डोल्पाको अर्गानिक स्वादमा ‘शाम्बाला’

पुष्कर नेपाल

अघिल्लो हप्तादेखि प्रदर्शनमा आएको मिनबहादुर भाम निर्देशित बहु प्रतिक्षित चलचित्र ‘शाम्बाला’ हेर्न हलमा जादै हुनुहुन्छ भने तपाईंले के अपेक्षा राख्नुभएको छ ? हुन त तपाईंका अपेक्षा र स्वाद अनेकौं हुनसक्छन्। सबैको स्वाद एउटै नहुन सक्छ। कसैलाई द्वन्द्व,कसैलाई हास्य र कसैलाई प्रेमकथाको स्वाद चाहिएको हुनसक्छ । यो सबै कुरा ‘शाम्बाला’ भित्र खोज्नुहुन्छ भने त्यो भेटिएला वा नभेटिएला चलचित्र हेरेपछि आफैं छुट्याउनु होला। तर, नेपाली सिने जगतभित्र फरक शैलीको एउटा अर्गानिक स्वाद भने ‘शाम्बाला’मा अवस्य पाउनुहुनेछ।

नेपाली सिनेमालाई विभिन्न आरोपहरू लाग्ने गरेका छन्। त्यसमध्ये पनि नेपाली सिनेमाका कथाहरू आयातित छन् ! पटकथाहरूमा मार्मिकता छैन ! सिनेमामा मौलिकता भन्ने कुन चराको नाम हो थाहा छैन ! कलाकारका पहिरनदेखि हाउभाउ नै मिल्दैन ! नेपाली सिनेमाले कुनै छाप छोड्न सकेको छैन, सिनेमालाई न भूमण्डलीकरण गर्न सकेको छ न त स्थानीयकरण नै गर्न सकेको छ ! भाषा र संस्कृति त झन् ध्वस्त नै छ, कुनै पनि ठाउँको वास्तविक कथाको उजागर गर्न पनि सकेको छैन। यस्ता कारणहरुले गर्दा गर्व गर्न लायक कुनै सिनेमा बन्न सकेका छैनन्। त्यसैकारण नेपाली सिनेमा जगतले अन्तर्राष्ट्रिय चिनारी पनि पाउन सकेका छैनन् !

हो, नेपाली चलचित्र माथी यी र यस्तै आरोप लाग्दै आएको छ। तर,यस्ता यावत आलोचना तथा विरोधाभासहरूलाई चिर्दै नेपाली सिने आकाशमा एउटा प्रकाश छर्न सक्ने उज्ज्वल तारा बनेर ‘शाम्बाला’ उदाएको छ। नेपाली फिल्म क्षेत्रलाई लागेका तमाम आरोप र आलोचनाहरूलाई करिब २ घण्टा ३० मिनेटमा ‘शाम्बाला’ले पालैपालो उत्तर दिएको छ र त्यस्ता भाष्यलाई खण्डन सहित खारेज गरिदिएको छ।

सिनेमाको कथा माथिल्लो डोल्पामा रहेको मौलिक बहुपति प्रथासँग सम्बन्धित छ। जो नेपालको नितान्त मौलिक र आफ्नै कथा हो भनेर बताइरहनु पर्दैन । निर्देशकले त्यहाँको कथा भन्दै गर्दा प्रयोग भएका पटकथा र संवादलाई रैथाने भाषामा दुरुस्तै उतारेका छन् । चलचित्र हेरिरहेका दर्शकलाई आफू पनि त्यही समाजको हिस्सा भएको महशुस हुनेगरी चलचित्रले ध्यान खिचेको छ।

फिल्म भित्रको पात्र र परिवेशसँगै फिल्मले हिमाली भेगको संस्कृति र वैवाहिक परम्परा समेटेको छ। जहाँ पेमा (थिन्ले ल्हामो) को विवाहको तयारी भैरहेको र पराइ घर गएपछि आइपर्ने गाह्रो अफ्ट्यारो बारे उनका बाबुआमाले आ-आफ्नो हिसाबले सम्झाउदै गरेको सम्बाद सुन्न सकिन्छ। रंगी चङ्गी ध्वजा पतका अर्थात भनौं सेता लुङ्दर टाँगिरहेकी पेमालाई बुबाआमाले छोरीलाई स्थानीय भाषामा ‘भाग्यमानी छोरी’ भन्दै तारिफ गरिरहेका छन् । चलचित्रमा प्रयोग गरिएको भाषा तिब्बती हो,यहाँ नेपाली भाषाको प्रयोग निकै कम छ।तर,अङ्ग्रेजी र नेपाली भाषामा सवटाइटल राखिएकोले बुझ्न कठिन हुने छैन।

