेजहरूकाे प्रतिबद्धता अनुसारकाे सेवा प्रदान गरे-नगरेकाे अनुगमण जस्ता कुराहरू उठाउँदै नेपालमा युजिसि सबै कार्यकाे नियमन गर्न हाल असमर्थ रहेकाेले बरू QAA (Quality Assurance and Accreditation) कार्यकाे छुट्टै निकाय खडा गरेर युजिसिलाई थप अधिकार दिईनुपर्ने बताउँछन् ।

छैटाैं पाठ “फेडिङ्ग ह्यूमन सिभिलाईजेशन काैजिङ्ग एण्ड ट्र्याप्स” मनुष्यकाे लागि किन उच्च शिक्षा जरूरी छ भन्नेबारे छ । आजकाे आत्मकेन्द्रीत, स्वार्थी, प्रविधि-लत्त (Techno-addict), शक्तिकाे भाेका, उच्च प्रविधि र पूँजीकाे उच्चतम् प्रयाेग आदिले गर्दा मानवताका धराेहरहरू धर्मराएर मानवीयता हराईरहेकाे प्रतीत हुन्छ । खनिया उल्लेख गर्छन् कि अब नैतिकताकाे राजनीति (Ethical politics) काे अन्त्य भईसक्याे (किनकि चाहे मार्क्सवाद वा चिनियाँ स्टेट क्यापिटालिज्म वा अन्य कम्युनिस्ट देशहरूका जुनसुकै राजनीतिपनि केबल पूँजी निर्माण गर्न सुझाउँछन्) र वैचारिक (Ideolgical) कुरापनि अन्त्य भईसक्याे (किनकि १९-२०आैं शताब्दीका दक्षिणपन्थी-वामपन्थी कुरा अब असान्दर्भिक भईसके र चरम् वामपन्थताकाे अन्त्य भैसकेकाे छ) भने ईतिहासकाे अन्त्य अब फुकुमाया (Fukumaya) काे उदार पूँजीवादी लाेकतन्त्र (Liberal Capitalist Democracy) मा गएर मिल्छ, सबै चरम् वामपन्थवादकाे अन्त्यकाे कथा यसैमा हाे । अरूपनि अन्त्यहरू भईरहेका छन्, जस्तै : विज्ञानकाे, मानवताकाे र सनातन हिन्दू धार्मिक मान्यता अनुसार कलियुगकाे पनि । “सनातन” धर्ममा सत्ययुग, त्रतायुग र द्वापरयुगपछि कलियुगमा सबै कुराकाे मूल्य, मान्यता, धर्म, मानवता धर्मराएर हराउँदै जाने बुझिन्छ र “आशा” ले पुन: सत्ययुग प्रारम्भकाे कुरा गर्छ ।
लेखक खनियाकाे याे भाषा बिसाैं शताब्दीका आधुनिक कवि (Modernist poet) बेलायतका T(homas) (S)tearns Eliot काे विश्वप्रसिद्ध कविता “The Waste Land” काे झझल्काे दिन्छ किनकि बञ्जर जमीनमा कविले एऊटा सत्तित्वकाे प्रतिबद्धतासहित आशामा हुन्छ कि आखिरमा सनातन धर्मले नै आत्माकाे शान्ति पूर्णरूपमा प्रदान गर्छ र धर्ती पुन: बस्नयाेग्य बन्नेछ तसर्थ, यहि आशा (Hope) मा “द वेइस्ट ल्याण्ड” कविता तीन चाेटी “ॐ शान्ति : ॐ शान्ति : ॐ शान्ति :” भनेर टुङ्ग्याउँछन् र सनातन धर्म नै एकमात्र शाश्वत सदैव रह्ने धर्म हाे भन्ने धार्मिक सर्वाेच्चतापनि देखाउँछ । यहाँ लेखक खनियाले कवि ईलियटकाे चर्चा नगरेपनि उनकाे अन्तिम तथा साताैं अध्याय यस नेभिगेटिङ्ग हायर एड्यूकेशन ईन् नेपालमा यहि दाेहाेर्याउँछ । कृप्या मलाई उदाहरण दिन सेवाकाे अवसर तल दिनुस् !