चलचित्रको प्रचारप्रसारमा भनिए जस्तै बहुपति प्रथाको कथामा बनेको हुनाले फिल्ममा पेमालाई लिन तीन दाजुभाइ आइपुग्छन् ।जेठो टासी (तेन्जिङ दाल्हा), माइलो कर्म (सोनम तोप्देन) र कान्छो दावा (कर्म वाङयाल गुरुङ) सँग एकैपटक पेमाको बिहे हुन्छ। त्यसमध्ये जेठो टासीसँग पेमा पहिलेबाटै प्रेममा रहेकी भन्न खोजिएको छ।टासीले पनि पेमालाई असाध्यै मन पराउँछ । उसले पेमामा आफ्ना बा-आमा सहित पूरै जीवन देख्छ । त्यसैले पनि पेमाका ३ जना नै श्रीमानहरूले ‘तिमी आएपछि बल्ल हाम्रो परिवार पूर्ण भयो’ भनिरहेका हुन्छन्।

बिहेपछि पेमाले तीनजना पतिलाई गर्ने व्यबहार,पतिहरुले पेमाबाट चाहेको माया अनि त्यसपछि आइपर्ने पारिवारिक र सामाजिक सङ्कटसँग पेमाले झेल्नुपरेको परिवेश नै ‘शाम्बाला’को मुख्य कथा हो। कर्णालीको डोल्पा र त्यहाँको पनि माथिल्लो बस्तीमा हुने यथार्थ घटनालाई निर्देशकले ‘शाम्बाला’मा जस्ताको त्यस्तै दुरुस्तै उतारेका छन् । उनले गुम्बाको रिम्पोछेमार्फत आध्यात्मिक पाटो, नायक टासीमार्फत सामाजिक पाटो, नायिका पेमामार्फत ‘जीवनको सार र स्वतन्त्रता’ अनि समाज र समयलाई एकैठाउँमा जोडेर उत्कृष्ट निर्देशकिय क्षमता देखाएका छन् ।

नेपाल आफैंमा प्रकृतिले धनी देश हो भन्ने कुराको चिनारीका लागि चलचित्रमा छायांकन गरिएको दृश्य हेरे मात्रै पुग्छ। त्यसका लागि कुनै ट्राभल डायरी जरुरी पर्दैन।उपल्लो डोल्पाको हिमाली भेकमा छायांकन गरिएको सिनेमाका भेषभूषा संस्कृति र त्यहाँको मानिसको पेशा आदि कुरालाई मिहिन ढंगले मौलिकता झल्किने गरी प्रस्तुत गरिएको छ। कलाकारका पहिरनको मामिलामा कहीँ कतै सम्झौता गरिएको छैन। सिनेमाले स्थानीयकरणका माध्यमबाट विश्वमा नै नेपालको सिनेमाको अस्तित्व प्रदर्शन गर्न ‘शाम्बाला’ सफल भएको छ। कलाकार छनोटमा गरेको सुझबुझका कारण भाषागत शुद्धतामा समेत सिनेमाले निखारता पस्केको छ।

माथिल्लो डोल्पाको मृत्यु तथा विवाह संस्कार अध्यात्मप्रतिको अगाध आस्था र विश्वास हिमाली क्षेत्रका विविध पेशाहरू जस्तै जौ खेती, पशुपालन, उनजन्य कुटीर उद्योग, परम्परा देखिको तिब्बतसँगको व्यापारका अभ्यासहरुलाई ज्यादै सूक्ष्म ढंगले पर्दामा देखाइएको छ। चलचित्र हेर्दा कुनैपनी दृश्य र संवाद जबरजस्ती थोपरेको जस्तो लाग्ने छैन।

पुरुष कलाकारलाई मुख्य कलाकार अझ भनौ हिरोको रुपमा प्रस्तुत गर्दै आवश्यकता भन्दा बढी भौतिक द्वन्द प्रस्तुत गरिएका  सिनेमा हेर्ने बानी परेका,द्विअर्थी डायलग, लात्तीमुक्कामा मनोरञ्जन लिने दर्शकहरुलाई भने यो सिनेमाले त्यत्ती मनोरञ्जन दिन नसक्ला। यो सिनेमामा त भएकै द्वन्दलाई समेत छिपाएर एकैचोटि झगडा गर्नु हुँदैन भनेर सम्झाई बुझाई गरेको दृश्यबाट मिलान गरिएको छ। तर मानिसका पारिवारिक कारणले भएको मानसिक द्वन्द र त्यो द्वन्द्वको समाधानमा एउटी महिलाले कसरी अनेक बाधा व्यवधानको सामना गर्दै निडर रूपमा समाधानतर्फ लाग्छे भन्ने कुरालाई सुन्दरतम ढंगले प्रस्तुत गरिएको छ।

छायांकनको कुरा गर्ने हो भने कजाखिस्तानी सिनेमाटोग्राफर अजीज जम्बाकिएभले फिल्मका दृश्यलाई आश्चर्यजनक ढङ्गले क्यामेरामा कैद गरेका छन् । झन्डै ४ हजार ५ सयदेखी ६ हजार मिटर माथी पुगेर खिचिएका शुन्दर दृश्य हेर्दा उनको कामको जति प्रशंसा गरे पनि पुग्दैन। त्यसमध्ये पनि कथा र संवाद अनुसार प्रकृति जोडेर खिचिएका हिमाली परिवेश अनि सेता हिमाल,टासीको तिब्बत यात्रामा निस्कदै गर्दा देखिएको चौंरीका बथान र चिल उडिरहेकोदेखि अन्तिम संस्कार सम्मको दृश्यले तपाईंलाई डोल्पा मै पुर्‍याउछ।

-कर्मा र पेमाको एक दृश्य

अजिजले छायाङ्कन गर्ने क्रममा हिमालयको दृश्यावलीलाई यति मज्जासँग प्रस्तुत गरेका छन् कि दर्शकलाई नै त्यो दृश्यले मस्तिष्क सम्म छुने अवस्थामा पुर्‍याउछ।

चलचित्र भित्रका पात्रको कुरा गर्दा बिहेपछी तीन जना पतिका फरक फरक भुमिकासंग पेमालाई डोर्‍याउन सक्नु र कुनैपनी समस्यासंग एक्लै जुध्न सक्ने बनाउनुले चलचित्रमा पेमालाई कमजोर र दयाको पात्र नभै शाहसी र हिम्मतवाली नारी भनेर देखाइएको छ।अझै भन्ने हो भने निर्देशकले पेमाको नजरबाट सिङ्गो समाज देखाइदिएका छन् ‘शाम्बाला’ मा।

मायाप्रेम बढी बसेको जेठो श्रीमान तिब्बत पुगेर उतै बेपत्ता हुनु,अर्को भिक्षु बनेको दोस्रो श्रीमान गुम्बामा रिम्पोछेको सुसारे हुनु र कान्छो श्रीमान उमेरले छोरा सरहको हुँदा स्कुल पठाउनेदेखि होमवर्क गराउने सम्मको जिम्मेवारी पेमाले नै लिनुपरेको छ। त्यसमाथि आमा बन्न लागेको अवस्थामा गाउँलेको नानाथरी कुरा,तीन वटै श्रीमानको साथ नहुनु र एक्लै हिमालको यात्रामा निस्कनु पेमाको लागि अर्को चुनौती हो । निर्देशक भामले पितृसत्तात्मक समाजबाट महिलालाई सशक्त नारी बनाउने प्रयास ‘शाम्बाला’ मार्फत गरेका छन् । त्यति मात्र होइन, उनले सांसारिक मोह जालले समाज कसरी जेलिएको छ र मोक्ष प्राप्तिको बाटो के हो भन्ने कुरालाई पनि देखाइदिएका छन् ।आफ्नै परिवेशमा मिलेर बसेको एउटा सामान्य परिवारमा बग्रेल्ती समस्या निम्तिनु र ती सबैसँग पेमा एक्लै लड्नु नै फिल्मको रोचक पक्ष हो । जब, टासी व्यापार गर्न केही महिनाका लागि तिब्बतको ल्हासातर्फ जान्छ । यता पेमाको गर्भमा बच्चा हुर्किँदै गरेको हुन्छ । गाउँलेले बच्चाको बाबुको खोजी गर्न थाल्छन् । पेमाको गर्भमा हुर्किँदै गरेको बच्चाका बारेमा टासीले पनि ‘तीर्थयात्रामा हिँडेका’ पल्लो गाउँका गाउँलेको कुरा सुन्छ र उतै हराउँछ । दोस्रो र तेस्रो श्रीमानले पनि त्यो बच्चा स्वीकार गर्न खोजेको देखिदैन, काठमाडौंबाट त्यहीँ पढाउन पुगेको राम सर(कर्मा शाक्य) अर्को मोडमा उभिए पनि त्यो परिवेशमा मुछिएको छ।