साताैं अध्याय “ह्यूमानिस्टिक हायर एड्यूकेशन अयाट् सेन्ट्रल क्याम्पस, टीयू ओभरकमिङ्ग एण्ड ट्र्याप्स्” त्रिविकाे भविष्य याेजना हाे, यदि पुन: लेखकले नेतृत्वकाे माैका पाएदेखि कहाँ-कसरी लाने भनेर । यस अध्यायकाे “आत्मा” भनेकाे अब त्रिविचाहिं मानवता पुनर्जागरण गर्ने थलाे मानविकी, लिबरल आर्ट्स तथा साेसल सायन्सेज् फ्याकल्टि र विषयहरूमार्फत् बन्नुपर्छ भन्ने हाे । लेखकले पुन: बन्धनबाट मुक्ति (End traps) लाई दाेहार्याउँछन्, यहाँ । तसर्थ, उच्च शिक्षाका थलाेचाहिं अब अध्यात्मिक मार्गभएर दिव्य मुक्ति (Enlightened salvation) तिर जानुपर्छ भनेर उनी भन्छन् । प्रष्टरूपमा लेखक तीर्थराज खनिया त्रिवि अब विश्वमाझ मानविकी संकायबाट मानवतामा आधारीत शैक्षिक थलाेमा परिणत हुनुपर्छ भन्छन् जसकाे लागि कीर्तिपुरकाे त्रिविकाे केन्द्रीय क्याम्पसलाई नेपालकाे परम्परागत वेद अध्ययन, याेगा, ध्यान, विषयहरूलाई भारतकाे ब्रम्ह कुमारी राजयाेग विश्विद्यालय, नेपालमा पाईपलाईनमा रहेकाे पशुपत्ति विश्वविद्यालय तथा त्रिविकाे संस्कृत केन्द्रीय विभागहरूसँग मिलाएर लाने सुझाव र याेजना जरूरी छ उल्लेख गर्छन् । यसरी उनिपनि अंग्रेजी कवि ईलियट जस्तै पूर्वीय दर्शनमात्र मानसिक शान्ति र मनुष्य कल्याणकाे लागि भरपर्दाे सनातन धर्मबाट हाे काे निष्कर्शमा पुग्छन् ।
वास्तवमा खनियाका पुस्तक शिफ्टिङ्ग प्याराडाईम्स् ईन् हायर एड्यूकेश… काे पाँचाैं अध्याय “युटिलिटेरियन पर्स्पेक्टिभ्स् आैन् सायन्स ईन् हायर एड्यूकेशन” पढ्दा भारतीय वैज्ञानिक भी. एस्. रामाचन्द्रणकाे अनायाश नै निबन्ध “The Making of a Scientist” काे याद आऊंछ भने याे पुस्तक नेभिगेटिङ्ग हायर एड्यूकेशनकाे अन्तिम पाठ पढ्दा टी. एस्. ईलियटकाे “The Waste Land” काे तुलना नेपालकाे उच्च शिक्षा र हराईरहेकाे वैश्विक मानवताकाे झल्याँस दिन्छ । त्यस्तै, जहाँ शिफ्टिङ्ग प्याराडाईम्स् … पुस्तकले उच्च शिक्षाकाे वैश्विक ईतिहाससँगै एकेडेमिक क्यापिटालिज्म, औद्याेगिक युनिवर्सिटिले शीपयुक्त शिक्षा उच्चतम् प्रविधि प्रयाेग महंगाे जमानामा जरूरी भन्दै उच्च शिक्षाका थलाेले आफैं आर्थिक स्राेत खाेज्न वकालत गर्छ, त्यहीं नेभिगेटिङ्ग हायर एड्यूकेशन पुस्तक … ले नेपालकाे उच्च शिक्षाकाे ईतिहासकाे वर्णनसँगै विश्वविद्यालयबाट प्राज्ञिक स्वतन्त्रता हटाई अनुसन्धानका लागि दलीय राजनीतिमुक्त, प्रतिवेदनका सुझावहरूप्रति सरकार गम्भीर रहीकन उच्च शिक्षामा हालकाे भन्दा धेरै गुणा बढी आर्थिक लगानी गरि संविधान र राजनैतिक स्थिरता बनाई ब्रेन ड्रेन (विदेश पलायन) राेकेर देश विकासमा जुट्ने प्रण गर्दै मानसिक शान्तिकाे लागि पूर्वीय दर्शनमा आधारित मानवतावादी शिक्षणकाे प्रमुख थलाे नेपाल विश्वमा बन्नुपर्छ भन्ने वकालत गर्छन् । जहाँ शिफ्टिङ्ग प्याराडाईम्स … पुस्तक करीब दुई सय ५० बढी सन्दर्भ सामाग्रीकाे अध्ययनबाट १० वटा अध्यायमा विभाजित छ, त्यहीं याे नेभिगेटिङ्ग हायर एड्यूकेशन … पुस्तक एक सय बढी स्राेत सामग्रीकाे अध्ययनबाट ७ वटा अध्यायमा सिंगारिएकाे छ ।
हरेक पाठ अघि परिचय उपशीर्षकले पाठकलाई के पढ्न गईरहेकाे छु, त्यसबारे पूर्व जानकारी गराएर सहज बनाउँछ भने तथ्य-डेटाले वैज्ञानिक ठाेस् निष्कर्श निकाल्न मद्दत गर्छ भने सारांशले के पढ्ने माैका पायाे भनेर सचेत गराउँछ । पुस्तकमा लाेकतान्त्रिक विचार अन्तर्गत निर्भिक रहीकन जिम्मेवारीका साथ विचारहरू पाेखिएका छन् ।
पुस्तक अति सरल र सहज भाषामा लेखिएकाे छ, सामान्य अंग्रेजी जान्नेले पनि सजिलै बुझ्न सक्नेछ भने लेखन विधि (Writing mechanism) मा लेखकले पुस्तककाे पूर्ण उँचाईमा पुग्न आगामी संस्करणमा अलिकति ध्यान दिनुपर्छ ।
मलाई के लाग्छ भने लेखक तीर्थराज खनियाका यी दुईटै पुस्तकका आ-आफ्नै महत्व छन् तसर्थ, नेपाल सरकारले विश्वविद्यालयहरूकाे सिलेबीमै समावेश गरेर अध्ययन-प्राध्यापनकाे माैका दिनुपर्दछ भने नेपाल प्राध्यापक संघ (NUTA), त्रिवि प्राध्यापक संघ (TUTA), काे नेतृत्व गर्ने ईच्छुक तथा विश्वविद्यालयकाे क्याम्पस प्रमुखदेखि पदाधिकारीसम्म बन्ने ईच्छुक सबैले एकचाेटी यी पुस्तकहरू पढेर आफू कहाँ के गर्न जाँदैछु भन्नेबारे पूर्ण जानकार रह्नुपर्दछ ।
मेराे हृदयदेखि धन्यवाद तथा शुभकामना लेखक खनियालाई मानव सभ्यताकाे इतिहासमा यी दुईटा पुस्तक लेखेर गुण लगाईदिनुभएकाेमा तथा निरन्तर उहाँका कलम चलिरहाेस् भन्ने अपेक्षापनि राख्दछु ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुन्)