यति हुँदा हुँदै पनि पेमा आफूमाथि आइपरेका सङ्घर्षसँग लड्न सधै तयार हुन्छे। त्यसैले हुनसक्छ निर्देशकले पेमालाई मदन भोट(ल्हासा) जाँदा फर्किने पर्खाइमा बाटो कुरेर बस्ने मुना होइन,आफ्नो श्रीमान टासी खोज्न तिब्बत सम्म पुग्छु र श्रीमान फर्काउछु भन्दै एक्लै हिउँको पहाड चढ्न सक्ने हिम्मतवाली पेमा बनाइदिएका छन्।

यसर्थ, हलमा जाने,कफि र पककर्न खाने अनि चलचित्रका सम्बाद र दृश्यलाई लिएर हल्ला गर्ने मात्रै सोच्नुभएको छ भने तपाईं हलमा नजानुस । किनभने यो तपाईंको लागि बनेको चलचित्र नै होइन।निष्कर्षमा कुरा गर्दा सधैंभरि यो भएन त्यो भएन भनेर नेपाली सिनेमालाई गाली गर्दै ताँइ न तुईंका बिग बजेटवाला, हल्लिखल्ली गर्दै नेपाल प्रवेश गरेका भारतीय सिनेमालाई आवश्यकता भन्दा बढी वा अझ भनौ वास्तविकता भन्दा बढी महत्व दिएर विभिन्न हलसम्म गएर सिनेमा हेर्ने दर्शकहरुले आफ्नो समाज, परिस्थिति प्राकृतिक सुन्दरता, सांस्कृतिकताको सम्मान स्वरुप ‘शाम्बाला’ हेर्नुपर्छ। विदेशी सिनेमा भित्र्याउन भरमग्दुर लाग्ने वितरक र धेरैभन्दा धेरै शोहरु उपलब्ध गराउने हलमालिक तथा सरोकारवाला पक्षले पनि यो सिनेमालाई आफ्नो राष्ट्रिय सांस्कृतिक तथा सामाजिक उत्तरदायित्व बोध गरी हदैसम्मको सहयोग गर्नु न्ययोचित हुनेछ ।

Nawazuddin Siddiqu in Nepal || Shambala Move premier program

करिब ९ बर्ष अघि कालोपोथी निर्देशन गरेर चर्चामा आएका मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ विश्वप्रसिद्ध अस्करअवार्डको लागि छनोटमा परिसकेको छ।यसले पनि के पुष्टि गर्दछ भने ‘शाम्बाला’ एउटा यस्तो चलचित्र हो जसले तपाईंको जीवनबाट ‘नेपाली चलचित्र स्तरीय हुँदैनन्’ भन्ने भ्रम हटाइदिन सक्छ। यो संगै भारतीय दिग्गज कलाकारद्वय निर्देशक अनुराग कस्यप तथा अभिनेता नवाजुद्दिन सिद्दिकीले नेपालमा नै आएर यसको प्रिमियर शोमा सहभागी भई यो सिनेमाका बारेमा गरेको सुन्दर सकारात्मक टिप्पणी र अन्तर्राष्ट्रिय रुपमा निर्देशक मिनबहादुर भामले पाएको सफलतालाई पनि मनन गर्दै समग्र नेपालीले यो सिनेमालाई माया नगर्लान् भन्न चाहिँ सकिन्न है।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय